ad ad

कर्णाली


दैलेखमा ‘गढ’ बचाउने प्रयासमा एमाले, भत्काउने दाउमा गठबन्धन

दैलेखमा ‘गढ’ बचाउने प्रयासमा एमाले, भत्काउने दाउमा गठबन्धन

दिनेश बुढा
कात्तिक २७, २०७९ आइतबार १९:१५, सुर्खेत

आगामी मंसिर ४ गते हुने आम निर्वाचनको मिति नजिकिँदै आएको छ। चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ। विभिन्न राजनीतिक दलले ठाउँ–ठाउँमा बृहत चुनावी आमसभा, घरदैलो गरिरहेका छन्। 

एमालेको गढका रूपमा रहेको दैलेखमा यस पटकको निर्वाचन थप रोचक बन्ने भएको छ। एउटा प्रदेश सभा र १ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एमालेका पूर्वसहकर्मीबीचको प्रतिस्पर्धाले चुनाव रोचक बन्ने भएको हो। 

देलेखमा दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेशसभा निर्वाचन क्षेत्र छन्। दैलेखमा एमाले, कांग्रेस, नेकपा एकीकृत समाजवादी, राप्रपा, नेमकिपा लगायतका दलले उम्मेदवारी दिएका छन्। 

दैलेख–१ : पूर्वसहकर्मीको लडाइँ
दैलेख निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्यका लागि मुख्य गरि गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका अम्मरबहादुर थापा र एमालेबाट रविन्द्रराज शर्माबीच प्रतिस्पर्धा हुँदैछ। 

उनीहरु दुवैजना एमालेका पूर्वसहकर्मी हुन्। शर्मा एमालेका दैलेख जिल्ला अध्यक्ष हुन् भने थापा समाजवादीका कर्णाली प्रदेश अध्यक्ष हुन्। थापा–शर्मा झण्डै तीन दशक एउटै पार्टीमा थिए। 

एमाले नेता शर्मा ०४८ र ०५२ को निर्वाचनमा कांग्रेसका गणेश खड्कासँग पराजित भएका थिए। त्यसपछि संसदीय चुनावमा भाग नलिएका उनले ०७४ मा प्रतिनिधिसभा चुनाव जितेका थिए।

थापाले एमालेबाट ०६४ को संविधानसभा निर्वाचन, ०७० मा प्रतिनिधिसभा र ०७४ मा प्रदेशसभा चुनावमा भाग लिएका थिए। जसमध्ये ०६४ मा कांग्रेसका गणेश खड्कासँग पराजित भए भने ०७० मा खड्कालाई पराजित गरे।

थापाले १४ वर्ष एमाले दैलेखको नेतृत्व गरेका थिए। उनले दैलेखमा एमालेको सांगठनिक अवस्थालाई विस्तारित गर्न ठूलो भूमिका खेलेका छन्। ०४८ यता पार्टीको नेतृत्वमा शर्मा रहँदा थापा सचिव र थापा नेतृत्वमा हुँदा शर्माले सचिव भएर सहकार्य गरेका थिए। यी दुई पूर्व सहकर्मीबीचको चुनावी प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ।

०७४ को निर्वाचनमा प्रतिनिधिसभामा थापाले शर्मालाई भोट मागेका थिए भने प्रदेशसभातर्फ शर्माले थापालाई भोट मागेका थिए। शर्मा २३ हजार ७७३ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा थापा प्रदेशसभातर्फ १ (ख) बाट १२ हजार ५६७ मतसहित विजयी भएका थिए।

७८ हजार २८२ मतदाता रहेको यो क्षेत्रमा नारायण नगरपालिका, महावु, भगवतीमाई, नौमुले, डुङ्गेश्वर र गुराँस गाउँपालिका पर्दछन्। 

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको नतिजा अनुसार कांग्रेसले यस क्षेत्रमा पाएको मत २० हजार २८१ हो। यस्तै समाजवादीले ५ हजार ५१८ र माओवादीले १ हजार ७८४ मत पाएका छन्। एमालेले १८ हजार ९५८ मत प्राप्त गरेको छ।

स्थानीय तह निर्वाचनलाई आधार मान्ने हो भने यहाँ गठबन्धनभित्रका तीन दलको मत २७ हजार ५८३ हुन्छ। 

राप्रपासँग यहाँ जम्मा ९७६ मत मात्रै छ। यद्यपि राप्रपा महामन्त्री कुन्ती शाही पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार छिन्।अनेरास्ववियुको राजनीतिबाट उदाएकी युवा नेतृ शाही पनि कमजोर भने होइनन्। 

दैलेख–१ प्रदेश सभा (१) 
दैलेख निर्वाचन क्षेत्र नम्बर–१ प्रदेशसभा (१) तर्फ एमालेबाट धर्मराज रेग्मी उम्मेदवार छन्। ०७४ मा माओवादीबाट चुनाव जितेका रेग्मी यो पटक एमालेबाट उम्मेदवार बनेका छन्। रेग्मी एमालेका केन्द्रीय सदस्य समेत हुन्। उनीसँग गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका पूर्णबहादुर खत्रीको प्रतिस्पर्धा हुने भएको छ। 

३५ हजार ४९९ मतदाता संख्या रहेको यो क्षेत्र अन्तर्गत गुराँस, डुङ्गेश्वर र भगवतीमाई गाउँपालिका पर्दछन्। स्थानीय तहको निर्वाचनमा वडामा पाएको मतका आधारमा यहाँ कांग्रेसको ९ हजार ५८९, समाजवादीको २ हजार ६८ र माओवादीको ८२३ मत छ। एमालेसँग ९ हजार १४८ मत छ।

दैलेख–१ प्रदेश सभा (२) 
जिल्ला सदरमुकाम समेत रहेको निर्वाचन क्षेत्र नम्बर–१ प्रदेशसभा (२) मा सत्तारुढ गठबन्धनबीच नै एकता हुने सकेको छैन।गठबन्धनका उम्मेदवारविरुद्ध गठबन्धनमै रहेको दल नेकपा एकीकृत समाजवादीका तर्फबाट स्वतन्त्र उम्मेदवारी परेको छ। 

प्रदेशसभा सदस्य पदका लागि एमालेबाट निवर्तमान जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापा र गठबन्धनबाट कांग्रेसका कृष्णकुमार विसी प्रतिस्पर्धामा छन्। नेकपा एकीकृत समाजवादीका नेता टेकबहादुर खानले स्वतन्त्र उम्मेदवारी दिएका छन्। विसी ०७४ मा प्रदेश सभा १ (१) बाट चुनाव लडेका थिए।

माओवादीका धर्मराज रेग्मीसँग झण्डै २ हजार मतान्तरले पराजित विसीले आसन्न निर्वाचनका लागि भने आफ्नो क्षेत्र छाडेर (२) बाट उम्मेदवारी दिएका हुन्। 

४२ हजार ७८३ मतदाता रहेको यस क्षेत्र अन्तर्गत नारायण नगरपालिका, महावु र नौमुले गाउँपालिका पर्दछन्। गत वैशाखमा भएको स्थानीय तह निर्वाचन परिणाम अनुसार यस क्षेत्रमा कांग्रेससँग १० हजार ६९२ मत छ। माओवादीसँग ९६१ र समाजवादीसँग ३ हजार ४५० मत छ। एमालेसँग ९ हजार ८१३ मत रहेको छ।

दैलेख–२ : गठबन्धनको भरमा जित निकाल्ने दाउमा कांग्रेस 
दैलेख निर्वाचन क्षेत्र नम्बर–२ पनि नेकपा एमालेको गढका रूपमा लिने गरिन्छ। किन भने ०७४ को स्थानीय र संसदीय निर्वाचनमा एमालेले आफ्नो वर्चश्व जमाउँदा कांग्रेस शून्यमा झरेको थियो।

यस क्षेत्रमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि गठबन्धन र एमालेबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ। चुनावी मैदानमा पूर्व प्रधानपञ्च, पूर्व पत्रकारदेखि शिक्षकसम्म उत्रिएका छन्। 

यस्तै, ०७४ को निर्वाचनमा शून्य भएको कांग्रेसले यो पटक गठबन्धनको बलमा हारको बदला लिने अवसर खोजेको छ। ०७४ मा नेकपा माओवादीको साथ पाएको एमालेले तीन वटै क्षेत्रमा आफ्नो वर्चश्व कायम गरेको थियो। यस पटक राप्रपा, नेपाल मजदुर किसान पार्टी, हाम्रो नेपाली पार्टी लगायतका दलहरुले पनि उम्मेदवार उठाएका छन्।

यो क्षेत्रमा दुल्लु, चामुण्डा, आठबीस नगरपालिका तथा ठाँटीकाँध र भैरवी गाउँपालिका पर्दछन्। यस क्षेत्रबाट प्रतिनिधिसभातर्फ गठबन्धनका साझा उम्मेदवार कांग्रेसका दिक्पाल शाहीले एमालेका जिल्ला इञ्चार्ज लक्ष्मीप्रसाद पोखरेलसँग प्रतिस्पर्धा गर्दैछन्। 

०७४ मा पनि एमालेका राजबहादुर बुढाले २३ हजार ३२३ मतसहित विजयी हुँदा शाहीले १६ हजार ६३४ मत प्राप्त गरेका थिए। 

८० हजार ६७५ मतदाता रहेको यस क्षेत्रमा गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेको २१ हजार १६१ र कांग्रेसको १८ हजार ६१२ मत छ। माओवादीको ५ हजार ७५५ र समाजवादीको ८३३ छ। तीन दलको मत जोड्दा २५ हजार २०० हुन्छ। 

दैलेख–२ प्रदेश सभा (१) 
दुल्लू नगरपालिका र भैरवी गाउँपालिका अन्तर्गत पर्ने यो क्षेत्रबाट प्रदेश सभा सदस्य पदका लागि साविक दुल्लु गाविसका अध्यक्ष तिलक रिजाल एमालेबाट र दुल्लु नगरपालिकाका पूर्वमेयर घनश्याम भण्डारी कांग्रेसबाट चुनावी मैदानमा छन्। भण्डारी पूर्वपत्रकार समेत हुन्। रिजाल २०५१ मा एमालेबाट संघीय चुनाव समेत लडेका थिए। 

३९ हजार १९८ मतदाता रहेको यो क्षेत्रमा स्थानीय तहको निर्वाचनमा कांग्रेसले ७ हजार ३२९ र एमाले ९ हजार ९४८ मत प्राप्त गरेको छ। माओवादीसँग ३ हजार ९०४ र समाजवादीसँग ४०१ मत छ। तीन दलको मत जोड्दा एमालेको भन्दा २ हजार बढी हुन्छ । 

दैलेख–२ प्रदेश सभा (२) 
चामुण्डाविन्द्रासैनी, आठबीस नगरपालिका र ठाँटीकाँध गाउँपालिका पर्ने यो दैलेखको पश्चिम क्षेत्र हो। ४१ हजार ४७८ मतदाता संख्या रहेको यहाँबाट प्रदेश सभा सदस्यमा पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा हुने भएको छ। 

एमालेबाट उम्मेदवार बनेका एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाह २३ वर्षपछि चुनावमा भाग दिँदैछन्। गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका योगेन्द्र शाही पहिलो पटक चुनावी मैदानमा छन्। गठबन्धनका शाहीलाई माओवादीले रातारात टिकट थमाएर उम्मेदवार बनाएको हो। विनोद–योगेन्द्रबीच केवल चुनावी प्रतिस्पर्धा रोचक बन्ने भएको छ। 

०४३ मा नेमकिपाबाट साविक लकान्द्र गाविसको प्रधानपञ्च बनेका शाह ०४८, ०५१ मा नेमकिपा र ०५६मा एमालेबाट चुनाव लडेका थिए। जसमध्ये ०५१ सालको निर्वाचनमा मात्रै विजयी भएका थिए। सांसद भइरहेकै समयमा उनी एमाले प्रवेश गरे। उनी एमालेमा प्रवेशसँगै दैलेखमा एमालेको गढ बनेको हो। त्यसभन्दा अघि नेमकिपाको वर्चश्व थियो।

यस्तै, गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले पाएको मतको आधारमा एमालेसँग ११ हजार २१३, कांग्रेसको ११ हजार २८३, माओवादीको १ हजार ८५१ र समाजवादीसँग ४२९ मत रहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .