कर्णाली


विज्ञ भन्छन् : पश्चिम नेपाल भूकम्पको उच्च जोखिममा

विज्ञ भन्छन् : पश्चिम नेपाल भूकम्पको उच्च जोखिममा

फाइल फोटो/ गतवर्ष जाजरकोटमा गएको भूकम्पपछिको अवस्था


दिनेश बुढा
माघ २, २०८१ बुधबार २०:२१, सुर्खेत

पश्चिम नेपाल भूकम्पको उच्च जोखिममा रहेको विभिन्न समयमा टिकाटिप्पणी हुने गर्दछ। वैज्ञानिक अध्ययनहरूले पनि भूकम्पको उच्च जोखिम पश्चिम नेपाललाई देखाउने गरेका छन्।

नेपालको पश्चिम क्षेत्र सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश प्रभावित क्षेत्रमा पर्ने भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। पश्चिम नेपालको भूसतहमुनि ५ सय २० वर्षयता भूकम्पीय शक्ति सञ्चय भइरहेको हुँदा पश्चिम नेपालमा केन्द्रबिन्दु भएर ८ वा त्योभन्दा बढी म्याग्निच्यूडको भूकम्प जानसक्ने खतरा छ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार पाँच सय वर्षअघि महाभूकम्प गएको पश्चिम क्षेत्रमा ठूलो भूकम्प नगएको ५ सय २० वर्ष पुगिसकेको छ।

पश्चिम नेपालमा भूकम्पको जोखिम किन?
भूकम्प मापन केन्द्र सुर्खेतले उपलब्ध गराएको तथ्याङ्क अनुसार पूर्वी नेपालमा १८८९, १९९० र २०७२ सालमा महाभूकम्प गएकाले पश्चिम नेपालको तुलनामा जोखिम कम छ। तथ्याङ्क हेर्दा पनि पछिल्लो समय पश्चिम नेपालमा बारम्बार भूकम्प गइरहेका छन्।

पछिल्लो दुई वर्षको अवधिमा मात्रै पश्चिम नेपाल केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूड माथिका ७७ वटा भूकम्प गएका छन्। दैनिक रूपमा साना र बेलाबेला मझौला किसिमका भूकम्प गइरहेका घटनाले पनि यो क्षेत्रमा भूकम्पीय रूपमा जोखिम रहेको भूकम्पविद्हरुको विश्लेषण छ।

भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् चिन्तन तिमिल्सिनाले साना र मझौला भूकम्प गइरहेकाले यो क्षेत्रमा ठूलो भूकम्प जाने शक्ति छ भन्ने निश्चित भएको बताए।

उनले भने, ‘सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका जिल्लामा गइरहेका साना भूकम्पहरूलाई ‘जोखिमको पूर्वसूचक घण्टी’ का रूपमा बुझ्नुपर्छ। यस्ता भूकम्पले ठूलो भूकम्प आउने खतरा टर्दैन। भूगर्भमा ठूलो शक्ति जम्मा भएकोले त्यसलाई घटाउन साना भूकम्पहरूले खासै भूमिका खेल्न सक्दैन्।’

भूकम्पविद् तिमिल्सिनाले ५ सय २० वर्ष यता हजारौंको सङ्ख्यामा जानुपर्ने ४ म्याग्निच्यूड माथिका भूकम्प हालसम्म करिब ४ सय वटा मात्रै गएको बताए।

उनले भने, ‘१ रेक्टर स्केलको फरक पर्दा त्यसको शक्तिमा ३२ गुणा फरक पर्छ। त्यसको अर्थ ५ रेक्टर स्केलको भूकम्प जानका लागि जति शक्ति चाहिन्छ। ६ रेक्टर स्केलको भूकम्पका लागि ३२ गुणा बढी शक्ति चाहिन्छ। त्यहीँ हिसाबले ५ सँग तुलना गर्दा ७ म्याग्निच्यूडका लागि १ हजार गुणा बढी शक्ति चाहिन्छ। ७ को ३२ वटा भूकम्प गइदियो भने ८ रेक्टरको भूकम्प टर्नसक्छ। ६ को मात्रै जाने हो भने १ हजारवटा भूकम्प जानुपर्ने हुन्छ।’

जतिबेला पनि महाभूकम्प आउन सक्छ : भूकम्पविद् तिमिल्सिना
यस्तै, भूकम्पविद् तिमिल्सिनाका अनुसार दक्षिणबाट सर्दै आएको ‘इन्डियन प्लेट’ उत्तरको ‘युरेसियन प्लेट’ को मुनि घुस्रिन खोज्ने क्षेत्रमै नेपाल पर्छ। दुई प्लेटबीचको घर्षणका कारण नेपाल सधैँ भूकम्प जान सक्ने अधिक जोखिमको क्षेत्रमा पर्न जान्छ। यस्तो भूकम्प नगएको क्षेत्रको भूगर्भमा शक्ति सञ्चित भएर बस्छ र कुनै पनि बेला महाभूकम्प जाने खतरा हुन्छ।

उनका अनुसार मध्य नेपालमा २०० वर्षभन्दा कम समय अवधिमा ठूला भूकम्प गएका छन् भने पूर्वी नेपालमा १९९० सालपछि र पश्चिम नेपालमा सन् १५०५ पछि ठूलो भूकम्प गएको छैन्।

‘जमिनमुनि जति बढी समयसम्म ऊर्जा सञ्चित हुन्छ, भूकम्प त्यति नै बढी शक्तिशाली जान्छ’ उनले भने, ‘त्यसैले पूर्वमा कम शक्तिशाली र पश्चिममा बढी शक्तिशाली भूकम्प जान सक्ने सम्भावना छ।’

पश्चिमोत्तर भारत र पश्चिम नेपालमा ठूलो भूकम्प नगएको ५ सय २० वर्ष जति भइसकेकाले यो क्षेत्रलाई बढी जोखिमयुक्त मानिएको उनले बताए। गोरखादेखि पश्चिम भारतको देहरादुनसम्म लामो समय ठूला भूकम्पीय गतिविधि नभएकाले सो क्षेत्रमा बढी ऊर्जा सञ्चित भएर बसेको छ।

उनकाअनुसार यदि भूकम्प गएमा नेपालको पूर्वदेखि पश्चिमसम्मै फैलिएको चुरे पहाड र त्यस आसपासको क्षेत्रमा भूकम्पबाट बढी क्षति हुनसक्ने सम्भावना छ।

हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड भनेर चिनिने चुरे पूर्वको इलामदेखि पश्चिमको कन्चनपुरसम्म ३७ वटा जिल्लामा फैलिएको छ। यो क्षेत्र भूकम्पको उच्च जोखिममा छ।

तथ्यांक अनुसार १९९० सालको भूकम्पले पूर्वी नेपालको ठूलो भागलाई प्रभावित गरेको थियो। त्यसैले पूर्वी नेपाल पश्चिमभन्दा तुलनात्मक रूपमा सुरक्षित छ भन्ने विश्वास गरिन्छ। तर पश्चिममा ठूलो भूकम्प गए पूर्वी नेपालमा पनि लाखौँ नेपाली प्रभावित हुनसक्ने पक्षलाई ध्यान दिनुपर्ने भूकम्पविद् तिमिल्सिना बताउँछन्।

उनकाअनुसार कोशीपूर्व सिक्किम–दार्जिलिङसम्म १,३०० वर्षसम्म ठूलो कुनै भूकम्प गएको छैन। हिमालयमा त्यत्रो वर्ष भूकम्प नगएको ठाउँ अत्यन्तै खतरनाक हुन्छ। पूर्वी नेपाललाई केन्द्रबिन्दु बनाएर सन् १२५५ मा ८ म्याग्निच्यूडभन्दा बढीको भूकम्प गएको बताइन्छ। १२५५ को भूकम्पमा राजा अभय मल्लको मृत्यु भएको मानिन्छ। उक्त महाभूकम्पले त्यतिखेरको नेपालको एकतिहाइ भाग ध्वस्त पारेको थियो।

हालसम्म रेर्कड गरिएका भूकम्प
भूकम्प मापन केन्द्रको रेर्कड हेर्दा पश्चिम नेपालमा प्रत्येक वर्ष ठूला भूकम्पहरु गइरहेका छन्। भूसतहमुनि भूकम्पीय शक्ति सञ्चय भएर महाभूकम्पको जोखिममा रहेको पश्चिम नेपालमा मझौला भूकम्पले समेत ठूलो क्षति पुर्‍याइरहेको छ।

२०३७ सालमा बझाङ केन्द्रबिन्दु भएर गएको ६.५ म्याग्निच्यूडको भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको थियो। उक्त भूकम्पमा परी करिब १ सय २५ जना बढीले ज्यान गुमाएका थिए।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार २०७९ कात्तिक २२ गते गएको ६.६ रेक्टर स्केलको डोटी भूकम्पले पनि ६ जनाको ज्यान लिएको थियो। २०८० असोज १६ गते बझाङको चैनपुर केन्द्रबिन्दु भएर गएको ६.३ रेक्टरको भूकम्पका कारण ठूलो भौतिक क्षति भएको थियो। त्यतीबेला १ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका थिए।

२०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पले समेत ठूलो जनधनको क्षति गरेको थियो। १ सय ५४ जना मानिसको ज्यान लिने गरी आएको भूकम्पले ठूलो भौतिक क्षति समेत भयो।

पछिल्लो दुई वर्षको अवधिमा मात्रै पश्चिम नेपालमा २ रेक्टर माथिका कुल ३ हजार ६ सय वटा भूकम्प भएका छन्। जसमा सबैभन्दा धेरै बझाङ केन्द्रबिन्दु भएर १ हजार १ सय ७६ वटा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। केन्द्रका अनुसार बाजुरामा ४ सय ५५, जाजरकोटमा ४ सय ५१, डोटीमा ३ सय ८०, अछाममा २ सय ७३, दार्चुलामा १ सय ६१, हुम्लामा १ सय १४, मुगुमा ९३, जुम्लामा ८७ र बैतडीमा ५६ वटा भूकम्प गएका छन्।

पूर्वतयारीमा छैन सरकारको ध्यान
यस्तै, वैज्ञानिकहरु तथा भूर्गभविद्हरुले विभिन्न समयमा गरेको अध्ययनले पश्चिम नेपाल भूकम्पको उच्च जोखिमा रहेको औँल्याए पनि सरकारले कुनै चासो दिएको छैन। १९९० र २०७२ सालका महाभूकम्पभन्दा पनि ठूलो भूकम्प आउन सक्ने विज्ञहरूको अनुमान छ। तर, २०७२ सालको भूकम्पपछि पनि पूर्वतयारी र सावधानी अपनाउने पक्षमा सरकारको ध्यान गएको छैन।

सरकारले विकास भइसकेका भूकम्पका ‘अर्ली वार्निङ सिस्टम’ राख्न समेत चासो नदिएको भूकम्पविद्हरुको भनाइ छ। भूकम्प कहिले आउँछ भन्ने यकिन गर्न नसकिए पनि आउनुभन्दा केही सेकेन्डअघि नै भूगर्भभित्रको तरंग रेकर्ड गरेर पूर्वसूचना दिन सकिने प्रणालीको विकास भइसकेपनि नेपालमा यस्तो प्रविधिको प्रयोगमा समेत ध्यान दिइएको भूकम्पविद् तिमिल्सिनाले बताए।

उनले भने,‘भूकम्पबाट बच्ने मुख्य उपाय भनेकै हामीले बनाउने भौतिक संरचना बलियो बनाउने हो। यसमा नत नागरिक तहबाट सोच्छन्, नत सरकारले नै ध्यान दिएको छ। सरकारले बनाउने सार्वजनिक स्थलका संरचना समेत भूकम्प प्रतिरोधि छैनन्। व्यक्तिका घर झन् कमजोर छन्। ठूलो भूकम्प आए तहसनहस हुने खतरा छ।’

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad