अन्तर्वार्ता

Tata MotorsTata Motors

सके जति बिजुली खपत गर्नुहोस् व्यवस्थापनको जिम्मा म लिन्छुः कुलमान घिसिङ (अन्तर्वार्ता)

कुलमान घिसिङ, कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण। तस्विरः प्रविन कोइराला


दीपक भट्ट
काठमाडौं, भदौ ३०

तीन वर्षअघि नेपाल विद्युत् प्राधिकरण नेतृत्वमा आएका कुलमान घिसिङले तत्कालै लोडसेडिङको अँध्यारोबाट जनतालाई मुक्त गराएका थिए। त्यहीँदेखि चुलिएको उनको चर्चा अझैसम्म सेलाएको छैन। उनको व्यवस्थापकीय कौसलले कहिल्यै नबन्नेजस्तो देखिएका रुग्ण विद्युत् आयोजनाले समेत प्रगतिको ‘इन्डिकेटर’ देखाउन थालेका छन्। सबस्टेसन, प्रसारणलाइन निर्माण र विस्तारले तीब्रता पाइरहेका छन्। त्यति मात्र होइन सधैँ घाटा रहने प्राधिकरण नाफामा गएको छ। यस अर्थमा एउटा सरकारी संस्थानको कायपलट गरिदिएका छन्।

विद्युत् चुहावट घटाउनदेखि लोडसेडिङ हटाउनसम्म नेतृत्वदायी भूमिका निर्वाह गरेका उनै घिसिङसँग नेपालखबरले प्राधिकरणमा उनका तीन वर्ष र आगामी योजनाबारे गरेको सम्वादः

प्राधिकरण कार्यकारी निर्देशकको रुपमा तीन वर्ष पूरा गर्नुभएको छ। यो बीचको अनुभव कस्तो रह्यो?
ठूलो चुनौतीको रुपमा म प्राधिकरणमा कार्यकारी भूमिकामा आएको थिएँ। बिजुली आपूर्ति गर्नुपर्ने संस्थाले दैनिक १४ घन्टा लोडसेडिङ गर्नुपर्दा अवस्था दुःखद थियो। प्राधिकरणको आर्थिक अवस्था पनि नाजुक थियो। वर्षिक करिब नौ अर्बको खुद नोक्सानीमा थियो। धेरै झन्झट, अप्ठ्यारोले घेरिएको र चुनौतीका चाङ माझ मेरो नियुक्ति भएको थियो। हुन त जहाँ समस्या बढी हुन्छ, अवसर पनि त्यहीँ धेरै हुँदो रहेछ। गरेको काम देखिँदो रहेछ।

कामचाहिँ कहाँबाट सुरु गर्नुभयो?
हामीले सुरु गरेको भनेको चुहावट रोक्नबाट हो। विद्युत् चुहावट नेपालमा अत्यन्त धेरै रहेको थियो। त्यही कारण विद्युत् आपूर्तिमा ठूलो समस्या थियो। त्यो बेला कुल खपतको २६ दशमलव ७८ प्रतिशत विद्युत चुहावट भइरहेको थियो। अहिले त्यो अंश १५ दशमलव ३२ प्रतिशतमा झारेका छौँ। यो भनेको १० दशमलव ४६ प्रतिशतले चुहावट घटेको स्थिति हो। चुहावट १ प्रतिशत घटाउनु भनेको करिब ७० करोड रुपैयाँ बचत हुनु हो। यो चुहावट घटाउनु भनेको प्राधिकरणभित्रको व्यवस्थापन मिलाउनु पनि हो। सुरुवाती काम कर्मचारी व्यवस्थापनदेखि प्रशासनिक सुधार ल्याउनेसम्मका थिए। सबै काम गर्ने भनेको त कर्मचारीहरुले नै हो। त्यो काम हामीले गरेका हौँ।

kulman ghising1
कुलमान घिसिङ, कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण। तस्विरः प्रविन कोइराला 

यसको अर्थ प्राधिकरणमा अहिले चुस्त व्यवस्थापन छ?
हामीले सबै किसिमको समस्या दूर भएको भनेका छैनौँ। धेरै सुधार गरिएको छ। अझ सुधार गर्नुपर्ने ठाउँ पनि छन्। अझ नतिजा निकाल्ने प्रशस्त ठाउँहरु रहेका छन्।

प्राधिकरणलाई अबको चुनौती के हो त?
हामीले लोडसेडिङ हटाएका छौं तर गर्नुपर्ने काम अझ धेरै छन्। अहिले पनि सबै स्थानमा गुणस्तरीय बिजुली आपूर्ति गर्न सकिएको छैन। त्यसको लागि काम गरिरहेका छौं। हाम्रो चुनौती सुरक्षा पनि हो। सुरक्षित तरिकाले बिजुली प्रवाह हुनुपर्छ भन्ने हो। यी चुनौती पूरा गर्न केही समय लाग्न सक्छ। मुख्य कुरा त्यसको लागि प्रक्रियागत रुपमा गएर भौतिक पूर्वाधारहरु निर्माण गर्नुपर्ने हुन्छ।

Bidhlabmobile bidhlab

प्राधिकरणभित्रको सुशासनको अवस्था पनि सुधार गर्नुपर्ने हुन्छ। हामीले त्यसलाई केन्द्रित गरेर योजनाहरु बनाएका छौँ। सुशासन भन्नेबित्तिकै उत्तरदायी, पारदर्शिता, जिम्मेवारीका कुराहरु आउँछन्। यी कुराहरुलाई ध्यान दिने गरी संरचना अघि बढाउने योजना रहेको छ।

चालू आर्थिक वर्षमा माथिल्लो तामाकोशी ४ सय ५६ मेगावाटको पनि उत्पादन सुरु हुँदै छ। त्यो बिजुली खपत हुन सकेन भने कसरी व्यवस्थापन गर्ने सोच्नुभएको छ?
निश्चय नै हाम्रो चुनौतीहरु अब परिवर्तन भएका छन्। सुरुमा लोडसेडिङ कसरी हटाउने भन्नेमा ध्यान बढी थियो। किनकि जनताहरु १४ घण्टा अँध्यारोमा बस्न बाध्य थिए। अब हाम्रो चुनौती त्यसमा छैन किनकि लोडसेडिङ नै हुँदैन। अब उत्पादित बिजुली खेर नफाली व्यवस्थापन गर्न सक्नुपर्छ। खेर फाल्नु भनेको हामीले नोक्सानी व्यहोर्नु पनि हो। नेपालमा विद्युत् उत्पादन धेरै भयो। लाडेडसेडिङ छैन भन्दै त्यसलाई व्यवस्थापन गर्न सकिएन भने चाहिँ संस्था नोक्सानमा जान्छ। अब मागलाई बढाउने चुनौती छ। त्यसको लागि मागको दायरा फराकिलो बनाउने हो।

इन्धन प्रयोग गर्ने गाडीको सट्टा बिजुली गाडीको प्रयोग बढाउने, ग्यासबाट खाना पकाउन छोडेर बिजुलीको प्रयोग गर्ने, फ्यान, एसीहरुको प्रयोग, हिटरको प्रयोगलाई कसरी बढाउने भन्नेतिर अब हामी लाग्नुपर्छ। अर्को मुख्य कुरा उद्योगहरुको विकास हो। उद्योगहरुबाट खपत बढाउनुपर्छ, बिजुली दिन समस्या छैन। सकेसम्म उत्पादित बिजुली देशमा नै खपत गराउने हो। त्यसपछि मात्रै हामीले निर्याततर्फ सोच्नुपर्छ। त्यसको पूर्वतयारी गर्न जरुरी छ। भारतमा इनर्जी मार्केट छ। त्यसमा पीपीए गर्नुपर्ने हुन्छ। त्यसको लागि ठूलो तयारी आवश्यक हुन्छ। कति बेच्ने, कति खपत हुने भोलिको कुरा आजै बताउन सक्ने हुनपर्छ। त्यहाँ आलु किनेजसरी बिजुली किनबेच गर्न सक्ने अवस्था छ।

अर्को चुनौती पूर्वाधार निर्माण हो। अहिले भइरहेको प्रसारणलाइन अपुग हुनसक्छ। यसको विस्तार आवश्यक छ। तर हाम्रो योजना आन्तरिक खपतलाई नै बढाउने हो। नेपालमा नै बिजुली खपत गराउन सक्यौँ भने देशको कुल गार्हस्थ्य उत्पादनमा नै प्रभाव पर्छ। आर्थिक वृद्धिले फड्को मार्छ। नेपालमा नै हामीले बिजुली खपत गराउन सक्यौँ भने त्यसले प्रतिफल १० गुणाले बढाउँछ तर हामीले बिजुली बिक्री गर्ने हो भने त बिजुलीको पैसा मात्रै पाउने हो। सोही कारण आन्तरिक खपत बढाउनुपर्छ।

kulman ghising2

आन्तरिक खपत बढाउन उपभोक्तालाई हालको मूल्य घटाउने हो कि?
नेपाल विद्युत् प्राधिकरण अहिले ७ अर्ब २० करोड नाफामा छ। तर अहिले पनि प्राधिकरणले गरेको लगानीअनुसारको नाफा होइन यो। अहिले प्राधिकरणको नाफा भनेको धेरै मुस्किलले भएको नाफा हो। लगानी र प्राधिकरणको राजस्व हेर्न हो भने बराबरीजस्तो नै छ। तर अब बिजुली उत्पादन वृद्धि हुँदैछ। त्यसपछि चाहिँ हामीले सोच्नुपर्ने हुन्छ। मूल्यमा पनि वर्षामा अझै सस्तो दिने र हिउँदमा अहिलेभन्दा सस्तो गर्ने गरी अघि बढ्नुपर्छ। अहिले स्मार्ट मिटरको कुरा त्यही भएर गरिरहेका छौँ। स्मार्ट मिटरले कसले कति बिजुली खपत गरिरहेको छ भन्ने कुरा अफिसबाटै थाहा पाउँछ।

तपाईंले लोडसेडिङ हटाएको भन्दै गर्दा भारतबाट बिजुली आयात गरेकाले मात्रै यो संभव भएको हो भन्ने पनि छन् नि?
आयात निर्यात भन्ने कुरा त निरन्तर चल्ने कुरा हो। मागअनुसार गर्ने प्रक्रिया हो यो। हालको अवस्था भनेको ४० मेगावाट बिजुली निर्यात भएको छ। दुई सय मेगावाट बिजुली आयात भएको छ। कुनै विन्दुबाट निर्यात भएको छ। कुनै विन्दुबाट आयात भएको छ। आयात गरेर घाटा हुने भन्ने होइन। आयात निरन्तर घट्दै जाने कुरा हो। देशलाई आयात गरेर घाटैघाटा छ भन्ने होइन। अर्को कुरा आयात गरेर मात्रै हामीले लोडसेडिङ हटाएको पनि होइन। म आउनुअघि कुल खपतको ४० प्रतिशत आयात हुन्थ्यो। अहिले २०-२२ प्रतिशतको हाराहारीमा रहेको छ। त्यो बेलामा ४० प्रतिशत रहँदा पनि १४ घण्टा लोडसेडिङ थियो। आयात गरेर अर्थात् नेपालमा लोडसेडिङ नगरेर नेपालको अर्थतन्त्रलाई १० गुणाले फाइदा भएको छ। आयात गर्नु भने निर्यातको बाटो खोल्नु पनि हो। हामीले अहिले बिहारमा बिजुली निर्यात गरिरहेका छौं।

चार रुपैयाँमा पाउने बिजुली नकिनेर १२ रुपैयाँ पर्ने डिजेलको प्रयोग गर्नु त मूर्खता हो। यसमा केही अन्तर्राष्ट्रिय उदाहरणहरु पनि भन्छु। बंगलादेशमा बिजुली उत्पादन पर्याप्त छ। आफ्नो देशको माग धान्न सकिने उत्पादन भए पनि उसले आफ्नो उत्पादनलाई बन्द गरेर विदेशबाट आयात गर्छ। आफ्नो उत्पादन चलाउनुभन्दा बाहिरबाट खरिद गर्नु सस्तो परेर नै त्यसो गरेको हो। बंगलादेशमा भनेको ग्यासबाट उत्पादन हुने बिजुली हो। त्यो महँगो पर्छ। जलविद्युतबाट उत्पादन हुने बिजुली तुलनात्मक रुपमा सस्तो हुन्छ।

kulman ghising3

पैसाको फिगरमा भन्नुपर्दा तपाईंले कार्यभार सम्हाल्नु अघि र सम्हालेपछिको अवस्था कस्तो रह्यो?
म आउनुअघि वार्षिक १५ अर्बको आयात थियो। म आएपछि १६ अर्बको आयात गरेँ। एक अर्बले १४ घण्टा घटेको चाहिँ होइन। त्यो बेलामा ३५ सय गिगावाट खपत रहेकोमा अहिले ७ हजार पुगेको छ। त्यो आयातले मात्रै धानेको हो र? होइन नि। म सकेसम्म बिजुली नेपालमा सबैले प्रयोग गर्न आग्रह गर्छु। जति बिजुली खपत गरे पनि लोडसेडिङ चाहिँ गर्नुहुन्न भन्ने भनाइ हो। त्यसमा व्यवस्थापनाको जिम्माचाहिँ म लिन्छु। नेपालको विकासको लागि सकेसम्म बिजुली खपत गर्नैपर्छ।

तपाईं आएपछि खपत कति बढाउनुभयो त?
तीन वर्षअघि प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत करिब १५० युनिट रहेकोमा अहिले नियमित विद्युत् आपूर्ति हुनथालेपछि बढेर करिब २४५ युनिट पुगेको छ। यो भनेको अत्यन्त कम हो। चीनमा प्रतिव्यक्ति खपत ४ हजार ५ सय युनिट रहेको छ। भारतको १ हजार दुई सय रहेको छ। नर्वेमा २३ हजार युनिट प्रतिव्यक्ति खपत छ। त्यो भनेको विकासको सूचक हो।

kulman ghising4

उद्योगहरुले बिजुली पुगेन भनिरहेका छन्, अझ भारतलाई बेच्ने बिजुली सबै हामी नै किन्छौँ भनिरहेका छन् नि?
हामीले अधिक रुपमा प्रसारणलाइन विस्तार गरिरहेका छौं। हाल चार सय केभीको प्रसारणलाइन विस्तार गरिरहेका छौं। अहिले १ सय ३२ केभीको रहेकोमा त्यसलाई हटाउने गरेर नयाँ बनाइरहेका छौँ। आव २०७२/०७३ सम्ममा विद्युत् प्रसारणलाइनको सञ्जाल २९११ सर्किट किलोमिटर रहेकोमा अहिले ३९९० सर्किट किलोमिटर पुगेको छ। गत आवमा मात्रै सात सय ५७ सर्किट किलोमिटर लाइन निर्माण सम्पन्न भई ६०६ सर्किट किलोमिटर चार्ज भएको छ। लामो समयदेखि सम्पन्न हुन नसकी रुग्ण बनेको काबेली करिडोरसहित प्रसारणतर्फ ३ र वितरणतर्फ ३४ गरी जम्मा ३७ वटा रुग्ण आयोजना गत आर्थिक वर्षमा सम्पन्न भएका छन्। १३ आयोजनाको ठेक्का सम्झौता रद्द गरी पुनः ठेक्का प्रक्रिया सुरु गरिएको छ। विगत तीन वर्षभित्र नयाँ निर्माण तथा स्तरोन्नति गरी १७१२ एमभीए क्षमताका प्रसारण सबस्टेसन थप गरिएको छ। यो सबै त्यसको लागि भएको हो।

तपाईं आफैं फिल्डमा हिँडेर काम गरेको पनि देखिन्छ, के संस्थागत संरचना चुस्त नभएर हो?
मैले अघि भनेँ नि हामी सरकारी संस्था हौँ। सबै प्रक्रियाबाट आउनुपर्छ, काम गर्न भ्याइँदैन। समयमा निर्णय गरेर समयमा काम नगरेको भए मैले माथि उल्लेख गरेको काम गर्नको लागि १० वर्षमा पनि सकिँदैनथ्यो। हो, बाँकी रह्यो संस्थागत संरचनाको कुरा। संस्थागत संरचनाको कारण नै आज यो उपलब्धि भएको हो। केही स्थानमा समस्या समाधान नै नहुने देखिएपछि म आफैँ पुगेको हुँ।

नेपालमा विद्युत् चुहावट चाहिँ कर्मचारीबाट कि उद्योगबाट बढी भएको पाउनुभयो?
सबैतिर थियो। अहिले पनि छ। त्यसलाई घटाउने उद्योगीमा पनि बिजुली चुहावट भएकै हो। तर त्योभन्दा धेरै समस्या हाम्रो आफ्नै सिस्टममा थियो। राम्रो प्राविधिक क्षमता नहुँदा हामीले पठाउने बिजुली सम्बन्धित ठाउँमा जसरी पठाउँथ्यो त्यसरी पुग्दैनथ्यो। हामी प्राविधिक रुपले कमजोर रहेको कारण धेरै बिजुली चुहावाट भएको थियो। त्यो हामीले मिलाएका हौँ।

कुलमान घिसिङको नेतृत्वमा तीन वर्षमा नेपाल विद्युत् प्राधिकरणले कसरी फड्को मार्यो?
हेर्नुस्ः यो भिडियोः

भदौ ३०, २०७६, सोमबार

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्
लेखकबाट थप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors