ad ad

अन्तर्वार्ता


युवा संघका अध्यक्ष भन्छन्ः हाम्रो विवादबारे पार्टीमा छलफल हुँदैन (अन्तर्वार्ता)

युवा संघका अध्यक्ष भन्छन्ः हाम्रो विवादबारे पार्टीमा छलफल हुँदैन (अन्तर्वार्ता)

सागर न्यौपाने
माघ २८, २०७७ बुधबार ११:४७,

प्रधानमन्त्री केपी शर्मा ओली पक्षको राष्ट्रिय युवा संघले विवादका बीच केन्द्रीय समिति पुनर्गठन गरेको छ। माघ २५ र २६ गते दुई दिन बसेको संघको केन्द्रीय समिति बैठक गृहमन्त्री रामबहादुर थापा निकट युवाहरुले बहिष्कार गरे।

पूर्वमाओवादी तर्फका ८० जनाभन्दा बढी युवाहरुले बहिष्कार गरेपछि अहिले सो समितिको निर्णय विवादमा परेको छ।

पदाधिकारी चयनका विषयमा ओली पक्षकै युवाहरुबीच बैठकस्थलमा कुटाकुट समेत भएको थियो। विवादका बीच बैठकले वचनबहादुर सिंहलाई अध्यक्ष, किरण पौडेललाई सहअध्यक्ष र रमेश आचार्यलाई महासचिव बनाएको छ। सोही विवादबारे युवा संघका अध्यक्ष वचनबहादुर सिंहसँग नेपालखबरले गरेको कुराकानीः

पूर्वमाओवादी पक्षले बहिष्कार गर्दागर्दै युवा संघमा किन नेतृत्व चयन गर्नुभएको?
हामी २३ गतेको बृहत् जनप्रदर्शनको कारणले साथीहरुसँग घनिभूत छलफलमा बस्न पाएका थिएनौँ। पुस ५ गतेपछि उत्पन्न भएको परिस्थिति र अवस्थाको बारेमा सात वटै प्रदेशमा छलफल चलाएका थियौँ। ३७, ३८ जिल्लामा भेला आयोजना गर्‍यौँ। त्यसमा संगठनको इन्चार्ज महेश बस्नेत, साविक युवा संघका सहसंयोजक रमेश पौडेल लगायत हामी देश दौडाहामा व्यस्त भयौँ।

२३ गतेको कार्यक्रमको तयारीमा लगातार ३, ४ दिन बस्यौँ। त्यसो हुँदा वीरु तामाङजी (रामबहादुर थापानिकट युवा नेता) सहमत भएरै २४ गतेको लागि केन्द्रीय समितिको बैठक तोकेको हो। २३ गते कार्यक्रम सकिएपछि हामी उपलब्ध साथीहरु बसेर २४ गतेको बैठकका लागि राजनीतिक, सांगठनिक प्रतिवेदन तयार गर्न सकिएन, विधानका विषयमा छलफल गर्‍यौँ र २५ गते बैठक बसौं भनेर सहमति गर्‍यौँ।

त्यसबेला सबै साथीहरुसँग सामूहिक, एकल छलफल चलिरहेको थियो। पछि वीरु तामाङलगायतका साथीहरुले हाम्रो तयारी पुगेन, २५ गतेको बैठक पनि सार्न पाए हुन्थ्यो भन्नुभयो। तर, २१ गतेदेखि विभिन्न जिल्लाबाट साथीहरु काठमाडौं आउनुभएको थियो। फेरि सार्न पर्‍यो भने त रिसाउँछन्। यसो नगरौं, बैठक सुरु गर्दा सामूहिक, एकल छलफल गर्दै गरौँला र त्यहीबाट निष्कर्ष निकालौँ भनेर निवर्तमान अध्यक्ष रमेश पौडेल र हामीबीच कुराकानी भयो। अनि बैठक बस्यो।

हामीले पार्टी नेतृत्वलाई पनि हामीबीचमा सिर्जना हुन खोजेका विवाद बाहिर मिडियामा आएकोजस्तो होइन भनेका छौँ। मिल्न नसकेको, निकै ठूलो दरार परेको, युवा संघको विवादका कारणले प्रधानमन्त्री र गृहमन्त्री बीचमा निकै ठूलो दरार आएको केही छैन। हाम्रा युवाहरुबीचमा सामान्य छलफलमा केही विषयमा कुरा मिलेको छैन। हामी संवादमै छौँ। यसलाई हामी पार्टीमा होइन, हाम्रै बीचमा छलफल गरेर टुंग्याउँछौं। त्यति ठूलो विवाद होइन यो।

गृहमन्त्री थापा पक्षका युवाले बहिष्कार गरेपछि यो समितिले वैधानिकता पाउँछ त?
युवा संघको एकतापछि बनेको संगठनको सदस्य म पनि हो र वीरुजी पनि हो। अहिले बनेको टिमका सबै त्यही कमिटीका सदस्य हौं। हामीले अहिले केन्द्रीय सदस्यबीच कार्यविभाजन मात्र गरेको हो।

मुलुक मध्यावधि निर्वाचनका बेला एकजना साथीलाई युवा संघको फलानो पदबाट विदा भएको हो भन्ने कुराले उर्जा नै दिन्छ। त्यसो हुँदा व्यक्तिको व्यवस्थापनलाई मध्यनजर गरेर बहुपद बनाएका छौं।

