जिल्ला प्रहरी कार्यालय सुर्खेतले १३ लाख नक्कली रुपैयाँ र साढे ३० किलो अफिम बरामद गरेको छ। सुर्खेत प्रहरीले मंगलबार पत्रकार सम्मेलन गर्दै उक्त कार्यमा संलग्न पाँच जनालाई सार्वजनिक गरेको छ।
नक्कली रुपैयाँ र अफिम करोबार संलग्नमा रहेका जाजरकोटका ४ जना र कालिकोटका १ गरी पाँच जना रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
डीएसपी मोहनजंग बुढाथोकीकाअनुसार पक्राउ पर्नेमा जाजरकोटको जाजरकोट कुशे गाउँपालिका–५ बस्ने २२ वर्षीया दिलमाया सिंह ठकुरी, सोही वडाको खुर्पा बस्ने अन्दाजी ३३ वर्षीय रामबहादुर सिंह, कुशे गाउँपालिका–७ समकोट गमौडी घर भइ हाल सुर्खेत भेरीगंगा नगरपालिका–१२ ठकुरीटोलमा डेरा गरी बस्ने ३५ वर्षीय कृष्णबहादुर वली र ३८ वर्षीय प्रेमबहादुर बिक रहेका छन्।
यस्तै, अर्का पक्राउ पर्नेमा कालीकोटको नरहरीनाथ गाउँपालिका घर भई बाँकेको कोहलपुर उपमहानगरपालिका–४ तथा नगरपालिका वडा नं ११. न्युरोडमा जनगर्जन नेटवर्क प्राली नामक मिडिया सञ्चालन गरी बस्ने अन्दाजी ३४ वर्षीय मनबहादुर सहकारी रहेका छन्।
यसरी बरामद भयो नक्कली नोट र अफिम
जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई एउटा गोप्य सूचना आयो। उक्त सूचना थियो –एकजना महिलाले खोटा मुद्रा अर्थात नक्कली नोट वीरेन्द्रनगर सुर्खेतमा चलाउने गरेकी छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोली असार ३० गते सोमबार दिउँसो साढे १ बजेको समयमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं १० शान्ति टोलमा पुग्यो।
जाजरकोटको कुशे गाउँपालिका–५ घर भइ वीरेन्द्रनगर बस्ने २२ वर्षीया दिलमाया सिंह ठकुरीलाई पत्ता लगायो। प्रहरीलाई आएको गोप्य सूचना उनै केन्द्रित थियो। त्यसपछि प्रहरीले उनको कोठामा खानतलासी गर्दा दिलमायाको साथबाट नक्कली मुद्रा नेपाली रु १००० दरका ६ थान गरी जम्मा ६ हजार फेलापारी नियन्त्रणमा लियो।
त्यसपछि सोमबार बेलुका ६ बजेको समयमा नक्कली नोट सम्बन्धी थप अनुसन्धानका क्रममा दिलमायाकाकै पालिका वडा नम्बर ५ का रामबहादुर सिंहको डेराकोठाबाट पनि लुकाई छिपाई राखेको अवस्थामा नेपाली रुपैयाँ १००० दरका १२३६ जम्मा १२ लाख ३६ हजार बरामद गर्यो।
त्यहाँबाट रामबहादुर सिंहलाई पनि नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान थाल्यो।
त्यसपछि अनुसन्धान गर्ने क्रममा मंगलबार असार ३१ गते जाजरकोटकै कुशे गाउँपालिका–७ समकोट गमौडी घर भइ हाल सुर्खेतको भेरीगंगा नगरपालिका–१२ ठकुरीटोल स्थिमा डेरा गरी बस्ने ३५ वर्षीय कृष्णबहादुर वली र ३८ वर्षीय प्रेमबहादुर बिकलाई प्रहरी पक्राउ गर्यो।
उनीहरूको डेराकोठा तथा शरीर खानतलासी गर्दा वली र विकले लुकाई छिपाई राखेको कालो झोला भित्र अफिम जस्तो देखिने गिलो पदार्थ (पोका ११) ११ किलोग्राम ३७२ मिलिग्राम फेलापारी बरामद गरेको प्रहरीले जनाएको छ।
साथै प्रहरीले नक्कली नोट र अफिमको बारेमा थप अनुसन्धान गर्दै जाँदा मंगलबार बिहान साढे ८ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले नक्कली नोटको कारोबार गर्ने, नोट बनाउने तथा उक्त नोट बनाउने सामान समेतको कार्य गर्ने कालीकोटको नरहरीनाथ गाउँपालिका घर भएका मनबहादुर सहकारीलाई पक्राउ गर्यो।
उनी कोहलपुर उपमहानगरपालिका–११ न्युरोडमा जनगर्जन नेटवर्क प्रालि नामक मिडिया सञ्चालन गरी बसेका थिए। अन्दाजी ३४ वर्षीय सहकारीको मिडिया हाउस तथा उनी बस्ने घरकोठा खानतलासी गर्दा सहकारीको साथबाट एक हजार दरका नक्कली नोटहरु ५१ थान गरेर ५१ हजार, प्लाष्टिकमा पोका बनाई राखेका ५ पोकामा १९ किलोग्राम लागूऔषध अफिम जस्तो देखिने गिलो पदार्थ फेला परेका थियो।
साथै सहकारीबाट नक्कली नोट बनाउने क्यानोन प्रिन्टर, एचआईटीसीएच लेखिएको सीपीयू, जेलिन टीईसी लेखिएको मोनिटर, कार्डडिटर र चिप्स मेमोरी, माउस, कि वोर्ड, क्यानोन क्यामेरा एक/एक थान बरामद गरेको छ।
Shares

प्रतिक्रिया