कर्णालीका राजनीतिक दलहरु आगामी १६ मंसिरमा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनको तयारीमा जुटेका छन्। विशेष गरी प्रमुख तीन ठुला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगातका दलहरु उपनिर्वाचनको तयारीमा जुटेका हुन्। कांग्रेस, एमाले र माओवादीले उपनिर्वाचनलाई लक्षित गरेर निर्वाचन हुने पालिका र वडाहरुमा उम्मेदवार छान्नेदेखि राजनीतिक भेला गर्नमा केन्द्रित हुन थालेका छन्।
कर्णाली प्रदेशअन्तर्गत नगरपालिका उपप्रमुख एक, गाउँपालिका अध्यक्ष एक, गाउँपालिका उपाध्यक्ष एक र पाँच वडाध्यक्ष गरी आठ पदमा उपनिर्वाचन हुनेछ। जसमा जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष तथा दैलेखको दुल्लु नगरपालिका–१३, कालीकोटको तिलागुफा नगरपालिका–४, जाजरकोटको कुशे गाउँपालिका–७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, र रुकुमश्चिमको सानीभेरी गाउँपालिका–५, मा वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदै छ।
३० बैशाख २०७९ को स्थानीय तह, संघ र प्रदेशको निर्वाचनमा ठूला राजनीतिक दलहरूले गठबन्धन गरेर चुनाव लडेका थिए। कतिपय ठाउँमा गठवन्धनका दलहरु मित्रवत् प्रतिस्पर्धामा चुनाव लडेका थिए। कर्णालीमा कांग्रेस, माओवादी र समाजवादीको गठवन्धन बन्दा एमाले एक्लै निर्वाचनमा होमिएको थियो।
उपनिर्वाचनमा कांग्रेस, माओवादी र एमाले एक्लाएक्लै चुनावमा जाने भएपछि यसपटक दलहरुको स्पष्ट जनमत परीक्षण हुने माध्ययमका रुपमा उपनिर्वाचनलाई लिइएको छ। उपनिर्वाचन हुने कर्णालीका ८ पालिकाका ८ पदका लागि कांग्रेस, एमाले, र माओवादीले तयारी तीव्र पारेका छन्।
नेपाली कांग्रेस
यस्तै, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुखमा इन्द्रा चन्द सिंह र कुशे गाउँपालिका–७, को वडाध्यक्षमा खम्बबहादुर सिंहको नाम टुंगो लागेको छ। प्रवक्ता शाहीका अनुसार हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा सविता बुढालाई उम्मेदवार बनाइएको छ।
कालिकोट, डोल्पा, रुकुमपश्चिममा उम्मेदवार नेपाली कांग्रेस जिल्ला समितिले आफ्नो अनुकुलमा चयन गर्ने प्रवक्ता शाहीको भनाइ छ। उनले भने, ‘वडाको उम्मेदवार चयन गर्ने जिम्मा जिल्ला समितिलाई हुने व्यवस्था हाम्रो विद्यानमा छ। सोही विद्यान अनुसार जिल्ला समितिले आफ्नो अनुकुलमा उम्मेदवार चयन गर्नेछ।’
नेकपा एमाले
उपनिर्वाचन हुने दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष बाहेक अन्य पालिकामा एमालेले उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षको टुंगो लगाई सकेको छ। जसमा जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा सुनिता बोहोरा, हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा जाना शाहीलाई अन्तिम उम्मेदवार बनाएको छ।
नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले जाजरकोटको कुशे गाउँपालिका वडा नं. ७ को वडाध्यक्षमा डम्बरबहादुर घर्ती, दैलेखको दुल्लु नगरपालिका–१३, को वडाध्यक्षमा लालबहादुर शाही, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका–५, को वडाध्यक्षमा जुना रोकाय, कालिकोटको तिलागुफा नगरपालिका–४, को वडाध्यक्षमा ऐनबहादुर शाही र रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–५, को वडाध्यक्षमा अमृत खत्रीको नाम टुङ्गो लागेको जानकारी दिए।
यस्तै, दैलेखको महाबु गाउँपालिकामा आकांक्षी ५ जना भएकाले उम्मेदवारको टुंगो लगाउन सकस परको उनले बताए। तर, २०७४ सालको निर्वाचनमा एमालेबाट निर्वाचित भएका जंगबहादुर शाहीलाई एमालेले नेकपा एकीकृत समाजवादीबाट पार्टीमा भित्र्याएको छ। उनै शाहीलाई नै एमालेले उम्मेदवार बनाउने आन्तरिक रणनीति बनाएको नेताहरुको भनाइ छ।
नेकपा माओवादी केन्द्र
यता, नेकपा माओवादी केन्द्रले पनि उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाउने काम अन्तिम चरणमा पुर्याएको छ। माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीका अनुसार पालिका र वडाका ८ वटा उम्मेदवार मध्ये ६ उम्मेदवारको टुंगो लागिसकेको जानकारी दिइन्।
उनका अनुसार जिल्ला र पालिकास्तरबाट सिफारिस भएर आएका नामावलीका आधारमा उम्मेदवार तयार पारिएको छ। अध्यक्ष केसीले डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका–५ र कालिकोटको तिलागुफा नगरपालिका–४ को वडा अध्यक्ष पदको उम्मेदवारको टुंगो नलागेको बताइन्।
उनका अनुसार महाबु गाउँपालिका अध्यक्षको उम्मेदवारमा जंगबहादुर बराल, नलगाड नगरपालिका नगर उपप्रमुखमा देवका लामिछाने, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा कोपिला बुढा उम्मेदवार बनेका छन्। जाजरकोटको कुशे गाउँपालिका ७ नम्बर वडाध्यक्षमा गोरख नेपाली, दुल्लु नगरपालिका १३ को वडाध्यक्षमा ढकेन्द्रबहादुर शाही, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका ५ को वडाअध्यक्षमा जसीराम बस्नेत उम्मेदवार बनेका छन्।
उपनिर्वाचनका लागि नेकपा एकिकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले खासै तयारी गरेको देखिदैन्। तर, राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णालीका ८ स्थानमा हुने उप निर्वाचन मध्ये तीन पालिकामा उम्मेदवारको टुंगो लगाएको छ। दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदका लागि युवा नेता प्रकाश बुढा, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखको उम्मेदवारमा पार्वती पुन र हुम्लाको सर्केगाड गाउँपालिका अध्यक्ष पदमा सुजता फडेरा (थापा) लाई उम्मेदावर बनाएको छ। र अन्य वडाध्यक्ष पदका उम्मेदवारहरुको टुंगो लगाउने काम प्रक्रियामै रहेको रास्वपाले जनाएको छ।
यस्तो छ, अंक गणित
गत ०७९ बैशाख अन्तिम साता भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम हेर्दा दलहरु एक्लाएक्लै चुनावी प्रतिस्पार्धामा उत्रिँदा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पार्धा हुने देखिन्छ।
दैलेख महाबु गाउँपालिका
दैलेखको महावु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको हृदयघातका कारण २०७९ माघ २७ गते निधन भएको थियो। उनको निधनपछि अध्यक्ष पद खाली छ। गुरुङले ३० वैशाख २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका हरिप्रसाद उपाध्यायलाई पराजित गरेका थिए। गुरुङले २ हजार ९ सय ७ मत प्राप्त गरेका थिए भने उपाध्यायले २ हजार ५ सय १९ मत प्राप्त गरेका थिए।
नेकपा माओवादी केन्द्र एकीकृत समाजवादीको गठनबन्धनमा एकीकृत समाजवादीका जंगबहादुर शाही उम्मेदवार बनेका थिए। उनले २ हजार २ सय ६८ मत प्राप्त गरेका थिए। शाही मंगलबार मात्रै नेकपा एमालेमा फर्किएका छन्। एमालेले पनि उनलाई नै उम्मेदवार बनाउने तयारी गरेको छ।
जाजरकोट नलगाड नगरपालिका
यस्तै, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको २०८० कार्तिक १७ मा जाजरकोट भूकम्पमा परी मृत्यु भएको थियो। नेपाली कांग्रेसबाट उपाध्यक्ष निर्वाचित भएकी सिंहले ५ हजार ४ सय ६ मत प्राप्त गरी एमालेका सुनिता बोहोरालाई हराएकी थिइन्। बोहोराले ३ हजार ३ सय ९३ मत प्राप्त गरेकी थिइन्। तीनै बोहोरालाई एमालेले यस पट्क पनि उम्मेदवार बनाएको छ। यहाँ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन थियो। यस पटको उपनिर्वाचनमा दलहरु एक्लाएक्लै मैदान उत्रिँदा एमाले र कांग्रेसबीच नै मुख्य प्रतिस्पार्धा हुने देखिन्छ।
हुम्ला सर्केगाड गाउँपालिका
गत ४ भदौमा सुर्खेतबाट नेपालगन्जतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी दुर्घटनामा परेका हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको उपचारकाक्रममा नेपालगन्जको भेरी अस्पतालमा निधन भएको थियो।
कार्कीले २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट चुनाव जितेका थिए। उनले नेपाली कांग्रेस र माओवादीको गठवन्धनबाट नेकपा एमालेका जुनकुमारी फडेरालाई ३ हजार २ सय ६९ मत प्राप्त गरी पराजित गरेका थिए। एमालेकी जुनकुमारी फडेराले १ हजार ६४ मत प्राप्त गरेकी थिइन्। सर्केगाड गाउँपालिकमा ठूला तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच नै प्रतिस्पर्धा रोचक हुने देखिन्छ।
५ वडाध्यक्ष
कर्णाली प्रदेशभर उपनिर्वाचन हुने ५ वटा वडाध्यक्ष पदमा पनि नेकपा एमाले र नेपाली कांग्रेसबीच नै मुख्यप्रस्पिर्धा हुने देखिन्छ। जस अनुसार नेकपा एमालेबाट दैलेखको दुल्लू नगरपालिका–१३, को वडाध्यक्षमा निर्वाचित भएका विर्खबहादुर शाहीको ब्रेन ट्युमरका कारण २०८० माघमा मृत्यु भएपछि उक्त पद रिक्त छ। शाहीले कांग्रेस–माओवादी गठवन्धनलाई हराएका थिए। शाहीले ८ सय २२ मत प्राप्त गरी माओवादीका डम्बरबहादुर शाहीलाई पराजित गरेका थिए। माओवादीका शाहीले ७ सय ७३ मत प्रात गरेका थिए।
यस्तै, कालिकोटको तिलागुफा नगरपालिका–४, का वडाध्यक्ष परमहादुर शाही २४ असोज २०७९ मा मलामी गएको अवस्थामा राचुलीस्थित तिला कर्णाली माथिबाट आएको पहिरोमा परी बेपत्ता भएका थिए। उनी माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। शाहीले नेपाल मजदुर किसान पार्टीका दिपबहादुर शाहीलाई ३ सय ६१ मत प्राप्त गरी हराएका थिए। नेकपा एमालेकी धनसरा शाहीले ४ मत मात्रै प्राप्त गरेकी थिइन्। स्थानीय तह २०७९ को मत परिणाम हेर्दा यस वडामा नेकपा माओवादी केन्द्र बलियो देखियो छ।
माओवादी केन्द्रबाट जाजरकोटको कुशे गाउँपालिका–७, को वडाध्यक्षमा निर्वाचित मनबहादुर घर्तीको २०७९ असार ४ गते निधन भएको थियो। उनले २०७९ वैशाखमा भएको निर्वाचनमा ३ सय ८० मत प्राप्त गरी कांग्रेसका खम्बबहादुर सिंहलाई हराएका थिए। सिंहले तीन सय १८ मत प्राप्त गरे।
डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका–५, का वडाध्यक्ष नन्दलाल रोकाको दमका कारण गत माघमा निधन भएको थियो। नेकपा एमालेबाट निर्वाचित भएका रोकाले १ सय ८ मत प्राप्त गरी माओवादीका जंगबहादुर रोकायलाई पाराजित गरेका थिए। यस्तै, २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट रुकुमश्चिमको सानीभेरी गाउँपालिका–५, को वडाअध्यक्ष निर्वाचित भएका अलबहादुर खत्रीको जन्डिसका कारण २२ माघ २०८० मा निधन भएको थियो। खत्रीले ४ सय ६२ मत प्राप्त गरी माओवादीका तिर्थबहादुर खत्रीलाई हराएका थिए।
तोकिए निर्वाचन अधिकृत
कर्णाली प्रदेशका ८ स्थानमा हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोग नेपालले निर्वाचन अधिकृत तोकिसकेको छ। दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा कुलप्रसाद पाण्डे, दुल्लु नगरपालिका १३ नम्बर वडामा वीरेन्द्रबहादुर मल्ल, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखको निर्वाचनका लागि श्यामलाल घिमिरे, जाजरकोटकै कुशे गाउँपालिका ७ नम्बरमा नविनकुमार भट्ट निर्वाचन अधिकृत खटिएका छन्।
यस्तै, कालिकोटको तिलागुफा नगरपालिका ४ नम्बरमा आनन्दराज पन्त, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ नम्बर वडामा चन्द्रदेव भारती र हुम्लाको सर्केगाड गाउँपालिकाको अध्यक्ष पदको उपनिर्वाचनका लागि शम्भु बराल मुख्य निर्वाचन अधिकृत तोकिएका निर्वाचन आयोगले जनाएको छ।
कर्णालीमा ४२ हजार बढी मतादाता भाग लिँदै
उपनिर्वाचनमा कर्णालीका ८ पालिकामा ४२ हजार बढी मतदाताले भाग लिने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले गरेको मतदाता अध्यावधिक विवरण अनुसार कर्णाली प्रदेशका ६ जिल्लाका ८ पदका लागि ४२ हजार २७७ जना मतदाता मतदानमा भाग लिने भएका छन्।
दैलेखको महावु गाउँपालिकामा ९ वटा मतदान स्थल १६ वटा निर्वाचन केन्द्रहरुबाट १२ हजार ६ सय १४ जना, २ वटा मतदान स्थल रहेको दैलेखकै दुल्लु नगरपालिका १३ को वडा अध्यक्ष पदका लागि २ हजार ७ सय ६ जना, १६ वटा मतदान स्थल भएको जाजरकोटको नलगाड नगरपालिका उपमेयर पदका लागि १६ हजार ४ सय ४९ जना र जाजरकोटकै कुशे गाउँपालिका वडा नम्बर ७ को वडा अध्यक्ष पदको लागि हुन लागेको निर्वाचनमा १ हजार ३ सय २ जनाले मतदानमा भाग लिने छन्।
यस्तै, १२ वटा मतदानस्थल रहेको हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदको लागि पनि उपनिर्वाचनमा ६ हजार ८ सय १० जना मतदाता, रुकुमपश्चिमको सानिभेरी गाउँपालिका–५को वडा अध्यक्ष पदको लागि हुन लागेको निर्वाचनमा १ हजार ४ सय ३४ जना, कालिकोटको तलिागुफा नगरपालिका– ४ को वडा अध्यक्ष पदको लागि ६ सय ९ मतदाता, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका– ५ को अध्यक्षको लागि हुने उपनिर्वाचनमा ३ सय ५३ जना मतदाताले मतदानमा भाग लिने निर्वाचन आयोगले जनाएको छ।
Shares

प्रतिक्रिया