नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले नेपाली कांग्रेस संयुक्त सरकारको मर्मअनुसार नचलेको निष्कर्ष निकालेको छ। बिहीबार बिहान प्रदेश सभा सचिवालय संसदीय दलको कार्यालयमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
बैठकले केन्द्रीय सरकार निर्माण गर्दा दई पार्टीबीच भएको सम्झौता अनुसार सरकार निर्माण गर्दा पनि कर्णालीमा नेपाली कांग्रेसले सरकार सञ्चालमा धोका दिँदै आएको अरोप लगाएको छ।
एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईले वर्तमान सरकार एकल नभई संयुक्त भएपनि संयुक्त भएको कुनै आभास नभएको बताए। उनले भने, ‘सरकारले ल्याएको कार्यक्रमको विरोधमा सत्ता सहकार्य गर्ने दल कांग्रेस नै लागिपरेको कुरा बैठकमा उठेको थियो। केन्द्रको सम्झौता अनुसार नेपाली कांग्रेससँग सत्ता सहकार्य भएको भएपनि कर्णालीमा कांग्रेसले सत्ता सहकार्यको संस्कृति अनुरुप व्यवहार देखाएनँ।’
प्रमुख सचेतक पछाईले थपे, ‘आजको बैठकमा छैठौं अधिवेशन अन्त्य भएपछिको समीक्षा भएको छ। संयुक्त सरकार सञ्चालनको संस्कृति अनुरुप सत्ता सहकार्य गरिरहेको दलको भूमिका नभएको दलका सदस्यहरुले छलफलको क्रममा आफ्ना धारणा राख्नुभयो। केन्द्रको सहकार्य अनुरुप नै यहाँ पनि कांग्रेस चल्नुपर्छ भन्ने हाम्रो मान्यता हो।’
दलका नेताले सदन होस या अन्य फोरममा आफ्नै मन्त्रीले गरेको निर्णयको आलोचना गर्नेदेखि सरकारको विरोध गर्नेसम्मको कार्य गर्न लागेको एमाले दलको बैठकबाट आरोप लगाएको छ।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सभा बैठकमा बारम्बार सरकार छोड्ने, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर थापालाई बर्खास्त गर्नुपर्ने धम्कि दिँदै आएका थिए।
यस्तै, कर्णाली प्रदेश सभाको छैठौं अधिवेशन समाप्त भएसँगै सरकारले ल्याएका नयाँ कार्यक्रमहरू, सरकारले गरेका सुशासनका कुरा, विकास निर्माणका कुरादेखि आर्थिक मितव्ययिता कायम गर्न सरकारले गरेको कार्यका बारेमा जनस्तरसम्मै प्रचारप्रसार गर्ने गरि सबै सांसदहरु गाउँ जाने निर्णय पनि दलको बैठकले गरेको छ।
Shares

प्रतिक्रिया