साथीहरुलाई उर्जा भरेर भूगोलमा गएर काम गर्ने वातावरण बनाऔं भनेर लागेका हौं। व्यक्ति व्यवस्थापनमा बहुपद सिर्जना गरेका हौं। त्यही कमिटीको बैठकले सर्वसम्मत रुपमा मलाई अध्यक्षको भूमिका जिम्मा लगायो। त्यसो हुँदा उता साथीहरुसँग कुनैपनि विकल्पमा छलफल गर्छौैँ। उपाध्यक्ष बनाउने, सचिव, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, स्थायी कमिटी बनाउने र विधान संशोधन गरेर भएपनि सचिवालय बनाउने भनेका छौं।

त्यो भनेको कति बनाउने भनेर लेखेका छैनौँ। हामीबीचमा पूर्ववाईसीएल र युवा संघ भन्ने रहँदैन। त्यो हुन पनि दिन्नँ म। अहिले हामी राष्ट्रिय युवा संघका नेता र कार्यकर्ता हौँ। हाम्रो पार्टीको नेता रामबहादुर थापा पनि हो।

यसकारण हाम्रो युवा संघमा सिर्जना भएका अलिअति मतमतान्तरको कारणले हामी पार्टीलाई अप्ठेरोमा पर्न दिन्नौं। अहिलेपनि थप साथीहरुलाई जिम्मेवारी दिने कुरामा हामी छलफल गरिरहेका छौं।

तपाईंले यसो त भन्नुभयो तर, विवाद बल्झिसक्यो। समाधानका लागि नेताहरुबीच छलफल हुँदैछ त?
यो विषयलाई हामी पार्टीमा जानै दिन्नौँ। पार्टीमा लाँदै लाँदैनौ। यो विषय पार्टीको छलफलको विषय नै बन्दैन। वीरुजी र हामी बस्छौं, हाम्रा बीचमा पूर्व अध्यक्ष हुनुहुन्छ, उहाँहरुबीच छलफल गर्छौँ।

तर, यस विषयमा पार्टीकै नेतृत्वलाई पनि जानकारी नदिएकोले उहाँहरु असन्तुष्ट हुनुहुन्छ भन्ने छ नि?
टोपबहादुर रायमाझीलाई जानकारी नभएको होइन, उहाँ हाम्रो मोर्चा फाँटको प्रमुख हो। हाम्रो इन्चार्ज महेश बस्नेत र उहाँबीचमा छलफल, संवाद भएको छ। पार्टी नेताबीचमा पनि कुराकानी भएको छ। कतिपय मिल्न बाँकी भएका कुरा विषय मिलाउँछौं, मिल्न नसक्ने केही छैन।

भानुभक्त ढकाल कमरेडले के मिलेन भन्नुभयो त्यो चाहिँ थाहा छैन। मेरो यो विषयमा कुराकानी भएको थियो हामीले यसरी बनाएर गयौं भनेको थिएँ।

मलाई लाग्छ, युवा संघले नयाँ गति, नयाँ जोश, नयाँ उमंग र नयाँ जिम्मेवारी दिएर अगाडि बढ्ने कुरामा पार्टीका कुनैपनि नेता कमरेडले तिमीहरुले बेठिक गर्‍यौ भन्नुहुन्न। मिलेर काम गर्छौँ, हाम्रा बीचमा रहेका समस्याहरुलाई समाधान गरेर जान्छौँ।

तर, तपाईंहरु मिल्नै नसकेर एकपक्षको बहिष्कारबीच पुनर्गठन भएको होइन र?
अन्तिममा हामीलाई मार्ग निर्देशन दिने पार्टी नै हो। पार्टीले दिएकै कुरालाई बोकेर हिडौँला। तर, कुरा के होइन भने अब हामीले अहिले गरेको निर्णय मान्दैनौं, सार्वभौम केन्द्रीय कमिटीले गरेको निर्णय मान्दैनौं भन्ने छुट कसैलाई पनि छैन।

असन्तुष्ट पक्षलाई कसरी समेट्ने भन्ने विषयमा सबै बाटाहरु खुला छन्। मैले कुनैपनि ढोका बन्द गरेको छैन। केही साथीहरुले असन्तुष्टि राख्नुभएको छ, ती असन्तुष्टिलाई सम्बोधन गरेर जानसक्ने प्रशस्त ठाउँहरु छ। त्यति हुँदाहुँदै हामी पार्टीमा समस्या भयो भनेर जानुपर्ने ठाउँ छैन।

काम गर्ने दौरानमा कहिलेकाँही कमजोरी भएको छ भने हाम्रो बीचमा रियालाइज गरौँला। कमजोरी भएको छ भने पुनः कमजोरी नगर्ने प्रतिबद्धता पेस गरेर जान्छौँ।

कुरा नमिल्दा शीर्ष नेताहरुले अहिलेको पुनर्गठनलाई खारेज गर्ने निर्देशन दियो भने तपाईंहरु मान्ने कि नमान्ने?
यसमा के बुझ्नपर्छ भने अन्य पार्टीको जस्तो पार्टीले तोक्दिने, पार्टीले विघटन गर्ने अनि अर्काे ढंगले तोक्ने परिपाटी हाम्रो पार्टीमा छैन। यसअघि संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेललाई तोकेको चाहिँ दुई पार्टीको एकताको सन्देश दिनका लागि हो।

तर, हाम्रोमा कमिटीको बैठकले गरेको निर्णय पार्टीले खारेज गर्दिने भनेको कल्पना भन्दा बाहिरको कुरा हो। त्यो कुरा हुनै सक्तैन। यदि कोही साथीहरुमा खारेज गराउँछु भन्ने सोचेका छन् भने त्यो दिवास्वप्न हो, त्यो हुँदैन। त्यहाँ हामी पुग्दै पुग्दैनौं। पार्टीले मान्दैन भन्ने ठाउँमा यो कुरा जाँदै जाँदैन। त्यस्तो समस्या नै होइन यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .