नेकपा (माओवादी) केन्द्र विराटनगर महानगर समितिको नगर सम्मेलन वैशाख ७ गते नै सुरु भएको हो। सम्मेलन सुरु भएको ५ दिन भइसक्दा पनि नयाँ नेतृत्व चयन हुन सकेको छैन।
माओवादी भित्रको तीव्र विवादका कारण नेतृत्व चयनमा सकस भएको हो। नगर सम्मेलनबाट नयाँ नेतृत्व चयन गर्ने गरी सुरु भएको दोस्रो सम्मेलन नेतृत्व चयनमै अलमलिएको भन्दै कार्यकर्ताले असन्तुष्टि व्यक्त गरेका छन्।
नगर सम्मेलन स्थगित भएसँगै केही प्रतिनिधि आक्रोश व्यक्त गरेका थिए। प्रतिनिधिबाट ८१ जना महानगर समिति सदस्य निर्वाचित गर्नुपर्नेमा ८७ जनाले मनोनयन दर्ता गरेपछि सहमतिको बहानामा निर्वाचन लम्ब्याइएको नेकपा माओवादी केन्द्रका एक प्रतिनिधिले बताए।
ती प्रतिनिधिले भने, ‘आफू अनुकूलका व्यक्ति नआउने भएपछि अधिवेशन स्थगित गरेर दबाबमा ६ जनाको मनोनयन नै फिर्ता गराउन लगाइएको छ।’ उनीहरूले निर्वाचित हुँदा कि सबैलाई चुनावमा जान दिनुपर्ने अन्यथा नेताहरूले आफू नजिकका मान्छे ल्याउने काम रोक्नु पर्ने बताएका छन्।
कोषाध्यक्षमा ५ जनाले आफ्नो कडा दाबी प्रस्तुत गरेको भए पनि अन्य आकांक्षीलाई दबाब दिएर फिर्ता गर्न लगाएपछि मनिष सोनीलाई सर्वसम्मत बनाइएको छ। अझै सहसचिव, सचिव, उपाध्यक्ष र अध्यक्ष पदमा कुरा मिल्न सकेको छैन।
नगर अध्यक्षको लागि नमिता न्यौपाने र देव राजवंशी दुवैले आफ्नो दाबी छाडेका छैनन्। नमिता न्यौपानेलाई पार्टी अध्यक्ष प्रचण्डले लाइन दिएपछि शिवकुमार मण्डलले राजवंशीलाई अघि सारिदिँदा महानगर विभाजित भएको माओवादी स्रोत बताउँछ।
उपाध्यक्ष पदको लागि ९ जनाले आफू पछि नहट्ने भन्दै अडान कायम नै राखेका छन्। शिवराम थन्दार, सनोज यादव, धर्मलाल माझी, सरस्वती ओझा, शारदा मैनाली, साबित्रा गौतम, चन्द्र बन, दिनेश कामत र बद्री दाहाल नगर उपाध्यक्ष बनाउनै पर्ने अडानमा हुँदा नेताहरूलाई मिलाउन समस्या परेको निर्वाचन समितिले जनाएको छ। 
त्यस्तै सचिवमा पनि ३ जनाले आफ्नो दाबी छाडेका छैनन्। सचिवको दाबी नछाड्नेहरूमा आजन परवेज, सोनु केवट र केपी चौलागाईँ छन्। नेताहरूले आजनलाई सचिव बनाउनु पर्छ भनेर लाग्दा अरू आकांक्षी रुष्ट हुँदा माओवादी भित्र तीव्र ध्रुवीकरण देखिएको छ।
सहसचिवमा भरत गिरी, चम्पा कार्की र दिनेश कामतले आफ्नो दाबीबाट पछि हटेका छैनन्। केन्द्रीय नेतृत्व प्रचण्डले सहमतिको रटान गर्दा नेकपा माओवादी केन्द्रको महानगर अधिवेशनले एक हप्तामा पनि नेतृत्व छान्न सकेको छैन। यसले नेकपा माओवादी भित्रको आन्तरिक लोकतन्त्रलाई उदाङ्गो पारेको कार्यकर्ता भित्रैबाट आरोप लाग्दै आएको छ।
नेकपा माओवादीका एक जिल्ला नेताका अनुसार, प्रचण्डले सर्वसम्मत नाम ल्याउनु भनेकोले त्यही अनुसार तयारी गरिएको छ। सबै नेता बन्न खोज्दा सर्वसम्मतमा समस्या भएको ती नेताले दाबी गरे। ‘कसलाई नेता भन्ने, सबै नेतै नेता छन्’, ती नेताले भने, ‘मोरङमा धेरै नेता भए, संगठन भन्दा पनि व्यक्तिगत स्वार्थको लागि आफ्नो नजिककालाई नेतृत्वमा ल्याउने होड चल्दा सहमति हुन सकेको छैन।’
विराटनगर महानगरपालिका नेतृत्व चयनको लागि संयोजन गर्ने जिम्मेवारी प्रदेश अध्यक्ष हर्क नेम्वाङलाई जिम्मेवारी दिइएको छ। नेकपा माओवादी केन्द्र कोसी प्रदेश अध्यक्ष हर्क नेम्वाङले सहमतिको लागि अन्तिमसम्म प्रयास गर्दा पनि सहमति हुन नसकेपछि चुनावमा जान बाटो खोलिदिएको बताए।
‘सहमतिको नाममा लामो समयसम्म अलमल्याएर राख्ने कुरा पनि भएन’, उनले भने, ‘निर्वाचन प्रक्रिया सुरु भइसकेको छ। अब शनिबारलाई साथीहरूले निर्वाचनको तालिका तोक्नु भएको छ भन्ने जानकारी आएको छ। निर्वाचन प्रक्रिया पनि सुरु हुँदै गर्दा सहमतिको प्रयास पनि जारी रहन्छ।’
पदाधिकारी छान्न निर्वाचनका लागि वैशाख १३ गते शनिबार बिहान ७ बजे मतदाता नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरेको छ। बिहान १० बजे उम्मेदवारको मनोनयन दर्ता गर्ने, ११ बजे उम्मेदवारको विरोधमा उजुरी दिने, १२ बजे विरोधमा परेको उजुरीको सूचना दिने, १२ : ३० बजे उजुरी छानबिन गरी निर्णय दिने, १ बजे उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो १ : ३० बजेबाट निर्वाचन सुरु गर्ने भनिएको छ।
यसै गरी मतगणना दिउँसो ३ : ३० बजेबाट सुरु गर्ने र लगतै मत परिणाम घोषणा गर्ने भनिएको छ। पदाधिकारी छान्नकोलागि सदस्यमा निर्वाचित ८१ जनाले मतदान गर्ने नेकपा माओवादी केन्द्रले जनाएको छ।
Shares

प्रतिक्रिया