ad ad

लुम्बिनी


सिद्धबाबा क्षेत्रमा सधैँ पहिराेकाे त्रास, कहाँ पुग्यो दुई वैकल्पिक सडक योजना?

सिद्धबाबा क्षेत्रमा सधैँ पहिराेकाे त्रास, कहाँ पुग्यो दुई वैकल्पिक सडक योजना?

सुदीप भण्डारी
असार १४, २०७९ मंगलबार १८:३२, बुटवल

वर्षाका कारण मंगलबार विहान सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल पाल्पा सडक खण्ड ४ घण्टा अवरुद्ध भयो।

तिनाउ गाउँपालिकाको माथिल्लो सिद्धबाबा नजिक पानीको ठूलो छहरा सडकमा खस्दा सडक अवरुद्ध बनेको थियो। साथै ठाउँ ठाउँमा पहिरो गएको थियो। सिद्धबाबा क्षेत्रमा पनि पहिरो खसेको थियो। 

जब वर्षायाम सुरु हुन्छ, तब सिद्धबाबा क्षेत्रको पहिरोको त्रास बढ्ने गर्दछ। यो क्षेत्रमा सानाठूला ढुंगासहितको पहिरो खसिरहन्छ। पहिरोका कारण थुप्रै यात्रुको ज्यान गइसकेको छ। 

पाल्पा तिनाउ गाउँपालिकाको लागि बुटवल पानी पँधेरो जस्तै हो। पढाइ, जागिर तथा व्यवसायको लागि तिनाउको दोभान र झुम्सा क्षेत्रबाट झण्डै दैनिकजसो ५ सय जति बुटवल ओहोर दोहोर गर्दछन्। पानी पर्दा यात्रा गर्न सबैलाई त्रास हुने बुटवलमा प्राध्यापन गर्ने दोभानका विष्णुप्रसाद पाण्डे बताउँछन्।

‘सधैँ हामी पहिरोको त्रासमा बस्नुपरेको छ। पानी पर्ने बित्तिकै यात्रा गर्नै सक्दैनौं’ उनले भने, ‘जरुरी काम पर्यो भने त्रसित भएर हिँड्नुपर्छ। वर्षामा जतिखेर पनि ढुंगा खसिरहेको हुन्छ।’ 

सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा क्षेत्रको सडक भएर पाल्पा, गुल्मी अर्घाखाँची, स्याङ्जा, पर्वत, बाग्लुङ, कास्की लगायतका जिल्लामा जान सार्वजनिक र निजी सवारी साधन चल्ने गर्दछन्। राजमार्ग क्षेत्रमा सबै भन्दा बढी जोखिमको ठाउँ सिद्धबाबा क्षेत्र बन्ने गरको छ। 

सिद्धबाबा क्षेत्रमा मोटरसाइकलमा भेटिएका अजय ज्ञवालीले पहाडी बाटो मध्य यहाँ बढी डर हुने गरेको सुनाए। 

‘सडक माथि ठूला चट्टान झुण्डिएको जस्तो देखिन्छ पानी पर्दा हिँड्न डरै लाग्छ’ उनले भने। 

सिद्धबाबा नजिकको पहिरोमा परि थुप्रै यात्रुको ज्यान गएको छ। त्यतिकै मात्रामा सवारी साधनमा क्षति पुगेको छ। 

पहिरोबाट हुने जोखिम न्यूनीकरणको लागि थुप्रै प्रयासहरु भएका छन्। यसको लागि सुरुङमार्गको योजना पनि अघि सारिएको छ।

सुरुङमार्गको निर्माणको लागि ठेक्का सम्झौता पनि भइसकेको छ। तर सुरुङमार्ग छिट्टै बन्छ भन्ने विश्वास भने यात्रुहरुलाई छैन।

सिद्धबाबा क्षेत्रमा भेटिएका ज्ञवाली भन्छन् ‘हामीले देख्न त पाइँदैन होला। छोरानातीको पालासम्म बन्ला।’ 

कहाँ पुगे दुई वैकल्पिक सडक 
पहिरोबाट हुने क्षती न्यूनीकरणको लागि सिद्धबाबा क्षेत्रको विकल्पमा पाल्पाबाट बुटवल आउने २ वटा वैकल्पिक सडक पनि बनिरहेका छन्। तर ती सडक पूरै तयार भइसकेका छैनन्।

वैकल्पिक अर्थात बाइपास सडकको रुपमा रहेका बेलबास–नुवाकोट–दोभान सडक र झुम्सा–चरंगे–धागो कारखाना सडक प्रदेश सरकारको बजेटबाट अघि बढेका हुन्।

बुटवलको बेलबासबाट नुवाकोट हुँदै पाल्पाको दोभान झर्ने गरि सडकको निर्माण पहिले केन्द्र सरकारले निर्माण सुरु गरेको थियो। पछि यो सडक आयोजना प्रदेश मातहत आएको हो। 

सो सडकको बुटवल–नुवाकोट खण्ड कालोपत्रे सकिन लागेको प्रदेश सरकार अन्तर्गतको सडक पूर्वाधार कार्यालय रुपन्देहीका प्रमुख ललित न्यौपानेले बताए। 

‘नुवाकोटसम्म कालोपत्रे अन्तिम चरणमा पुगेको छ। यो असार मसान्तसम्ममा ठेक्का सकिन्छ’ उनले भने। 

कूल १८ किलोमिटर सडक मध्ये साढे ७ किलोमिटर सडक रुपन्देहीमा पर्दछ। बाँकी सडक पाल्पामा पर्दछ। पाल्पा तिर सडकको ट्रयाक मात्र खुलेको छ। केही ठाउँमा ग्राभेल सम्म मात्र भएको छ। पाल्पा तिरको सडकको लागि यो चालु आर्थिक वर्षमा बजेट भने परेको थिएन। 

अर्को वैकल्पिक मार्ग झुम्सा चरंगे हुँदै धागो कारखाना जोड्ने सडक निर्माण प्रदेश सरकारले नै सुरु गरेको हो। यो सडकको केही खण्डमा ग्राभेलको काम सकिएको छ।

पूर्वपश्चिम राजमार्गको धागो कारखानादेखि चरंगे हुँदै पाल्पाको झुम्सासम्म कुल २२ किलोमिटर सडक रहेको छ। त्यसमध्ये १३ किलोमिटर रुपन्देही खण्ड र बाँकी ९ किलोमिटर पाल्पा खण्डमा पर्दछ।

रुपन्देही तर्फ ६ किलोमिटर जति कालोपत्रे भइसकेको छ। ३ किलोमिटर ग्राभेल भएको सडक पूर्वाधार कार्यालय रुपन्देहीका प्रमुख ललीत न्यौपानेले बताए। 

‘मुडाबाससम्म ग्राभेल यही असार मसान्तसम्म सकिन्छ। अर्को वर्ष कालोपत्रे गर्छौं’ उनले भने, ‘४ किलोमिटर ठाउँ पहिरो गएको क्षेत्र हो केही वर्ष माटो बस्न दिन्छौं। अहिलेलाई ग्राभेल र कालोपत्रे गर्दैनौं।’  

उता पाल्पा क्षेत्रमा पर्ने ९ किलोमिटर मध्ये ६ किलोमिटर ग्राभेल भएको छ। सडक पूर्वाधार कार्यालय पाल्पा प्रमुख अरुण गुप्ताले भने, ‘६ किलोमिटर ग्राभेल सकेका छौं। साढे ४ किलोमिटर पक्की नाली अरु होमपाइपको काम भएको छ।’ 

्झुम्सा चरंगे सडक स्थापनाले बिचमा पर्ने मुढाबास लगायतका बस्तीलाई सहज भएको छ। बाटो खुलेपछि जग्गाको मूल्य पनि बढेको स्थानीय बलबहादुर थापाले बताए। 

‘पहिले यहाँसम्म ट्रयाक्टर आउने बाटो मात्र थियो। अहिले फराकिलो पनि बन्यो। झुम्सा सम्म पुग्यो’ उनले भने, ‘बुटवल, भैरहवा, पश्चिमतिर कहाँ कहाँका मान्छेहरु घुम्न आउँछन्। जग्गाको मूल्य पनि बढ्यो।’

यी दुई सडक पूर्णरुपमा तयार हुन अझै केही वर्ष लाग्ने देखिन्छ। सडक बनेपछि पूर्ण रुपमा प्रयोगमा नआएपनि सिद्धबाबा क्षेत्रको विकल्पको सडक बन्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .