ad ad

साहित्य


कथा : बिरामी बाघ

कथा : बिरामी बाघ

सञ्जु बजगाईं
साउन २८, २०७९ शनिबार ८:२०, काठमाडौँ

धेरै दिन अघिदेखि कामको चटारो झेलेर थाकेको तनमन दुवैलाई आज भने दिउँसोभरि आराम दिउँ भनी बार्दलीमा घाम ताप्न बसेँ। निकै समयपछि मज्जाले तातेको घाममा बस्न पाउँदा पनि नानाथरीका चाहिने नचाहिने कुराहरु खेलेर मनचाहिँ खासै स्थिर थिएन।

‘मंकी माइण्ड’ भन्छन् नि अंग्रेजीमा। हो, ठ्याक्कै त्यस्तै– कतिखेरै स्थिर हुन नसक्ने बाँदर प्रवृत्ति भएको मन!

तर, अहिलेचाहिँ त्यो खन्चुवा ‘मंकी माइण्ड’ लाई निकैबेर भोकै राख्ने निधो गरेर मेरो ध्यान वरिपरिको मनोरम दृष्यतिर लगाउन थालेँ।

परिपरिको हरियाली! अहो वर्णन गरिसाध्ये छैन। यसले त हाम्रो बस्तीलाई साँच्चै जीवन्त राखेको छ। नत्र शहरको बढ्दो कोलाहलले मान्छेको बार्दलीमा बसेर रमाउने ईच्छा उहिल्यै मरिसकेको हुन्थ्यो होला।

नीलो आकाशमा मुलायम कपासझैं देखिएका सेता बादलका गुजुल्टाहरुलाई हेरेँ। नीलो पृष्ठभूमिमा सेतो रङ्गको तिनको मिश्रण अत्यन्तै सुन्दर देखिएको थियो। मिल्ने भए थुत्त थुतेर मुठ्ठीमा कसी सरर बात्ती कात्ने थिएँ। 

‘कस्ता सलसलाउँदा राम्रा हुन्थे होलान् ती बात्तीहरु?!’ स्वैर कल्पनामा एकैछिन रमाएँ। मन प्रफुल्ल भयो। 

पर क्षितिजमा अग्ला पर्वतहरु मनमोहक देखिए। तिनको टुप्पामा चढेर मान्छेको बस्ती हेर्न पाए त आजसम्म मैले बुझ्न नसकेको जीवनको रहस्य छर्लङ्ग हुन्थ्यो होला। मेरा आशातीत नजरले भ्याएसम्म टमक्क मिलेका ती पर्वत श्रृंखलाहरुलाई हेरें। हेर्दाहेर्दै यस्तो लाग्यो कि तिनले मलाई परैबाट बोलाइरहेछन्। तर, त्यस्ता अजङ्ग पर्वतका टुप्पामा कसरी पुगौंला र? मैले त्यहाँ बस्ने डरलाग्दा बाघका कथाहरु कति सुनेकी छु कति। अलिकति चढी नसक्दै बाटैमा भेटिने बाघले एकै गाँस बनाउँदैनन् र मलाई?

छिनमै बाघले आफूलाई खाला भन्ने काल्पनिक भयले असिन–पसिन भैसकेँछु। पत्तै नपाई मेरा हत्केला चिसा भएछन्। आखिर अनेकौं तर्कना–बितर्कको साथ मिल्दा ‘मंकी माइण्ड’ ले मलाई जितेरै छोड्यो। मैले त्यसलाई भोकै राख्छु भनेर आफैंसँग गरेको बाचा अन्ततः ब्यर्थ भयो।

‘हरे! त्यो बाघ।’ 

बाघले मलाई कहिल्यै छोड्ने भएन। फेरि मेरो ध्यान बाघतिरै मोडियो।

म बार्दली छोडेर किचेनभित्र पसेँ। फ्रिजभित्रबाट बोतल झिकेर एक ग्लास चिसो पानी पिएर आफूलाई शान्त पारेँ।

‘बाघ जति बुढो भए पनि घाँस कहिल्यै खाँदैन!’ 

पानी पिइसक्दा नसक्दै बाबुबाजेका पालादेखि सुनिआएको भनाइ मेरा कानमा नबिसाई गुञ्जिन थाल्यो। हुन पनि हो! बुढो हुँदै गए पनि मेरो जीवनमा आइलागेको बाघले आजका मितिसम्म घाँस खाएको छैन। बरु उसका आँखाहरुमा अनौठो नैराश्य झल्किएको भने एक महिना हुन लाग्यो।

हरेक पल उग्र र चनाखा रहने उसका बाघे आँखाहरुमा मैले ग्लानीको भाव पनि पटक–पटक देखिसकें। अझ भनुँ त उसका आँखाहरुलाई पीडारुपी मोतीबिन्दुले दृष्टि धमिल्याएर अलमलमा परेजस्तो गरेको अघि बिहानमात्रै देखेकी। बाघका आँखामा झल्किएको अदल–बदल मेरा निम्ति नितान्त नयाँ थियो।

साँच्चै भनुँ त आजका दिनसम्म मैले उसका बाघे आँखाको साँघुरो क्षेत्रफलभित्र आफूलाई एक निरीह शिकारका रुपमा देखेँ।

त्यसो त शुरुवाती दिनमा ‘बहादुर हुन के गर्नुपर्छ?’ भन्ने प्रश्न बोकेर त्यसको उत्तर खोज्दै नहिँडेकी पनि होइन। उत्तरमा ‘तिमीलाई जे गर्न सबैभन्दा बढी डर लाग्छ, त्यै काम गरेको ग¥यै गर न!’ भनेर मेरा केही सहकर्मी साथीहरुले सुझाएका थिए। तर, उनीहरुबाट उत्तर पाउँदासम्म मलाई निरीह शिकार बन्ने बानी परिसकेको थियो। 

‘तिर्खाएर मर्ने बेला बिषको सर्वत के गर्नु?!’ मैले तिनको सल्लाह मान्न सकिनँ। त्यसैले बहादुर बन्ने धारणामा नै पूर्णबिराम लगाइदिएँ।

जीवन चलिरह्यो। दैनिकीहरु रबरको शैलीमा तन्किँदै गए– तनक्क! फलस्वरुपः मेरो कर्मको उद्देश्य पनि चँुडिन सक्ने सम्भाव्यताबाट आफूलाई जोगाउने मात्र भयो। अरु कुरा सोच्नै सकिनँ। मभित्र एकप्रकारको दृष्टिविहीनपन हावी हुँदै गयो। मेरो परिधीय दृष्टि क्षीण भएर केन्द्रीयमा मात्र सीमित बन्दै गयो जसले गर्दा बाघे आँखाहरु बाहेक छेउछाउका अन्य कुराहरु देख्नै छोडिदिएँ। फलतः बाघ खुशी रह्यो। म पनि उसको अन्तिम शिकार बन्नबाट जोगिइरहेँ।
                         ०००       
                       
पाठकवृन्द! बुझ्नु भयो हैन त? बाघ अर्थात श्रीमान!!

मलाई श्रीमान् वा जीवनसाथी भनी उसलाई सम्बोधन गर्नुभन्दा बाघ र आफूलाई बाघकी श्रीमती भन्दा हाम्रो सम्बन्धलाई न्याय भएजस्तो लाग्छ। त्यसैकारण म उसलाई बाघ भन्छु।

सधैं मात्तिएर बाँचेको यो बाघ केही समय यतादेखि अलि आत्तिन थालेको छ। सशंकित भएको छ। अधैर्य भएको छ। छटपछिएको छ भित्रभित्रै। आफ्नै बाघे चरित्रको उचित उपयोग गर्न नसकेर विकलाङ्ग हुँदै गैरहेको छ 

छोरी अन्माएर बिदा गरेपछिदेखि नै उसलाई यस्तो हुन थालेको हो। दिनप्रतिदिन खस्किँदै गएको उसको चाल, बढ्दै गएको छट्पटाहट, अत्यास, स्वाँस्वाँ गरेर फेर्न थालेको श्वास, चमक हराउँदै गएका आँखा र राप नभएको गर्जनको चारित्रिक रुपान्तरणले मलाई यतिबेला थोरै दुविधामा भने पारेको छ। 

‘समय परिवर्तनशील छ।’ मैले भागवत् गीता युट्युबमा बजायैपिच्छे सुनिरहेको तर विश्वास गर्न नसकेको वाक्य हो यो। दिनपछि रात, जवान पछि बुढो, हिजोपछि आज र आजपछि भोलि हुने प्राकृतिक क्रमलाई मैले परिर्वतन मान्न सकिनँ। मेरा छिप्पिएर अररा हुँदै आएका हातहरु र जिम्मेवारीको सेपले कालो रङ्ग खुइलिएर सेतो हुँदै आएको आफ्नै कपालको चुल्ठोलाई पनि परिवर्तन भनेर बुझ्न सकिनँ।

यसर्थः आजका दिनसम्म म एक जब्बर मूर्ख भएर नै बाँचिरहेकी छु। त्यसकारण अहिले आएर एकाएक मेरो बाघे लोग्नेको खस्किँदो चरित्रलाई परिवर्तनको संज्ञा दिने कुरा पनि त भएन। 

‘माया गर्नेको...बाचा बन्धन...!’ 

मेरो बाघ मनोवादलाई हातमा बोकिराखेको मोवाइलको रिङ्ग टोनले बिथोलिदियो। अब झन् मेरा लागि आरामको ‘अ’ पनि असम्भवप्रायः भयो।

‘हेलो!’ मैले बिरालो हुँदै फोन उठाएँ।

‘छोरी सुप्रियाले फोन गरी आज?’ उताबाट बाघ गर्जियो।

‘छैन। दुईदिन मात्र त भयो कुरा गरेको, अब भरे भोलितिर गर्ली नि।’ मैले आशावादी हुँदै भनेँ।

‘आज बेलुकी पाँच बजेसम्म फोन आएन भने एक कल आफैं गर्नू।’ बाघको आदेश आयो। 

‘परदेशको ठाउँमा के कसो छ? छास्सछुस्स फोन गरिरहे अन्यथा अर्थ लाग्ला।’ मैले फोन नगर्न सुझाएँ।

‘उसोभए म आफैं गरौंला।’ बाघले निर्णय सुनायो।

‘हस्।’ मैले फोन काटेँ।

बाघको यस्तो सन्की कुरो मेरो ‘मंकी माइण्ड’ का लागि अर्को ठूलो खुराक हुन गयो। त्यसपछि त ‘माइण्ड’सँग सोझै जोडिएको त्यो मंकी मेरो मनरुपी वृक्षको एक हाँगोबाट अर्को हाँगोमा छलाङ मार्दै बुरुक–बुरुक उफ्रिन थाल्यो।

अनि त आफूभित्र भर्खर पलाएका शान्तपनका हरिया पातहरु लुछिन थाले। फुल्न लागेका खुशीका कोपिलाहरु चिथोरिएर छरपस्ट भए।

कुराहरुको उहापोहले उत्पात मच्चिएर दिमाग पूर्णतः घाइते भयो। आफ्नै टाउको एक मनको ढुंगोझैं भारी भयो। त्यसलाई हलुङ्गो पार्न हतारिँदै पारासिटामोलका दुई ट्याब्लेट बैठक कोठाको सानो क्याबिनेटबाट झिकेर खाएँ र सोफामै पल्टिएँ।

मलाई सञ्चो हुन नभ्याउँदै अफिसबाट बाघ घर फर्कियो र गर्जिँदै भन्यो– ‘कति सुतिराखेकी, उठेर त्यो सुप्रियालाई फोन लगा।’

मेरो फोनतिर आँखा लगाउँदै बोल्यो ऊ।

आदेशको पालन गर्ने बानी परेकी म केही अवरोध नगरी जुरुक्क उठेर बसें। टाउको अझै भारी नै थियो। मनमनै आफ्नै फोनबाट गर्नू नि, भनेर जवाफ लगाउन मन थियो। तर मनलाई मारेर भनेँ– ‘क्यानडामा त अहिले भर्खर उज्यालो मात्र हुँदैछ। एकछिनपछि पो गर्ने कि?’ 

मलाई एकाबिहानै फोन गरेर छोरीलाई तनाव दिने मनै थिएन।

‘केको बिहान न बेलुका, मैले सपना राम्रो देखेको छैन।’

सपनाको आडमा लागेरै किन नहोस्, आखिर बाघले छोरीलाई म्यासेन्जरमा फोन गरेरै छाड्यो।

‘ए छोरी, तिमीलाई सबै राम्रै छ नि!’ बाघले कामेको आवाज गर्दै सोध्यो।

‘हजूर, सबै राम्रो छ बुवा। किन र?’ छोरीले ओछ्यानबाटै बोलेको सुनियो।

‘ज्वाइँले दायाँबायाँ त गरेका छैनन् नि?!’ 

हरे! कस्तो अप्रत्याशित प्रश्न? बाघ छोरीको घरमा आगो सल्काउन उद्दत्त भएको देखेर मेरो त मुटु नै छेडियो। यो कस्तो विपत् आइलागेको? बाघलाई मनलागि बोल्नबाट रोक्ने कसरी?

आपतमा त बुद्धिमा बिर्को लाग्छ भन्थे तर मलाई भने केले–केले बैठकमा राखेको राउटरलाई डिस्कनेक्ट गर्ने बुद्धि दियो। कुरा अरु बिग्रन नपाउँदै मैले इन्टरनेट कनेक्सन टुटाइदिएँ र थाहा नपाउँदो गरी पहिलेकै ठाउँमा आएर बसेँ।

‘हेलो...हेलो...हेल्लोऊ...!’ बाघ गर्जिरहेको थियो।

‘के भयो र?’ मैले बुझ पचाउँदै बिरालो भएर सोधेँ।  

फोन डिसकनेक्ट भएको झोंकमा त्यै हातको फोन मेरो टाउको ताकेर हुर्याउला भन्ने उस्तै चिन्ता। फोन त गयो गयो, फुटेको टाउको जोड्न मलाई कस्तो सास्ती होला? 

मैले जे सोचेँ, तर त्यसको ठीक विपरीत भयो। बाघ टाउको समाएर झोक्राउन पो लाग्यो।

हे अचम्म! के हुन लागेको हो यस्तो? केही भनुँ त चिथोर्ला भन्ने डर। नभनुँ त बाघै मर्ला कि भन्ने डर। अन्योलको कठघराभित्र उभिएकी थिएँ म। तैपनि, आमा हुनुको हकमाथि भरोसा राख्दै आँट गरेर मैले बाघलाई सोधेँ– ‘के रहेछ छोरीको खबर?’ 

‘उसले त ठीक छ भनी तर मेरो मनले यो कुरा मान्दैन’ बाघले त्रसित मुद्रामा सुनायो, ‘हिजो राति मैले सपनामा ज्वाइँले सुप्रियालाई तथानाम गाली गर्दै थप्पड हानेको देखेँ। त्यसको पीडामा छोरी रोइरहेकी थिई। मैले छोरीको आँशु पुछ्नसम्म सकिनँ। त्यत्तिकैमा झल्याँस्स ब्युँझिएँ।’ 

सपनामा देखेका कपोकल्पित कुरा भनिरहँदा बाघको अनुहारमा व्यग्रता झल्किन्थ्यो। 

‘कस्तो कल्पना गर्न पनि नसकिने कुरो सपनामा देखेको होला,’ मैले सम्झाउने कोशिसमा भनेँ, ‘त्यस्तो पढेलेखेको असल ज्वाइँ पाएका छौं, कसरी त्यस्तो अभद्र व्यवहार गर्नुहुन्थ्यो।’ 

‘पढेलेखेको भनेर हुन्छ र? लोग्ने मान्छेको जात पो त! कस्तो हुन्छ, मलाई राम्रोसँग थाहा छ। बिहे गरेको यतिका दिन भैसक्दा पनि त्यो छोरीको मन दुख्ने गरी ज्वाइँले केही भनेका छैनन् होला त? कति पटक हिर्काइसके होलान्। पकाएको मिठो भएन भनेर खानाको थालै छोरीलाई लाग्ने गरी हुर्‍याएनन् भन्ने के ग्यारेण्टी छ? कति अपशब्दले प्रहार गरिसके होलान्? मैले हिजोसम्म आफ्ना हत्केलाले सुम्सुम्याउँदै पुलपुल्याएर हुर्काएकी छोरीलाई के–के गरिसके होलान्?’ 

