ad ad

अन्तर्वार्ता


‘दमिनी भीर’ उपन्यासबाट ६० लाख कमाइ गरेँः राजन मुकारुङ (अन्तर्वार्ता)

‘दमिनी भीर’ उपन्यासबाट ६० लाख कमाइ गरेँः राजन मुकारुङ (अन्तर्वार्ता)

कृष्ण आचार्य
भदौ ४, २०७६ बुधबार ६:३२,

राजन मुकारुङ नेपाली साहित्यका एक प्रखर व्यक्तित्व हुन्। उनी सीमान्तकृत समादुयको पक्षमा वकालत गर्छन्। कवितामार्फत् नेपाली साहित्यमा उदाएका उनी उपन्यास र निन्बध लेखनमा पनि उत्तिकै सशक्त मानिन्छन्। उनको उपन्यास ‘दमिनी भीर’ले २०६९ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो। हालसालै उनको ‘हाटा जाने अघिल्लो रात’ नामक कविता संग्रह प्रकाशित भएको छ। साहित्य एवं जीवनबारे नेपालखबरले गरेको संवादः

एक वर्षअघि तपाईं जीवनकै सबैभन्दा दुःखदायी समयमा हुनुहुन्थ्यो। परिवारमा पनि उथलपुथल आयो। अहिले अवस्था कस्तो छ?
ठिकै छ। मानिसको जीवनमा आरोह–अवरोह भइ नै रहन्छ। कुनै समय मानिसले मनोवैज्ञानिक रुपमा आफूलाई कमजोर महसुस गर्न सक्छ तर त्यो सधैँ रहिरहँदैन। आफ्नो आत्मबल बलियो बनाउँदै पनि जानुपर्छ। समाज रुपान्तरणका लागि लडिरहेका मानिसहरु यस्ता कुरामा हतोत्साही हुनु हुँदैन। यसलाई म मानवीय स्वभावका रुपमा लिन्छु।

तपाईं २०६० सालदेखि पूर्णकालिन लेखक हुनुभयो। अहिलेसम्म सहजै लेखेरै बाँचिरहनु भएको छ। नेपालमा लेखेर मात्र बाँच्न सम्भव छ र?
सुरुसुरुमा भने निकै गाह्रो थियो। पछि मेरा शुभचिन्तक र आफन्तको राम्रै सहयोग मिल्न थाल्यो। जसले गर्दा सहज हुन थाल्यो। तर, यो साथ र सहयोग सधैँ नरहन पनि सक्छ, त्यो अर्को कुरा हो। मैले आफैँ पनि लेखेरै बाँच्न सक्ने वातावरण बनाउँदै लगेको छु। म त्यति मितब्ययी स्वभावको छैन। नकमाएकै पनि होइन। हरेक कृतिबाट राम्रै कमाई पनि भइरहेको छ। अहिलेसम्म चलिरहेकै छ।

rajan mukarung
साहित्यकार राजन मुकारुङ। तस्विर: प्रविन कोइराला

तपाईंको स्वभाव परम्परासँग सम्झौता नगर्ने खालको छ। खासमा तपाईंलाई अराजक नै हुनेगरी के कुराले विद्रोही बनायो?
हाम्रो समाजमा विभेदले जडा गाडेर बसेको छ। मैले विभेदमा परेका ती मानिसहरुको आवाज उठाउँदा परम्परागत सनातनले मलाई अराजक मानेका हुन सक्छन्। सामाजिक न्याय, सामाजिक रुपान्तरणका लागि कठोरतापूर्वक लाग्नु मेरो स्वभाव हो। यसका लागि विद्रोही चेत उत्तिकै आवश्यक छ। त्यही चेतलाई ध्यानमा रोखेर हो मैले बोल्ने–लेख्ने। स्वभाव र सामाजिक चेतले नै हो मलाई विद्रोही बनाएको।

आख्यानमा सफल हुँदाहुँदै कविता ‘हाटा जाने अघिल्लो रात’ निकाल्नुभयो। कविताका पाठकहरु पनि धेरै छैनन् भनिन्छ। आफ्नै खुट्टामा बञ्चरो हान्नुभयो होइन?
कृति धेरै प्रति बिक्री हुनु र त्यसबारे बहस–बिमर्श हुनु फरक कुरा हुन्। प्राज्ञिक रुपमा कति विमर्श भयो, समाजले कति छलफल गर्‍यो भन्ने पाटो लेखकका लागि महत्वपूर्ण कुरा हो तर यो एउटा पक्ष भयो। अर्को भनेको हिजो नेपाली समाजलाई परिवर्तन गर्नुपर्छ भन्ने विचारका कविहरु माक्र्सवादी विचारधारा बोक्थे। सत्तालाई खबरदारी गर्थे, सत्तासँग प्रश्न गर्थे। तर हिजो माक्र्सवादी विचार बोकेका भनिएका र प्रगतिशिल विचार भएका भनिएकाहरु सत्तामा गए। सत्ताकै जयगान गाउन थाले। यो बेला हामीले प्रश्न गर्नुपर्छ भन्ने सोचेर मैले कवितामार्फत प्रश्न गरेको हुँ।

अहिले कवितामा आइरहेको नयाँ पुस्ता कलात्मक रुपमा समक्ष भए पनि विचारमा कमजोर छ। मुद्दाहरु उठाउने सवालमा कमजोर छ। रिस्क मोल्न डराउँछ। किन भने उनीहरुलाई राज्यसँग प्रश्न गर्दा आफू निमोठिने त्रासमा छन्। त्यसले गर्दा कविता कमजोर भइरहेको छ। डराउनु हुँदैन भन्ने सन्देश र आँट उनीहरुलाई दिनुपर्छ भनेर कविता संग्रह ल्याएको हो। व्यक्तिगत रुपमा म सुरुवाती चरणबाटै कविता हुँदै यहाँसम्म आएको हुँ। त्यसैले धेरैले कविता लेख्न छाड्यो कि भन्ने सोचेका थिए होलान् तर म लेखिरहन्थेँ। आफूले लेखेका ती कवितालाई एकीकृत गरिएको पनि हो।

तपाईंले रक्सी पिउन थालेको पनि २७ वर्ष पुगेछ। पाँच वर्षअघि रक्सी पिएको पाँच लाख ऋण तिर्न बाँकी रहेको कुरा बाहिर आएको थियो। त्यो ऋण तिर्नुभयो कि बाँकी छ?
अहिले रक्सी खान अलि कम गरेको छु। अब त उमेरले पनि कम गर्दै जानु पर्ने भएको छ। कुन दिनदेखि शरीरले छाड् भन्यो भने छाड्नु पर्ला। त्यो ऋण तरिसकेँ नि। रक्सीमा मेरो निकै धेरै लगानी भयो। साथीभाइ भेला गर्‍यो अनि खायो। फेरि ऋण भनेर भट्टी पसलमा उधारो खाएको होइन। सर–सापट हो। यस्तै त हो।

rajan mukarung1
साहित्यकार राजन मुकारुङ। तस्विर: प्रविन कोइराला

२०५१ सालमा खोटाङमा शिक्षण पेशामा आवद्ध भएर आफ्नो करिअर सुरु गर्नुभयो। त्यहाँ दुई वर्ष बसेपछि एकाएक हराउनुभयो। हराउनुको कारण के थियो?
एउटै कुरा वर्षैपिच्छे पढाउनुपर्ने भएपछि दिक्क लाग्यो। यो पेशा ठिक रहनेछ भन्ने लाग्न थाल्यो। अनि म काठमाडौं आएँ। तीन वर्ष पढेँ। त्यसपछि एक पत्रिकामा चार वर्ष सम्पादकको जिम्मेवारीमा रहेर काम गरेँ। त्यहाँ पनि सन्तुष्ट हुन सकिनँ। म लेख्ने मान्छे भएकाले स्वतन्त्रता चाहिँदो रहेछ।

तपाईं सुरु–सुरुमा मोबाइलमा क्यान्डी क्रस खेल्नुहुन्थ्यो। पछि मोबाइलमै फुटबल खेल्न थाल्नुभयो। अहिले के खेल्नुहुन्छ?
अहिले पनि फुटबल नै खेलिरहेको छु। आफूले सबैभन्दा कमजोर टीम ल्यायो अनि विश्वको सबैभन्दा बलियो टीमलाई जित्यो। मोबाइलमा फुटबल खेल्नुको सबैभन्दा ठूलो मज्जा यही नै हो मेरा लागि। प्राय विश्वकप खेल्छुु। विशेषगरी एसियन टोली रोज्छु र उनीहरुलाई जिताउने काम गर्छु। ब्राजिल, अर्जेन्टिना, स्पेनलाई दक्षिण कोरियाजस्तो टोलीलाई हराउँदा आनन्द लिन्छु। दक्षिण कोरियाको टीम लिनुको मज्जा के रहेछ भने ९ नम्बरको सर्जीवालले सेन्टरबाट पावरफूल सट हान्यो भने ठ्याक्कै गोल हुन्छ। यो सट टोलीको विशेषता नै रहेछ। ३ मिनेटको खेलमा ६ गोलसम्म हानेको छु विपक्षीलाई।

मोबाइलमा मात्र खेल्नुहुन्छ वा वास्तविक रुपमा पनि फुटबललाई फलो गर्नुहुन्छ?
गर्छु। मलाई पोर्चुगल मन पर्छ। सुरुमा ब्राजिलको पक्षमा थिएँ। मैले सोचेजस्तो खेलेनँ। त्यसपछि पोर्चुगलतिर लागेँ। विशेषगरी विश्वकप फलो गर्छु। विश्वकपको बेला रातभर सुतिदैन। प्रायः म एसियाली टोलीलाई समर्थन गर्छु। युरोकप, इङ्लिस प्रिमियर लिग पनि हेर्छु तर विश्वकप जति भने हेर्दिनँ। खेलाडीमा क्रिस्टियानो रोनाल्डोको खेल मन पर्छ। अन्तिम समयसम्म पनि नहडबडाई खेल्ने कला र टोली हार्न लाग्दा पनि उसले गर्ने मेहनत मन पर्छ।

तपाईंको ‘दमिनी भीर’ उपन्यासले मदन पुरस्कार पायो। यसमा कत्तिको घमण्ड गर्नुहुन्छ?
घमण्ड किन गर्नु। बरु हामीले कति लेखिरहेका छौँ, आफूले लेखेको कुराले कत्तिको प्रभाव पार्न सक्यो भनेर आफ्नै समिक्षा गर्ने हो। अझै आउन धेरै कुरा बाँकी छ, लेख्न धेरै बाँकी छ। त्यस विषयमा लेख्न सके पो घमण्ड गर्नु।

rajan mukarung5
साहित्यकार राजन मुकारूङ। तस्विर: प्रविन कोइराला

तपाईं नयाँ पिँढीका युवाका लागि सधैँ उपलब्ध हुनुहुन्छ। प्रेरणा, प्रोत्साहन र हौसला पनि उत्तिकै दिनुहुन्छ। यो उनीहरुप्रतिको प्रेम, लगाव हो वा कुनै स्वार्थ लुकेको छ?
नयाँ पुस्ताले कम्तिमा मैलेजस्तो दुःख भोग्नु नपरोस् भन्ने मेरो चाहना हो। त्यसैले मसँग आइपुग्ने भाइ–बहिनीहरुलाई कसरी न्याय गर्न सक्छु भन्ने नै मेरो प्राथमिकतामा रहन्छ। खासमा म मितब्ययी हुन नसक्नु, त्यति व्यवहारिक नहुनु पनि यो एउटा कारण हुनसक्छ। मलाई उनीहरुको माया लाग्छ। म उनीहरुले लिएर आएको नयाँ सोच, नयाँ ज्ञान र नयाँ अनुभवलाई स्थान दिनुपर्छ भन्ने पक्षमा हुन्छु। यसमा मेरो एकरत्ति स्वार्थ छैन।

पहिचानको आन्दोलन

तपाईंहरुले थाल्नुभएको ‘सिर्जनशीलता अराजकता’ अभियान अहिले कहाँ, के गर्दैछ? धेरैले टुकी बालेर खोज्नुपर्ने अवस्थामा छ भन्ने आरोप लगाउँछन् नि?
यो अभियान निरन्तर छ। हामी तीन जना नै सक्रिय छौँ। हामीले जे कुराका लागि हिजो आवाज उठाएका थियौँ आज पनि उठाइरहेका छौँ। कतिपय कुरा पुरा भएका छन् भने कतिपय बाँकी नै छन्। ती बाँकी पक्ष चरणमै छन्, प्रक्रियामै छन्। नयाँ–नयाँ नाममा नयाँ–नयाँ साहित्यिक आन्दोलन घोषणा भए पनि केन्द्रीय मुद्दा त सबैको आफ्नै छ। त्यसले गर्दा पनि आन्दोलन निरन्तर छ। फेरि नयाँ पुस्ताले आन्दोलनलाई आफ्नो ढंगले अगाडि बढाइरहेको छ। त्यसकारण साहित्यका अभियान, आन्दोलन निश्चित समयका लागि हुन्छन् तर, नेपाली समाजको संक्रमण निरश छ। स्थायित्व छैन। त्यसैले हाम्रो आन्दोलन लामो समय चलाउनु पर्ने बाध्यता छ।

तपाईंहरुको आन्दोलनले महिला र नयाँ पुस्तालाई समेट्न सकेन भन्ने आरोप पनि छ नि?
हामीले संगठन बनाउने हिसाबले यो आन्दोलन थालेका होइनौँ। सिमान्तकृत र उत्पीडितका आवाजलाई हामीमार्फत बाहिर ल्याउनुपर्छ भन्ने सोचका साथ अभियान थालेका हौँ। थालिहाल्यौँ। अघि पनि बढिहाल्यो। महिलाहरुलाई आह्वान गरिएन पनि। हामीले थिचोमिचोमा परेका, हेपिएकाहरुको आवाजलाई साहित्यको माध्यमबाट अघि बढाउने काम गर्‍याैं। अब यसमा महिला वा युवा पुस्तालाई समेटिएन भनेर भन्नु मलाई त्यति उचित लाग्दैन। हाम्रो आन्दोलन त एउटा माध्यम न हो। उहाँहरुले पनि आफ्ना आवाजहरु उठाउन सक्नुहुन्छ। युवा पुस्ताको लेखन र महिलाहरुको आन्दोलन पछिल्लो समय आफैमा शक्तिशाली छ।

rajan mukarung4
साहित्यकार राजन मुकारूङ। तस्विर: प्रविन कोइराला

हिजो बैरागी काइँलाले सांस्कृति पहिचानको कुरा उठाएका थिए। पछि भुपाल राईले जातीय पहिचानको कुरा उठाए। अहिले आएर २०५६ सालपछि तपाईंहरु फेरि पहिचानको नारा लगाइरहनुभएको छ। तर, बैरागी र भुपालहरुले उठाएको पहिचानको नारालाई अस्वीकार गर्नुहुन्छ। भुपालसँग त तपाईंहरुको टक्कर नै छ भन्ने पनि सुनिन्छ। खास कुरा के हो?
यो गलत कुरा हो। बैरागी काइँलाले आफ्नो सांस्कृतिक बिम्ब प्रयोग गर्नुभयो र पहिचानको कुरा उठाउनुभयो। त्यसपछि भुपाल राई, श्रवण मुकारुङहरुले गीत, कवितामार्फत लेख्न थाले। यो ठूलो कुरा थियो। त्यो संगठित भएन भन्नेमात्र हो। हामीले त्यो आवाजलाई उहाँहरुले संगठित बनाउन सक्नुभएन भनेको मात्र हो। अहिले धेरैले यिनीहरुले अग्रहजहरुलाई सम्मान गरेनन् भन्छन्, जुन कुरा गलत हो। हामी उहाँहरुलाई जहिल्यै सम्मान र आदार गछौँ। नयाँ पुस्तालाई पनि हामी ‘सिर्जनशीलता अराजकता’ मा आऊ भनेर भन्दैनौँ नि। बरु आफ्नै किसिमले गर भन्छौँ।

तपाईं कम्युनिष्ट भनेर चिनिनुहुन्छ। हाङयुग प्रजातान्त्रिक भनेर चिनिनुहुन्छ। उपेन्द्र सुब्बा कता हो कता थाहा छैन। राजनीतिक स्पष्टता नहुँदा स्पष्ट विचार–सिद्धान्त निर्माणमा सिर्जनशीलता अराजकता अभियान एक हुन नसकेको कुरालाई कसरी लिनुहुन्छ?
यो बुझाई गलत हो। कतिपय विश्वमा चलेका साहित्यिक आन्दोलनमा यो कुराले फरक पार्न सक्छ। तर, हाम्रो लडाई भनेको त पहिचानको लडाई हो। नेपाली साहित्यमा पहिचानको मुद्दालाई कसरी स्थापित गर्ने भन्ने हाम्रो मुख्य उद्देश्य हो। त्यसैले रजनीतिक विचार मिलेन भन्ने कुरा नै आउँदैन। हामी हिजो पनि मुद्दामा केन्द्रित छौँ र भोलि पनि रहिरहनेछौँ।

rajan mukarung3
साहित्यकार राजन मुकारूङ। तस्विर: प्रविन कोइराला

सुरुमा तपाईंहरु पहिचानको आन्दोलनलाई जातिसँग जोडेर आउनुभयो। पछिल्लो समय भने यो आन्दोलन वर्गीय मुद्दामा केन्द्रीत भएकोजस्तो देखिन्छ। खास कुरा के हो?
ज–जसको पहिचान गुमेको छ हामीले ती सबैको पहिचान खोज्नै पर्छ। कुनै समय पहिचानको आन्दोलन जातिसँग जोडिएर आउँछ भने कुनै बेला वर्गसँग जोडिएर आउँछ। कुन कतिबेला के प्रधान हुन्छ भन्ने कुराले अभियानमा प्रभाव पार्ने हो। विभेद त राजनीतिक, सांस्कृतिक, धार्मिकरुपमा पनि छ नि। कतिबेला कुन विभेद हाबी हुन्छ हामीले त्यसविरुद्धमा आवाज उठाउने हो।

मानिसहरु तपाईंलाई ‘अराजक’ भन्छन्। खासमा तपाईं कस्तो खालको अराजक हो?
अराजक मान्ने भन्दा पनि हामीले साहित्यिक आन्दोलन, अभियान चलायौँ। हाम्रा सिर्जनाका, रचनाका कुराहरु लिएर हामीमाथि अराजकताको पगरी भिराउने काम गरियो। ‘सिर्जनशीलता अराजकता’ नामक अभियान चलाइसकेपछि पनि मानिसको मनमा अराजक भन्ने शब्द खेलेको हुन सक्छ। यसलाई सकारात्मक ढंगले लिनुपर्छ भन्ने मलाई लाग्छ। यसरी मानिसहरुले अराजकता अभियानलाई लिएर गरेका टिप्पणी अहिले त मलाई सुन्ने बानी नै बसिसक्यो।

तपाईंका कृतिमा महिला यौनिकताका विषय किन बढी आउँछ?
यो प्रश्न ममाथि मात्र उठेको होइन। धेरैले यस कुरालाई उचालेका छन् र तपाईंले पनि किन उचाल्नुभयो भनेर सोध्नुभयो। जुन जाहेज पनि छ। के पनि सत्य हो भने विश्वमै महिलाहरु सबैभन्दा बढी विभेदमा पर्नु, हिंसामा पर्नुको कारण नै यौनिकता हो। हामीले लेखनमार्फत यस्ता कुरालाई उठाउनुपर्छ भनेर मैले पनि उठाएको हुँ।

तपाईं सानोमा निकै अल्लारे हुनुहुन्थ्यो। यस्तो स्वभावबाट परिवारका सदस्य आजित थिए। सुधार्न सकिन्छ कि भनेर सानै उमेरमा विवाह गरिदिए होइन?
म सानै उमेरदेखि गम्भीर स्वभावको थिएँ। ५ कक्षामा पढ्दा नै ‘चम्किला राता तारा’ उपन्यास पढेर उपन्यासमा रहेको पात्रजस्तो हुने सपना बोकेको थिएँ। त्यसै बेलादेखि मैले प्रतिरोधको चेतना सिकेको हुँ। विद्रोही चेतना त्यसरी नै विकास भएको हो। मैले बाबु, बाजे वा समाजले लादेका गलत कुराहरु कहिल्यै मानिनँ वा स्वीकारिनँ। सानैदेखिको मेरो यो प्रतिरोधपूर्ण व्यवहारलाई कतिले अल्लारे भने होलान्, कतिले घमण्डी भने होलान्, अराजक भने होलान् त्यो आफ्नो ठाउँमा छ तर खासमा म विद्रोही नै हुँ। मानिसहरुले मलाई राम्रोसँग बुझेका छैनन् र उनीहरुमा जान्ने उत्सुकता पनि छैन।

लामो समय कोरियामा बसेकी श्रीमतीको कमाईमा आफ्नो गुजारा चलाउनु भएको त हो नि होइन?
उसले कोरियामा कमाएको भन्दा धेरै पैसा त मैले नेपालमा साहित्य लेखेर पनि कमाएँ हुँला। ‘दमिनी भीर’ उपन्यासको कार्यक्रममा हङकङ, बेलायत र कतार गएँ। यसरी सो क्रममा शुभचिन्तकहरुले सहयोग गर्नुभयो र बिक्रीको रोयल्टीसमेत जोड्दा ५५–६० लाख रुपैयाँ त ‘दमिनी भीर’बाटै प्राप्त गरेको छु। आफ्नै कमाईले गाउँमा घर बनाएको छु। मानिसहरुलाई मसला चाहिएको छ अनि यस्ता विषय उठाएर हल्ला गर्छन्, त्यत्ति हो। अरु केही होइन।

तपाईंको लेखन जति शक्तिशाली छ चरित्र त्यति नै कमजोर छ। किन होला?
म आफू आफ्नो चरित्रमा ठिक छु। रक्सी खानु, प्रेम गर्नु, साथीभाइसँग रमाइलो गर्नु कसरी गलत चरित्र हुन्छ? सबैभन्दा महत्वपूर्ण कुरा भनेको आफ्नो विचारमा कति प्रतिबद्ध हुने भन्ने हो। मैले आफ्नो विचार बदलेको छैन। म सत्ताको विरोधमा ओर्लिन्छु पनि भन्ने र बुद्ध पनि हुन्छु भन्न मिल्छ? मिल्दैन नि।

तपाईंको पहिलो उपन्यास ‘हेच्छाकुप्पा’ आफ्नै समुयदायबाट पुरस्कृत भयो। ‘फेरिदो सौन्दर्य’ निबन्धले पहिचान पुरस्कार पायो। ‘दमिनी भीर’ उपन्यासले मदन पुरस्कार नै जित्यो। यी सबै पुरस्कार दुई लाखभन्दा धेरै राशीका थिए। के राजन मुकारुङले दुई लाखभन्दा कम मूल्यको पुरस्कार लिँदैन हो?
संयोग नै मान्नुपर्छ। सानो राशीका पुरस्कार दिनेहरुले दिँदैनन्। जतिले दिए ठूलै राशीको पुरस्कार दिए। हाम्रो समुदायबाट दिइएको पुरस्कार दुई लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ बराबरको थियो। उहाँहरुले मदन पुरस्कार भन्दा पाँच हजार भए पनि धेरै दिनुपर्छ भनेर यो पुरस्कार दिनुभएको हो। अन्य पुरस्कारको मूल्य त फिक्स नै छ नि।

rajan mukarung2
साहित्यकार राजन मुकारूङ। तस्विर: प्रविन कोइराला

‘विप्लवलाई सहानुभूतिपूर्ण समर्थन छ’

तपाईं सत्ताको समावेशिताभन्दा बाहिर जानुको कारण के हो?
हामी कहाँ व्यवस्थाका नामहरु मात्र फेरिए तर व्यवस्था चलाउनेहरुको चरित्र फेरिएन। पटक–पटक नेपाली जनता लडिरहेका छन्, राणाविरुद्ध, पञ्चायतविरुद्ध, राजतन्त्रविरुद्ध होस् या निरंकुशताका विरुद्ध। जबसम्म ब्यवस्था चलाउनेहरुको प्रवृत्ति वा चरित्र फेरिँदैन तबसम्म सत्ता सीमित मानिसहरुको पहुँचमा हुन्छ। असीमित मानिसहरु अझै पनि न्यायबिहीन छन्। बोल्न, अगाडि आउन सकिरहेका छैनन्। म पनि तिनै मानिसहरुको एक झुन्ड न हुँ।

सुरुमा तपाईंको विचार तत्कालीन माओवादी पार्टीसँग निकट थियो। पछि संघीय समाजवादीतिर आकर्षित हुनुभयो। अहिले वैचारिकरुपमा कता हुनुहुन्छ?
माओवादीले तल्लो तहका मानिसहरुलाई संगठित गर्दै चेतनाको लहर ल्यायो। जातीय मोर्चाका कारण जातिहरु संगठित भएपछि समाज परिवर्तनमा सहज हुन्छ भन्ने उसको तौरतरिका एकदम राम्रो थियो। यी कुराहरु पार्टीमा रहँदासम्म मैले समर्थन गरिरहेँ। जब पहिलो संविधानसभामा ठूलो पार्टी बन्यो तब मलाई पार्टीलाई खबरदारी गर्नुपर्छ भन्ने लाग्यो। सत्ताले नेतालाई बिगार्छ भन्ने मलाई थाहा थियो। त्यसैले पार्टी संगठन पनि त्यागेँँ। उता मैले भनेजस्तै अवस्था पनि देखियो। पहिचानको पक्षमा अशोक राईले संघीय समाजवादी खोल्नुभयो। मैले उहाँलाई तपाईंको पार्टीको पहिचानको मुद्दामा म पनि सहयोग गर्न तयार छु भनेर हङकङको एक कार्यक्रममा भनेको थिएँ। नेपाल आएपछि पार्टीको सांस्कृतिक महासंघको उपाध्यक्ष बनेर एक वर्ष काम गरेँ। त्यसपछि फेरि नेतृत्वमा युवालाई जिम्मेवारी दिनुपर्छ भनेर सो पद त्यागेँ। पछिल्लो समय जब सरकारले विप्लवलाई प्रतिबन्ध लगायो तबदेखि मेरो उप्रति समर्थन छ। हामी गणतन्त्रमा प्रवेश ग¥र्यौँ पनि भन्ने र एउटा राजनीतिक शक्तिलाई प्रतिबन्ध पनि लगाउने? यो सुहाउँदो चरित्र नै भएन। त्यसैले मेरो विप्लवलाई सहानुभूतिपूर्ण समर्थन अलि बढी छ।

अहिले श्रीमती (प्रगति राई) सँग छुट्टिएर बसिरहनुभएको छ। एक्लो जीवन जिउन कत्तिको बाधा–ब्यबधानको सामना गर्नुपर्ने रहेछ?
एक्लो जीवन जिउन त झन् मज्जा आउँछ नि। जता गए पनि, जसरी बसे पनि, जे गरे पनि हुन्छ। मलाई त्यस्तो लाग्दैन। मानिसले हरेक कुरा भोग्दै जानुपर्छ। एउटा जीवनको ज्ञान पनि त हो।

तपाईंका हालसम्म १६–१७ जना प्रेमिका भइसके। यसरी प्रेमिका फेरबदल गर्दै हिँड्नुको कारण के हो?

प्रेम फेरबदले गर्ने भन्ने हुँदैन। यो आकस्मिक रुपमा हुने कुरा हो। कसैसँग यसरी निकट सम्बन्ध स्थापित हुँदै जान्छ जुन भावनात्मक हुन्छ र त्यो सम्बन्धमा प्रेममय वातावरण बन्छ। यस्तो सम्बन्ध सबैसँग सधैँ सद्भावपूर्ण रहन्छ। प्रेम त भइरहन्छ नि, साथीसँग, बुबाआमासँग। यसका तरिका फरक होलान्, ब्याख्या गर्ने शैली फरक होलान् र समाजले हेर्ने दृष्टिकोण फरक होला। हामी चेतनाका हिसाबले कुन धरातलमा छौँ भन्ने कुराले पनि प्रेमलाई हेर्ने दृष्टिकोणमा फरक पार्छ। कतिले छोरी मान्छेसँगको प्रेमलाई विपरित लिंगीप्रतिको आकर्षणको रुपमा पनि बुझ्लान्। तर, प्रेम भनेको मानवीय संवेदनालाई जोड्ने माध्यम हो। मलाई यस्तो लाग्छ। अरुले अलि बढी सोच्छन्जस्तो छ। प्रेमले त मानिसलाई आत्मविश्वासिलो बनाउँछ। आफूभित्र रहेका दमित भावनालाई ब्यक्त गर्ने अवसर जुराउँछ। तर, हामीले प्रेमलाई शारीरिक रुपमा जोड्न थाल्यौँ, जुन गलत हो।

विवाह र प्रेमबीचमा के फरक छजस्तो लाग्छ तपाईंलाई?
सामाजिक मान्यता र जीवन प्रक्रियालाई निरन्तरता दिन गरिने एउटा सम्झौता नै विवाह हो। हाम्रो समाजको विवाह परम्परामा त कतिपय अवस्थामा महिलाहरुले साँच्चिकै सम्झौता गरेकोजस्तो लाग्छ। तर, सम्झौताको परिभाषालाई संकुचित बनाएर हेरिनु हुँदैन। सम्झौता एकले अर्कोसँग गर्ने आपसी सहमति हो र यसमा दुवै पक्षको उत्तिकै जवाफदेही हुनुपर्छ।

तपाईं प्रेमिकाको कुरालाई हतियार बनाएर आफूलाई सिध्याउन खोजियो भन्नुहुन्छ। खासमा कसले र कसरी सिध्याउन खोजेको हो?
हामीले के कुरा बुझ्नुपर्छ भने कतिपय कुराहरु मानिसका नितान्त ब्यक्तिगत हुन्छन्। त्यही कुरा बढी खोतल्ने र उसलाई विवादमा ल्याउने काम मिडियाबाट पनि हुन्छ। वास्तावमा यो गर्नु कत्तिको उचित हो त? हामीलाई खोजिनुपर्ने भनेको त हामीले गरेका सिर्जनशील कामहरुका लागि हो नि। व्यक्तिगत, पारिवारीक विषयलाई उचालेर उसलाई सिध्याउन खोजिन्छ। एक पटक एक पत्रकारले मलाई धेरै कुराहरु सोधे। तर, सिर्जनात्मक पक्षलाई सिधै कट आउट गरेर प्रेमिकाका कुरामात्र छापियो र विषयलाई अतिरंजित बनाउने र मेरो चरित्रहत्या गर्ने काम गरियो। यसरी कसैको ब्यक्तिगत जीवनलाई नांगो पारेर मिडियाबाजी गर्ने र अर्को मिडियासँग प्रतिस्पर्धा गर्ने पत्रकारिता केही समयका लागि त चल्ला तर, लामो समय चल्दैन।

तपाईंको परिवारमा फाटो ल्याउन यस्ता विषयले कत्तिको भूमिका खेले?
असर पारेका छन्। अफवाह फैलाइसकेपछि त्यसले असर त पार्छ नै। स्वभाविक रुपमा मानिसका निजी कुरा हुन्छन्, कतिपय भन्न मिल्ने होलान्, कतिपय नमिल्ने होलान्। के कुरा उठाउँदा समाजलाई न्यायोचित हुन्छ भन्ने कुरा अर्को महत्वपूर्ण पाटो हो। ब्यक्तिगत जीवनबारे मात्र कुरा गर्ने हो भने त उसले आफ्नो जीवनमा कति संघर्ष गरेको हुन्छ होला आफ्नो करिअर बनाउन। कति चुनौती र हण्डरहरु खाँदै आएको होला। उसको वर्षौको लगानीलाई एकछिनमा सिध्याउन नियतबस मानिसहरु लागि पर्छन्।

प्रेमिका तपाईंका लागि बाध्यता, आवश्यकता वा स्वार्थ के हो?
केही पनि होइन। प्रेम भनेको केही होइन। यो आकस्मिक रुपमा हुने कुरा हुन्। यसलाई धेरै ठूलो ईस्यू बनाइनुपर्छजस्तो मलाई लाग्दैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .