कर्णाली


पहिरोले पाइप बगाएपछि वीरेन्द्रनगरमा खानेपानीको अभाव

पहिरोले पाइप बगाएपछि वीरेन्द्रनगरमा खानेपानीको अभाव

दिनेश बुढा
साउन ३, २०८० बुधबार १५:४०, सुर्खेत

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर ल्याइएको खानेपानीको मुख्य पाइपलाइनमा पहिरोले क्षति पुर्याएको छ। पहिरोले पाइप बगाउँदा खानेपानीको वितरण प्रणाली नै असन्तुलित बनेको छ।

वीरेन्द्रनगरमा अहिले २० हजार घरधुरीमा खानेपानीको धारा जडान गरिएको सुर्खेत उपत्यका खानेपानी संस्थाले जनाएको छ। बढ्दो शहरीकरणका कारण ३६ हजार घरधुरी रहेको वीरेन्द्रनगरमा खानेपानीको अभाव बढ्दै गएको छ। वीरेन्द्रनगरमा दैनिक २ करोड ३९ लाख ५२ हजार लिटर पानीको आवश्यकता भएपनि अहिले अपुग छ। वीरेन्द्रनगर बजार क्षेत्रका लागि खानेपानीको मुख्य स्रोतका रूपमा रहेको झुप्राखोलाबाट पानी प्रशोधन केन्द्रसम्म ल्याइएको पाइप पहिरोले बगाएपछि खानेपानीको अभाव भएको हो।

वीरेन्द्रनगर नगरपालिका–१३ भञ्जाङ्ग स्थित गत असार १२ गते झुप्राखोलाबाट आउने पानीको मुख्य स्रोतको पाइप लाइन पहिरोले बगाएको छ। सुरूमा पाइपलाइनको तलबाट क्षति पुर्याएकाले पानी वितरणमा समस्या भएको सुर्खेत उपत्यका खानेपानी संस्थाका इन्जिनियर बालाराम तिवारीले जानकारी दिए।

उनकाअनुसार ३० मिटरसम्म गएको पहिरोले पाइपलाइनमा क्षति पुर्याएको छ। गत असार १२ गते गएको पहिरोबाट क्षति पुगेको पाइपलाइन निर्माण गरेर सञ्चालन गरिए पनि पुनः असार २७ गते पुनः बगाएका कारण खानेपानी अनियमित भएको हो।

सुर्खेत उपत्यका खानेपानी संस्थाका अध्यक्ष कुलमणि देवकोटाले पहिरो गएको क्षेत्रमा पुनर्निर्माणको काम जारी रहेको जानकारी दिए। उनकाअनुसार पहिरोबाट करिब सात लाखको क्षति पुगेको छ। पहिरो गएको ठाउँमा आरसीसी गरेर पिल्लर उठाएर खानेपानी सुचारु गर्ने प्रयास भइरहेको अध्यक्ष देवकोटाको भनाइ रहेको रहेको छ।

पानीको मुख्य पाइपलाइन पहिरोले बगाएपछि हाल खरी बोरी खोला र डाङ्डुङ्गे खोलासहितबाट पानी वीरेन्द्रनगरमा आपूर्ती गरिँदै आएको छ। तर, वीरेन्द्रनगरमा पानीको आवश्यक उपलब्धता हुन सकेको छैन।

यस्तै, यसअघि वीरेन्द्रनगर बजार क्षेत्रमा झुप्राखोला, खरीखोला, बोरीखोला, इत्राम खोला, खोर्के खोलाको मुहानबाट १५३ लिटर प्रतिसेकेन्ड पानी आउने गरेको थियो। दैनिक सबै मुहानबाट ५८ लाख ७५ हजार दुई सय लिटर पानी आपूर्ती भएपनि झुप्रा खोलाको पाइपलाइन पहिरोले बगाउँदा दैनिक ७४ लाख ३० हजार चारसय लिटर पानी रोकिएको छ। तर, सबै पानी सुर्खेत उपत्यकामा नआउँदा खानेपानीको अभाव भएको संस्थाका अध्यक्ष देवकोटाले बताए।

‘झुप्राखोलाबाट प्रतिसेकेन्ड ८६ लिटर पानी आउँथ्यो। अहिले त्यो आयोजना पहिरोले पाइप बगाउँदा बन्द रहेको छ,’ उनले भने, ‘अन्य स्रोतबाट आउने पानीले माग धान्न समस्या छ।’  

यस्तै, देवकोटाले खरीबोरीखोला, इत्रामखोला, खोर्केखोला र बुलबुलेको पानीबाट प्रतिसेकेन्ड १ सय ३६ लिटर मात्र पानी आपूर्ती भएको तर, माग भने प्रतिसेकेन्ड २ सय ७५ लिटर रहेको जानकारी दिए।

५२ हजार घरधुरी लक्षित गरेर खानेपानीको योजना बनेको वीरेन्द्रनगर बजार क्षेत्रमा अहिले झन्डै ३७ हजार घरधुरीमा खानेपानीको समस्या जटिल बन्दै गएको छ।

यस्तै, कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगरमा खानेपानीको समस्या भएपछि भेरी नदीको पानी पम्पिङ ल्याउने तयारी । खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्न भेरी नदीको पानी पम्पिङ गरी वितरण गरिने भएको हो।

डेढ लाख जनसंंख्या रहेको वीरेन्द्रनगरमा कर्णाली प्रदेशको राजधानी भएपछि सहरीकरणसँगै बढ्दो जनसंख्याका कारणले भेरी नदीको पानी पम्पिङ गरेर सुर्खेत ल्याउन लागिएको संस्थाका अध्यक्ष देवकोटाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .