नेपाली रजतपटकी व्यस्त अभिनेत्री स्वस्तिमा खड्काका लागि साउन महिना विशेष रह्यो। यो महिनामा उनले सार्क फिल्म महोत्सवको ‘जुरी अवार्ड’ जितिन्। सरकारले प्रदान गर्ने राष्ट्रिय चलचित्र अवार्डमा ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड हात पारिन्। यी दुवै अवार्ड पाएसँगै दर्शकहरुको अपेक्ष पनि उनीसँग बढेका छन्। करिब दर्जन फिल्ममा अभिनय गरिसकेकी स्वस्तिमा अभिनित ‘हजार जुनीसम्म’ आजै शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। नेपालखबरले उनीसँग गरेको संवादः
फिल्म खेल्न सुरु हुँदाहुँदै बिहे गर्नुभयो। धेरैले अब यसको ‘करिअर’ सकियो भन्ने अनुमान लगाए। तपाईंको ‘करिअर’ झन् उकालो पो लाग्दैछ। यसको राज के हो?
त्यस्तो राज भन्ने त विशेष केही छैन। म जसरी बिहेअघि आफ्नो काममा लगाब राख्थेँ बिहेपछि पनि त्यसलाई निरन्तरता दिएँ। हाम्रो समाज नै यस्तै छ, केटीको बिहेपछि अब यसको जिन्दगी नै सकियो भन्ने तरिकाले हेरिन्छ। त्यो गलत सोच हो। बिहे हुनु वा नहुनुले काम गर्ने मान्छेलाई असर गर्दैन। बिहेपछि महिलासँग दुई वटा विकल्प हुन्छ: एउटा घर बस्ने र अर्को काम गर्ने। मैले काम रोजेकी हुँ। बिहेपछि धेरैले मलाई फोन गरेर नै त्यो विषयमा चासो राख्नुभएको थियो। कतिपयले निश्चललाई पनि फोन गरेर स्वस्तिमाले अब काम गर्छ कि गर्दैन भनेर सोध्नुभएछ। एक वर्षसम्म मैले फिल्ममा काम गर्ने या नगर्नेबारे निश्चललाई नै फोन आउँथ्यो। मानिसहरु बिहे भयो, बच्चा भयो अब काम गर्दैन भन्ने मानसिकता बनाउँदा रहेछन्। त्यसैले कामप्रति आफू नै सधैँ उत्तरदायी हुनु महत्वपूर्ण कुरा हो भन्ने मलाई लाग्छ।
आर्टिटेक्ट इन्जिनियरिङ पढ्नुभयो। फिल्ममा ‘करिअर’ बनाउनुभयो। यो अलि नमिलेजस्तो देखियो नि?
मानिसको लक्ष्य परिवर्तन भइरहन्छ। सानोमा यस्तो बन्छु भन्ने, त्यस्तो बन्छु भन्ने एउटा रहरमात्र हो। मेरो पारिवारिक पृष्ठभूमि सैनिक भएको र ७ वर्षसम्म सैनिक स्कुलमा पढेकाले मेरो सोच त्यतातिर गएको हुनुपर्छ। कुनै समय मेरो एयर होस्टेस, वकिल बन्ने इच्छा पनि थियो। आर्टिटेक्ट चाहिँ मैले आफ्नो रहरले पढेको होइन। त्यो बुबाको इच्छा थियो। त्यतिबेला अलि गम्भीर पेशा जे छ त्यो दिमागमा आउँदो रहेछ। आफ्नो परिवारबाट कोही फिल्मी क्षेत्रमा भएको भए सायद म पनि सोच्थेँ होला तर त्यतिबेला फिल्म क्षेत्र भनेपछि मानिसहरु नकारात्मक सोच राख्थे। त्यसैले पनि मैले यसमा इच्छा राख्न नसकेको हुनुपर्छ। विस्तारै ब्यूटी पेजेन्टहरु हेर्दै गर्दा यस क्षेत्रमा रुचि बढ्यो र भाग लिँदै जाँदा थप बुझ्दै ‘करियर’ अघि बढाउँदै लगेँ।
तपाईंको फिल्मी यात्रामा परिवारले साथ दियो त?
मैले एकै पटक फिल्म खेलेको होइन। यदि त्यस्तो भएको भए स्वीकार्न गाह्रै हुन्थ्यो होला। ब्यूटी पेजेन्ट, म्युजिक भिडियो हुँदै फिल्ममा आएकी हुँ। त्यही भएर मैले यी खुड्किलाहरु पार गर्दै जाँदा उहाँहरुलाई पनि बुझ्दै जानुभयो। यसले सहज भयो। फेरि मेरो परिवार उदार पनि छ। त्यसले मलाई सहज बनायो। ‘मिस टिन २०१३’मा भाग लिँदा मैले ममीलाई भनेकी थिएँ। तर बुबाको सवालमा त्यो अलि दुर्घटनाजस्तो थियो। हामीबीच सवाल–जावफ नै भयो। पछि उहाँ पनि राजी हुनुभयो। त्यसपछि त मलाई पनि बाटो खुल्यो।
तपाईं फिल्मको कुरा आउनासाथ ‘हार्ड वर्क’ भन्ने शब्द निकालिहाल्नुहुन्छ। प्रायः अन्तर्वार्तामा आफ्नो सफलताको कारण कडा परिश्रमै हो भन्नुहुन्छ। तपाईंले गर्ने वा भन्ने कडा परिश्रम कस्तो हो?
कडा परिश्रम नगरी कोही माथि पुग्छजस्तो मलाई लाग्दैन। काम भन्नासाथ फिल्ममा अभिनय गर्ने कुरा मात्र आउँदैन। मानिसहरुसँग गर्ने व्यवहार, काम गर्ने शैली, कामप्रतिको उत्तरदायित्व, मेहनत, लगाब सबै कुराको अर्थ हुन्छ। यी विषय व्यवस्थापन गर्न सक्नेहरु सबै सफल नै छन्जस्तो लाग्छ। यसैलाई मैले कडा मिहिनेत भन्ने गरेको हो।
तपाईंको व्यवहार सहनशील देखिँदैन। आफूलाई मन नपरेका कुरामा तुरुन्तै प्रतिक्रिया जनाइहाल्नुहुन्छ। यस्तो व्यवहारका कारण फाइदा–बेफाइदा के हुने रहेछ?
नढाँटी भन्ने हो भने मैले भनेका कुरा सही हन्छन् जस्तो लाग्छ। गलत कुरामा बोल्छुजस्तो पनि लाग्दैन। मलाई जहाँसम्म लाग्छ फाइदा नै हुन्छ। किन कि मानिसहरुले सही र गलत कुरा त छुट्याइहाल्नुहुन्छ। तर सही र गलत भन्ने छुट्याइ नसक्दाको जुन समय छ त्यतिबेला भने केही गाह्रो हुन्छ। बेफाइदा हुन्छजस्तो मलाई लाग्दैन। कहिलेकाहीँ कुनै व्यक्तिसँग मैले यो कुरा भन्न नहुने हो भनेर पश्चाताप पनि हुन्छ।
कहिले कहीँ पत्रकारलाई समेत पत्रकारिताको धर्म सिकाएको देखिन्छ। कलाकारले चाहिँ आफ्नो धर्म कत्तिको निर्वाह गरेजस्तो लाग्छ? तपाइँको हकमा त्यो धर्म कतिको निर्वाह भएको छ?
कलाकारको सवालमा एउटा कलाकारले आफ्नो धर्म निर्वाह गरे पनि नगरे पनि त्यसको असर अरुलाई पर्दैन ऊ आफैलाई पर्छ। एउटा पत्रकारले आफ्नो धर्म बिर्सदा त्यसको असर कलाकारलाई पर्छ। किन कि पत्रकार भनेको कलाकार र जनताबीचको मध्यस्थकर्ता हो। पत्रकारले मेरोबारेमा लेख्ने भएकाले उहाँहरुले आफ्नो धर्म निर्वाह नगर्दा मलाई असर पर्छ। यदि मैले आफ्नो धर्म निर्वाह गरिन भने पनि लेख्ने उहाँहरुले नै हो र त्यसको असर पनि मलाई नै पर्छ। त्यसैले पत्रकारको जिम्मेवारी अलि बढी हुन्छ। यो जिम्मेवार हुनुपर्ने पेशा हो भन्न खोजेकी हुँ। उहाँहरुले सही के हो र गलत के हो भन्ने कुरा छुट्याएर तटस्थ रुपमा सत्य–तथ्य कुरा बाहिर ल्याउनुपर्छ भन्ने मेरो आसय हो।
विवाहित हुनुहुन्छ। पारिवारिक जिम्मेवारी पनि होलान्। फिल्मलाई पनि समय दिइरहनुभएको छ। एकातिर परिवार र अर्कोतर्फ फिल्मी ‘करियर’ कसरी सँगसँगै अघि बढाइरहनु भएको छ? तपाइँको अनुभव के छ?
म समयतालिका बनाउँदिनँ। आफू आफ्नो जिम्मेवारीप्रति इमानदार हुन्छु। यति हुँदा धेरै कुरा आफैँ मिल्छ। फेरि एउटा कलाकारको काम काम भनेको १०–५ जाँगिर होइन। त्यसो भइदिएको भए मैले १० बजेभन्दा अगाडि घरमा यसरी सन्तुलन मिलाउनुपर्छ, त्यसपछि अफिसमा र फेरि घरमा यसरी भनेर तालिका या योजना बनाउँथेँ होला। कलाकारको काम अलि फरक नै हुन्छ। म कहिले बिहानै ६ बजे घरबाट निस्कन्छु कहिले राति १२ बजे घर आउँछु। मेरो काममा परिवारबाट रोकटोक छैन।
वर्तमान नेपाली समाजमा यो सहजता सबै महिलाले पाउने अवस्था छैन। धेरै महिलाको अवस्था अहिले पनि तपाइँले बाँचेभन्दा ठिक विपरित छ। यसलाई तपाईंले कसरी लिनुभएको छ?
आफूमा भर पर्ने कुरा पनि हो। मलाई परिवारसँग समझदारी बनाउन सक्नुपर्छ भन्ने लाग्छ। आफूले गर्न लागेको कामको महत्व बुझाउन सक्नुपर्छ। म पनि फिल्मको सुटिङ छाडेर ‘डान्स बार’ जान थालेँ भने त परिवारले पनि समर्थन गर्दैन होला। आफूले विश्वास दिलाउन सक्ने हो भने कुनै पनि बन्धनले महिलालाई थिच्न सक्दैन। किन भने बिहे पनि एउटा समझदारी नै हो। महिलामा क्षमता छ भने त्यसको कदर हुनुपर्छ। हरेक पुरुषले बिहेपछि महिलाको दायित्व भनेको भान्सा मात्र हो भनेर बुझ्नुहुन्न। हामी महिलाहरु पनि समाजले गर्न हुँदैन भन्यो, परिवारले गर्न दिएन भनेर बस्छौँ। आफ्ना लागि आफैँ आवाज उठाउनुपर्छ। अरुले गर्न दिए गर्ने नत्र नगर्ने भन्ने भावनालाई हटाउनुपर्छ।
तपाईंको बिहे भएको तीन वर्ष पुगिसक्यो। नामको पछाडि अझैसम्म पनि खड्का थर नै छ। यसको सन्देश के हो?
आ–आफ्नो इच्छाको कुरा हो। कसैले परिवर्तन गर्नुहुन्छ। म उहाँहरुलाई सम्मान गर्छु र जसले परिवर्तन गर्नुहुन्न उहाँहरुप्रति पनि मेरो सम्मान छ। मेरो पहिचान स्वस्तिमा खड्का हो। म आफ्नो पहिचान परिवर्तन गर्न चाहन्न। मलाई लाग्छ थर परिवर्तन गरेन, सिन्दुर लगाएन भन्ने भन्दा पनि हामीसँग योभन्दा महिलाका विषयमा बहस गर्नुपर्ने अरु धेरै कुरा छन्।
नेपाली फिल्मको कुरा गर्दा अभिनेत्रीहरु मुख्य भूमिकामा खासै देखिँदैनन्। उनीहरु पीडित पात्र, नायकको सहयोगी वा अन्य कुनै कमजोर चरित्रमा देखिन्छन्। यस विषयमा तपाईंको धारणा के छ?
यो समस्या छ। पछिल्लो समय परिवर्तन हुन खोज्दैछ। जति नायकलाई अवसर दिइन्छ त्यति नै नायिकाहरुलाई पनि दिन थालिएको छ। पहिला–पहिला नायिकाहरु गुन्डाले जबर्जस्ती गर्ने र नायकले बचाउन जाने भूमिकामा मात्र देखिन्थे। अहिले महिलाप्रधान फिल्महरु पनि बनिहरेका छन्। मैले अभिनय गरेको बुलबुल, नम्रता श्रेष्ठको जाइरा, रेखा थापा दिदीका फिल्महरु महिलाप्रधान छन्। अरु पनि त्यस्ता फिल्महरु बन्दै छन्। समानताको दायरा फराकिलो हुँदै गएजस्तो लाग्छ।
तपाईं र निश्चल बस्नेत (श्रीमान्)को श्रीमान्–श्रीमतीभन्दा पनि एउटा साथी–साथीको सम्बन्ध छ भनिन्छ। जिस्कने, प्रांक गर्ने, उतिबेलै रिसाउने फेरि मिल्ने। यस्तो सम्बन्धको मज्जा के रहेछ?
हामी त्यस्तो साथी–साथीजस्तो पनि होइनौँ। श्रीमान्–श्रीमती नै हौं। यति हो परम्परागत चल्दै आएका जोडीहरुभन्दा अलिकति फरक छौँ। एक–अर्कालाई बुझ्छौँ। काममा हस्तक्षेप गर्दैनौँ। हामीबीच राम्रो समझदारी छ।
केही समयअघि आफ्नो ‘करियर’को पहिलो अवार्ड नै अन्तर्राष्ट्रियस्तरको (जुरी अवार्ड) पाउनुभयो। अवार्ड पाएपछि के हुने रहेछ?
अवार्ड भनेको कामको सफलताको प्रतिक हो। अवार्ड पाएपछि धेरैले यससँग जोडेर मलाई हेर्नुभएको छ। अवार्ड नपाएको भए पनि मैले सिक्दै जिम्मेवारी बोध गर्दै जानुपर्ने थियो। अवार्ड पाएपछि पनि म’मा त्यो जिम्मेवारी थप भएको महसुस गरेकी छु। मैले जुन चरित्रमा अभिनय गरेर पुरस्कार पाएँ आगामी दिनमा त्योभन्दा अब्बल भूमिका निर्वाह गर्ने प्रयास गर्नेछु।
‘छक्कापञ्चा–३’ मा तपाईंको ‘केमियो’ भूमिकालाई लिएर नकारात्मक प्रतिक्रिया पनि आयो। ब्रान्डको लोभ गरेर सानो भूमिकामा पनि फिल्म खेलेको कुरालाई स्वीकार्नुहुन्छ?
ब्रान्डको पछि लागेको होइन। मैले सम्बन्धलाई प्राथमिकता दिएको हो। सिने क्षेत्रमा हामी परिवारजस्तो बनेर बस्नुपर्छ। त्यसैले ब्रान्डभन्दा मेरो लागि दीपक दाइ र दीपा दिदी (दीपकराज गिरी र दीपाश्री निरौँला) महत्वपूर्ण हुन सक्छ। कहिलेकाहीँ यस्ता कुराले पनि प्रभाव पार्छ।
बलिउड अभिनेता सलमान खानको नेपालमा हुने भनिएको ‘दबंग द टुर’ मा तपाईंलाई उनीसँग ‘कोरस’ नाच्न आयोजकले प्रस्ताव गरेका थिए। बलिउड सुरस्टारसँग नाच्ने प्रस्तावलाई तपाईंले अस्वीकार गर्नुभयो। खास किन हो?
सलमान खानको छेउमा तीन जना नायिका र तीन जना नायकलाई राखेर नाच्ने भन्ने उहाँहरुको योजना रहेछ। गरिहाल्छन् नि भन्ने सोचेर त्यो प्रस्ताव मलाई पनि आयो। रोचक कुरा के भने सलमानसँगको कोरस सित्तैमा नाच्नुपर्ने भनिएको थियो। उहाँहरुले कुनै ‘च्यारेटी शो’ गर्न लाग्नुभएको थिएन। आयोजकले दर्शकबाट पैसा उठाएर कमाउने अनि हामीले चाहिँ सित्तैमा नाच्नुपर्ने? यो हुन सक्दैन भनेर मैले नाच्दिन भनिदिएकी हुँ।
कतिपयले तपाईंलाई घमण्डी नायिका भनेको पनि सुनिन्छ। साँच्चिकै तपाईं घमण्डी हुनुहुन्छ या अरुले यो उपमा त्यसै लगाइदिएका हुन्?
म प्रष्ट रुपमा आफ्नो विचार राख्छु। कुनै कुराप्रति छिट्टै प्रतिक्रिया जनाउँछु। यदि कसैले मसँग चित्त नबुझ्ने व्यवहार गर्यो भने म पनि उसलाई घमण्डी भन्न सक्छु। सायद त्यही भएर होला। म कस्तो छु भन्ने विषय मैले भन्नेभन्दा पनि अरुले जज गर्नै कुरा हो।
तपाईं र निश्चल बस्नेतले भर्खरै ‘आदर्श जोडी’को सम्मान पाउनुभयो। तपाईंहरुलाई धेरैको ‘राष्ट्रिय दाजु–भाउजु’ पनि भन्नुहुन्छ। यसको कारण के हो?
कुनै कारण छैन। न यो कुनै पद हो। यी सबै सामाजिक सञ्जालमा हुने कुरा हुन्। यस्ता कुराले खुसी त पक्कै बनाउँछ तर यसमै अल्झिएर बस्ने भन्ने चाहिँ हुँदैन। काम गर्दै जाँदा यस्ता कुराहरु पनि आउँदै गर्छन्। म यसलाई ठूलो कुरो मान्दिनँ।
नायिकाहरु चर्चामा आउन विभिन्न ‘स्क्यान्डल’ गर्छन्। समाचार बन्न हर्कतहरु गर्न तयार हुन्छन् भन्ने सुनिन्छ। यतातर्फ तपाईं कत्तिको आकर्षित हुनुहुन्छ?
अरुबारे मलाई थाहा भएन। मलाई चाहिँ जीवनमा कहिल्यै विवादमा आउनु नै छैन। विवादमा आउने, विवादबारे बोल्ने र फेरि विवादको प्रस्टिकरणका लागि अन्तर्वार्ता दिँदै हिँड्ने काम मबाट कहिल्यै भएन। हुँदैन पनि। बरु त्यो समय म फिल्मका लागि खर्चन्छु। फिल्म नभएका बेला पनि म अरु नै क्रिएटिभ काम गरेर बस्छु। त्यसैले यस्ता कुरा मेरो प्राथमिकतामा छैनन्, अरुले के गर्छन् भन्ने कुरा सबैको आ–आफ्नो व्यक्तिगत जीवन हुन्छ। मैले त्यसमा बोल्ने कुरा आउँदैन।
यसको मतलब तपाईं गुमनाम हुन चाहनुहुन्छ तर बद्नाम हुन चाहनुहुन्न?
हो। कतिपयले म बरु बदनाम हुन्छु तर गुमनाम हुन्न भन्नुहुन्छ तर म बद्नाम हुन्न बरु गुमनाम हुन्छु भन्छु। मलाई मान्छेको अगाडि चिनिनु मात्र छैन। राम्रो काम गरेर चिनिनु छ। यसमा म सचेत छु।
धेरै कलाकार पैसा हेरेर फिल्म खेल्छन्। तपाईं पैसाभन्दा प्राथमिकतामा स्क्रिप्टलाई राख्छु भन्नुहुन्छ। आफ्ना सबै आवश्यकता सहजै पुरा भइरहेको भएर यसो भन्नुभएको हो?
यसको अर्थ पैसाबिना काम गर्छु पनि भनेको होइन। मैले अहिलेसम्म जति टीमसँग काम गरेँ उहाँहरुले मलाई सुहाउँदो पारिश्रमिक नै दिनुहुन्छ। ५०–६० लाख भनेर आफूलाई सुहाउँदै नसुहाउने रकम म पनि माग्दिनँ। अर्को कुरा फिल्मको कथा थाहा नपाई मेरो रेट यति हो म साइन गर्छु भनेर पनि म भन्दिन। फिल्ममा मैले कति मिहिनेत गर्नुपर्छ, कति दुःख गर्नुपर्छ, फिल्म कत्तिको अब्बल छ र यसले कस्तो प्रभाव पार्नसक्छ भन्ने बुझेर म आफ्नो पारीश्रमिक तय गर्छु।
केही समयअघिसम्म तपाईंको दैनिकी निकै भद्रगोल छ भन्ने सुनिएको थियो। निकै अव्यवस्थित हुनुहुन्थ्यो। अहिले केही परिवर्तन आएको छ वा त्यस्तै हो?
छैन। म पहिलाजस्तो थिएँ अहिले पनि त्यस्तै हो। आज पनि ११ बजे उठेर खाना खाएर घरबाहिर निस्किएकी हुँ। मेरो बानी नै त्यस्तै छ। मेरो काम छ भने ६ बजे पनि उठ्छु। अरु बेला म यस्तै हो। मेरो व्यक्तिगत जीवन भनेको मैले इन्जोय गर्ने हो। त्यसमा मेरो फिल्म (प्रोफेसनल जीवन) ले पनि कुनै न कुनै प्रभाव पारेको होला। मलाई मन लागेको कुरा गरिरहेकी छु। यसमा म खुशी छु।
Shares
प्रतिक्रिया