उदयपुरको चौदण्डीगढी नगरपालिकाले शैक्षिक क्षेत्रमा आमूल परिवर्तन गर्ने लक्ष्यसहित दश वर्षीय शिक्षा योजना सार्वजनिक गरेको छ। योजनामा नगरभर शैक्षिक पहुँच विस्तारदेखि गुणस्तरीय शिक्षा, विद्यालय पूर्वाधार सुधार, प्राविधिक शिक्षा प्रवर्द्धनलगायत १० मुख्य कार्यक्रम समेटिएका छन्।
नगरपालिकाले सार्वजनिक गरेको योजनामा सबै बालबालिकालाई विद्यालयमा भर्ना गराउने, शिक्षकको क्षमता विकास गर्ने, स्थानीय संस्कृति आधारित पाठ्यक्रम लागू गर्ने र कमजोर विद्यार्थीलाई थप कक्षा सञ्चालन गर्ने योजना छ। साथै विद्यालयको भौतिक पूर्वाधार निर्माण, डिजिटल शिक्षालाई प्राथमिकता, प्राविधिक शिक्षा सञ्चालन, शिक्षक व्यवस्थापनमा कडाइ र पारदर्शी बजेट व्यवस्थापनलाई पनि प्राथमिकता दिइएको नगरले जनाएको छ।
गरीब, दलित र जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति तथा पोषण कार्यक्रम, विद्यालय व्यवस्थापन समितिको क्षमता अभिवृद्धि, बालमैत्री विद्यालय बनाउने र नियमित अनुगमन प्रणालीलाई मजबुत बनाउने कार्यक्रमसमेत योजनामा समावेश छन्।
कोशी प्रदेश सभाकी उपसभामुख सृजना दनुवारले योजनाले नगरको ऐतिहासिक र सांस्कृतिक पहिचानको संरक्षण गर्दै चौदण्डीगढीलाई जिल्लामात्र नभई प्रदेश र देशमै शैक्षिक हबसम्म विकास गर्ने विश्वास व्यक्त गर्नुभयो। नगर प्रमुख कालुमान लामाले चुनावी वाचा अनुरूप नै दश वर्षीय योजना निर्माण गरी कार्यान्वयनमा ल्याइएको बताए।
कार्यक्रममा उत्कृष्ट विद्यार्थी र शिक्षकलाई नगदसहित सम्मान गरिएको थियो। कार्यक्रममा नगर उपप्रमुख मणिका देवी दुलाल, प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलगायतको उपस्थिति रहेको थियो।
Shares

प्रतिक्रिया