कर्णाली


चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सेनाले खुलायो, ५ सय यात्रु लागे गन्तव्यतर्फ

चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सेनाले खुलायो, ५ सय यात्रु लागे गन्तव्यतर्फ

दिनेश बुढा
भदौ १७, २०८२ मंगलबार १४:५०, सुर्खेत

चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग नेपाली सेनाको पहलमा खुलेको छ। 

गत भदौ १४ गतेदेखि कालिकोटको शुभकालिका गाउँपालिका-१ गगने खोलामा पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको थियो। अविरल वर्षापछि आएको भीषण ढुंगासहितको पहिरोले अबरुद्ध राजमार्ग ४ दिनपछि सञ्चालनमा आएको छ। 

कालिकोटको देवी बक्स गुल्मबाट नेपाली सेनाका सहायक सेनानी सानुराम कार्कीको नेतृत्वमा १० जनाको समूह राजमार्ग सुचारु गर्न खटिएको थियो। 

सडक सुचारु गर्न नेपाली सेनाको टोली मंगलबार बिहान ११ः४५ बजे गगने खोला पुगेको थियो। १२ बजेबाट राजमार्गको अवरोध हटाउन सुरु गरेको थियो। त्यसपछि १२ः४५ बजेबाट कर्णाली राजमार्ग पूर्णरुपमा सञ्चालनमा आएको हो। 

सडक अवरुद्ध भएको दिनदेखि नै जिल्ला प्रशासन कार्यालय कालिकोट, स्थानीय तथा नेपाल प्रहरीले बाटो सुचारुका लागि पहल थालिएको थियो। 

सडक सुचारु भएपछि रोकिएका स्याउका ट्रक, सार्वजनिक यातायात तथा नीजि सावारीहरु तथा ५ सय भन्दा बढी यात्रुहरु गन्तव्यतर्फ लागेका छन्। 

जुम्लाका स्याउ व्यापारी नरबहादुर बोगटीले सडक अवरुद्ध हुँदा ४० वटा स्याउका ट्रक बाटोमै रोकिएको जानकारी दिए। उनले प्रत्येक ट्रकमा ९० क्वीटनलदेखि १०० क्वीनटल सम्म स्याउ रहेको बताए। 

बोगटीले एक ट्रकमा ५ देखि ७ लाख मूल्य बराबरको स्याउ रहेको र पाँच दिनदेखि बाटोमै अलपत्र पर्दा केही स्याउहरु बिग्रीएको बताए। उनले भने, ‘सडक अवरुद्ध हुँदा सबै भन्दा बढी हामी व्यापारी र किसानहरु मर्कामा परेका छौँ। स्याउ अधिकांश बिग्रिसकेका छन्।’ 

साथै उनले प्रति किलो ७० देखि ९० रुपैयाँसम्म हालेर जुम्लाका ८ वटै पालिकाबाट व्यापारीहरुले स्याउ खरिद गरेर ल्याइएको बताए। 

उनले भने, ‘किसानहरुबाट खरिद गरेर ल्याएको स्याउको ट्रक सुर्खेत, नेपालगञ्ज, दाङ हुँदै चितवन पुर्‍याउँने लक्ष्य थियो। ५ लाख ८० हजार बराबरका स्याउ र १ लाख २० हजार सवारी ढुवानी भाडा थियो। सडका कारण आधा स्याउ कुहिसकेको छ।’ 

व्यापारी बोगटीले थपे, ‘दुइ दिन कालिकोटकै काले खोलामा पहिरो खसेका कारण ट्रक रोकियो। त्यसपछि गगनेखोलामा ४ दिन रोकिएपछि स्याउ आधा बिग्रिसकेका छन्। ४ लाख बढी घाटा लाग्ने हाम्रो अनुमान छ।’

यस्तै, बोगटीले तीनै तहका सरकारका कारण गाउँमै उत्पादन गरेको अर्गानिक फलफूलहरु बजारसम्म पुर्‍याउँन समस्या भएको बताए। उनले भने, ‘सडक अवरुद्ध भएको दिनमै नेपाली सेनालाई सडक सुचारु गर्न लगाएको भए सबैलाई सहज हुनेथियो। सेनालाई सरकारले कुनै निर्देशन नदिँदा राजमार्ग सुचारुमा ढिलो भयो। तर, अन्तिम समयमा नेपाली सेनाले ४५ मिनेटमै राजमार्ग खुलापछि ट्रकहरु लिएर व्यापारीहरु गन्तव्यमा लागेका छौँ।’

ब्रेकर लगाएर ढुंगा फोड्ने प्रयास गरेपनि सम्भव नभएपछि नेपाली सेनाको टोलीले ब्लाष्ट गरेर ढुंगा नफुटेपछि सडक सञ्चालमा आएको छ। 

यस्तै, स्याउकै सिजनमा हरेक वर्ष राजमार्ग अबरुद्ध हुने समस्या रहेकाले यसको दीर्घकालीन समधान तथा ढुवानीमा सहुलियत दिनु पर्ने किसान तथा व्यापारीले माग राख्दै आएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad