आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ३ ठाउँबाट नाम सिफारिसमा परेका नेकपा (एमाले) नेता विनोद ढकालले टिकट पाएनन्।
यसअघि २०७९ सालको निर्वाचनमा क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका ढकाल आगामी निर्वाचनको लागि पहिलो चरणको उम्मेदवारको लिस्टमा समेत नपरेका हुन्।
एमालेका संस्थापन इतर समूहका नेता ढकालको नाम मोरङका तीनवटा क्षेत्रबाट सिफारिस भएको थियो। ढकाललाई क्षेत्र नम्बर १, ४ र ६ बाट उम्मेदवारका लागि सिफारिस गरिएको थियो।
एमाले केन्द्रीय सचिवालय बैठकले तय गरेका नामहरू मध्ये मोरङका २ वटा निर्वाचन क्षेत्रमा खाली राखेर उम्मेदवार तय गरिएको छ।
क्षेत्र नम्बर १ बाट घनश्याम खतिवडा, क्षेत्र नम्बर २ बाट दिलीप अग्रवाल, क्षेत्र नम्बर ३ बाट दिलीप राई, क्षेत्र नम्बर ४ बाट जीवन घिमिरेलाई उम्मेदवार बनाउने निर्णय सचिवालय बैठकले गरेको हो। क्षेत्र नम्बर ५ र ६ मा भने अहिलेसम्म कसैलाई उम्मेदवार बनाइएको छैन।
मोरङ जिल्लामा ढकालको वर्चस्व छ। ढकाल समूहको नेतृत्वमा जिल्ला कमिटी र महानगर कमिटी सहितका आधा दर्जन पालिकाका समितिहरू उनको पक्षका नेताहरू रहेको दाबी गरिन्छ।
एमाले निकट एक नेताका अनुसार, मोरङ जिल्लामा उनलाई छाडेर उम्मेदवार बनाउँदा त्यसको सन्देश राम्रो नजाने समेत टिप्पणी हुन थालेको छ। बाँकी रहेको क्षेत्र नम्बर ६ बाट ढकाललाई उम्मेदवार बनाउनको लागि खाली राखिएको हुनसक्ने नेकपा एमाले मोरङका एक पदाधिकारीले नेपालखबरसँग भने।
अहिले उम्मेदवार बनाइएका सबै संस्थापन समूहका नै नेताहरू रहेका छन्। यसअघि नेकपा माओवादीका नेता अमनलाल मोदीबाट क्षेत्र नम्बर ४ बाट पराजित भएका ढकाललाई टिकट नदिई क्षेत्र नम्बर ४ मा जीवन घिमिरेलाई उम्मेदवार बनाउने पार्टी केन्द्रको निर्णयले जिल्ला पार्टी सकारात्मक देखिए पनि विनोद ढकाललाई समेटेर लग्नु पर्ने उनीहरूको माग छ।
टिकट नपाएको बारेमा जानकारी लिन नेपालखबरले ढकाललाई सम्पर्क गरेको थियो। उनले भने, ‘अहिलेसम्म कुनै पनि क्षेत्रमा नाम सिफारिस भएर आएको छैन, त्यो बाहेक अरू विषयमा मलाई थाहा छैन।’
उम्मेदवार छनौट र टिकट वितरण बारेमा ढकालले कुनै प्रतिक्रिया दिन चाहेनन् ।
Shares

प्रतिक्रिया