ad ad

अन्तर्वार्ता


विपक्षमा ४२ सांसद हुँदा पनि पोखरेलले नै जिते, अनि हामी फर्कियौँ: सांसद शाही

विपक्षमा ४२ सांसद हुँदा पनि पोखरेलले नै जिते, अनि हामी फर्कियौँ: सांसद शाही

सागर न्यौपाने
बैशाख २०, २०७८ सोमबार १०:९,

आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध उभिएका थिए– प्रदेश सभा सदस्य अजय शाही र धर्मबहादुर लाल श्रीवास्तव। तर, सोमबार उनीहरुले पोखरेललाई नै समर्थन गरे।

आइतबार लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई समर्थन गरेका उनीहरु दुवै जना सोमबार मुख्यमन्त्री पोखरेललाई भेटेपछि उनकै पक्षमा लागेका हुन्। यसै विषयमा सांसद अजय शाहीसँग नेपालखबरले गरेको कुराकानीः

हिजो शंकर पोखरेलविरुद्ध हुनुहुन्थ्यो। आजै फेरि उनको समर्थन किन गर्नुभयो? त्यो विज्ञप्ति तपाईंहरुले लेख्नुभएको हो?
हामीले नै लेखेका हौँ। हामीले एक हिसाबले कुलप्रसाद केसी पक्षलाई समर्थन गरेको हो पहिला। तर, उहाँहरु ४२ जना भए पनि बहुमत पुर्‍याउन सक्नुभएन। हामी त फेरि स्वतन्त्र राजनीतिक समूहबाट सांसद बनेका हौँ। हामीलाई मुख्यमन्त्री पोखरेलसँग केही कुरा चित्त बुझेको थिएन। त्यही भएर उनको विपक्षमा उभिएकै हो। त्यसमा पनि त्रुटिपूर्ण रुपमा पोखरेल नै मुख्यमन्त्री भए। अब ठिकै छ हामी चुनाव चिन्ह सूर्य लिएर लडेको हुनाले केन्द्रमा हृदयेश त्रिपाठी र बृजेशकुमार गुप्ता, म र धर्मबहादुर लाल श्रीवास्तव छलफल गर्दा पुरानै रुपमा जाने भन्ने भयो र हामी पोखरेलको पक्षमा खुल्यौँ।

कुनै आश्वासन, दबाब दिएर त्यस्तो निर्णयमा पुग्नुभयो कि अरु नै कारण छन्?
होइन, कुनै आश्वासन, दबाब दिइएको छैन। हामीले धेरै विचार गर्‍यौँ, राजनीतिक हिसाबले पनि र कानुनी हिसाबले पनि पोखरेल नै माथि रहेको देखियो। हाम्रा पक्षका सबैसँग सल्लाहमै कुलप्रसाद केसीलाई गरेको समर्थन फिर्ता लिएका हौँ।

तर, सूर्य चुनाव चिन्हबाट लडेको भएर सांसद पदबाट पदमुक्त गरिदिने धम्की दिएको भन्ने हल्ला पनि सुनिएको छ। हो?
त्यस्तो चेतावनी त आएको छैन। चेतावनी आउने भएको भए हिजो त हामी उता खुलिसकेका थियौँ। फेरि स्वतन्त्र राजनीतिक समूहलाई उहाँले के आधारमा कारबाही गर्ने भन्ने पनि छ। राजनीतिमा यस्तै हुन्छ अब।

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन धेरै अगाडि तपाईंहरु तयार हुनुभएको रहेछ। धेरै चरणमा केन्द्रकै सांसदसँग पनि छलफल भएर गरिएको त्यो निर्णय नाटकीय रुपमा कसरी परिवर्तन भयो?
नाटकीय रुपमा होइन। हामीले त उहाँहरुलाई समर्थन गरिदिएको हो। तर, उहाँहरुले बहुमत पुर्‍याएर मुख्यमन्त्री हटाउन सक्नुभएन।

अनि उहाँहरुसँग बहुमत त छ भनेको होइन?
भएर के गर्नुभयो त खै? के गर्नुभयो? बहुमतले त हटाउनुपर्ने हो नि। प्रदेश प्रमुखजीले शपथ ग्रहण त्यसै गराइदिनुभयो नि। मुख्यमन्त्री पोखरेलसँग हाम्रो असन्तुष्टि छ। त्यो कुरा हुँदाहुँदै हाम्रो माथिबाट कुरा भयो। मुख्यमन्त्रीजी, हाम्रा माथिका नेताहरुबीच टेलिफोनमा छलफल भयो। हामी पनि बस्यौँ। मुख्यमन्त्रीजीले बोलाउनुभयो। त्यसपछि त्यहाँ छलफल गरेर ठीक छ, अब जुन पुरानै हिसाबले थियौँ, त्यसैगरी अब अघि बढ्ने भइयो।

मुख्यमन्त्रीले हिजै बोलाउनुभएको?
हिजो पनि बोलाउनुभएको थियो। हिजो चाहिँ हामी जान सकेनौँ। आज गएका थियौँ १० बजेतिर।

के कुरा भयो त?
उहाँसँग खास केही कुरा भएन। उहाँले भन्नुभयो– एउटै चुनाव चिन्हबाट चुनाव जितेको तपाईहरुले के गर्नुभएको यस्तो? अब पुरानै कुरालाई लिएर असन्तुष्ट बन्नुभएन। मिलेर जाऔँ। हामीले पनि ल ठीक छ तपाईंले पनि सरसल्लाह गर्नुभएन अब समर्थन फिर्ता लिन्छौँ भनेर फिर्ता लियौँ।

मन्त्री बन्ने सहमति पनि भयो होला? तपाईंको फेसबुकमा मानिसहरुले शुभकामना दिएका छन्।
फेसबुकमा हाल्छन् अब के गर्ने भन्नुस् त? यसमा कसैलाई रोक्न त सकिँदैन हामीले। शुभकामना दिनेलाई कसरी रोक्ने फेरि?

ठीक छ अब राजनीति हो यस्तो भयो, भइ नै राख्ने हो। मुख्यमन्त्रीले हामी एउटै ठाउँमा बसेको मान्छे, किन यस्तो गर्नुपर्‍यो मिलेर जानुपर्छ चाहिँ भन्नुभयो। कुरा मिल्ला जस्तो भएपछि ठीक छ हामीले पनि सरसल्लाह अनुसार फिर्ता भयौँ।

मुख्यमन्त्री पोखरेलसँग असन्तुष्ट थियौं भन्नुहुन्छ फेरि एकै भेटमा कसरी सन्तुष्ट हुनुभयो?
हामी स्वतन्त्र राजनीतिक समूहमा छौँ। प्रदेशमा सूर्य चुनाव चिन्ह लिएर जितेर पनि आएका हौं। तर, यो तीन वर्षको अविधिमा मुख्यमन्त्रीले हामीलाई जनताको काम गर्ने अवसर नै दिएनन्। बजेटदेखि अन्य काममा सहयोग गरेनन्। हामीले जनतालाई केही दिन सकेका छैनौँ। माग गर्दापनि रेस्पोन्स नै नगर्ने स्थिति बन्यो। त्योबाहेक २÷४ वटा कुरामा असन्तुष्ट थियौँ। त्यही भएर उनीविरुद्ध हस्ताक्षर गरेका हौँ।

पोखरेलको नियुक्तिकै विषय विवादमा परेको छ। फेरि भोलि मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आयो भने तपाईंहरु कसको पक्षमा उभिने त?
होइन हिजो हामीले उहाँहरुलाई समर्थन गरेकै हो। तर, उहाँहरुले नै गर्नसक्नुहुन्न भने के गर्न सकिन्छ ल भन्नुस् त अब? यसमा त हाम्रो केही लाग्दैन।

अहिले त हामी मुख्यमन्त्रीको पक्षमा लागिसकेका छौं। राजनीतिमा भोलि के हुन्छ पछिको कुरा आजै भन्न मिल्दैन। समय आएपछिको कुरा हो त्यो। अहिले उहाँलाई समर्थन गर्ने पक्षमा आइसक्यौँ। पछि त के हुन्छ के हुन्छ? देशको अवस्था के होला कसले भन्न सक्छ र।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .