ad ad

लुम्बिनी


गुल्मीमा ३ वर्षमा ३३९ जना हराए, २२ अझै सम्पर्कविहीन

गुल्मीमा ३ वर्षमा ३३९ जना हराए, २२ अझै सम्पर्कविहीन

प्रतिकात्मक तस्बिर


नेपालखबर
साउन १०, २०७९ मंगलबार १३:३८, गुल्मी

गुल्मीको कालीगण्डकी गाउँपालिका–७ की ३७ वर्षीया छविकला थापा गत वैशाख १८ गते घरबाट हिँडिन्। उनी आफू मात्रै गइनन्, ८ वर्षीया छोरी पूजालाई पनि सँगै लगिन्। 

छविकला आउने आशामा परिवारले झन्डै १५ दिनसम्म धेरै ठाउँमा खोजतलास गरेपनि फेला पारेनन्। जेठ ४ गते देवर भीम बहादुरले जिल्ला प्रहरी कार्यालयमा भाउजू हराएकाले खोजिदिन निवेदन दिए। भाउजू आफूखुसी भागेर हिँडेको पीडकको निवेदनमा उल्लेख थियो।

छविकलालाई परिवार, स्थानीय एवम् प्रहरीले हराएको सूचीमा राखेर खोजी गरिरहे पनि अहिलेसम्म उनी फेला परेकी छैनन्। 

रेसुङ्गा नगरपालिका–८ की ईश्वरी कार्की पनि गत जेठ ८ गते घरबाट हिँडिन्। ३४ वर्षीया उनले पनि २ वर्षीया छोरीलाई सँगै लिएर गइन्। सोही दिन नै श्रीमान् नारायण कार्कीले जिल्ला प्रहरी कार्यालयमा श्रीमतीको खोजी गरिदिन आग्रह गर्दै उजुरी दिए। ईश्वरी हराएको दुई महिना हुँदा पनि अहिलेसम्म अत्तोपत्तो छैन। उनलाई प्रहरी र आफन्तले खोजिरहेका छन्। 

थापा र कार्की त हराएर नभेटिनेमध्येका केही प्रतिनिधिमूलक पात्र मात्रै हुन्। पछिल्लो तीन वर्षमा जिल्लामा ३३९ जना हराएका थिए। आर्थिक वर्ष २०७६/७७ देखि ०७८/७९ सम्म उक्त सङ्ख्यामा महिला, बालक, बालिका र वृद्ध हराएका हुन्। हराएकामध्ये २२ जना अझै भेटिएका छैनन्। बाँकी ३२४  जना सम्पर्कमा आएका थिए। आर्थिक वर्ष ०७६/७७ मा ६९ महिला, सात बालक, २१ बालिका र वृद्ध गरी कूल १०८ जना हराएका थिए। हराएकामध्ये सबै सम्पर्कमा आएका थिए।

आर्थिक वर्ष ०७७/७८ मा ७३ महिला, पाँच बालक, १० बालिका र चार वृद्ध गरी कूल ९२ जना सम्पर्कविहीन भएका थिए। तीमध्ये चार महिला, एक बालक र दुई वृद्ध गरी सातजना अझैसम्म पनि नभेटिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ। त्यस्तै आव०७८/७९ मा ९५ महिला, ११ बालक, ३० बालिका र तीन वृद्ध गरी एक सय ३९ जना हराएका थिए। तीमध्ये १० महिला, नौ बालक र तीन बालिका गरी १५ जना अझैसम्म पनि नभेटिएको उक्त कार्यालयका सूचना अधिकारी (डीएसपी) माधवराज खरेलले जानकारी दिए। हराएकामध्ये अधिकतर १७ देखि ४० वर्षसम्मका महिला थिए। 

श्रीमान् वैदेशिक रोजगारीमा गएका कारण श्रीमती परपुरुषसँग लागेर भागेको घटना धेरै हुने गरेको उनले  बताए। त्यसका साथै घरेलु हिंसा, उमेर नपुग्दै प्रेम गर्ने र भागी विवाह गर्नेलगायत कारण महिला हराउने गरेको पाइएको छ। 

यस्तो समस्या समाधानका लागि स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने, महिलाहरुलाई आत्मनिर्भर बनाउनेलगायत कार्य गरिए मानिस हराउने सङ्ख्यामा कमी आउने सूचना अधिकारी खरेलको भनाइ थियो। हराएका मानिसहरु पत्ता लगाउन उनीहरुको मोबाइल, फेसबुक, इन्टरनेटका साथै देशका अन्य ठाउँका प्रहरीलगायत स्रोतहरु परिचालन गरिएको गरिएको पनि उनले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .