ad ad

अन्तर्वार्ता


रविन्द्रजीलाई तीन पटक जिताउने मतदाताले मेरो माग गरेका छन्ः विद्या भट्टराई (अन्तर्वार्ता)

रविन्द्रजीलाई तीन पटक जिताउने मतदाताले मेरो माग गरेका छन्ः विद्या भट्टराई (अन्तर्वार्ता)

मणि दाहाल
साउन २७, २०७६ सोमबार ७:१६,

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको फागुन १५ मा ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको कास्की–२ मा उप निर्वाचनको मिति घोषणा भइसकेको छ। निर्वाचन आयोगले संघीय संसदका लागि कास्की–२ सहित प्रदेश र स्थानीय तहका रिक्त स्थानहरुमा मंसिर १४ गतेका लागि निर्वाचन मिति तोकेको छ।

निर्वाचन मिति घोषणासँगै उम्मेदवारबारेमा चर्चा शुरु भएको छ। कास्की–२ मा नेकपाबाट को उम्मेदवार होला भन्ने चासो बढेको छ। लामो समय विद्यार्थी राजनीति गरेकी विद्या भट्टराई जो रविन्द्र पत्नी समेत हुन्,को नाम उम्मेदवार चर्चा सूचीमा पहिलो नम्बरमा छ। हाल त्रिभुवन विश्वविद्यालयकी उप प्राध्याक उनी तत्कालीन एमालेको भातृ संगठन अनेरास्ववियुको केन्द्रीय सचिव रहिसकेकी छिन्।

उपप्राध्यपकमा नाम निकालेर प्राज्ञिक पेशातर्फ लाग्नुभन्दा अगाडि उनी सक्रिय राजनीतिमै थिइन्। त्यसपछि भने उनी अध्यापन–अनुसन्धानतर्फ लागिन्। कास्की–२ को निर्वाचनलाई लिएर उनै विद्या भट्टराईसँग गरिको छोटो वार्ताः

निर्वाचन आयोगले मंसिर १४ मा उपनिर्वाचन गराउने मिति तोकेको छ। त्यसमा कास्की–२ मा पनि चुनाव हुने भनिएको छ। त्यहाँ तपाईंको उम्मेदवारीको विषयमा चर्चा छ। यसलाई कसरी लिनु भएको छ?

कास्कीको जनता र पार्टीको जिल्ला संगठनबाट उम्मेदवार बन्न धेरै जोडबल छ। रविन्द्रजीका निधन भएर सो स्थान खाली भएदेखि नै यस किसिमको कुराहरु आएका हुन्। उप चुनावको मिति घोषणा भएपछि अहिले त्यो झनै बढेको छ। पार्टीको उम्मेदवारको विषयमा चर्चा हुँदा ‘तपाईं नै हो’ भनेको पनि सुनेको छु। अहिलेसम्म औपचारिक रुपमा कुनै निर्णय भइसकेको भने छैन। पार्टीको उच्च तहमा छलफल, सल्लाह पनि भएको छैन।

bidhya1

उम्मेदवार बन्ने विषयमा को–को सँग चाहिँ छलफल गर्नुभएको छ? नेताहरुलाई भेट्नु भएको छ?
जिल्लाका साथीहरुको तपाई आउनु पर्छ, चुनावमा उठ्नु पर्छ, जिल्लामा आउजाउ बढाउनु पर्छ भन्ने अभिमत छ। म उहाँहरुसँग छलफलमै छु, सम्पर्कमै छु। तर निष्कर्षमा पुगिसकेको छैन। सक्रिय राजनीतिमा फेरि फर्किनु पर्छ भनेर धेरै तर्फबाट कुरा आएका छन्। ती सबै छलफल अनौपचारिक मात्र हुन्। अहिले विश्वविद्यालयमा काम गरिरहेको छु। चुनावमा उम्मेदवार हुने भए पनि त्यो निर्णय नभएसम्म विश्वविद्यालयमै हुन्छु। पार्टीमा सक्रिय राजनीतिमा भइरहेको भए ल आउनु न भन्ने वित्तिकै जान सजिलो हुन्थ्यो होला।

भेटघाट, छलफल गरेकाहरुले के सल्लाह दिइरहेका छन्। उनीहरुको भनाइ के रहने गरेको छ?
राजनीतिमै फर्किनुपर्छ भन्नेहरु धेरै हुनुहुन्छ। कतिले प्राज्ञिक क्षेत्रमा राम्रोसँग काम गरिरेको भन्दै त्यहीँ बस्न पनि सुझाब दिनु भएको छ। तर यसो भन्ने संख्या सानो छ।

तपाइँले त लामो समय विद्यार्थी राजनीतिर्म हुनुहुन्थ्यो। बीचमा केही समयदेखि प्राज्ञिक क्षेत्रतर्फ लाग्नु भयो। सक्रिय राजनीतिमा आउन अफ्ठ्यारो छ र?
अहिलेसम्म विश्वविद्यालय कार्यरत छु। स्थायी हुँ। पूरै समय त्यसलाई दिइरहेको छु। राजनीतिमा पुनः सक्रिय हुन थाल्ने हो भने विश्वविद्यालय छोड्नु पर्छ। त्यही भएर थप छलफल बिना निर्णय गरिहाल्ने अवस्थामा म छैन। नेताहरुले बसेर यस्तो गरौं, यसरी जाऊ पनि भन्नु भएको छैन। अहिलेको आवश्यकता के हो भन्नेबारेमा पनि केही छलफल भएको छैन। राजनीतिमा फर्किनुपर्छ, कास्की आउनु पर्छ भन्ने जनमत ठूलो छ। धेरैको शुभेच्छा छ। हिजो शीर्ष नेताहरुले आफ्नै हिसाबले बोल्नु भयो तर छलफल गर्नु भएको छैन। के गर्दै हुुनुहुन्छ कसो गरौं भनेर सरसल्लाह गर्नुभएको छैन। त्यसैले पनि निष्कर्षमा पुग्न नसकेको हो।

त्यस क्षेत्रबाट विभिन्न समय अन्य व्यक्तिहरुको पनि नाम आइरहेको छ। यसलाई कसरी लिनु भएको छ?
चुनाव हुँदैछ राजनीतिमा लागि रहेको विभिन्न व्यक्तिहरुको नाम आउनु स्वभाविक हो। त्यसमा कसैले पनि म इच्छुक छु, यतिको योगदान छ भनेर आउने विषय स्वभाविक पनि हो। त्यसलाई स्वभाविक मानेको छु। तर यो चुनाव एउटा फरक परिस्थितिमा हुन लागेको छ।

नेकपा अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमै रविन्द्र अधिकारीकै परिवारबाट उम्मेदवार बनाउने हो भनेर भन्नु भएको छ। त्यस विषयमा तपाईसँग केही कुराकानी भएको थियो?
अहिलेसम्म कुनै कुराकानी भएको छैन। हिजो मसँग काम गर्नु भएको, मैले अग्रज मान्ने, दोस्रो तह, तेस्रो तह नेताहरुसँग एक प्रकारको कुराकानी भएको छ। तर त्यो अनौपचारिक मात्रै हो। उहाँहरुले अब के गर्ने हो भन्दा छलफल भएको हो। शीर्ष नेताहरुसँग कुनै प्रकारका सल्लाह भएको छैन। उहाँले आफ्नो मनको शुभेच्छा राख्नुभएको होला मसँग छलफल गरेर भन्नुभएको होइन।

विश्वविद्यालयमा तपाइँको जिम्मेवारी के छ?
उप प्राध्यापक हुँ। अहिले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको अनुसन्धान केन्द्रमा कार्यरत छु। अनुसन्धानको काममा संलग्नछु। अनुसन्धानलाई समन्वय गर्ने मेरो जिम्मेवारी छ। सक्रिय राजनीतिमा हुँदाहुँदै विवाह भयो। म विस्तारै सक्रिय राजनीतिबाट प्राज्ञिक क्षेत्रतर्फ लागेँ। रविन्द्रजीले भनेर म प्राज्ञिक क्षेत्रतर्फ लागेको होइन। उहाँ जहिले पनि आफ्नो स्वतन्त्र पहिचान निर्माण गर्नका लागि जोड दिनुहुन्थ्यो। शुरुको केही समय गाह्रो लागे पनि अहिले प्राज्ञिक काममा रमाइरहेको छु।

bidhya 1

सक्रिय राजनीतिपछि प्राज्ञिक क्षेत्रमा लाग्नु भयो। दुवैमा के फरक पाउनु भयो?
राजनीतिका आफ्नो विशेषता छन्। राजनीतिक प्रत्यक्ष रुपमा जनतासँग जोडिन्छ। दैनिक जीवनसँग जोडिन्छ। प्राज्ञिक क्षेत्रमा एउटा क्षेत्रसँग बढी जोडिएर काम गर्नुपर्छ। विद्यार्थीसँग बढी सम्बन्ध हुन्छ। दायरा अलि साँघुरो हुने हुन्छ। एकेडेमिसियनका पनि थुप्रै दायित्व हुन्छन्। हाम्रोमा पढाउने हो भन्ने मात्रै रहेको छ। तर आलोचनात्मक चेतको विकास गर्ने भन्दा पनि पढ्ने र पढाउने विषयमा बढी केन्द्रीत भइरहेको छ। विश्वविद्यालयका प्राध्यापकहरुलाई हेर्ने हो भने पनि उनीहरुले विचारको उत्पादन गर्नेभन्दा पढ्ने र पढाउने काम मात्रै गरेको देखिन्छ। ज्ञान उत्पादनको क्षेत्रमा धेरै काम भएको छैन। साँच्चिकै एकेडेमिक हुने हो भने धेरै वटा कलेजमा पढाउनेभन्दा पनि आफूसँग भएको क्षमता, विचारहरुलाई केही नयाँ धारणा ल्याउन सके त्यसले समाजलाई योगदान गर्छ भन्ने लाग्छ।

राजनीति सबै विषयलाई नेतृत्व गर्ने ठाउँ हो। नीतिहरु बनेका छन् तर त्यसलाई कार्यान्वयन गर्ने विषयमा अहिले पनि कमी छ। असल र सफल नेतृत्वको आवश्यकता छ भन्ने प्रकारको विषय पनि आएको छ। त्यसले गर्दा राजनीति झनै महत्वपूर्ण बन्दै गएको छ। शक्ति उत्पादन गर्ने भएकाले पनि त्यो शक्तिलाई जनतासँग कसरी जोड्ने, पु¥याउने भनेर व्यक्त गर्नसक्ने नेतृत्व हामीलाई आवश्यक छ।

कास्कीमा कार्यक्रमहरुमा कतिको सहभागिता जनाइरहनु भएको छ?
अहिलेसम्म म रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानको काममा मात्रै सहभागी छु। पार्टीको कार्यक्रममा सहभागी भएको छैन। विश्वविद्यालय सदस्य हुँदासम्म पार्टीको कार्यकर्ताको रुपमा काम गर्नु हुन्न भन्ने मेरो बुझाइ हो। विश्व विद्यालयमा बसुन्जेल मैले प्राज्ञिक मर्यादाभित्र रहनु पर्छ। पार्टीलाई तेरो आवश्यकता छ, विश्वविद्यालयमा योगदान गरिरहेको छस् भनेर जिम्मेवारी दिन बोलाइन्छ भने म जान्छु। त्यो अर्कै अवस्था हो।

तपाइँले भन्न खोज्नुभएको नेकपा नेताहरुले छलफल गरेर आउनुपर्छ भनेको अवस्थामा उम्मेदवार हुनुहुन्छ?
नेताहरुसँग एकसरो सल्लाह त हुनैपर्छ। नेतृत्वलाई म आउनु पर्ने हो कि होइन के लागेको छ? त्यो स्पष्ट हुनुपर्छ। जनमत भयो, आमजनताको साथ पनि छ तर पार्टी नेतृत्वलाई के लागेको छ त? यो पनि महत्वपूर्ण विषय हो। म पछिल्लो केही वर्षदेखि विश्वविद्यालयमै रमाइ रहेकी छु। समाज र देशलाई त्यहीँबाट केही योगदान गरी रहेकी छु। राजनीतिमा फर्किंदा यो चटक्कै छाडेर आउनु पर्ने हुन्छ। म एउटा क्षेत्रबाट अर्को क्षेत्रमा जानुपर्ने जानुपर्ने हुन्छ। हिजो सक्रिय राजनीतिमा थिएँ त्यो अर्कै कुरा भयो। त्यही भएर नेताहरुले औपचारिक रुपमा नभनेसम्म म कसरी आउन सक्छु र?

bidhya2

राष्ट्रियसभामा लैजाने विषयमा पनि चर्चा भएको सुनिन्छ। तपाईंको प्राथमिकता प्रतिनिधिसभा वा राष्ट्रिय सभा कुन हो?
राष्ट्रियसभा जाँदा पनि मैले अहिलेको जिम्मेवारीबाट राजीनामा दिनै पर्छ। त्यसैले पहिलो सक्रिय राजनीतिमा फर्किने नफर्किने विषयमा निर्णय लिनुपर्ने हुन्छ। त्यसपछि दोस्रो चरणमा प्रतिनिधि सभा कि राष्ट्रियसभा भन्ने कुरा आउनसक्ला। अहिलेसम्म आएका अनौपचारिक कुराहरुको पछि लागेर हुँदैन कि भन्ने मेरो धारणा हो। पार्टीको एउटा कार्यकर्ता अभावको विषय होला। पार्टीले हिजो जिताएको मानिसको अभाव होला। त्यहाँ व्यक्तिको मात्रै विषय रहेको छैन। व्यक्ति गौण कुरा हो। पार्टीले निर्णयपछि बल्ल व्यक्ति के कस्तो र कस्तो भूमिका भन्ने विषय आउँछ। अहिलेसम्म त्यो क्षेत्रका मानिसले रविन्द्रजीलाई तीन पटक निर्वाचनमा जिताएका हुन्। त्यो सम्बन्धका कारण मलाई माग गर्नु भएको हो। मेरो हिजोको पृष्ठभूमि पनि जोडिएको छ। अहिले विश्वविद्यालयमा भए पनि यतिको मानिस आए राजनीतिक योगदान गर्न सक्छ भन्ने पनि लागेको हुनसक्छ। यी विविधि पक्षका कारण यस्तो धारणा आएको हो भन्ने मेरो बुझाइ छ।

पार्टीले औपचारिक निर्णय गर्‍यो भने तयार हुनुहुन्छ ?
पार्टीले औपचारिक निर्णय गर्‍यो भन्ने सोच्नेछु। अहिलेसम्म सोचेको छैन। अहिले दुई वटा काममा व्यस्त भइरहेकी छु। रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानको काम गर्दैछु। त्यसलाई कसरी दिगो बनाउने भनेर लागि रहेको छु। अफिस सञ्चालन गर्ने, सदस्यता वितरण गर्ने काममा हामी लागि रहेका छौं। आम मानिसमा जाने कार्यक्रम पनि गर्नुपर्छ भनेर सोच बनाएका छौं। प्रतिष्ठानका सन्दर्भमा नेतृत्वसँग कुराकानी भइरहेको छ। अर्कोतर्फ विश्वविद्यालयको काम पनि छँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .