कोशी


कोसीको एक बर्षे उपलब्धि के? यस्ता छन् सरकारका दाबी

कोसीको एक बर्षे उपलब्धि के? यस्ता छन् सरकारका दाबी

फाइल तस्बिर


सुमन सुस्केरा
साउन ११, २०८२ आइतबार १७:२९, विराटनगर

कोसी प्रदेश सरकारले एक बर्षे उपलब्धि सार्वजनिक गरेको छ। लगानी सम्मेलन र लगानीकर्तालाई ७५ प्रतिशत छुट दिएको विषयलाई पनि प्राथमिकता दिएर सार्वजनिक गरेको छ।  

मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको वार्षिक उपलब्धिमा रजिस्ट्रेसनमा ७५ प्रतिशत छुट दिने घोषणालाई पनि समेटिएको छ। आर्थिक वातावरणलाई थप प्रोत्साहन गर्न यस वर्ष आयोजित लगानी सम्मेलन सफल भएको भनिएको छ।  


१ खर्ब ५२ अर्ब रुपैयाँ बराबरका परियोजनाहरू लगानीका लागि आउने चरणमा रहेको सरकारको दाबी छ। सरकारका अनुसार उद्योगहरूका लागि जग्गा रजिस्ट्रेसनमा ७५ प्रतिशत छुट दिने घोषणाले प्रदेशमा औद्योगिक वातावरण बनाए  र लगानीकर्तालाई आकर्षित गरिएको छ। 

त्यस्तै पूर्वाधार निर्माण, लगानी आकर्षण, वित्तीय अनुशासन र नागरिक सेवा सुधारजस्ता क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताएको प्रदेश सरकारले यी पहलहरूले संरचनालाई बलियो बनाउनुका साथै विकास र समृद्धिको आधार तयार पारेको उल्लेख गरेको छ।

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लगानी कर्ता आकर्षित गर्न गरिएको ७५ प्रतिशत राजश्व छुटको विषय अरू प्रदेशले गरेको व्यवस्था भन्दा फरक भएको दाबी गरे। 

संघीय सरकारको वित्तीय प्रगति न्यून रहँदा कोसी प्रदेशले गत आर्थिक वर्षमा करिब ८१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको समेत उनले बताए। प्रदेशले गत वर्षको तुलनामा राजस्व संकलनमा ८ प्रतिशतले वृद्धि गरेको छ।    

यो एक वर्षमा  ११४ किलोमिटर सडक कालोपत्रे भएको दाबी उनको छ। ‘५२ किलोमिटर नयाँ ट्र्याक खोलिएको छ। सडक ग्राभेल १५२ किलोमिटर गरिएको छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘पक्की पुल १८ वटा निर्माण हुँदा झोलुङ्गे पुल १६ वटा निर्माण भएको छ।’

प्रदेश सरकारले संघीय सरकार मातहतमा रहेको एक दर्जनभन्दा बढी प्रहरी कार्यालय भवन निर्माण तथा मर्मत गरेको विषयलाई पनि उपलब्धिको रूपमा सार्वजनिक गरेको हो। यो आँकडाले प्रदेश सरकारको कार्यान्वयन क्षमतालाई पुष्टि गरेको भनिएको छ। 

स्विस सरकार र स्थानीय तहसँगको सहकार्यमा २ अर्ब ३५ करोडको लागतमा ४६८ किलोमिटर लामो पर्यटकीय पदमार्ग निर्माण सुरु गरिएको छ। यो ५ वर्षे परियोजना अन्तर्गत मुन्दुम, चियाबारी, लालीगुराँस र फाल्गुनन्द पदमार्ग निर्माण हुनेछन्। मुख्यमन्त्री  कार्कीले  वि.सं.२०८५ सालसम्ममा सम्पन्न हुने यो परियोजनाले प्रदेशको पर्यटनमा क्रान्ति ल्याउने र बसाइँसराइ रोकेर स्थानीय आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
 
यस वर्षलाई ‘पर्यटन वर्ष’मा भारतबाट आउने पर्यटकका गाडीलाई स्टिकर, वर्षौंदेखि लाइसेन्स पास गरेर पनि कार्ड नपाउने समस्याको अन्त्य,  कर तिर्ने बित्तिकै अस्थायी लाइसेन्स दिने व्यवस्थालाई आफ्नो उपलब्धिको रूपमा सरकारले लिएको छ। 

नागरिकको विश्वास जित्ने अर्को महत्त्वपूर्ण कदम ‘आयोजना बैंक’ को सुरुवातमा ६ महिनामै ५० हजारभन्दा बढी आयोजना बैंकमा दर्ता हुनुलाई रकारले उपलब्धिको रूपमा लिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले बताए।

उनले यातायात क्षेत्रमा बिचौलिया नियन्त्रण गरी सेवालाई सहज बनाइएको पनि दाबी गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad