ad ad

अन्तर्वार्ता


पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

कृष्ण आचार्य
जेठ २७, २०७६ सोमबार ६:२०,

अहिलेसम्म उनका तीन पुस्तक प्रकाशित छन्। उनको तेस्रो परिचय अझ चर्चित भइरहेछ: रेल टिप्पणीकार। सशक्त ट्विट र केही लेखहरुले उनलाई यो परिचयमा स्थापित गरिदिएका छन्। नेपालमा चिनियाँ रेल आउने चर्चा भइरहँदा उनले सामाजिक सञ्जालबाट त्यसबारे बहस छेडेका थिए। पछि मूलधारका सञ्चार माध्यममा यसले ठाउँ पायो। उनै डा रामेश कोइरालासँग ट्विटर सम्वादः

ट्विटरबारे पहिलोपटक कसरी जानकार हुनुभयो?
मैले आजभन्दा ७ वर्षअघि ‘आमाको मुटु’ भन्ने किताब लेखेँ। लेखिसकेपछि किताबको बढीभन्दा बढी प्रचार गर्नका लागि सामाजिक सञ्जालमा के गर्ने भनेर अमेरिकामा रहेका एक साथीलाई सोधेँ। उसले फेसबुक पेज बना अनि ट्विटर खोल भन्यो। मैले ट्विटरमा के हुन्छ? भनेर सोधेँ। उसले अन्तरक्रिया बढी हुन्छ भन्यो। २०१२ मे’मा मैले ट्विटर अकाउन्ट खोलेँ।

पहिलो ट्विट के गर्नुभयो?
अकाउन्ट खोलेपछि के गर्ने, के गर्ने भयो। ट्विटरमा नयाँ छुँ भनेर लेखेँ। त्यसपछि ‘आमाको मुटु’ किताब बजारमा आयो भन्ने ट्वििट गरेँ। त्यतिबेला खासै अन्तरक्रिया भएन अनि फेसबुकतिरै लागेँ।

फलो चाहिँ क–कसलाई गर्नुभयो ?
फलो गर्ने उर्ने भन्ने धेरै थाहा थिएन। त्यसैले सबैभन्दा पहिले मलाई ट्विटर अकाउन्ट खोल्न सिकाउने साथी सुमन मल्ललाई फलो गरेँ। त्यसपछि केदार शर्मा, जुगल भुर्तेललगायत ५ जनालाई फओ गरेँ। मलाई जहाँसम्म लाग्छ ३ वर्षसम्म मैले ५ जनालाई फलो गरेँ हुँला र मलाई पनि त्यही ५ जनाले फलो गरे होलान्।

ट्विटर चलाउनेबारे कसैसँग सोधपुछ पनि गर्नुभयो कि?
जुगल भुर्तेललाई सोधेको थिएँ, ट्विटरमा के हुन्छ भनेर। उहाँले पढेलेखेका र बौद्धिक वर्गले अलि बढी प्रयोग गर्छन् भन्नुभयो। हेर्दै जाँदा नरेन्द्र मोदी, बाराक ओमाबादेखि लिएर अन्तर्राष्ट्रियस्तरमा चर्चित ब्यक्तिले पनि ट्विट गर्दारहेछन्। त्यसपछि यो अलि अर्कै चिज रहेछ भन्ने लाग्यो। अझै पनि मलाई फेसबुक र ट्विटर फरक हुन् भन्ने नै लाग्छ।

सक्रियता कसरी सुरु भयो?
४ वर्ष अघिसम्म म किताब लेख्ने र आफ्नैँ काममा ब्यस्त हुनेगर्थेँ। देशमा के भइरहेको छ भन्ने कुरामा सामान्य चासो हुन्थ्यो। त्योभन्दा बढी सरकारी अस्पताल राम्रो भइदिए हुन्थ्यो भन्नेसम्म सोच्थेँ। आफूलाई ट्विटरमा समाहित गर्दैनथेँ। २०७२ को मधेश आन्दोलनका कारण नियमित जाँच गर्नुपर्ने मेरो एकजना बिरामीको निधन भयो। उनी आन्दोलनका कारण समयमै आउन सकेनन्, पछि एम्बुलेन्समा ल्याउँदा अवस्था गम्भीर भइसकेको थियो, बचाउन सकिएन। यो कुरा मलाई निकै झुर लाग्यो। त्यसपछि मैले मधेश आन्दोलनका कारण समयमै उपचार नपाएर फलानो बच्चाको ज्यान गयो, यस विषयमा आन्दोलनकारी सम्वेदनशील हुनुपर्छ भन्ने मनसायको ट्विट गरेँ। सायद त्यो मेरो चौथो ट्विट थियो। यो ट्विटमा राम्रो रिट्विट भयो। फओअर्स बढ्न थाले।

तपाईंको पहिलो हिट ट्विट चाहिँ कुन हो?
मैले ठ्याक्कै त्यसरी हेरेकै छैन। सम्झना भएन। मैले आफूलाई लागेको कुरा लेख्ने हो, कसैको कुरा मन पर्‍यो भने रिट्विट गर्ने हुन्। मेन्सनमा अन्तरक्रिया गरौँ भन्ने लाग्यो भने गर्ने हो। नत्र त्यत्तिकै बस्ने हो।

४ वर्षअघिसम्म सय जना फलोअर्स नभएको मान्छे तपाईं अहिले ३३ हजार पुगिसकेका छन्। के यो चमत्कार हो ?
२०७२ सालमा भूकम्प गयो, नाकाबन्दी पनि लाग्यो। यो समयमा सहयोगका लागि मैले फेसबुकमा आह्वान गर्थेँ। त्यतिबेला फेसबुक र ट्विटर लिंक गरेको थिएँ। फेसबुकमा पोस्ट गरेका कुराहरु आफै ट्विटरमा पनि सेयर हुन्थे। यसरी सहयोगको अपिल गरिएका पोस्टले गर्दा बढेको हुनुपर्छ। संख्यात्मक रुपमा फलोअर्स १ बाट २, २ बाट ४ र ४ बाट ८ हुन गाह्रो हुन्छ। मेरो कुनै बेला सय फलोअर्स पुग्न ६ महिना लाग्थ्यो होला भने अहिले २ महिना लाग्छ। यस्तै त होला मानिसहरुले मेरो कुरा पढ्न मन पराए होलान् वा उनीहरुलाई पढ्न मन परेको कुरा मैले लेखेँ हुँला ।

तपाईंमाथि सबैसँग भिडेर बस्छ भन्ने आरोप पनि छ नि ?
कहिले कहीँ त्यसो पनि भन्छन्। यो कुरालाई पनि अहिले सुधार गर्दैछु। संसारलाई जवाफ दिएर नसकिँदो रहेछ।

तपाईंलाई फलानो दलको केन्द्रीय सदस्य भन्ने आरोप पनि छ होइन?
मैले मेरो हिसाबमा कसैलाई पनि गाली गरेर लेख्दिनँ। व्यंग्यलाई म गाली मान्दिनँ। मिडिया हेरिनँ भने बस्ने, खाने, जागिर गर्ने मात्र काम हुन्छ। हेरेँ भने आफूलाई चित्त नबुझेको कुरा पोख्ने गर्छु। यो भएन, यसो गर्दा ठिक हुन्छभन्दा फलानो दलको केन्द्रीय सदस्य भनिन्छ भने म के गरुँ? मैले हिजो संविधान, मधेश आन्दोलन र नयाँ शक्तिबारे धेरै लेखेँ। ती लेखहरु सेयर गर्ने, यसले ठिक लेख्यो भन्ने जो मान्छेहरु थिए त्यसमध्ये ३० प्रतिशत जति मान्छेहरु अहिले मलाई राजनीतिक कार्यकर्ता बनाउन लागिपरेका छन्। म राजनीतिक कार्यकर्ताको रुपमा नभएर हरेक नेपाली नागरिक राजनीतिमा जति समावेश हुनुपर्ने हो त्यति छु। एकदम स्वतन्त्र भन्नेहरु पनि भातृ संगठन सदस्य भएको मैले देखेको छु। तर म कुनै दलको भातृ संगठनमा समेत छैन। राजनीतिक दल आवद्ध हुने कुरा टाढाको विषय हो।

रेल यसरी आउँछ भन्ने ग्राफ खोइ?

चिनियाँ रेल नेपाल आउने विषयमा तपाईंले प्राविधिक कुराहरु केलाएर प्रश्न उठाउनुभयो। तपाईंकै ट्विट र पछि लेखहरूका कारण रेलले बहसको रुप धारण गर्‍यो। पेशाले डाक्टर भएर रेलको प्राविधिक विषयमा टिप्पणी कसरी र किन?
पहिलो संविधानसभामा तत्कालीन माओवादीको घोषणापत्रमा काठमाडौंमा रेल चलाउने, पूर्व–पश्चिममा पनि रेल कुदाउने भन्ने उल्लेख थियो। दोस्रो संविधानसभामा सबै प्रमुख पार्टीको घोषणापत्रमा दू्रत रेल सपना बाँडियो। त्यतिबेला नै मैले रेल कुदाउन त्यति सजिलो छैन होला भन्ने सोचेको थिएँ।

अर्को कुरा म बच्चादेखि रेल देखेर हुर्किएको मान्छे हुँ। मेरो घर पारी (दार्जिलिङमा) रेल कुद्छ। तर अलिकति उकालो आउनासाथ ४ वटा डिब्बा तान्न नसकेर लिकमा बालुवा छर्कदै जानुपर्ने अवस्था छ। यदि द्रूत रेल हुँइकाउन सक्ने भए त्यस्तो महाभारत किन झेल्नुपथ्र्यो। भारतले वर्षेनी रेलका लागि खर्बौँ बजेट छुट्याउँदा पहाडमा रेल हुँइकाउन किन सकेन? यी कुरामा म अपडेट थिएँ।

‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआइ) मा सरकार सहमत भएपछि चीनबाट रेल आउँछ भन्ने कुराहरु बाहिर आए। ६ महिनामा सम्भाब्यता अध्ययन र अर्को ४ वर्षमा रेल कुद्ने कुरा प्रधानमन्त्री र जिम्मेवार मन्त्रीले नै भन्नुुभयो। रेल कुदाउन हामीसँग पैसा छ कि छैन, हामी सक्छौँ कि सक्दैनौँ या चीनले सित्तैमा बनाइदियो भने हामी धान्छौँ कि धान्दैनौँ भन्ने कुराको मैले अध्ययन गरेँ। अध्ययनपछि हैन यो रेल त अलि गारै छ है भनेर लेखेँ। गालीको ओइरो आउन थाल्यो। त्यसपछि मैले राम्रोसँग बुझाउनुपर्ने भयो, फेरि लेखेँ। लेख्दै गएँ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले अनलाइनखबरसँग ‘मुटु चिर्ने डाक्टर रेलको किल्ला गन्दै बसेको छ’ भन्ने अभिब्यक्ति दिनुभएको थियो तपाइँले पढ्नुभयो होला नि?
उहाँ आफू स्वयं इन्जिनियर हुनुहुन्छ। एउटा इन्जिनियरले त इन्जिनिररिङको कुरा गर्नुपथ्र्यो होला। मेरो कुरा गलत भए यस्तो हो भनेर बुझाउन सक्नु पथ्र्यो होला। म साधारण नागरिकले चासो राखेको निश्चित हो। उहाँ त जवाफ दिने ठाउँमा हुनुहुन्छ। यसो गरे यसो हुन्छ, यहाँ यति नाफा हुन्छ, यति ऋण ल्याउने हो अथवा सित्तैमा बन्छ, देशलाई यस्तो फाइदा हुन्छ, रेल यसरी आउँछ, पहाड छेडिन्छ, सुरुङ खनिन्छ भन्ने ग्राफ खोई? कसैले सित्तैमा बनाइदिन्छ भने अर्को कुरा होला तर पैसा तिरेर बनाउने हो भने लगानीका लागि रेलभन्दा अर्को उच्च प्राथमिकताको विषय हुन्छ कि? समाजवाद उन्मुख देशको पहिलो प्राथमिकता सायद निःशुल्क स्वास्थ्य र शिक्षा हुनु पर्ने होला। काठमाडौं–केरुङ रेलमा खर्च गर्ने पैसाले त हामी पूर्व–पश्चिम जोड्ने थप पाँच वटा बाटो जोड्न सक्छौँ होला। अथवा ४ लेनको काठमाडौं–केरुङ बाटो बनायौँ भने पनि रेलमा खर्च हुने पैसाको १० प्रतिशत मात्र खर्च हुन्छ। यो मेरो विचार हो।

तपाइँका पछिल्ला रेल ट्विटको धेरै नै बिरोध भइरहेजस्तो देखिन्छ नि?

म इन्जिनिरिङसँग कतैबाट पनि सम्बन्धित मान्छे होइन। रेल केवल मेरो रुचिको विषय हो। म रुचिका कारण प्रश्न उठाइरहेको छु। सम्बन्धित ब्यक्तिहरुले यो विषयमा अझ धेरै भन्न सक्छन्। सम्बन्धित विज्ञहरु चुपचाप भइदिँदा यहाँ मैले विषय उठाउनु परेको हो।

भनेपछि तपाईंलाई ट्विटरले रेल विज्ञ बनायो?
कतिपयले मलाई रेल टिप्पणीकारको रुपमा चिन्न थालेका छन्। वास्तवमा म एउटा सामान्य सरकारी जागिरे हुँ। देशको नागरिक भएको नाताले कुनै विषयमा चासो देखाएको मात्र हुँ।

व्यक्ति–विशेषको नाम उल्लेख नगरी कसैप्रति तिखो प्रहार गर्न निकै सिपालु हुनुहुन्छ नि? केही फर्मुला छ त्यस्तो?
त्यसो हो भने यसलाइ अब ट्विट लेख्ने कला नै भन्नुपर्ला।

ट्विट लेख्ने त्यो कला के हो ?
लेख्न मन लागेको कुरा मोबाइलमा टाइप गर्ने अनि ट्विट गर्ने गर्छु। एकपटक भयो कि भएन भनेर हेर्ने हो त्यसपछि लौ जा भन्यो हालिदियो। मन परेन भने डिलिट हानिदिए भै’गो। त्यो डिलिट भन्ने अप्सन त्यसकै लागि त बनाएको हो। आइपिएलको यो सिजनमा चेन्नईको खेल हेरिरहेको थिएँ। ए धोनीले हार्यो नि भनेर ट्विट गरेँ। मलाई यत्तिमा पनि मज्जा आउँछ।

ट्विटरका लागि दैनिक कति समय छुट्याउनुभएको छ ?
त्यस्तो त हुँदैन। कार्यालय समय, कामको समयमा म सामाजिक सञ्जाल खोल्दिनँ, अन्तर्रक्रिया पनि गर्दिनँ। कुनै दिन छुट्टीमा छु भने जुनसुकै समयमा लेख्न सकिने भयो। बिहान निकै अबेरसम्म सुत्छु। ९ बज्नुभन्दा ५ मिनेट अगाडि उठेर आँखा मिच्दै अस्पताल पुग्न पाए हुन्थ्यो भन्ने लाग्छ। बरु म बेलुका अबेरसम्म बस्छु। त्यसैले म प्राय बेलुका ट्विट गर्छु।

केदार शर्माका ट्विट बढी रिट्विट गरेको देखिन्छ नि। किन हो?
सायद उहाँले जसरी लेख्नुहुन्छ नि त्यो मन पराएर होला। अर्को कुरा कसको कुरा मन पर्छ, कसलाई मैले चिनेको छु भन्ने कुरामा पनि भर पर्छ।

कहिले कहीँ मध्यरातपछि पनि तपाईंका ट्विट आइरहेका हुन्छन्। निद्राबाट ब्युँझेर ट्विट गर्नुहुन्छ?
राति उठेर त होइन। म सुतेकै हुँदिनँ नि। मैले अघि भनेँ नि ढिला सुत्छु, ढिला उठ्छु। प्राय म १ बजेसम्म बसिरहेकै हुन्छु।

तपाईं डाक्टर बढी कि ट्विटे ?
मानौँ कुनै पत्रकारलाई फुटबल एकदमै मनपर्छ। आरसिटी उसको मनपर्ने टोली हो। ऊ हरेक खेल हेर्न पनि जान्छ। अब उसलाई पत्रकार भन्ने कि फुटबल फ्यान? यो कुरा पनि त्यस्तै हो।

आफ्नो जीवनलाई ट्विटरसँग दाँज्नुभएको छ ?
कहाँ जीवन, कहाँ ट्विटर! सरकारले ट्विटर बन्द गर्‍यो ने मलाई केही न केही। मेरो के जान्छ र भन्या।

ट्विटर बन्द भयो भने तपइँको अवस्था के होला? 
केही फरक पर्दैन। ल अब म ट्विटर अकाउन्ट बन्द गर्छु भनेर मनदेखि लागियो भने अहिले पनि गर्न पनि सकिन्छ। ट्विटरले देश बन्दैन, देश बिग्रिदैन। ट्विटरले म बन्दिन, म बिग्रिदिनँ। 

तपाईंकी श्रीमतीले अर्कैको पसलमा गएर मःमः खाँदा कस्तो लाग्छ?

तपाईंका ट्विट छोटा–मीठा र साहित्यिक हुन्छन्। यो एक लेखक हुनुको प्रभाव हो?
म नेपाली राम्रो लेख्छु होला तर नेपाली राम्रो लेख्नुलाई साहित्य मान्दिनँ। पढ्दा राम्रो लागोस् र सुन्दा पनि आनन्द आओस् भन्ने हिसाबले लेख्छु। त्यही नै हो।

तपाईं आफैँ सरकारी अस्पतालको कर्मचारी हुनुहुन्छ। ‘सरकारी अस्पताल रोगी छन्’ भन्दै नेतालाई ब्यंग्य गरेको ट्विट पिन गरेर राख्नुभएको छ। यस्तो किन?
त्यो त कस्तो भने, मानौँ तपाईंको मःमः पसल छ। तपाईं आफ्नो मःमः चलोस् भनेर कृष्ण मःमः को ब्रान्ड गर्दै हिँड्नुहुन्छ वा मिडिया–सामाजिक सञ्जालमा भन्नुहुन्छ। अनि तपाईंकी श्रीमतीलाई भोकलाग्दा अर्कैको पसलमा गएर मःमः खाँदा कस्तो हुन्छ? अरुको कुरा छाड्नुस् तपाईंको परिवार आएन भने चित्त दुख्छ नि। नेपालको सरकारी अस्पताल बिग्रनुको कारण पनि त्यही भएर हो। जति ठूलो नेता भयो ऊ त्यति टाढाको देश जान्छ उपचारका लागि। त्यो पनि सरकारी पैसा खर्च गरेर। समाजवाद उन्मुख देशका नेता यस्तै हुन्छन्? विदेश नै नभए पनि प्राइभेट अस्पताल पुग्छन्। सरकारी अस्पताललाई त कसैले पत्याउँदै पत्याउँदैन्। मलाई सबैभन्दा चित्त दुख्ने कुरा यही हो। अनि पिन ट्विट कसरी नगरुँ?

ट्विटरमा स्वास्थ्य टिप्स एउटै राख्नुहुन्न। किन हो ?
मैले बायो मै लेखेको छु, ‘नट फर हेल्थ टिप्स।’ मेरो मुटु दुख्यो कहाँ जाऊँ, मलाई ग्यास्ट्रिक भयो के खाऊँ भन्नेजस्ता प्रश्नको उत्तर जान्नु छ भने गंगालालमा आउनुस् म सबै भन्दिन्छु।

अहिलेसम्म तपाईंलाई ट्विटरमा लागेको सबैभन्दा गम्भीर आरोप कुन हो?
सबैभन्दा गम्भीर त चारतारे हो। लैनचौरको पैसा खायोसम्म पनि भनेका छन्।

यी आरोप लाग्नुको कुनै कारण पनि होला नि ?
मलाई झोक चल्ने आरोप पनि यिनै दुईटा हुन्। कसैले गरेको कुनै पनि कुराभन्दा मेरो धारणा–विचार फरक छ भने त्यो उसलाई मन नपर्न सक्छ। नेपालमा खोलाहरु दक्षिणमा बग्छन्। मैले खोला उत्तरमा पनि बग्छन् भने भनेँ मानिसहरु मलाई गाली गर्न थाल्छन्। मैले फेरि होइन बाबा उत्तर बग्ने पनि खोला छन् संसारमा भन्दा फेरि बढी जान्ने भइस् भन्न थाल्छन्। रसियाको फलानो नदी उत्तर बग्छ, अमेजन वा नाइल नदी यसरी बग्छ भनेरभन्दा मानिसहरु नेपालमा त्यस्तो हुँदैन भन्दै मेरो सातो खान्छन् भने म के गरुँ ? तर म भएको कुरा भन्न छाड्दिन।

तपाइँलाई गाली पनि खुब आउँछ नि होइन?
चिनेकै साथीहरुको १० वटा नक्कली ह्यान्डल हुन्छन्। त्यसबाट यति धेरै गाली गर्छन् अरुको कुरै छाडौँ।

ट्विटरमा उडाउनेहरुलाई कसरी जवाफ फर्काउनुहुन्छ?
एकदम पछाडि नै पर्‍यो भने ब्लक गरिदिन्छु। यसले भनेकोमा मेरो कुनै मतलब छैन भन्ने लाग्यो भने वास्तै गर्दिनँ। कसै–कसैसँग मेन्सन गरेर डिल पनि गर्छु। अर्को कुरा म कसैलाई उडाइरहेको छु भने कसैले मलाई उडाउँदा म पनि रिसाउनु भएन। मैले अर्कोलाई उडाएँ, अर्कोले मलाई भनेर चित्त बुझाउने बाटो पनि छ।

यस्तो ट्विट किन लेखेको भनेर धम्की चाहिँ कत्तिको आउँछ ?
धम्कीभन्दा पनि कुनै साथीहरुले यस्तो किन लेखेको भन्न सक्छन्। नजिकको साथीले फोन पनि गर्लाने कहिलेकहीँ। तर सिधै त्यस्तो धम्की भने आएको छैन ।

नेताहरुलाई निकै चुट्नुहुन्छ। असहज लाग्दैन ?
यो कुरा ठिक भएन भनेर भन्छु। गाली भन्दा पनि व्यंग्य गर्छु। व्यंग्य लेख्न नपाउने भन्ने हुँदैन होला। गलत कामको विरोध गर्नलाई देशमा जुन सरकार भए पनि म पछि हट्दिनँ।

अपरेशनपश्चात सिरियल किलर चार्ल्स शोभराजसँग खिचेको तस्बिर ट्विट गर्नुभयो। तस्बिरले अन्तर्राष्ट्रियस्तरमै चर्चा कमायो। चर्चामै आउनका लागि यसो गर्नुभएको थियो?
खासमा मैले अपरेशन कहिले हुँदैछ भन्नेसमेत कसैलाई नभन्नु भनेको थिएँ। भोलि अपरेशन हुँदैछ भन्ने कुरा उसको परिवारबाहेक अरुलाई थाहा थिएन। सो बखत मेरो मोबाइलमा यति धेरै फोन आयो कि कुरै छाड्नुस्। सबैलाई जवाफ दिन सम्भव थिएन। त्यसैले फोन नै रिसिभ नगरी बसेँ। पत्रकारहरुको फोन आएको आएै थियो। मसँग ट्विटर अकाउन्ट (सामाजिक संजाल) छ भने म आफै सूचनाकर्ता हुँ, आफै अपरेशनबारे जानकारी दिन्छु भनेर तस्बिर पोस्ट गरेको हुँ। त्यति गरेपछि कसैलाई कल ब्याक पनि गर्नु परेन। त्यो फोटो पनि कसैलाई खिच्न लगाएको थिएँ। तर सेल्फी भनेर भाइरल भयो।

तपाईंले वैशाख २० मा गर्नुभएको एउटा ट्विट छ, ‘मंगलबार (वैशाख १७) सम्म प्रधानमन्त्रीका अनुसार गत एक वर्षभित्र ८०० किमी सडक कालोपत्रे भएको थियो भने आज राष्ट्रपतिका अनुसार १६०० किमी। तथ्यांक त के गलत होला र, सायद ३ दिनमा अर्को ८०० किमी बाटो पिच भएको हुनुपर्छ। कि कसो हो कुरा ?’ अन्य टिवटमा पनि तथ्य–तथ्यांक केलाउनुहुन्छ। यो कसरी सम्भव छ ?
म दुईवटा चिजमा अलि बढी चासो दिन्छु। नम्बर (तथ्यांक) र अर्को भूगोल। अहिले पनि म १५० वटा देशको भूगोलबारे भन्न सक्छु। नम्बरको कुरा गर्दा देशका राजमार्गबारे अहिले पनि म भन्न सक्छु। सायद मेरो यी कुरा दिमाग र मन दुवैमा बस्छन्। 

त्यो ट्विटमा सोम भनेको विजयकुमारलाई हो

तपाईंको सूचनाका स्रोतहरु चाहिँ के–के हुन् ? कतिपय त मिडियामा नआएका कुरा पनि सार्वजनिक गर्नुहुन्छ नि ?
त्यो भनेको आफूले पढेका सबै कुरालाई समेटेर एउटा विश्लेषण गर्ने हो। अर्को कुरा सामाजिक प्राणी भएको र काठमाडौं सानो भएको हुनाले दैनिक १०–१२ जना मानिससँग भेट भइरहेको हुन्छ। उनीहरुको कुरा पनि सुनिन्छ। त्यहाँबाट पनि एउटा धमिलो नक्सा बन्छ। त्यत्ति हो।

यसले लेख्छ, रेस्पोन्स पनि राम्रो पाउँछ भनेर कसैले सूचना पनि दिन्छन् कि?
म एनसिएलको नम्बरबाट आएको र नचिनेको फोन उठाउँदिन। मलाई ट्विटरमा डाइरेक्ट म्यासेज गर्न पनि मिल्दैन। त्यसले गर्दा अपरिचितबाट त्यस्तो सूचना आउँदैन। कुनैबेला साथीहरुसँग कुरा हुँदा कुनै विषयमा छलफल होला त्यो बेग्लै कुरा हो। कतिपय त भेटघाटकै क्रममा सूचनाहरु प्राप्त हुन्छन् ।

चैत २० गते मा एउटा ट्विट गर्नुभयो, ‘मान्छे त ट्यालेन्टेड नै हुन्। हायातको जवाफ नामक विज्ञापन देशभरका कुन–कुन पत्रिकामा छापिएका छन् भनेर पनि थाहा पाउँदा रहेछन्। यता आफू एउटा पत्रिकाको त नामै पहिलोपटक सुन्दैछु। कि हाम्रा सोम पत्रिका–पसले हुन् ?’ खासमा ती सोम को थिए ?
यो विजयकुमारलाई भनेको हो अरु कसैलाई होइन। उनको सराफसँग राम्रो सम्बन्ध थियो। त्यसदिन उनले बिहानै फलानो–फलानोमा हायातको जवाफ छापिएको छ भनेर ट्विट गरेका थिए। यसरी उनी त खत्रै हुन् भनेर मैले उनलाई डाइलग दिएको हो। 

अर्कोदिन पनि एउटा ट्विट गर्नुभयो, ‘म पत्रकार सदा स्वतन्त्र छ। कहिल्यै कसैका लागि मिसन पत्रकारिता गर्दैन। मालिकको स्वार्थलाई बाल दिन्न। तँ पत्रकार मिसन पत्रकारिता गर्छ। झुर छ नुनको सोझो गर्छ। दाम लिन्छ। तपाईंहरुलाई चाहिँ टेन्सन होला तर हामीलाई लास्टै रमाइलो भइरहेछ सरहरु...।’ यो ट्विट चाहिँ कोप्रति इंकित थियो ?
हायात प्रकरणमा विजयकुमारले पत्रकारहरु पैसा खाएर लेख्छन् भन्ने आसयको ट्विट गरे। त्यसपछि ट्विटरमा अर्को दिनसम्म पत्रकार–पत्रकारबीच निकै चर्चाचर्की र जुहारी चल्यो। यसरी मैले पत्रकारहरुबीचको झगडालाई व्यंग्य गर्न खोजेको हुँ। म र तँ पत्रकारको झगडामा जनता हाँसिरहेका छन् भन्न खोजेको हो। त्यस्तो कुनै ब्यक्तिप्रति इंकित होइन।

गगन थापा स्वास्थ्यमन्त्री भएका बेला तपाईं उहाँको सल्लाहकार टोलीमा पनि हुनुहुन्थ्यो। त्यतिबेला स्वास्थ्य मन्त्रालयकै विपक्षमा ट्विट गर्नुभयो। खास के भएको हो त्यतिबेला?
गगनजीलाई मैले आवश्यक र आफूले जानेको सल्लाह दिएको हो। तर २४ घण्टा सँगै बसेर काम भने गरिनँ। गाडी, तेल, तलव–भत्ता पनि एक रुपैयाँ नलिइ काम गरेको हो। एकदिन पनि अप्रेशन छाडेर कार्यक्रममा गइनँ। त्यसैले त्यतिबेला कस्तो सल्लाहकार थिएँ भन्ने मलाई नै थाहा छैन। फलानो मान्छे भएर पनि यो–यो चीज सुध्रिन सकेन हदै भयो र अर्को कुरा हरेक हेल्प पोस्टमा सरकारले दुई–दुई जना मान्छे पठाउँछ। तर त्यहाँ मन्त्रीको छोरो, सचिवको बहिनीलाई पठाइन्छ भन्ने विषयमा ट्विट गरेको थिएँ होला। गलत कामको विरोध गर्न त पाउनुपर्यो नि।

ट्विटरमा आफ्नो व्यक्तिगत र पारिवारिक कुराहरु सेयर गर्नुहुन्न नि?
मलाई त्यसमा रुची छैन। म आफ्नो फोटो त राख्दिनँ।

तपाइँबारेमा एउटा किस्सा छ, रामेशले त सपनामा पनि ट्विट फुराउँछन् भन्ने, यस्तो हो त?
मलाई त आफूले सपना नै देख्छुजस्तो लाग्दैन। विज्ञानले फेरि सपना देखिन्छ भन्छ। अर्को कुरा सपना भुलिन्छ पनि भनिन्छ। त्यसैले पनि होला देखेपनि मलाई के सपना देखेँ भन्ने याद हुँदैन।

झापाली र स्याङ्जालीबीचका किस्साहरुमा पनि खुबै भिडिरहेको देखिन्छ। झापा आफ्नै ठाउँ भएर हो कि?
रमाइलो पनि हो नि। अहिले त फेरि झापाली भनेपछि त्यसले अर्कै फ्लेबर दिन्छ। म पनि त मान्छे हो नि। मलाई पनि त रमाइलो मन पर्छ। अर्कोकुरा झापाली भनेर मलाई उडाउन थालेपछि ल जा म पनि त के कम भनेर आफै अघि बढेको हुँ। कतिसम्म भने झापामा गाई ब्यायो भने पनि ल है भनेर मलाई मेन्सन गर्छन्। रमाइलोको लागि हो। 

नैतिकता र सामाजिक मूल्यभन्दा बाहिर नगइ लेख्छु

तपाईं हरेक पार्टी र नेतालाई ठोकेर लेखिरहनु भएको हुन्छ। साझा विवेकशील पार्टीप्रति अलि लचिलो देखिनुहुन्छ। के कारण हो?
अहिलेको दुई तिहाईको सरकारप्रति मेरो निकै ठूलो आशा थियो। संक्रमणकाल, जनयुद्ध के–के भन्दा भन्दै २०–२२ वर्ष त्यत्तिकै गइसक्यो। समयले ल्याउने विकासभन्दा अब चाँडो हुन्छ भन्ने आशा अहिलेको स्थिर सरकारप्रति थियो। १ वर्षमा हामीले सोचेजस्तो काम भएन। अर्को कुरा जुनसुकै दलमा राम्रोभन्दा पनि हाम्रो मान्छे चाहिएको छ। साझा विवेकशील पार्टीमा त्यस्तो छैन। यो पार्टीमा जानेहरु पैसा कमाउन गएका होइनन् भन्ने मेरो बुझाइ छ। भोलिका दिनमा पार्टीको व्यवहार अनुसार समर्थन र विरोध हुन्छ।

ट्विटमार्फत धेरै नैराश्यता पोख्नुहुन्छ। प्रतिपक्ष बनेर सरकारलाई ठोक्नुहुन्छ। कोही कोही तपाइँले धेरै कुण्ठा पोख्नुभयो भन्छन् नि?
बुटवल–नारायणगढ सडक ४ लेनको बनाउन शिलन्यास भएको छ। म हेर्दैछु त्यो बन्न कम्तिमा पनि ६ वर्ष लाग्छ होला। बाटो ठूलो हुन्छ पुल बनाउन फेरि पप्पुवालाहरु आउँछन्। भनेपछि रेल, रकेटको कुरा छाड्नुस् म आफ्नो जिन्दगीभर पूर्व–पश्चिम राजमार्ग ४ लेनको भएको देख्दिनँ। जाबो हजार किमी बाटो त ४ लेनको हुन सक्दैन भने यो तालले कसरी हुन्छ। हामीले चन्द्रमामा रकेट उडाउने, मंगलग्रहमा रकेट उडाउने, कतारलाई अक्सिजन बेच्ने, कताकता रेल कुदाउने कुरा गर्यौँ। अब हामी ती कुरा छाडौँ र पूर्व–पश्चिम राजमार्ग ४ लेनको बनाएर देखाऔँ। त्यसैले म भटाभट काम होस् भन्छु तर सरकार भटभटे सुन्छ। यो भटाभट र भटभटेमा जुन ग्याप छ नि यसैले बिगारेको छ देशलाई। अब यो सरकारपछि दुई तिहाईंको सरकार अथवा यति बलियो सरकार नबन्ला। तर सरकार यसतर्फ सोच्दैन। त्यसैले म’मा नैराश्यता छाउँछ। त्यसपछि अभिब्यक्त गर्न मन लाग्छ। मेरो ट्विट यही नैराश्यताको अभिब्यक्ति हो भन्दा फरक नपर्ला। र यी अभिव्यक्ति आम नेपालीसँग मिल्दो हुनसक्छ। यसलाई सायद कुण्ठा भन्न नमिल्ला।

ट्विटमार्फत सत्ता हल्लाउन सक्ने कुरामा विश्वास गर्नुहुन्छ ?
होइन त्यस्तो त। मैले ट्विट गरेर वा तपाईंले ट्विट गरेर न यो देश बन्ने हो न बिग्रने हो। ट्विट भनेको तपाईं हाम्रो रमाइलो हो। यसलाई त्यसरी नै लिने हो। अर्को कुरा के बुझ्नुपर्यो भने रामेश भनेको एउटा मिडिया हो र उसले मिडियामा सम्पादकीय लेखेको हो। रामेश भन्ने पत्रिकाको सम्पादकीयले देश हल्लिन्छ भन्ने म कदापी सोच्दिनँ। २–४ जनाले पढिदियो भने सक्कियो।

तपाईंका ट्विटमा राजनीतिक चेत देखिन्छ। धेरै मान्छेहरु रामेश राजनीतिमा आउनुपर्छ भन्ने चाहना पनि राख्छन्। यसमा तपाईंको सोच के छ?
मलाई राजनीतिमा लागौँ भनेर भन्ने मान्छेहरु छन्। वैकल्पिकदेखि लिएर मुलधारका सबै पार्टीले भनेका छन्। तर मलाई आजको दिनसम्म राजनीतिमा लागेर मैले अहिले जसरी दातभात खाँदैछु त्यो पनि हराउँछ जस्तो लाग्छ। सबै कुरा मिलेर टिकट पाइयो र चुनाब लडियो भने पनि निर्वाचनमा भएको खर्च उठाउन भ्रष्टाचार गर्नै पर्‍यो। त्यसैले मलाई आफ्नै खुट्टामा बञ्चरो हान्नु छैन। भनिन्छ नि नजाने गाउँको बाटो नै नसोध्नु, राजनीति मेरा लागि त्यस्तै हो।

तपाईंका ट्विटबारे तपाइँकी श्रीमती कत्तिको अपडेट हुनुहुन्छ? कुनै सल्लाह–सुझाव दिने वा विरोध गर्ने पनि गर्नुहुन्छ कि?
ट्विटर, फेसबुकमा मैले घरपरिवारसँग कुरा गर्ने होइन। उनीहरुसँग त म प्रत्यक्ष कुरा गर्छु। बधाई तथा शुभकामना दिँदा पनि सिधै दिन्छु। म उनीहरुलाई फलो पनि गर्दिन र उनीहरुले गरेको रहेछन् भने पनि ब्लक गर्दिन्छु। उनीहरुको आफ्नै संसार छ। मेरो आफ्नै संसार छ। फरक–फरक संसारमा रह्यो भने सम्बन्धमा असर पर्दैन।

यो अन्तिम प्रश्न, अहिलेसम्म गर्न मन लागेको तर नगरेको त्यस्तो कुनै ट्विट छ कि?
कसले के भन्छ, भन्ला भन्ने कुराको पछि म लाग्दिनँ। कसैलाई ब्यक्तिगत गाली नगरौँ, आक्षेप नलागोस् भन्ने हो। कहिले कहीँ त्यो पनि गरियोजस्तो लाग्छ, त्यसका लागि क्षमा चाहन्छु। मलाई मन लाग्यो भने लेख्दिहाल्ने हो। मेरो नैतिकता र सामाजिक मूल्यभन्दा बाहिर नगइ लेख्छु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .