ad ad

अन्तर्वार्ता


अक्सफोर्डका प्रोफेसर दिवाकर आचार्य भन्छन्ः हामी तर्क गर्न सिकाउँछौं

अक्सफोर्डका प्रोफेसर दिवाकर आचार्य भन्छन्ः हामी तर्क गर्न सिकाउँछौं

चन्द्रलाल गिरी
भदौ २१, २०७६ शनिबार १०:२६,

प्रा.डा.दिवाकार आचार्य बेलायतको विश्व–प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयका पहिलो नेपाली पूर्ण प्रोफेसर हुन्। दक्षिण एसियाबाट अक्सफोर्ड पुग्ने जम्मा तीन जना प्रोफेसरमध्ये एक आचार्य हुन् भने दुई जना भारतीय छन्। काठमाडौंको पशुपति क्षेत्रमा हुर्केका प्रोफेसर आचार्य पूर्वीय संसारमा स्थापित बौद्ध, हिन्दू, शिव र जैन धर्म–दर्शनका ज्ञाता हुन्। जर्मनीको हामबर्ग विश्वविद्यालयबाट विद्यावारिधि गरेका आचार्य जापानको क्योतो विश्वविद्यालयमा १० वर्ष अध्यापन गरेपछि अक्साफोर्ड सरे। ४५ वर्षको उमेरमा विश्वभरका करिब सय प्रतिस्पर्धी र आफ्नै प्राध्यापकलाई समेत पछि पारेर आचार्य सन् २०१५ मा अक्सफोर्डको पूर्ण प्रोफेसरमा छनोट भए, जहाँको ‘अल सोल्स’ कलेजमा उनी ‘इस्टर्न रिलिजन एन्ड इथिक्स’ विषय अध्यापन गर्छन्। हालै नेपाल आएका बेला डा. दिवाकार आचार्यसँग नेपालखबरले गरेको वार्ताः

अक्सफोर्डसम्मको यात्रामा तपाईंको परिवार र समाजिक परिवेशको पनि भूमिका होला, पारिवारिक पृष्ठभूमिबारे थोरै चर्चा गरौं न।
मेरो बुबा ५ वर्षको हुँदा हजुरबा वृहस्पति आचार्य बित्नुभएको रहेछ। पारिवारिक बेमेलका कारण बुबाले पुर्खौली सम्पत्ति नलिईकन पशुपतिको सरकारी सटरमा बस्न थाल्नुभएछ। जेठाबासँग हाम्रो पारिवारिक सम्बन्धमा उतारचढाव भएकाले हामी पशुपतिमा बस्नुपरेको थियो।

बुबा लोकनाथ आचार्य र आमा दुर्गादेवी आचार्यको माइलो सन्तानका रूपमा २०२७ सालमा मेरो जन्म भएको हो। मुड्खुले (गोलढुंगा) काठमाडौंका आचार्य परिवारका मेरा बुबा संस्कृतको पण्डित र निम्न माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्थ्यो। पढाईमा असाध्यै ध्यान दिने उहाँले मलाई संस्कृत शिक्षामा जग बसाउन भूमिका खेल्नुभयो। पढ्यो लेख्यो भने मान पाइन्छ। कुनै कुरामा निष्ठा भयो भने सफलता मिल्छ भन्ने कुरा मैले बुबाका कर्म र अठोटबाट सिकें।

मेरा बुबाबारे एउटा निकै रोचक प्रसंग पनि छ, जसले मलाई अध्ययन गर्न थप ऊर्जा मिलेको छ।

म ९ कक्षामा पढ्दा नेपाली सेनाका एकजना साथी ८ कक्षामा संस्कृत पढ्न आएका थिए। संस्कृत व्याकरणसम्बन्धी एउटा गाइडजस्तो पुस्तक मबाट उनले पढ्न लगेका थिए। उनले त्यो पुस्तक मलाई फिर्ता गर्न पाएनन्, किनकि दुर्घटनामा परेर खुट्टा भाँच्चिएर म अस्पताल भर्ना भएको थिएँ। ठीक भएको ६ महिनापछि भदौमा बुबाले मसँग पुस्तक नभएको थाहा पाउनुभयो। त्यो पुस्तक नपाउँदासम्म अन्न नखाने बुबाले निर्णय लिनुभयो। पुस्तक नपाएको १७ दिनसम्म बुबाले अन्न नखाईकन समय गुर्जानुभयो। त्यतिबेलाको समयमा पनि बुबाको पुस्ताकलयमा १५ सयजति पुस्तक थिए।

म पशुपति क्षेत्रको खुला आकाशमा हुर्केें। जहाँ राजादेखि रंकसम्म हरप्रकारका मान्छे आउने–जाने हुन्थ्यो। पशुपतिमा बस्दा बिग्रिने सम्भावाना पनि उत्तिकै थियो। माग्नेदेखि लागूऔषधका अम्मली र पकेटमारसम्म पशुपतिमा बस्थे। बाहुनको परिवारमा जन्मिएको हुनाले मैले ६ वर्षको उमेरमा नै रुद्री कण्ठ गरिसकेको थिएँ। सामान्यतः ८ वर्षमा व्रतबन्ध गर्ने चलन भए पनि बुबाले ०३२ साल फागुनमा ६ वर्ष पुग्नासाथ मेरो व्रतबन्ध गरिदिनुभयो।

बुबाले मलाई व्रतबन्ध सकिएलगत्तै पशुपतिको बासुकीमा खप्तड बाबाको साथी विद्यारन्य (मूर्खान्य) बाबा र पछि श्यामचेतन बाबासँगको संगतमा जोडिदिनुभयो। बाबालाई भेट्न पशुपतिमा असाध्यै भीड हुन्थ्यो। मूर्खान्य बाबा शंकारर्चायको गद्दी छाडेर आएका बाबा हुन्। श्यामचेतन बाबा एकादशीमा व्रत बस्ने, द्वादशीमा मैले रुद्री पढेर प्रसाद नदिएसम्म पानी पनि खाँदैन थिए। सबैले मानेका स्वामीले मलाई मानेको देखेपछि आउने सबैले सम्मानका साथ हेर्थे।

बाबालाई यो समाजबारे त्यति धेरै ध्यान थिएन। बाबाकोमा बस्दा समाजको धेरै कुरा सिक्न पाइयो, समाजको सबै रूप देख्न पाइयो।

एकातिरबाट बाबाकोमा गएपछि म खराब संगतबाट टाढै बसें भने अर्कोतिर सुसूचीत हुने अवसर मिल्यो। त्यतिबेला पशुपतिमा बस्न एकदमै खतरनाक थियो। करेन्ट लागेर म संयोगले बचेको छु।

DiwakarAcharya3

तपाईंको शैक्षिक यात्रा कसरी अगाडि बढ्यो?
बुबाले नै सुरुमा संस्कृतको व्याकरण सिकाउनुभयो। सुरुमा ७ कक्षासम्म पशुपतिको शारदा माविमा अध्ययन गरें। ०३८ सालबाट रानीपोखरीको संस्कृत माध्यमिक विद्यालयमा पढियो। ०४१ सालमा एसएलसी गरें। ०४२ देखि ०४४ सालसम्म आईए र शास्त्री (बीए) वाल्मीकि क्याम्पसबाट गरें। ०४५ देखि ०४८ सम्म ३ वर्षमा वनारसको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट आचार्य गरें।

नेपाल फर्केलगत्तै ०४८ देखि ०५१ साल बीचमा बिहान अर्थशास्त्र अध्ययन र दिउँसो गोथे इन्स्टिच्युटमा जर्मन भाषा सिक्न थालें। त्यति नै बेला म जर्मन प्रोजेक्टमा ‘हाफ टाइम’ जुनियर अफिसरका रूपमा काम पनि गर्थें। ०५० सालदेखि मैले वाल्मीकि क्याम्पसमा पढाउन थालें। करिब ७ वर्ष मैले त्यहाँ पढाएँ। त्यो बेलादेखि नै मैले अप्रकाशित दस्तावेज संकलन र सानातिना अनुसन्धानका काम गर्न थालिसकेको थिएँ।

त्यसबेला कान्तिपुर दैनिक भर्खरै प्रकाशन हुन थालेको थियो। म कान्तिपुरमा स्तम्भ लेख्थें। त्यसै क्रममा मैले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा पनि मास्टर्स गरें। त्यसबेलासम्म पशुपति छाडेर हामीले जोरपाटीमा घर बनाइसकेका थियौं। आईए पढ्न थालेपछि तीनधारा छात्रावास बस्न थालेको थिएँ। बुबाको कडा अनुशासनमा बसेको मैले छात्रावासमा अलि स्वतन्त्रता पाएँ।

जर्मन संस्थाको डाइरेक्टरले मलाई किन त्यत्तिकै बसेको पीएचडी गर्न जर्मन आइज भन्न थाल्नुभयो। त्यसबेला मैले १०औं शताब्दीको ‘तत्व समीक्षा’ भन्ने पुस्तक फेला पारें, जुन दुर्लभ पुस्तकमध्ये एक थियो।शंकराचार्यपछिको वेदान्त दर्शनमा वाचश्पति मिश्रले तयार पारेको दस्तावेज यसरी फेला पारेपछि मलाई नयाँ काम गर्न मन लाग्यो। त्यो हराएको पुस्तक मैले सम्पादन गरें, जुन पछि मेरो पीएचडीको थेसिस बन्योे। सन् २००४ मा मैले थेसिस बुझाएँ।

अध्ययनको क्रममा सबैभन्दा बढी कुन कुराले प्रभावित बनाउँथ्यो?
संस्कृत अध्ययन मेरो जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्न पुग्यो। मेरो अध्ययनका लागि बुबाकोे जोडबल थियो, व्रतबन्ध गरेपछि रुद्री पाठ गर्न लगाउनुभयो। बुबाले बनाएको पुस्तकालयमा रहेका पुस्तकहरूमा गोरखपुरको रामायण (हिन्दी र संस्कृत भाषामा), महाभारतजस्ता पुस्तकहरू पढ्दै जाने बानी बस्न थाल्यो। पुस्तक देखेपछि पढिहाल्ने बानी बसिसकेको थियो।

जर्मनीका वेर्नहाट कोलर भिजिटिङ प्रोफेसरका रूपमा वाल्मीकिमा कार्यरत थिए। उनले राष्ट्रिय अभिलेखालयमा भएका महत्वपूर्ण पूराना पुस्तकहरूको विवरणात्मक क्याटलक बनाउने योजना ल्याए। त्यो परियोजनामा मलाई थानेश्वर तिमल्सिनाले लगे। त्यहाँ महेशराज पन्तसँग परिचय भयो। उनीबाट मैले पूर्वीय र पश्चिमा शिक्षा प्रणालीकोे तुलनात्मक अध्ययन गर्न सिकें। अंगे्रजी भाषा भने काठमाडौंमा आउँदा ब्रिटिस काउन्सिलमा गएर आफैं सिकियो। गोथे इन्स्टिच्युटमा २ वर्ष जर्मन भाषा सिक्दा अंग्रेजी भाषा अझ राम्रो बनाउने मौका मिल्यो।

जर्मन प्रोफेसर अलब्रेस्ट वेज्लर एकदमै राम्रो र शक्तिशाली प्राध्यापक हुनुहुन्छ, उहाँले नै मलाई पीएचडी गर्न उत्प्रेरित गर्नुभएको हो। निकै हक्की र सशक्त प्राध्यापक अलब्रेस्टका कारण मलाई जर्मनीमा अध्ययनका क्रममा एकदमै सहज भयो। मलाई उहाँले पीएचडी स्कलरका रूपमा भन्दा पनि एक रिसोर्स पर्सनका रूपमा जर्मनी लानुभयो, उहाँले पाउने म्याक्स रिसर्च पुरस्कारबाट मलाई तलब खुवाउने गरी। जर्मनीमा बस्दा मैले ४ वर्ष आधा समय प्रोजेक्ट र आधा समय थेसिसका लागि काम गरें। थेसिस सकिएको ६ महिनाभित्रै पीएचडी उपाधि पाएँ।

सन् २००६ देखि २०१६ सम्मका १० वर्ष मैले जापानको क्योतो युनिभर्सिटीमा काम गरें। पाँच वर्ष भिजिटिङ फ्याकल्टी भएर र, बाँकी ५ वर्ष रेगुलर एसोसियट प्रोफेसरका रुपमा।

DiwakarAcharya2

जापानबाट कसरी अक्सफोर्ड पुग्नुभयो?
जपान बसाई भाषाका कारण पनि अलि असहज थियो। त्यही बीचमा सन् २०१५ मा अक्सफोर्डमा प्राध्यापकका लागि भ्याकेन्सी खुल्यो। ग्लोबल प्रतिस्पर्धामा करिब सय जनाबीचमा प्रतिस्पर्धा भयो। अक्सफोर्डभित्र पनि स्टाटुटोरी प्रोफेसरको पद २ सयजति मात्रै छ। यो पदका प्राध्यापक स्वतः विश्वविद्यालय सभाको सदस्य हुन्छन्। प्रतिस्पर्धामा सर्टलिस्ट भएका ६ जनामा म नै सबैभन्दा जुनियर थिएँ। तर म छानिएँ। जर्मनीमा रहँदा मेरो पीएचडी थेसिसको सेकेन्ड गाइड हामबर्ग विश्वविद्यालयका प्राध्यापक पनि प्रतिस्पर्धी हुनुहुन्थ्यो। अहिले पनि उहाँ हामबर्गमै प्राध्यापक हुनुहुन्छ। अमेरिका, युरोप र भारतबाट पनि मेरा प्रतिस्पर्धी थिए।

भारतीयहरूको दृष्टिकोणमा यो इस्टर्न इथिक्स एन्ड रिलिजन भन्ने राधाकृष्णको पद हो। अहिलेसम्म भारतबाट दुईजना राधाकृष्ण र विमलकृष्ण मातीलाल मात्र यो पदमा पुग्नुभएको छ। दक्षिण एशियाबाट तेस्रो म नेपाली छानिएँ। मेरो लेभलको स्टाटुटोरी प्राध्यापकमा पुग्ने भारतीयहरू पनि कम नै छन्। बेलायतमा अक्सफोर्ड र क्याम्ब्रिजलाई जोडेर अक्सब्रिज भन्ने चलन छ। त्यो ठाउँमा नेपालबाट आजसम्म मैले नै त्यो पूर्ण प्राध्यापकको पद प्राप्त गरेकोे छु। विश्वविद्यालयहरूको ग्लोबल प्रतिस्पर्धामा अक्सफोर्ड, क्याम्ब्रिज र हार्वडबीच पहिलो, दोस्रो र तेस्रो प्रतिस्पर्धा चलिरहन्छ।

त्यो प्रतिस्पर्धामा तपाईं कसरी अगाडि पर्नु भयो र छानिनु भयो?
मेरो अध्ययनको दायरा फराकिलो थियो। हिन्दू मात्र होइन, बौद्ध र जैन धर्ममा पनि मेरो दक्खल छ। हिन्दुमा शताब्दीदेखि हराइरहेको पुस्तक मैले पत्तो लगाएर काम गरें। जैनमा पनि हाम्रो वेदजस्तै ११औं शताब्दीदेखि हराइरहेको पुस्तक मैले भेटाइदिएको छु। प्राइमरी म्याटरलाई पत्ता लगाउने र बाहिर ल्याउने काम गरें। साथै दर्शन मात्र नभएर, इतिहास र संस्कार तथा संस्कृतिमा पनि काम गरेको छु।

अक्सफोर्डमा प्राध्यापक हुनुअघि म ‘जर्नल अफ इन्डियन फिलोसफी’ को प्रधान सम्पादक थिएँ। रिसर्च जर्नल र त्यसमा प्रकाशित आलेखहरूको ¥याङकिङ गरिन्छ। त्यसमा पनि मेरो अब्बल नै थियो। जापानको उत्कृष्ट क्योतो युनिभर्सिटीमा काम गरेको अनुभवले पनि थप बल पुग्यो, अक्सफोर्डमा छानिन।

तपाईंको जीवनमा यो सफलताका लागि कुन कुन कुराले भूमिका खोल्यो?
ओलोचनात्मक दृष्टिकोणबाट अध्ययन गर्ने बानी, हराइरहेका कुराहरूको अध्ययन तथा अनुसन्धान, संस्कृत शिक्षामा एकाग्र भएर लाग्नुजस्ता धेरै कुराको संयोजन छ, मेरो सफलताको कथाभित्र।
सामाजिक रूपमा भन्ने हो भने मलाई इन्जिनियरिङ वा कानुन पढ्न भन्नेहरू थिए। संस्कृत भनेपछि बाहुनको भाषा, रुद्रीचण्डी, टुप्पी पाल्नेजस्ता विशेषण जोडिएका थिए। तर आज अक्सफोर्डमा हेर्नुस्, पहिलो नेपाली प्राध्यापक नै संस्कृत भाषाको विज्ञ हुने अवस्था आयो। त्यसैले कुनै पनि विषय सानो वा ठूलो भन्ने हुँदैन। विषयवस्तुमाथि लगाव र निरन्तरता चाहिन्छ। अर्को आफ्नो विषयवस्तुमा गर्व गर्न सक्नुपर्छ। त्यसलाई आधुनिक र आलोचनात्मक चेतसहित हेर्न सक्नुपर्छ। त्यस्तै कुनै विषय राम्रो वा नराम्रो भन्ने पनि हुँदैन। आफूलाई मन परेको विषय छान्ने र त्यसमा जिन्दगीभरि खुसी भएर लागिरहने तरिका नै सफलताको द्योतक हो।

नेपालको गुरुकुल र वाल्मीकि क्याम्पसको शैलीले मैले संस्कृत अध्ययन गरेको भए, सायद म आज अक्सफोर्डमा पुग्दिन थिएँ।

अरू विश्वविद्यालयहरू भन्दा अक्सफोर्डको नयाँ विशेषता त्यस्तो के छ?
अक्सफोर्डले सधैं आफ्नो स्ट्यान्डर्ड मेन्टेन गर्छ, त्यसमा कहिल्यै सम्झौता गर्दैन। सुरुदेखि अहिलेसम्म नै अक्सफोर्डले आफ्नो सांस्कृतिक, शैक्षिक पहिचान कायम राखेको छ। अक्सफोर्डले अरू ठाउँमा गएर कलेज खोल्दैन। कसैलाई एफिलेसन पनि दिँदैन। अक्सफोर्डमा प्रशासन भए पनि ३८ वटा छुट्टा–छुट्टै स्वायत्त क्याम्पस छन्। कक्षामा सिक्नेभन्दा पनि कलेजभित्रको वातावरण सबै कुरा सिक्ने खालको हुन्छ। शिक्षक र विद्यार्थी सँगै बसेर हरेक किसिमका छलफल हुन्छन्। कार्यपत्रहरू प्रस्तुत गर्ने, क्लोज क्याम्प चलाउने हुन्छ। हामी नेपालमा जे गरिरहेका हुन्छौं, अक्फोर्डसँग तुलना गर्दा त्यो १० प्रतिशत पनि हुँदैन।
अक्सफोर्डमा सेमिनार र कक्षाबाहेक विभिन्न क्लोज क्याप्प र लेक्चर सिरिजहरू चलिरहेका हुन्छन्। बेलुकीको समयमा समेत कसैले गरेको रिसर्चबारे छलफल भइरहेको हुन्छ। त्यसमा प्रतिक्रियाहरू आउँछन्। २४ घण्टा नै अध्ययन र अध्यापनमा बित्छ।

म अक्सफोर्डमा एमफिलको कक्षा लिन्छु। अक्सफोर्डको अर्को गर्व गर्न लायक विषय भनेको विद्यार्थीलाई हप्तामा २–३ वटा कक्षाबाहेक पुस्तक पढ्न दिएको हुन्छ। समस्याहरू के–के हुन भनेर दिइएको हुन्छ। उनीहरूलाई एउटा थिममा प्रश्नहरू दिइएको हुन्छ, त्यसमा २५ सयदेखि ३ हजार शब्दसम्मको निबन्ध (एस्से) लेख्न दिइएको हुन्छ। ८ हप्ताको एक टर्म हुन्छ। एक टर्ममा उनीहरूले त्यस्ता १५ वटा एस्से लेख्नुपर्छ। अन्डरग्राजुयटको मोडल पनि त्यही हो। उनीहरूले लेखेका एस्सेलाई शिक्षक र चार जना विद्यार्थी बसेर फेस टु फेस जाँच गरिन्छ।

कुनै एउटा शीर्षक दिइएको हुन्छ, त्यसमा विद्यार्थीले ५ सय पेजजति पढ्नुपर्छ। हामीले दिएका प्रश्नका आधारमा उनीहरूले लेख्नुपर्छ। कुनैमा सारांश लेख्ने त कुनैमा आलोचनात्मक टिप्पणी गर्नुपर्ने हुन्छ। जस्तो पूर्वीय दर्शनमा विभिन्न शैव सम्प्रदाय छन्, तिनीहरू बारे विश्व दृष्टिकोण उल्लेख गरी तिमीलाई कुन विचार ठीक लाग्छ कारणसहित लेख भन्ने प्रश्न हुन सक्छ। तर्क गर्न सिकाउने हो हामीले।

अक्सफोर्डका म्युजियम र पुस्तकालयहरू जतिबेला पनि खुला रहन्छन्। पैसा तिर्नुपर्दैन। मुख्य सहर लन्डनभन्दा केही घण्टा टाढा विश्वविद्यालय छ। परीक्षा लिने प्रणाली एकदमै गुणस्तरीय र महँगो छ। जस्तो पीएचडीमा पहिलो वर्ष गाइडबाहेक अरू दुई प्राध्यापकले विद्यार्थीलाई अध्ययनका लागि चयन गर्नुपर्छ। पूरा भाइबा गरेर च्याप्टरहरू प्रस्तुत गर्दा ती दुई प्राध्यापक सन्तुष्ट भए भने मात्र उसको पीएचडी अघि बढ्छ। अर्को दोस्रो वर्ष कन्फर्म गर्दा ती दुई प्राध्यापकले हेर्न पाउँदैनन्। तिनीहरूमध्ये एक र अरू दुईजना नयाँ हुन्छन्। पक्षपात वा गडबडी होला भनेर अरू नै दुईजना राखिएका हुन्। तेस्रो वर्ष विश्वविद्यालयभन्दा बाहिरको जाँचकी र विश्वविद्यालयको जाँचकी दुईजना बसेर फाइनल हुन्छ। सुपरभाइजरबाहेक ६ प्राध्यापकलाई सन्तुष्ट बनाउनुपर्छ पीएचडी गर्न।

विद्यार्थी छनोट प्रक्रिया पनि एकदमै जटिल हुन्छ। अक्सफोर्डमा अध्ययन गर्न आवेदन दिने मान्छे नै एकदमै योग्य हुन्छ। त्यसमा पनि हामीले ७ मा १ को रेसियोमा विद्यार्थी लिन्छौं।

DiwakarAcharya5

अक्सफोर्डको प्रोफेसरका रुपमा तपाईंको एक दिन कसरी बित्छ?
बिहान नित्यकर्म गरेपछि म कहिलेकाहीँ सूर्य नमस्कार गर्छु। चिया फलफूल खाँदै समाचार पढ्ने र हेर्ने गर्छु। ‘साउथ एन्ड इनर एसिया’ विषय ग्रुपको म प्रमुख पनि हुँ। त्यो ओरियन्टल स्टडीभित्र केही विषय र प्रशाससम्बन्धी काम भए हेर्छु। इमेल चेक गर्छु र केही डकुमेन्ट भए बनाएर पठाइदिन्छु। भ्याएसम्म रिसर्चसम्बन्धी लेखहरू हेर्ने र पेन्डिङमा भएका जर्नलका लेखहरू सम्पादन गर्छु। जर्नल र मिडिया अध्ययनका काम बिहान बेलुका समय बाँडेर गर्छु। निवासबाट साढे १० बजेतिर मात्र निस्कन्छु।

अक्सफोर्डको मेरो कलेज ‘अल सोल्स’ पुगेपछि १ घण्टाजति आफ्ना विषयमा अध्ययन गर्छु, १ बजे खाना खाने समयसम्म। दिउँसो २ बजेपछि भने कक्षा सुरु हुन्छ। कुनै दिन दुईवटा कक्षा भयो भने ५–६ बज्छ। त्यसपछि निवासमा आएर जर्नलका का मगर्ने, समाचार हेर्ने र अध्ययन गर्ने हो।

अहिले कुन विषयमा अनुसन्धान गरिरहनुभएको छ?
उपनिषद्हरूको क्रिटिकल स्टडी राम्रोसँग भएको छैन। धेरैजसोले उपनिषद्लाई शंकराचार्यको आँखाले बुझ्ने गरेका छन्। शंकराचार्यका प्रतिद्वन्द्वीहरू पनि उनमै आश्रित छन्। मूल ग्रन्थको व्याख्यामा शंकराचार्यकै भरपर्ने अवस्था छ। मैले भने उपनिषद् कहाँबाट ब्राह्मण र आर्यनहरूसम्म आयो? त्यो कुन कन्टेक्समा थियो भनेर ओरिजिनल कन्टेक्समा हेर्न खोजेको छु। सूक्ष्म अध्ययन गर्दै छु। अर्को आठौं शताब्दीको म्यानस्क्रिप्ट अर्थात् ९४९ को ‘सौर्य समिता’ सूर्यको पूजासम्बन्धी संस्कृत पुस्तकमा पनि काम गर्दै छु। त्यसलाई सम्पादन गरिसकें। यसको भूमिका बाँध्ने र अनुवादका काम बाँकी छन्।

सुत्ने समयबाहेक मेरो सम्पूर्ण ध्यान अध्ययन–लेखनमा केन्द्रित हुन्छ। म जम्मा ७ घण्टा सुत्छु। ‘अक्सफोर्ड सेन्टर फर हिन्दु स्टडीज’ भन्ने स्वायत्त संस्थामा पनि संलग्न छु। मेरो त सपनाको अन्तरमनमा समेत अध्ययन अनुसन्धानबारे सोच्ने हुन थालेको छ (हाँसो)।

पूर्वीय दर्शनको गुरुकुल शिक्षा प्रणाली र अक्सफोर्डजस्तो आधुनिक शिक्षा प्रणालीबीच कसरी तुलना गर्नुहुन्छ?
नेपालमा हामी जसलाई आधुनिक शिक्षा प्रणाली भन्दै छौं, त्यो खाली एकप्रकारको ट्युसन पढेजस्तै मात्र हो। त्यो भनेको कानुनको कक्षामा गएर आउटडेटेड इतिहास पढेजस्तो मात्रै हो। त्यसमा अरू प्रकारका प्राज्ञिक गतिविधि छैनन्। सर्वांगीण विकास छैन। एकांकी छ।

अक्सफोर्डमा विद्यार्थी र शिक्षक सँगै बसेर २४ सै घण्टा अध्ययन गर्नेजस्तो हुन्छ। कलेजका गतिविधि हेर्ने र परीक्षा हेर्ने प्राध्यापक फरक–फरक हुन्छन्। फ्याकल्टीलाई सुपरभाइज गर्ने अर्कै प्राध्यापक हुन्छन्। अक्सफोर्डको शिक्षा प्रणाली हाम्रो गुरुकुलसँग धेरै मिल्छ। अक्सफोर्डका विद्यार्थी बिहानदेखि बेलुकीसम्म प्राध्यापक सँगसँगै बस्ने, खाने र अध्ययन गर्ने गर्छन्। यसरी अक्सफोर्डले आफ्नो परम्परा कायम राखेको छ, हामीले त्यसको एउटा विकृत रूपको नक्कल मात्रै गरेका छौं।

मेरो कलेज अक्सफोर्डको सम्भ्रान्त कलेज हो, जहाँ विद्यार्थीलाई अनुसन्धानमै बढी फोकस गरिन्छ। त्यसैले विद्यार्थी पनि कम हुन्छन्। अक्सफोर्डका विद्यार्थीबीच प्रतिस्पर्धात्मक परीक्षाबाट ‘प्राइज फेलो’ छानिन्छ। वर्षमा २–३ जना उत्कृष्ट विद्यार्थीलाई हामीले त्यसरी अन्तर्वार्ता र परीक्षाबाट छान्छौं। सात वर्षका लागि उनीहरू छानिन्छन्। त्यसपछि ‘कुन बाटोमा जाने हो सोच’ भनेर भविष्यबारे योजना बनाउन २ वर्षको समय दिन्छौं।

अहिलेको बेलायतका प्रधानमन्त्री अक्ससफोर्ड फेलो हुन्। मार्गरेट थ्याचर पनि अक्फोर्डका उत्पादन हुन्। त्यस्ता धेरै उच्च र प्रख्यात् व्यक्तिहरू अक्सफोर्डले उत्पादन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .