कर्णाली


१२ लाख खर्च गरेर घण्टाघरमा १२ वर्षपछि राखियो नयाँ घडी

१२ लाख खर्च गरेर घण्टाघरमा १२ वर्षपछि राखियो नयाँ घडी

दिनेश बुढा
पुस २२, २०७९ शुक्रबार १८:९, सुर्खेत

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको घण्टाघरको घडी १२ वर्षपछि नयाँ राखिएको छ। १२ वर्षसम्म बन्द रहेको पुरानो घडी निकालेर नयाँ राखिएको हो।

२०४५ सालमा चीन सरकारको सहयोगमा बनेको घण्टाघरको घडी करिब १२ वर्षदेखि बन्द भएका थिए। २०६३/०६४ सालदेखि बन्द भएका घण्टाघरका पुराना घडी हटाएर नयाँ घडी जडान गरिएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ। 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रमुख पर्यटकीय गन्तव्यहरु मध्ये घण्टाघर पनि एक महत्वपूर्ण स्थल हो। घण्टाघरको सबैभन्दा माथिल्लो तलाबाट वीरेन्द्रनगरको आधा उपत्यका निहाल्न सकिन्छ। घण्टाघरमा चारै दिशामा १/१ गरि जम्मा ४ वटा घडी राखिएका छन्। 

दैनिक जसो एक सयदेखि दुई सय जनासम्म आन्तरिक पर्यटक घण्टाघर अवलोकन गर्ने गरेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ। साथै घण्टाघर भित्र विशेष गरेर बालकालिकाका लागि पार्कको व्यवस्था समेत गरिएको छ भने रोमाञ्चक दृश्यहरु रहेका छन्। 

लामो समयदेखि घडी सञ्चालनमा ल्याउन नसकिएपछि सुर्खेत उद्योग वाणिज्य संघको पहलमा वीरेन्द्रनगर नगरपालिकाले करिब १२ लाख रुपैयाँ लागतमा नयाँ घडी जडान गरेको हो। 

घण्टाघरको संरक्षणको जिम्मा वीरेन्द्रनगर नगरपालिकाको भएपनि पुराना घडीहरू मर्मत सम्भार हुन नसकेपछि भारतबाट नयाँ घडी मगाएर जडान गर्ने कामको समन्वय सुर्खेत उद्योग वाणिज्य संघले गरेको हो। 

संघका अध्यक्ष लक्ष्मण कँडेलले घडी बिग्रिएको १२ वर्ष भएको भने पनि करिब १६–१७ वर्षअघिबाटै चल्न छोडेको बताए। 

उनले भने, ‘घडी २०६३/०६४ साल तिर बिग्रिएको हो। यस्तो घडी बनाउने मान्छे नेपालमै छैन, जसको लागि भारतमा मात्रै मर्मत सम्भार हुने भएको हुँदा नगरपालिकले भारतका इलेक्ट्रिसियनसँग पहल गर्न नसक्दा घडी निर्माणमा ढिलाइ भएको हो।’ 

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले नयाँ घडी जडान गर्नका लागि प्राविधिक टोलीले अन्तिम चरणमा पुर्याएको जानकारी दिए। 

उनले भने, ‘घण्टाघरमा राखिने अमेरीकन टेक्नोलोजीको ४ वटा घडी छन्। ती भारतबाट ल्याइएका हुन्। पुराना घडी निकालेर सबै घडी जडान भइसकेका छन्। साथै यो खालको घडी विश्वकै सबैभन्दा राम्रो कम्पनीको घडीसमेत हो।’

साथै, अधिकृत तिवारीले यसअघि पर्यटकहरु घण्टाघरको माथिल्लो तलामा जाने गरेकोमा अब त्यहाँ जान पूर्ण रुपमा बन्द गरिने बताए। 

उनले भने, ‘घण्टाघरको टपमा जानको लागि बाटो साँघुरो छ। यो धरहरा हैन। जान जोखिम छ। भार क्षमता कति हो, थाहा छैन। त्यसैले हामीले यसलाई पूर्ण रुपमा बन्द गर्छौं।’

अधिकृत तिवारीले चिनियाँ सरकारले घण्टाघर बनाइ दिएको तर, त्यसको भार क्षमता कति हो कसैलाई थाहा नभएको बताए। पर्यटक जानका लागि नभई टपमा रहेका घडीको मर्मत गर्न जानका लागि घर भित्र सानो भर्याङ बनाइएको उनको भनाई छ।

साथै घण्टाघर वरिपरि नयाँ रंगरोगन गरेर रंगाउन लागेको समेत अधिकृत तिवारीले बताए। नयाँ घडी राख्नेदेखि रंगरोगन गर्नेसम्म करिब १५ लाख रकम लाग्ने नगरपालिकाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .