विराटनगरमा रहेको आदर्श माध्यमिक विद्यालयले वैशाख ३ गतेलाई प्रवेश परीक्षा तोकेको थियो। तर प्रवेश परीक्षा हुन सकेन। विद्यालयले सूचना जारी गर्दै अनिश्चितकालसम्मका लागि प्रवेश परीक्षा हुन नसक्ने जनाएको छ।
त्यस्तै पोखरिया माध्यमिक विद्यालयले पनि ३ गतेलाई नै प्रवेश परीक्षा तोकेको थियो। तर प्रवेश परीक्षाको दिन शिक्षकहरू विद्यालयको गाडी लिएर आन्दोलनका लागि भन्दै काठमाडौँतर्फ लागे। प्रवेश परीक्षा सूचना टाँस गरेर स्थगित गरियो।
विराटनगरमा नाम चलेका ३ हजारभन्दा बढी विद्यार्थी बोकेर बसेका यी विद्यालयका अहिले सबै काम कारबाही ठप्प पारेका छन्। यी दुई विद्यालय उदाहरण मात्रै हुन्। अहिले देशभरिका सामुदायिक विद्यालयहरू ठप्प छन्।
संघीय शिक्षा ऐन जारी हुनुपर्ने लगायतका विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका शिक्षकहरूले पठनपाठन गराएका छैनन् नै विद्यार्थीको रिजल्ट निकालेका छैनन्, विद्यालयहरू ठप्प छन्।
नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालय खोल्ने तयारीमा रहेका शिक्षक तथा प्रधानाध्यापकहरूलाई समेत शिक्षक महासङ्घले कालोमोसो दल्ने लगायतका चेतावनी दिएपछि त्यो पनि रोकिएको छ।
अहिले देशभरिका शिक्षकहरू काठमाडौँ केन्द्रित छन्। आज सत्रौँ दिन शैक्षिक आन्दोलन हुँदैछ। तर राज्यले मागलाई सम्बोधन गर्न नसकेको उनीहरूको भनाइ छ। शिक्षकहरूले आफूलाई स्थानीय तह मातहतमा राख्न नहुने मुख्य माग अघि सारेका छन्।
देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द गरी शिक्षकहरू काठमाडौँको शैक्षिक सडक आन्दोलनमा केन्द्रित भएको प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष हिक्मत बस्नेतले जानकारी दिए। उनले शिक्षकहरूको आन्दोलनलाई जनआन्दोलनको झल्को दिनेगरी सहभागिता देखिएको बताए।
बस्नेतले भने, ‘अब हामी शिक्षा ऐन अग्रगामी बनाउन निर्णायक मोडमा आइ पुगेका छौं, करिब १लाख ५० हजार सहभागिता चानचुने उपस्थित होइन।झ
आदर्श माध्यमिक विद्यालय विराटनगरका प्रधानाध्यापक सन्तोष पोखरेलले आन्दोलन आज सत्रौँ दिन पुगिसक्दा समेत वार्ता छलफल र आन्दोलनलाई सम्बोधन गर्ने विषयमा सरकार चुकेको बताए।
‘अलिकति पनि सचेत हुने हो भने धेरै ठूलो समस्या छैन’, उनले भने, ‘लाखौं शिक्षकहरू भेडा बाख्रा होइनन्। केही चेतना त पक्कै होला। शिक्षकका व्यक्तिगत मागहरू मात्र होइन शैक्षिक आमूल परिवर्तनका लागि यो आन्दोलन हो।’
शैक्षिक व्यवस्थापकीय सुधारका लागि यो आन्दोलन भएको उनको भनाइ छ। उनले शिक्षा क्षेत्रमा योग्य उम्मेदवार भित्र्याउने यो आन्दोलन भएको, शिक्षा पेशालाई सम्मानित बनाउने आन्दोलन भएकोले जब शिक्षण पेशा सम्मानित बन्छ तब मात्र शिक्षण गर्नका लागि योग्य व्यक्ति आकर्षित हुने बताए। योग्य व्यक्ति शिक्षकमा आकर्षित हुने बित्तिकै सिकाइको गुणस्तर बढ्ने उनको ठम्याइ छ।
कक्षा १० को माध्यमिक शिक्षा परीक्षा सम्पन्न भएतापनि उत्तरपुस्तिका परीक्षण र सम्प्रेक्षण कार्य अझै पनि सुरु भएको छैन। त्यसैगरी वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षामा समेत उनीहरूले असहयोग गर्ने घोषणा गरिसकेका छन्।
उनीहरूको एक सूत्रीय माग पञ्चायतकालीन शिक्षा ऐन २०२८ लाई विस्थापित गरी गणतान्त्रिक सरकारले संघीयताको भावना र मर्मअनुसार संघीय शिक्षा ऐन जारी गर्नुपर्ने बताएका छन्।
सरकार पक्षले मागप्रति कुनै चासो नदिएका कारण आन्दोलन अझ सशक्त हुँदै गएको शिक्षक महासंघ मोरङका अध्यक्ष कुमार पोखरेल बताउँछन्।
कोशी प्रदेशका नाम चलेका चर्चित विद्यालयहरू सुकुना माध्यमिक विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेत, पोखरिया माध्यमिक विद्यालय विराटनगर–३ का प्रधानाध्यापक खेमराज भट्टराई, आदर्श मावि विराटनगरका प्रधानाध्यापक सन्तोष पोखरेल, जनपथ माध्यमिक विद्यालय विराटनगरका प्रधानाध्यापक हरिप्रसाद पराजुली, मिल्स माध्यमिक विद्यालय विराटनगरका प्रधानाध्यापक बिन्दुकुमार लावती, सरस्वती मावि झोराहाट लगायत प्रधानाध्यापकहरूको नेतृत्वको टोली यतिखेर काठमाडौँ केन्द्रित आन्दोलनमा होमिएका छन्।
आन्दोलनलाई अझ दबाबमूलक बनाउन नेपाल शिक्षक महासंघ केन्द्रीय समितिले ७७ वटा जिल्लाबाट शिक्षकहरूलाई काठमाडौँ अनिवार्य आउन निर्देशन गरिरहेका छन्।
Shares

प्रतिक्रिया