छोरीको मायामा बाघले होश गुमाउँदै गैरहेकोे थियो। निर्दोष ज्वाइँप्रति उसको बाघे शंका र उपशंका निरन्तर थियो। यो सब देखेर एकैछिन त म पनि के भनुँ र नभनुँको दोधारमा परेँ।

‘सपना पनि कहीँ साँचो हुन्छ र? पुल्पुल्याएर राखेकी छोरी टाढा भएपछि मन अधैर्य भएर सपनामा अनेक थरी आएको हो। त्यस्तो अरु केही होइन।’ मैले थामथुम पार्ने कोशिस गर्दै भनेँ। 

‘एउटा लोग्ने मान्छे के–केसम्म गर्नसक्छ, त्यो मैले बुझेको छु।’ ऊ त जुरुक्क उठेर मेरो निधारको मध्यभागमा भएको खतलाई चोर औंलाले घोच्न आइपुग्यो र भन्यो – ‘के तँैले बिर्सिइस् मैले हुर्‍र्याएको कचौरोको धारिलो बिटले काटेर बनेको तेरो निधारको यो अजम्बरी चोट? त्यो चोट दिने लोग्नेमान्छे मैं हुँ। के म अनपढ् थिएँ त?’ 

उसको झम्ट्याइले मेरो सातोपुत्लो लियो। डरले थरर भएँ।

हो, उसले सत्य बोलिरहेको थियो। मैले त्यो खत लुकाउन निधारको आधाभागसम्म दाहिनेपट्टिको कपाल ल्याएर स्टाइलको भ्रम दिएर कपाल कोर्ने गरेको १५ बर्ष भयो। छोरीको बिहेमा कपाल पछाडि फर्काएर सुन्दर जुरो बनाई गुलाफको फुल सिउरिने रहर पनि त्यै खतले पूरा हुन दिएन।

जे नहुनु पथ्र्यो त्यो भैसकेपछि मान्छेले त्यसैलाई सामान्य मान्दोरहेछ। मैले पनि सबैथोक सामान्य मान्दै ल्याएकी थिएँ।

‘ए त्यो त उहिलेको कुरा। मैले त बिर्सिसकेँछु’ बाघलाई शान्त गराउन यत्ति बोलेँ।

‘बिर्सिसकेँछु? के तेरो कपालमा मेरा यी दुष्ट हातले समातेर तँलाई घिसारेको पनि बिर्सिइस्? तेरो ढाडमा मेरा लात बज्रिएर बनेका नीलडामले रातभर सुत्न नसकेको पनि बिर्सिइस्? तेरो मुखमा थुकिदिएको पनि बिर्सिइस्? मार्छु भनी बारम्बार धम्क्याएको पनि बिर्सिइस्? मेरो थप्पडले तेरो गालामा बनेको आकृति मेटाउन हप्ताभरि बिदा लिएर तैँले घरै बस्नुपरेको पनि बिर्सिइस्?’ 

बाघ एकपछि अर्को गर्दै आफ्नै चरित्रको पुनरावृत्तिमा बर्बराइरहेको थियो। मैले त पलपलमा चित्त फटाइदिने बाघका काला कर्तुतहरुलाई उहिल्यैदेखि मनको नेपथ्यभित्र थुनेर भोटे ताल्चा मारेकी थिएँ। तर, आज बाघे नंग्रा घुसाई–घुसाई चिथोरेर छताछुल्ल पारिदियो। 

‘खै मलाई त केही याद छैन।’ मैले मुटु गाँठो पारेर फेरि पनि केही सम्झन नसकेको अभिनय गर्दै बोलेँ। 

‘मैले कसैकी छोरीलाई बिहे गरेर ल्याएपछि पटक–पटक जस्तो दुव्र्यवहार र हिंसा जे गरेँ, मेरी छोरीलाई पनि त्यस्तै व्यवहार आज अरु कुनै लोग्ने मान्छेले गरिरहेको छ। मेरो पापको सजाय मेरी फूलजस्ती कोमल छोरीलाई नमिलोस्। हे ईश्वर! मलाई जे सजाय दिनेछौ, त्यो भोग्न तयार छु।’

मनोरोगको चंगुलमा पर्दै गएको बाघ दुई हात जोडेर प्रायश्चित गर्न लाग्यो।

‘खुचिङ्ग! तेरी छोरीलाई पनि मेरैजस्तो जीन्दगी मिलोस्’ बाघको बर्बराहट सुन्दासुन्दै मैले त आफ्नै छोरीलाई सराप्न पुगेँछु। हे शिव! यो कस्तो दिन आएको हो मेरो?

बाघले चित्रण गरेझैं सबै लोग्ने मान्छे बाघ चरित्रका हुँदैनन्। न मेरा बा थिए, न मेरा ज्वाइँ नै। मलाई ज्वाइँप्रति एक मनोरोगीले बनाएको धारणा बोकेर बस्नु थिएन। मैले बाघका कुरालाई विषयवस्तु मानिनँ। यद्यपि, बाघको आत्मबोध देख्दा भने ढिलै भए पनि बर्षौंदेखि अदालतमा पेन्डिङ रहेको आफ्नै मुद्दा जितेझैं लाग्यो। 

साँच्चै, समयले यतिबेला मेरै घरको एउटा कोठालाई अदातल बनाइदिएको थियो, जहाँ काठको एउटा सोफा कठघरा बन्न काफी थियो। कोठामा भएका सबै निर्जीव वस्तुहरु पर्याप्त साक्षी थिए। 

यहाँ वादी र प्रतिवादीबाट बहस गर्ने वकिलहरु थिएनन्। न्याय दिने न्यायाधीशको आवश्यकता थिएन। तर पनि पीडितलाई न्याय मिलिरहेको थियो। 

अन्ततः यो सबै आफ्नै आँखाले देखिरहँदा मलाई न्याय र अन्यायको आफ्नै प्राकृतिक नियम भएको अवस्थामा मान्छे त केवल समयको कारिन्दा बाहेक केही होइन रहेनछ भन्ने ज्ञात भयो। आत्मज्ञान भनेको यही होला।

यस्तो आत्मज्ञानको प्रभावले मेरो छातीभित्र लामो समयदेखि संकुचित भएर अडिएका दुवै फोक्सोमा हावाको प्रवाह बढेझैं भयो। बर्षौंपछि जीवनमा पहिलो पटक मैले सजिलोसँग श्वास फेरेको अनुभुति गरेँ। 

मैले गहिरो श्वास फेर्दै बाघतिर पुलुक्क हेरेँ। उसको अनुहार अत्यन्तै चिन्तित थियो। ऊ हात लागिसकेको शिकारलाई छोडेर आफ्नै ज्यान जोगाउन भागेझैं देखिन्थ्यो। आफ्नै तागत आफ्नै कमजोरीमा बदलिएपछि हार मानेर मनैदेखि टुटेको देखिन्थ्यो। यसरी मेरै मुखेञ्जी एउटा बलियो बाघको शक्ति क्षीण भैरहेको थियो। 

मलाई जीवनको यो विन्दुमा आइपुग्दा जित्नु र हार्नुको युद्धमा होमिनु थिएन। भोगिसकेका पलहरु भूतकालमा परिणत गरिसकेपछि पलपल त्यही भूतलाई स्मरण गरेर तर्सिरहनुको अर्थ पनि थिएन। त्यसैले बाघलाई यथास्थितिमा छोडिदिएर म भने तुरुन्त मनोचिकित्सकलाई सम्पर्क गरी उसको उपचार शुरु गर्नेे तरखरमा लागेँ।

यथार्थतः मेरो जीवनको अर्को चरण भन्नु पनि यही थियो।

हाल : बेलायत।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .