यहाँको नाम्खा गाउँपालिका–६ लिमीको तिलगाउँमा आएको बाढीपहिराका कारण पत्ता लगाउन सरकारी विज्ञ टोली आज आइपुगेका छन्।
बाढीपहिरोको एक हप्तापछि उनीहरु सदरमुकाम सिमकोटबाट तिलगाउँ प्रस्थान गरेका हुन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इञ्जिनियर सुशीलकुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली घटनास्थलतर्फ प्रस्थान गरेका हुन्।
टोलीमा जल तथा मौसम विज्ञान विभागका ‘हाइड्रोलोजिस्ट’ इञ्जिनियर सौहार्द जोशी र खानी तथा भू–गर्भ विभागका सिनियर डिभिजनल ‘जिओलोजिस्ट’ शिवकुमार बास्कोटा छन्। खराब मौसमका कारण विज्ञहरुको टोली आउन केही दिन ढिला भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए।
यही जेठ १ गते राति बाढी आउँदा हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँमा क्षति पुगेको थियो। बाढीपहिरो प्रभावित अहिले पनि त्रिपाल टाँगेर बसेका छन्। करिब पाँच हजार ३०० मिटरमाथिका दुई वटा हिमपोखरीबाट बगेको पानीले बाढीको रुप धारण गरेको प्रारम्भिक अनुमान छ।
स्थानीय आफैँ पोखरीसम्म पुगेर बाढी आउनुका कारण पत्ता लगाएका थिए। तर पोखरीको पानी कसरी बाहिर निस्कियो भन्ने वैज्ञानिक रुपमा पुष्टि हुन बाँकी छ। काठमाडौँबाट आएको विज्ञको टोलीले वैज्ञानिक कारण पत्ता लगाउने अपेक्षा गरिएको छ।
एक सातापछि प्रदेश सरकारको राहत सामग्री
हिमपहिराबाट विस्थापितलाई कर्णाली प्रदेश सरकारले एक सातापछि राहत सामग्री पठाएको छ। आज प्रदेश सरकारले राहत सामग्री पठाएको हो।
दुई वटा ताल फुटेर हिमपहिरो जाँदा तिलगाउँका २१ परिवारका ३३ जना विस्थापित भएका हुन्। हिमपहिराका कारण मानवीय क्षति नभए पनि ठूलो भौतिक क्षति भएको छ।
प्रदेश सरकारले आज पाँच सेट टेन्ट (अस्थायी घर) २० क्विन्टल खाद्यान्न, १८ सेट सोलार र म्याट्रेससेटलगायत राहत सामग्री पठाएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए। हिमपहिराले तिलखोला लघुजलविद्युत् आयोजनादेखि खेत, कुलो, खानेपानी, धर्मशालामा ठूलो क्षति पुगेको छ।
रेडक्रस सोसाइटीले पनि आज राहत पुर्याएको छ। सोसाइटीको हुम्ला शाखाले प्रत्येक विस्थापित परिवारलाई एक/एक थान त्रिपाल, एक÷एक थान कम्बल र एक/एक थान म्याट्रेस पुर्याएर वितरण गरिएको शाखाका अध्यक्ष गणेश महतले बताए। आधार विकास नेपाल नामक संस्थाले अन्य खाद्यान्न, औषधिलगायत सहयोग गरेको छ।रासस
Shares

प्रतिक्रिया