कोशी


घर भित्र-बाहिर गर्न पनि समस्या भइरहेकी मचिन्द्रले जब ९० वर्षको उमेरमा दुवै आँखाले देख्न थालिन्...

घर भित्र-बाहिर गर्न पनि समस्या भइरहेकी मचिन्द्रले जब ९० वर्षको उमेरमा दुवै आँखाले देख्न थालिन्...

भोजपुरको टेम्केमैयुङ गाउँपालिकास्थित अन्नपूर्ण बागधन रनदीपा राई माविमा सञ्चालित निःशुल्क आँखा शिविर। तस्बिर : रासस


नेपालखबर
जेठ ३०, २०८० मंगलबार ६:२४, टक्सार (भोजपुर)

गाउँमा चलेको निःशुल्क आँखा शिविर ९० वर्ष पुगेकी मचिन्द्र राईका लागि वरदान साबित भएको छ। 

भोजपुरको टेम्केमैयुङ गाउँपालिका-२, छिनामखुका राई वृद्धावस्थामा दुवै आँखाले देख्नसक्ने भइन्। दाहिने आँखामा मोतिबिन्दुको समस्या भएपछि मचिन्द्रलाई घरभित्र बाहिर गर्न पनि समस्या भइरहेको थियो। 

विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोग लिएर नेपाल नेत्र ज्योति संघ, आँखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजना तथा टेम्केमैयुङ गाउँपालिकाको प्रायोजनमा अन्नपूर्ण बागधन रनदीपा राई माविमा सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट ५४ जना आँखा देख्नसक्ने भए। 

भोजपुरको टेम्केमैयुङ गाउँपालिकास्थित अन्नपूर्ण बागधन रनदीपा राई माविमा सञ्चालित निःशुल्क आँखा शिविर। तस्बिर : रासस

भोजपुरका ग्रामीण क्षेत्रहरु अन्य रोगको तुलनामा आँखा रोगीको सङ्ख्या धैरे देखिने गरेकाले गाउँस्तरीय शिविरलाई पहिलो प्राथमिकतामा राखिएको उपचार केन्द्रका प्रमुख विजय तामाङले बताए।

आर्थिक अवस्था र विविध कारणले वर्षाैंदेखि आँखाको समस्या झेल्न बाध्य नागरिकलाई आफ्नै पालिकामा सञ्चालन भएको शिविरले लाभ पुर्‍याएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए। अध्यक्ष बस्नेतले भने, ‘शिविरले हाम्रा वृद्ध आमाबुबालाई पुनः स्पष्ट देख्ने बनाएको छ, योभन्दा खुसीको कुरा के हुन्छ!’

सीबीएम ग्लोबल विराटनगर, आँखा अस्पताल विराटनगर रानीको प्राविधिक सहयोगमा टेम्केमैयुङ गाउँपालिकाको नौवटै वडाबाट आएका एक हजार तीन सय जना बिरामीको जाँचपछि उपचार गरिएको छ। जसमा ५४ जनाको मोतिबिन्दुको शल्यक्रियासमेत गरिएको छ। 

‘हामी वृद्धावृद्धालाई पुनः दोस्रो जन्म पाएको जतिकै भएको छ, गाउँमै उपचार पाएपछि दुवै आँखाले स्पष्ट देख्न सक्ने भएका छौँ’, टेम्कैमैयुङ गाउँपालिका–४ का ८६ वर्षीय प्रेमबहादुर राई खुसी हुँदै भन्छन्। शिविरमा उनको देब्रे आँखाको शल्यक्रिया भएको थियो। यस्तै ७९ वर्षीया शुभद्रा बुढाथोकी पनि शिविरमा शल्यक्रिया सेवा पाएकामा खुसी छिन्। 

विपन्न र दुर्गम भेगका अशक्त नागरिकलाई लक्ष्य गरी भोजपुरमा निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरिएको नेत्ररोग विशेषज्ञ डा. युगान्तिका खत्रीले बताए। 

डा. खत्रीले भने, ‘भोजपुरका ग्रामीण विपन्न र अशक्त नागरिकका लागि सहज उपचार सेवा दिन हामीले शिविर सञ्चालन गरेका हौँ, ग्रामीण भेगका वर्षौँदेखि आँखाका समस्या लिएर आउने बिरामीलाई हाम्रो टोलीले सफल उपचार गरेको छ।’ 

दुर्गमका नागरिकलाई ठूला अस्पताल जाँदा आइपर्ने महँगो खर्च र सास्ती यो शिविरले कम गरेको छ। गाउँमै निःशुल्क ठूला उपचार पाउनु स्थानीयका लागि अवसर हो। 

आँखाका रोगीहरुको सङ्ख्या ग्रामीण क्षेत्रमा बढी देखिएकाले सबै क्षेत्रमा शल्यक्रिया सहितको शिविरहरु क्रमिक रुपमा सञ्चालन गरिँदै लगिने नेपाल नेत्रज्योति संघ भोजपुरले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad