ad ad

लुम्बिनी


‘जब आकाश गर्जिन्छ, अनि मन तर्सिन्छ’

‘जब आकाश गर्जिन्छ, अनि मन तर्सिन्छ’

रासस
साउन ११, २०७९ बुधबार १३:३१, बुटवल

बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर निवासी विनबहादुर बिटालु राम्रोसँग ननिदाएको धरै दिन भयो।

पहिरोका कारण श्रवनडाँडाको माथिल्लो भू–भाग नै बगेर सिधै बुटवल बजारतर्फ सोझिएपछि पहिराले च्याप्ने डरले उनी निदाउन सक्दैनन्। पानी पर्ने बित्तिकै घर छोडेर हिँड्ने बिटालु दम्पती बेलवास आफन्तको घरमा बास बस्छन्। 

गत वर्ष चार कोठा पहिराले पुरिएको उनको घरमा अहिले पनि असारको पहिलो हप्ता पहिरो पसेको छ। घरको पछाडिबाट ढुङ्गा माटोसहितको पहिरोभित्र पसेपछि उनीहरुले एउटा कोठामा खाने बस्ने गर्दै आएका छन्।

'आकाश गर्जिन थाल्यो कि मन तर्सिन्छ दिउँसोमा त बरु देखिन्छ तर रातिमा आयो भने गुहार नपाई मरिन्छ कि भन्ने डर लाग्छ', आँखाभरि आँसु पार्दै बिटालु दुःखेसो पोख्छन्। 

तेह्र जनाको विटालुको परिवारमा छोरा बुहारीहरु अलग्गै बस्छन्। घरअगाडि सानो टङ्की पसल गरेर गुजारा गर्दै आएका बिटालु दम्पती पहिराका कारण व्यापार पनि नभएको गुनासो गर्छन्।

यो क्षेत्रमा ४१ वर्षदेखि बसोबास गर्दै आएका बिटालुको परिवारले गतवर्ष पहिरो घरभित्रै पस्दा पनि अहिलेसम्म कुनै राहत तथा सहयोग भने पाएका छैनन्।

स्थानीय तहको निर्वाचनमा हामीले पहिराबाट बचाउँछौ भनी राजनीतिक दलका प्रतिनिधिहरु घरदैलोमा भोट माग्न पुगे तर कुनै सहयोग तथा पहिरो नियन्त्रणका लागि पहल नगरेको बिटालुकी श्रीमती उजेलीको गुनासो छ।

'पानी पर्ने बित्तिकै माटोको लेदोसहितको खोलो बग्न थाल्छ, हामी घर बाहिर रुझेर बस्छौँ। यसरी कति दिन चल्छ? त्यसैले सरकारले हामीलाई अन्यत्रै बस्ने व्यवस्था मिलाउनुपर्छ , उनले भनिन्। 

बुटवल–३ कै सति कुमारी श्रेष्ठ पनि आका गजिर्ने बित्तिकै घर छाडेर हिँड्छिन्। चुरे पहिरोका कारण घर जोखिममा रहेकाले पहिराले च्याप्ने डरले उनी रातिमा घरमा सुत्न  सक्दिनन्।

गतवर्षको पहिराले घरको भूइँतला पुरेपछि लामो समय सरसफाइ गर्दा श्रेष्ठलाई धेरै पैसा खर्चिनुपरेको थियो। 'गतवर्षको पहिरो बल्लबल्ल सफा गरे अहिले पनि पानी पर्ने वित्तिकै घरभित्र लेदोसहितको माटो पस्छ, रातिमा थाहै नपाई मरिन्छ कि भनेर अरुको घरमा गएर बस्छु' श्रेष्ठ दुःखेसो गर्छिन्। 

श्रीमान र छोराको निधनपछि घरमा एक्लै बस्दै आएकी श्रेष्ठको सहारा कोही छैन। सरकारले पनि अहिलेसम्म कुनै सहयोग नगरेको उनको गुनासो छ। 'पहिरोका कारण गत वर्षदेखि घरमै बस्न नसक्ने अवस्था भइसक्यो तर कसैले केही गर्दैन, कसैले हेर्दैन', गहभरि आँसु झार्दै श्रेष्ठले भनिन्।

अहिले पानी पर्नासाथ उपमहानगरको वडा नं ३ र ४ मा पर्ने चुरे क्षेत्रमा लेदोसहितको माटो र पानी बग्न सुरु हुन्छ।  यसले गर्दा यहाँका स्थानीयबासी घर छोडेर हिँड्न बाध्य हुन्छन्।

बुटवल उपमहानगरपालिकाको तिनाउ नदी वारि र पारि पहिरोका कारण छियाछिया परेका चुरे क्षेत्रबाट पहिरो जान थाल्छ, अनि स्थानीयबासी आत्तिन थाल्छन्। गतवर्षदेखि पानी पर्ने वित्तिकै घर छोडेर हिँड्नुपर्ने वाध्यता यहाँका वासिन्दालाई छ। खासगरी बुटवलको लक्ष्मीनगर र ज्योतिनगर क्षेत्रका बासिन्दा चुरेको पहिरोबाट प्रभावित छन्।

अहिले वर्षा सुरु भएसँगै यो क्षेत्रका बासिन्दाहरु रातिमा घर छाड्न बाध्य छन्। 

वडा नं ३ का स्थानीय केशवराज पन्थीका अनुसार चुरे पहिरोका जोखिमका कारण यो क्षेत्रका बासिन्दा अन्यत्र कोठा भाडामा लिएका छन्। 

पानी पर्ने बित्तिकै यो क्षेत्र छोडेर भाडाको कोठामा बस्न जाने गरेको उनको भनाइ छ। 

असारको पहिलो हप्ता परेको वर्षापछि आएको चुरोको पहिरो केही स्थानीयको घरमा पस्यो। पहिरोबाट बगेर र आएको लेदोसहितको पानी आधा दर्जन स्थानीयबासीको घरमा पसेपछि उनीहरु घर छोडेर हिँडेका थिए।

गतवर्ष पहिरोका कारण करीब दुई दर्जन दर्जन स्थानीय बासिन्दाका घरमा क्षति पुगेपछि विज्ञको टोलीले चुरे पहिरोको अध्ययन गर्यो। चुरे क्षेत्रमा पहिरोका कारण थप जोखिम बढेपछि विज्ञको टोलीले अध्ययन गरेर पानीको अव्यवस्थित सतही बहाब नै बुटवल पहिरोको मुख्य कारण हो भन्ने ठहर गरे। 

यहाँको पहिरालाई रोकथाम गर्ने पहिलो उपाय सतही र भूमिगत पानीको सही व्यवस्थापन भएको निष्कर्ष निकालेर राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम कार्यान्वयन इकाइ कार्यालय बुटवललाई प्रतिवेदन बुझाइएको थियो। पहिरो नियन्त्रणका लागि श्रवनडाँडा (पहिरो गएको डाँडो) को मध्यभागमा रहेका मूलहरुबाट बगेको पानीलाई पाइपमार्फत एकैठाउँ जम्मा गरेर पुराना वा नयाँ नालीहरुहरुमा मिसाउनु उपयुक्त हुने राय विज्ञले दिए। एक वर्षमा भएका अनुगमन, वुक्षरोपण र सामान्य पर्खाल लगाउने कामले पहिरो नियन्त्रण हुने देखिँदैन।

गत वर्षको भदौ १३ र १४ गते बुटवल उपमहानगरपालिकाको ज्योतिनगर र लक्ष्मीनगर माथिको भागस्थित चुरे क्षेत्रमा गएको ठूलो पहिरोका कारण बुटवल बजार नै जोखिममा परेपछि विज्ञको टोलीले अध्ययन गरेको थियो।

गतवर्ष पहिरो र दोस्रो चरणमा गरेर विज्ञको टोलीले चुरे पहिरो क्षेत्रको अवलोकन गरी दिएको सुझावका आधारमा ज्योतिनगर र लक्ष्मीनगरमा वृक्षरोपण गर्ने, तारजाली लगाउने र पर्खाल लगाउने काम गरिएको सो कार्यालयका सूचना अधिकारी निर्मल थापा भन्छन्,'हामीले गत आर्थिक वर्षमा दुई करोड ३५ लाख रुपैयाँ को काम गरेका छौँ तर, प्राकृतिक प्रकोपसँग कस्को कसैको केही लाग्दैन।'

गतवर्ष उपमहानगरको वडा नं ३ मा पर्ने ज्योतिनगर क्षेत्रमा मात्रै करीब ७० हेक्टर क्षेत्रमा पहिरो गएको थियो।

'जुनसुकै समयमा खस्न सक्ने गरी ढुङ्गा माटो झुण्डिएर बसेकाले उक्त क्षेत्र निकै जोखिममा गतवर्षको पहिराका कारण घर वरिपरि ढुङ्गा माटोसहितको पहिराले लथालिङ्ग अवस्था छ, अहिले त झन पहिराले बाँच्न दिँदैन कि जस्तो लाग्छ', स्थानीयबासी तुलसा सुवेदी दुःखेसो पोखिन्।

विज्ञको प्रतिवेदनअनुसार ज्योतिनगरको पहिरो प्रभावित क्षेत्र पहिल्यै पहिचान भएको जोखिम क्षेत्र हो। तर, यो विषय सबैलाई थाहा थिएन। तत्कालीन राजा वीरेन्द्रले २०३४/३५ सालमा यस क्षेत्रमा चुरे पहाड संरक्षणका लागि कार्यक्रम ल्याउन निर्देशन भएपछि भुताहा, चिसापानी, माकर तथा चिडियाखोला गाउँ पूरै बस्ती स्थानान्तरण गरिएको थियो।

यो स्थानान्तरण गर्दा तामनगर र बर्दघाट क्षेत्रमा स्थानीयवासीलाई जग्गा उपलब्ध गराइएको थियो। सरकारले नयाँ ठाउँमा जग्गा उपलब्ध गराउँदा पुरानो ठाउँको जग्गा सरकारीकरण गरेन र जोखिम क्षेत्रको जग्गा पनि स्थानीयवासीकै नाममा नै रहिरह्यो।

बुटवलको शहरीकरण तथा आकर्षण बढेसँगै यो ठाउँको पहिरोलाई स्थानीयले पनि बिर्सिए। जोखिम हुँदाहुँदै पनि यहाँको जग्गा पनि किनबेच भयो। विस्तारै बस्ती बस्यो। विभिन्न जिल्लाबाट बसाइसराइ गरी आएकाहरुका घरहरु पहिरोमा परेर पुरिए।

विसं २०५५ को पहिरोमा यस क्षेत्रमा २१ घर पुरिएका थिए भने ५७ घर प्रभावित भएका थिए र यो क्रम गत वर्ष पनि दोहरियो। गतवर्ष करिब डेढ दर्जन घर पुरिए। ज्योति नगरका धेरै घरमा ढुङ्गा, माटोसहितको लेदो पस्यो।

यो क्षेत्रमा २०५५ सालको पहिरोपछि जाइका समूहले सर्भे गरेको थियो। भू–उपग्रहमार्फत चुरे क्षेत्रको तस्वीर खिचेर अध्ययन गरेपछि जाइकाले यो क्षेत्र जोखिमपूर्ण रहेको निष्कर्ष निकालेको थियो।

चुरे क्षेत्रमा भएका ठूला रुखले जोखिम निम्त्याउने भएकाले कटान गर्न सुझाव दिइएको थियो तर त्यो काम अझै पूरा भएको छैन।

चुरे पहिरो नियन्त्रणका लागि प्रदेशको वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयले वृक्षरोपणबाहेक कुनै काम गरेको छैन।

गत असार १४ गते बाँस र अम्रिसो रोप्ने काम गरिएको र थप कामका लागि समय लाग्ने मन्त्रालयका सूचना अधिकारी नारायणदेव भट्टराई बताउँछन्
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .