कर्णाली


कांग्रेसले टुंग्यायो दैलेख र जाजरकोटमा उम्मेदवार

कांग्रेसले टुंग्यायो दैलेख र जाजरकोटमा उम्मेदवार

दिनेश बुढा
कात्तिक २३, २०८१ शुक्रबार १४:३९, सुर्खेत

आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले दैलेख र जाजरकोटमा उम्मेदवार तय गरेको छ। मंसिर १६ गते हुने उपनिर्वाचनका लागि अन्य दल उम्मेदवार छनौटमा अलमल हुँदा कांग्रेसले नाम घोषणा गरिसकेको छ।

नेपाली कांग्रेस कर्णाली प्रदेश समितिका प्रवक्ता दमनबहादुर शाहीले जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा इन्द्रा चन्द सिंहलाई उम्मेदवार बनाएको जानकारी दिए।

प्रवक्ता शाहीका अनुसार दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि युवा नेता झलक भण्डारीलाई उम्मेदवार बनाइएको छ।

भण्डारी २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पनि अध्यक्ष पदको उम्मेदवारका दाबेदार थिए।

प्रवक्ता शाहीका अनुसार दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा भण्डारी, दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा शेरबहादुर शाही, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुखमा इन्द्रा चन्द सिंह र कुशे गाउँपालिका–७, को वडाध्यक्षमा खम्बबहादुर सिंहको नाम टुङ्गो लागेको छ।

नेपाली कांग्रेसको पार्टी विद्यान अनुसार नगरपालिकाका प्रमुख र उपप्रमुख जिल्लाको सिफारिसमा प्रदेश कार्यसमिति र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षको तल्लो कार्यसमितिको सिफारिसमा जिल्ला कार्यसमितिले उम्मेदवारको टुङ्गो लगाउने व्यवस्था रहेको छ। सोही बमोजिम नलगाडको उपप्रमुख प्रदेश र महाबुको अध्यक्ष, दुल्लु–१३ र कुशे–७ का वडाध्यको टुङ्गो जिल्ला कार्यसमितिले लगाएको प्रवक्ता शाहीले जानकारी दिए।

३० वैशाख २०७९ मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष, दैलेखकै दुल्लु नगरपालिका–१३, का वडाध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख र जाजरकोटकै कुशे गाउँपालिका–७, का वडाध्यक्षको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।

यस्तै, अन्य कर्णालीका रिक्त स्थानमा उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा लगायतका दलहरुले उम्मेदवार चयनका लागि तिब्रता दिएका छन्।

नेपाली कांग्रेसले जाजरकोट र दैलेखमा हुने निर्वाचनमा उम्मेदवारको छनौट गरिसकेको छ भने कालिकोट, डोल्पा, हुुम्ला, रुकुमपश्चिममा उम्मेदवार छान्ने काम जारी राखेको छ।

कर्णाली प्रदेशअन्तर्गत नगरपालिका उपप्रमुख एक, गाउँपालिका अध्यक्ष एक, गाउँपालिका उपाध्यक्ष एक र पाँच वडाध्यक्ष गरी आठ पदमा उपनिर्वाचन हुँदै छ।

जसमा जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष तथा दैलेखको दुल्लु नगरपालिका–१३, कालीकोटको तिलागुफा नगरपालिका–४, जाजरकोटको कुसे गाउँपालिका–७, डोल्पाको त्रिपुराुन्दरी नगरपालिका–५ र रुकुमश्चिमको सानीभेरी गाउँपालिका–५, मा वडाध्यक्ष पद रिक्त छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad