ad ad

अन्तर्वार्ता


चटपटे साहित्य धेरै बिक्यो भनेर डराउनु पर्दैनः विष्णु भण्डारी (अन्तर्वार्ता)

चटपटे साहित्य धेरै बिक्यो भनेर डराउनु पर्दैनः विष्णु भण्डारी (अन्तर्वार्ता)

शैलज पौडेल
असोज ४, २०७६ शनिबार ११:५२,

 विष्णु भण्डारी नेपाली साहित्यमा ४० को दशकदेखि सक्रिय छन्। उनका झण्डै एक दर्जनका हाराहारीमा  साहित्यिक कृतिहरु प्रकाशित समेत भइसकेका छन्। पहिले कविता लेखनमा सक्रिय भण्डारी पछिल्लो समय भने आख्यान लेखनमा सक्रिय छन्। उनको पहिलो उपन्यास पहेँलो घाम (२०७२) मा प्रकाशित भएको थियो। यो उपन्यासले राम्रै चर्चा पाएको थियो। उनको दोस्रो उपन्यास सुनको पहाड आउँदो मंगलबार सार्वजनिक हुँदैछ। माओवादी जनयुद्धका क्रममा बेपत्ता पारिएकाहरु याेद्धाका कथामा आधारित यो उपन्यासमा केन्द्रित रहेर उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

‘सुनको पहाड’ के हो?
सुनको पहाड समकालीन यथार्थमा आधारित भएर लेखिएको उपन्यास हो। नेपाली समाजको अहिलेको यथार्थ हो। मूल कथा भने माओवादी जनयुद्धका क्रममा बेपत्ता पात्रको खोजीको कथा हो।

यर्थाथलाई हेर्ने तपाईंको दृष्टिकोण के हो?
यथार्थलाई हेर्ने विभिन्न दृष्टिकोण हुन्छन्। मेरो दृष्टिकोण भनेको प्रगतिवादी अझ भनौँ समाजवादी यथार्थवादी दृष्टिकोण नै हो।

सुनको पहाड लक्षित पाठक को हुन्?
सुनको पहाडको विषयसँग सम्बन्धित पाठक नै यसका लक्षित पाठक हुन्। यो उपन्यास समकालीन यथार्थ त्यसमा पनि राजनीतिक विषयमाथि लेखिएको उपन्यास हो। यसमा एउटै कथा मात्रै छैन। यसमा हिजो एक दशकसम्म चलेको माओवादी जनयुद्धमा बेपत्ता पारिएका पात्र र ती पात्रको खोजीको कथा छ। खोजी यसमा मूल कथा छ भने सँगसँगै त्यसमा जोडिएर अन्य कथा पनि आएका छन्। खोजीको कथा प्रमुख छ भने सुन्दर समाज कस्तो हुन्छ? नेपालको पहिचानको मुद्दा र हराएको माओवादी आन्दोलनको खोजी पनि यसका कथानकभित्र पर्ने विषय हुन्। यी विषयसँग जोडिएर आउने व्यक्ति र नेपालको राजनीतिक इतिहास बुझ्न र पढ्न चाहने सबै यसका पाठक हुन्।

एउटा कालखण्डको कथा अर्को धरातलमा उभिएर सुरु गरिएको छ। उपन्यासको मूल धरातल बदलिएको अवस्थामा लेख्नुपर्दा कस्तो अनुभव गर्नुभयो?
मैले लेख्दै गरेको विषयको धरातल बदलिँदै छ भन्ने मलाई पहिले नै लागेको थियो। मैले २०७२ सालमा ‘पहिलो घाम’ उपन्यास लेखेँ। त्यो उपन्यासले जुन विषयवस्तुलाई अगाडि ल्याएको थियो त्यो सार्वजनिक गर्दै गर्दा पनि विषयगत दृश्य सतहमा आइसकेको थियो। त्यसपछि यो उपन्यासको विषयवस्तुको खोजीलाई अगाडि बढाएको थिएँ। मलाई त्यतिबेलै यसको पनि धरातल बदलिन्छ कि भन्ने त लागेको थियो तर यति डरलाग्दोसँग बदलिएला भन्ने लागेको थिएन। उपन्यास लेख्दै आउँदा त्यो विषय यति छिटो परिवर्तन भयो कि धरातलमै देखिएर आयो। त्यसले मेरो उपन्यासको विषयलाई थप बल पु¥यायो।

bishnu 3

माओवादी जनयुद्धका बारेमा लेख्दै गर्दा त्यो आन्दोलनमा संलग्न व्यक्तिहरूको फरक अवस्थामा आइपुगेका छन्। यसलाई उपन्यासले कसरी चित्रण गरेको छ?
मैले लेख्दै गर्दाका अवस्थाका पात्र र व्यक्तिहरूको अवस्था त्यतिखेरै बदलिएको थियो। राज्यद्वारा बेपत्ता पारिएकाको अवस्था त्यस्तै थियो जस्तो अहिले छ। कुनै तात्विक फरक छैन। बेपत्ता परिवारको अवस्था पनि पहिलेको तुलनामा कुनै परिवर्तन छैन। राज्यले उनीहरूको मुद्दाको सम्बोधन गरेको छैन। बरु हिजो बेपत्ताको मुद्दा सम्बोधन गरिनुपर्छ भन्थ्यो आज त आफैँ सत्ताको नेतृत्व गर्न थालेपछि बोल्नै छोडेको छ। बेपत्ताको खोजीको गति नै धिमा भएको छ।

बेपत्ता परिवारमा यसले थपेको पीडालाई उपन्यासले कसरी प्रस्तुत गरेको छ?
यो उपन्यास जनयुद्धमा बेपत्ता पारिएकाको कथा प्रमुख भए पनि यसमा मैले नेपालको लोकतान्त्रिक आन्दोलनकै क्रममा बेपत्ता पारिएकाहरूको कथा जोडेर ल्याएको छु। बेपत्ता योद्धाकी आमा, श्रीमती र श्रीमान् अनि अर्को प्रक्रियाबाट बेपत्ता पारिएकाको बुवा यसमा प्रमुख रूपमा आएका छन्। त्यसमा आएकी आमा पात्र वृद्धा छिन् तर उनीे छोरा नभेटेसम्म मर्दिनँ भन्छिन्।

आफ्नो सन्तान वा आफन्तजन बेपत्ता हुँदा परिवार र व्यक्तिमा त्यसले कस्तो पीडा दिन्छ। भिक्टिमहरूको जीवन कस्तो हुन्छ? उनीहरू के हेरेर बाँचेका हुन्छन्? यस्ता धेरै कुराहरू छन्। न माया मार्न सकिने अवस्था, न आउँछ भन्ने भरपर्दो आशा नै। तर पनि बेपत्ता परिवारजन आँशुमा भविष्य खोज्न बाध्य भएका छन्। उपन्यासमा मैले यही पीडाबोधलाई, यही संवेदनालाई देखाउन खोजेको छु। बेपत्ताको परिवारमा परेको सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक प्रभावलाई यसमा चित्रण गरिएको छ।

तपाईं जनयुद्धमा प्रत्यक्ष संलग्न नभएको मान्छे, जनयुद्धमा प्रत्यक्ष सहभागी भएकाहरूले यो उपन्यासलाई कसरी बुझ्लान? युद्धमा नहिँडेको मान्छेले युद्धका बारेमा र युद्धमा संलग्नहरूका बारेमा कसरी सही लेख्न सक्छ? भन्ने प्रश्न उठ्छ जस्तो लाग्दैन?
युद्धमा लागेकाहरूले यसको बारेमा टिप्पणी गर्छन् नै। मेरो यसअघिको उपन्यास ‘पहेँलो घाम’ पढ्दै नपढी त्यसले जनयुद्धको विरोध गर्‍यो भनेर आलोचना गरे। तर ‘पहेँलो घाम’ले जनयुद्धलाई सपोट र स्थापित गर्ने काम गरेको छ। अहिलेको उपन्यासमा पनि त्यस्तो नहोला भन्न सकिन्न। ‘सुनको पहाड’लाई पनि पढ्दै नपढी आलोचना गर्नेहरू पनि पक्कै हुनेछन्। उनीहरुले के पनि भन्नेछन् भने हामीले युद्ध लडेर र भोगेर आयौँ, त्यो बेला सहरमा बस्नेले हामीलाई सिकाउँछन् पनि भन्नेछन्।

bishnu bhandari 2

हिजोका दिनमा हामी पनि प्रत्यक्ष अप्रतयक्ष युद्धमा सहभागी थियौँ। हामी जनयुद्धका नाममा राज्यद्वारा प्रताडित थियौँ। जनयुद्धमा भएको मानवीय र भौतिक क्षतिले हामीलाई दुःखी बनाउथ्यो। हामीले नैतिक, भौतिक र आर्थिक रूपमा सहयोग पनि गरेका छौँ। त्यसअर्थमा हामी त्यो आन्दोलनबाट टाढा थिएनौँ। अहिले मैले जे लेखिरहेका छु यसले लेख्न मिल्दैन, यसले युद्धको अध्ययन नगरी अतिरञ्जना लेख्छ भन्ने कुरा गलत कुरा हो। युद्धमा सहभागीले मात्रै युद्धको कुरा लेख्ने भन्ने नभएर युद्धलाई नजिकबाट नियालिरहेका व्यक्तिले पनि युद्ध अथवा क्रान्तिका बारेमा समेत राम्रोसँग लेख्न सक्छ भन्ने कुरा अरु देशका उदाहरण हेर्दा समेत प्रस्ट हुन्छ। जस्तो हावर्ड फास्टको ‘आदि विद्रोही’ सयौँ वर्ष पुरानो दास विद्रोहको कथा हो। सयौँ वर्ष पहिलेको कथा यतिपछि आएर त यति सशक्त रूपमा लेख्न सकियो भने म त जनयुद्धलाई नजिकबाट बुझेको मान्छे हुँ। मात्र प्रतिभा, क्षमता र दृष्टिकोण सफा हुनुपर्छ जसले पनि द्वन्द्वको कथा लेख्न सक्छ। त्यसैले त्यस्ता आलोचनाको कुनै तुक छैन।

तपाईंलाई जनयुद्ध, त्यसमा पनि घाइते, अयोग्य र बेपत्ता योद्धाको विषयमा कलम चलाउन के ले आकर्षित गर्‍यो?
मैले बाँचेको समयमा यतिधेरै उथुलपुथुलकारी घटना र परिदृश्यको विकास भयो कि मानौँ ती सबै संयोगले सिर्जना भएका हुन्। मैले २०३६ सालअघि र पछिको पञ्चायत भोगेँ, बहुदल भोगेँ, जनयुद्ध, संक्रमणकाल र त्यसपछिको लोकतान्त्रिक व्यवस्था पनि भोगेँ। हामीले यसका लागि थुप्रै आन्दोलन ग¥याँै। हजारौँको ज्यान गयो। हजारौँ घाइते र बेपत्ता भए। प्रत्येक पटकको आन्दोलनपछि सत्तामा नयाँ शक्ति गयो तर जनताको अवस्था उस्तै रह्यो। परिवर्तनकामी शक्ति पनि सत्तामा गएपछि क्षयीकरण हुँदै गयो। युद्धको नेतृत्वमा अहिले विचलन आए पनि जनयुद्धले नै नेपालमा गणतन्त्र ल्याउन भूमिका खेलेको हो। नेपालको इतिहासमा अठारौँ शताब्दीको उत्तरार्धमा भएको साम्राज्यवादविरोधी अभियानपछि जनयुद्ध नै अर्को ठूलो परिघटना थियो। जसले नेपाली समाजमा सदियौँदेखि जरा गाडेर बसेको राजतन्त्रलाई उखेलेर फ्याकिदियो। यस्तो महत्वपूर्ण परिघटनाका बारेमा लेख्नुपर्छ भन्ने लागेर यो लेखेको हुँ। त्यस्तै युद्धमा सहभागी भएर गलत तथा व्यक्तिगत फाइदा लिन खोज्ने व्यक्तिलाई नंग्याउन र भोलिको पुस्तालाई एउटा सत्य इतिहास हस्तान्तरण गर्नका लागि पनि म यो विषयमा आकर्षित भएको हुँ।

bishnu 5

उपन्यास लेखनका क्रममा, विषयवस्तुको खोजी अथवा पात्र र उनीहरूसँग सम्बन्धित व्यक्तिसँगको भेटका बारेमा कुनै स्मरणीय प्रसंग पनि छन् कि?
यस्ता धेरै प्रसंग मसँग छन्। अहिले भन्नसक्ने अवस्था छैन। बेपत्ताका परिवारजनको तर्क र प्रश्नका कारण नै मैले लेखनको शैलीमा नयाँ खोज गर्नुपर्ने आवश्यकता महसुस गरेको हुँ। यो विषय टुंगिएको वा प्रमाणित नभएको विषय भएकोले पनि मैले ती बेपत्ता परिवारजनको भावनामाथि जिम्मेवार भएर लेख्नुपर्ने थियो। तिनै सम्बन्धित परिवार÷पात्रको अनुहारमा देखिने पीडा र निराशाले नै यो उपन्यास तयार भएकोले म ती प्रिय पात्रहरूसँग आभारी छु।

एउटा सर्जकलाई आफ्नो कृति पाठकले मन पराउछन् नै भन्ने लाग्छ। तपाईंको यो उपन्यासलाई पाठकले कत्तिको स्वीकार गर्छन् जस्तो लाग्छ?
मलाई पाठकहरूले यो उपन्यासलाई मन पराउनुहुने छ भन्ने आत्मविश्वास छ। किनभने ‘पहेँलो घाम’ मेरो पहिलो उपन्यास, एकदमै छोटो समयमा तयार पारेको उपन्यास हो। त्यो उपन्यासले राम्रो पाठक पायो, समीक्षक समालोचकबाट पनि राम्रो प्रतिक्रिया पाएँ। बिक्रीका हिसाबले पनि त्यो उपन्यास राम्रै भयो। यो दोस्रो उपन्यासमा मैले झण्डै साढे ३ वर्ष काम गरेको छु। यसमा मैले बढी नै मेहेनत गरेको छु। विषयवस्तु पनि समयसापेक्ष छ। विषयवस्तुमाथि मैले न्याय पनि गरेको छु भन्ने लाग्छ। यसको भाषाशैली पनि नयाँ छ । पाठकले पढेपछि थाहा पाउनुहुन्छ कि यसको शैली संरचना पनि नयाँ छ। सबै कुरा नयाँ भएकाले पाठकले यसलाई रुचाउनु हुने छ, पढ्नुहुने छ। लेखन नै मेरो काम भएका कारण पाठकको प्रतिक्रिया लिएर आगामी दिनमा अगाडि बढ्छु।

उपन्यासमा नयाँ शैलीको प्रयोग गरेको छु भन्नु भो। यसमा अन्य उपन्यासभन्दा भिन्न कस्तो शैलीको प्रयोग गर्नुभएको छ ?
शैलीका बारेमा मेरा दावी नै छ। शैली भन्दाबित्तिकै भाषाको कुरा पनि शैलीसँगै जोडिएर आउँछ। यसको भाषा पोयटिक (काव्यिक) छ। सँगै दृश्यहरू यसरी चलायमान हुन्छनु कि त्यो सिनेमेटिक लाग्छ। यसको मुख्य र बलियो पक्ष भनेको शैली हो। हुन त शैली विषयसँग पनि सम्बन्धित हुन्छ। यसमा मैले म्याजिक शैली प्रयोग गर्न खोजेको छु। म्याजिक शैली फेन्टासीसँग पनि जोडिएर आउँछ। स्वैरकल्पना म्याजिक भएर आउने र म्याजिक स्वैरकल्पना भएर आउने पनि हुन्छ। तर, यसको मूल शैली भनेको म्याजिक शैली नै हो, जुन नेपालका प्रतिशील, प्रगतिवादी साहित्यमा कम प्रयोग भएको छ। नेपालका प्रगतिशीलहरू फेन्टासी र म्याजिक शैली आफ्ना सिर्जनामा प्रयोग गर्न डराएका हुन् कि जस्तो पनि लाग्छ। फेरि यो गाह्रो काम पनि हो। यो शैलीको प्रयोग ल्याटिन अमेरिकी देश र मार्खेजहरूले बढी प्रयोग गरेका छन्। हाम्रा दन्त्य र लोककथाहरूमा पनि यो शैली प्रयोग भएको पाइन्छ।

यो पढ्दा पाठकलाई रोचक किन लाग्छ भने यो हेर्दाहेर्दै पढ्दापढ्दै रूपहरू परिवर्तन हन्छन्। र, म्याजिक किसिमले विषयवस्तु, पात्रहरू आउने जाने हुनाले इन्ट्रेस्टिङ लाग्छ नै।

bishnu bhandari

प्रगतिवादी साहित्यमा यो शैलीको प्रयोग कम गर्नुपर्छ, गर्नुहुन्न भन्ने छ नि?
प्रगतिशील-प्रगतिवादीहरूले धेरै कुराहरूलाई एककिसिमको जड्तामा बुझ्छन्। साहित्य त्यस्तो हुन्न। म अलि फरक छु। म पार्टीको जिम्मेवार तहमा हुँदा पनि ओलचनात्मक भएर लेख्नुपर्छ भन्दै आएको थिएँ। प्रगितिशील हुनु भनेको विचार, दृष्टिकोण, यथार्थमा अग्रगामी हुने हो। यसको अर्थ बनिबनाउ बाटोमा हिँड्नुपर्छ, नयाँ बनाउँनु हुँदैन भन्ने कुराको म विरोधी हो। मैले सिद्धान्तले साहित्य तयार गर्ने होइन भन्दै आएको छु। यसको अर्थ सिद्धान्तविरोधी भने म हैन। मैले यसरी पनि प्रगतिशीलले साहित्य लेख्न सकिन्छ भन्ने देखाउँन खोजेको हुँ।

कल्पना त्यसमा पनि स्वैरकल्पनालाई नेपाली साहित्यमा कम प्रयोग गरेको देखिन्छ। मलाई के लाग्छ भने कल्पनाबिनाको साहित्य हुन सक्दैन। तर, फेरि कल्पना अथवा स्वैरकल्पनाकोे आधार जमिन या समाज हो भन्ने कुरा पनि लेखकले बिर्सनु हुँदैन। आधार भनेको जीवन, समाज र समकालीन यथार्थ हो। यो भन्दा बाहिर गएर स्वैरकल्पना गरिन्छ भने त्यो प्रगतिशील हुन सक्दैन।

बजारमा सस्ता खालका उन्यासको चर्चा बढी र गम्भीरखालका उपन्यासको चर्चा कम भइरहेका बेला तपाईंको उपन्यासले कस्तो उपस्थिति जनाउला ?
बजार केन्द्रित साहित्य चटपटाजस्तै हो। चटपट पसलमा भिडभाड भए पनि त्यसले मानिसको क्षणिक भोक मात्रै मर्ने भएका कारण उसको अनिवार्य अवश्यकता भनेको खाना नै हो। बजारकेन्द्रित साहित्य पनि त्यस्तै हो। यो क्षणिक हुन्छ। युवापुस्ता त्यो साहित्यप्रति आकर्षित भयो भनेर आत्तिनुपर्ने, डराउनुपर्ने अवस्था छैन। हामी पनि त्यस्तै साहित्य पढेर यहाँसम्म आएका हौँ। कसैले लेख्यो र त्यो बजारमा बिक्री भयो भनेर डराउनुपर्ने अवस्था छैन। हामीजस्ता विचार, राजनीति र समाजकेन्द्रीत भएर गहन साहित्य लेख्छु भन्नेहरूको साहित्य खानाजस्तै हो। अन्तिममा बाँच्ने भनेको यही साहित्य हो। युवापुस्ता पनि जब गम्भीर र मेच्योर हुँदै जान्छन् यही साहित्य पढ्नेछन् भन्नेमा म विश्वास गर्छु।

 sunko pahad

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .