उदयपुरको त्रियुगा नदीमा आएको बाढीले बस बगाएको छ। जिल्लाको चौदण्डी गढी नगरपालिका ५को शिवाई र बेल्हा जोड्ने त्रियुगा नदीमा आएको बाढीले बस बगाएको हो।
त्रियुगा नदीमा पुल निर्माण नहुँदा नगरपालिकाले हिउँदमा अस्थायी रूपमा ह्युमपाइप राखेर सडक निर्माण गरेको थियो। स्थानीयको सहयोगमा ह्युमपाइप राख्ने काम गरिएको भए पनि पहिलो पटक आएको बाढीले भत्काएको छ।
अस्थायी सडक भएर शिवाईबाट बेल्टार बजार तर्फ आउँदै गरेको को १ ख ४७५३ नम्बरको बस नदीमा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।
धरान–बेल्टार रुटमा चल्ने बस शिवाईबाट सप्तरीमा जन्ती पुर्याएर बेल्टार फर्किने क्रममा बाढीले बगाएको हो। प्रहरीका अनुसार नदीमा डुबेको बसमा चालक र सहचालक मात्रै थिए उनीहरू सकुशल छन्।
बस डुबेको ठाउँ भन्दा केही मिटर तल झन्डै डेढ दशक अघि निर्माण सुरु गरिएको पुल ४ वर्षअघि निर्माण सम्पन्न हुनै लाग्दा भत्किएको थियो। हाल उक्त पुल निर्माणको ठेक्का सम्झौता समेत सरकारले रद्द गरिदिएको छ।
पुल समयमा नै नसकेको कारण हरेक वर्ष यसैगरी नागरिकले क्षति बेहोर्नु परेको भन्दै सरकारको आलोचना हुने गरेका छ। राज्यमा ठूला परिवर्तन भएको भए पनि आफूहरूको दैनिकीमा कुनै परिवर्तन नआएको, हरेक वर्ष आफूहरू जोखिम मोलेर डुङ्गामा वारपार गर्नु पर्ने बाध्यता रहेको स्थानीयको गुनासाे छ।
२०६७ सालमा महालक्ष्मी–लोकप्रिय जेभी, कलङ्कीले नौ करोड ७६ लाखमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पुल निर्माणको ठेक्का पाएको थियो। त्यसपछि सोही कम्पनीले पुलको लागत मूल्य समायोजन गरी ११ करोड २७ लाखमा निर्माण थालेको थियो।
निर्माण सम्पन्न हुनै लाग्दा २०७८ असारमा आएको बाढीले पुल ढलेको थियो। पुल नबन्दा चौदण्डी गढी नगरपालिकाका वडा नम्बर ५, ९ र १० का झन्डै २० हजार स्थानीय पालिकाको केन्द्र बेल्टार आउजाउ गर्न समस्या हुँदै आएको छ।
Shares

प्रतिक्रिया