अन्तर्वार्ता

Tata MotorsTata Motors

अब अर्को बिहे गर्दिनँः छविराज ओझा (अन्तर्वार्ता)

निर्माता छविराज ओझा। तस्बिरहरुः प्रविन कोइराला


कृष्ण आचार्य
काठमाडौं, साउन ५

प्रेममा हुँदासम्म सबैसँग मेरो राम्रै हुन्छ। बिहे गरेर घरमा ल्याइसकेपछि अली नफापेको हो कि? कुरा नमिलेको हो कि के हो कुन्नी। सुरुमा गरेजस्तो प्रेम बिहेपछि काममा ब्यस्त हुँदा गर्न सकिनँ कि?

छविराज ओझा सिनेमा निर्माणमा जति सफल छन्, उनको वैवाहिक जीवन त्यति नै असफल छ। हेमादेखि शिल्पा पोखरेलसम्म आइपुग्दा उनका श्रीमतीको संख्या चार पुगेको छ। तीन जनासँग सम्बन्ध टुटिसकेको अवस्थामा उनको चौथो वैवाहिक जीवन पनि धरापमा छ। प्रस्तुत छ छविसँग उनको व्यक्तिगत जीवनमा आधारित रहेर गरिएको कुराकानीः

तपाईंलाई राम्रो लाग्ने र नराम्रो लाग्ने आफ्नै बानी के हो?
म अरुलाई चाँडै विश्वास गर्छु। यसैमा मैले धेरै हदसम्म धोका खाएको छु। यस हिसाबले मेरो नराम्रो बानी यही हो। अर्कोतर्फ कसैलाई चाँडै विश्वास गर्दा केही हदसम्म फाइदा भएको छ। त्यसैले मेरो राम्रो बानी पनि यही हो।

सिनेमालाई आफ्नो व्यक्तिगत जीवनसँग कसरी दाँज्नुहुन्छ?
मैले सिनेमालाई नै आफ्नो जीवन सम्झिएँ। यसरी समर्पित भएँ कि त्यसले गर्दा जीवनका धेरै कुराहरु छुटे। मेरो आमा, बुबा, ठाउँ धेरै कुरा । र, म हिजो त्यो अवस्थादेखि आएर आजसम्म यही अवस्थामा छु। मलाई लाग्छ, मेरो व्यक्तिगत जीवनका विभिन्न आयामहरु सिनेमाका कारण छुटेका छन्, टुटेका छन्।

तपाईं सिनेमा क्षेत्रमा प्रवेश गर्दा नेपाली सिने क्षेत्रको समग्र अवस्था कस्तो थियो?
नेपालमा जति पनि सिनेमा हलहरु आए ती सबै हिन्दी सिनेमाका लागि बनेका हुन्। त्यतिबेला नेपाली सिनेमा त्यस्तो धेरै बन्दैनथ्यो। कुसुमे रुमाल, सिन्दुर, सन्तान र जीवनरेखाजस्ता सिनेमाहरु मलाई याद छ । ६ महिनामा काठमाडौंका हलमा एउटा सिनेमा चल्थ्यो। यहाँ जम्मा ६ वटा हलहरु थिए। अशोक, रञ्जना, कुमारी, जय नेपाल, विश्वज्योति र एउटा भक्तपुरमा थियो। मलाई जहाँसम्म लाग्छ त्यतिबेला जहाँ हल छ त्यहाँका ८० प्रतिशत मानिसले सिनेमा हेर्थे। एउटाले सिनेमा हेर्यो तर, उसको छिमेकीले हेरेन भने लाज हुन्थ्यो। फेरि हलमा एउटै सिनेमा २–६ महिनासम्म चल्थ्यो। मैले त्यतिबेला सवा लाखमा भारतीय सिनेमाको नेपाली कपिराइट किन्थेँ।

सुरुमा सिनेमा हेर्दा होस् या पछि आफै बनाउँदा नायक बन्ने रहर कहिल्यै पलाएन?
सानैदेखि मलाई सिनेमामा काम गर्ने चाहना थियो तर, हिरो नै बन्छु भन्ने कहिल्यै सोचिन । सिनेमा हेर्दा कसरी बनेको होला भनेर नयाँ–नयाँ कुरा सोच्थेँ। ‘युगदेखि युगसम्म’ सिनेमा बनाउँदा राजेश हामालजीले मलाई एकपटक तपाईंलाई हिरो बन्न मन लागेन भन्नुभएको थियो। मैले मलाई अभिनय गर्न मन लागेन भनेँ ।

१८ वर्षको उमेर (२०३७ साल) मा एसएलसी दिन भारतको बनारस जाँदा हेमा (पहिलो श्रीमती) सँग कसरी भेट भयो?
विराटनगर र धरानतिरका मानिसहरु नेपालमै एलएलसी दिएपछि पुनः बनारस गएर पनि दिन्थे। नेपालमा एसएलसी पास गर्न निकै गाह्रो थियो। फलामे ढोका भनिन्थ्यो। त्यसैले नेपालमा पास नभए पनि उताबाट पास भइन्छ भनेर धेरैले यसो गर्थे। सो क्रममा म ३ महिना उतै बसेँ। हेमाजी पनि धरानबाट त्यहीँ जाँच दिन जानुभएको रहेछ। हाम्रो वल्लो र पल्लो कोठा थियो। म एक्लै थिएँ, उहाँहरु ग्रुपमा ३ वटा कोठामा १२–१३ जना हुनुहुन्थ्यो। मेरो खाना पनि उहाँहरुकोमै पाक्थ्यो। यसरी हाम्रो चिनजान भएको हो।

chabi 2

चिनजान भएको १ वर्षमै बिहे गर्नुभयो। त्यतिबेला तपाईंको उमेर पनि १९ वर्षमात्र थियो। किन यति हतार?
होइन, त्यहाँ हामीले एकअर्कालाई मन परायौँ। बनारसबाट फर्किएपछि पनि धरानमा हाम्रो भेटघाट भइरह्यो। म एसएलसी पास भएर कलेज ज्वइन गरेँ र बिहे पनि गरेँ।

बिहेपछि सानै उमेरमा सिने क्षेत्रमा सक्रिय हुनुभयो। त्यतिबेलाको परिवेशमा परिवारले यो कुरा स्वीकार्यो ?
संघर्ष नै संघर्ष गरेको छु मैले । बुबा खेती–किसानी गर्नुहुन्थ्यो। परिवारले लगानी लगाउने कुरा भएन, मसँग पनि पैसा थिएन। सिने क्षेत्रमा काम गरेर व्यवसाय गर्छुभन्दा समर्थन गर्ने कुरा पनि भएन। तर, पनि साथी कुवेर शर्मासँग मिलेर पैसा सापट लिएर काम सुरु गरेँ। दुई जनाले जनही ५ हजार उठाएर काम सुरु गरेका हौँ।

बिहेको ४ वर्षपछि काठमाडौं आउनुभयो। काठमाडौं आएको ६ वर्षमा त हेमासँग सम्बन्ध नै टुट्यो। काठमाडौंको परिवेशमा रमाएर उहाँलाई बेवास्ता गरेकाले हो?
मैले उहाँलाई समय दिन सकिनँ। सिने क्षेत्रमा काम गर्ने भएकाले विभिन्न खाले हल्ला पनि भए होलान्। उहाँ गाउँमा बसेकाले सुनाउनेले के–के सुनाए। म नजिक बसेर त्यो कुरा होइन भनेर महसुस गराउन पनि सकिनँ। मेरो पनि आफ्नै बाध्यता थियो।

२९ वर्षको उमेरमा पहिलो श्रीमतीसँग अंशबन्डा गर्नुभयो। दुई छोरा भइसकेको अवस्थामा यसो गर्न मनले मान्यो?
म यता आएर अर्कै संसारमा रमाएँ। त्यसले गर्दा परिवार मसँग टाढा भयो भन्ने पश्चाताप लाग्थ्यो। अझै पनि लाग्छ। हामीबीच खटपट भइसकेपछि छुट्टिनु नै बेश हुन्छ भन्ने दुवैको निर्णय थियो।

२०५० सालमा गीताञ्जलीसँग बिहे गर्नुभयो। पहिलो श्रीमतीसँग छुटेको १ वर्षपछि नै अर्कोसँग बिहे गर्न मानवीय हिसाबले पनि कसरी सक्नुभयो?
‘नाता’ सिनेमा बनाउने सिलसिलामा उहाँसँग भेट भयो। उहाँको बानी, व्यवहार, हाउभाउ मलाई निकै मन पर्यो। हामी विस्तारै साथी बन्यौँ। अनिमात्र बिहे गर्यौँ।

गीताञ्जलीसँग अन्र्तजातीय विवाह गर्नुभयो। त्यसले तपाईंहरुको सम्बन्धमा नकारात्मक प्रभाव बढाउँदै लगेको हो?
मेरो श्रीमती तल्लो जातको भन्ने थाहा पाएपछि घरबेटीले हामीलाई डेराबाट निकालिदिए। घर–परिवारसँग पनि सम्पर्क बन्द भयो। तर, हामीलाई गल्ती गर्यौँ भन्ने कहिल्यै लागेन। काठमाडौं सहर भएकाले गाउँघरमा जस्तो समस्या हामीलाई भएन ।

त्यसो भए तपाईंहरुको सम्बन्धमा दरार आउनुको कारण के थियो त?
त्यतिबेला म महिनौँसम्म बुम्बईमा हुन्थेँ। भारतीय सिनेमाहरु नेपालमा ल्याउने कामको सिलसिलामा धेरैजसो उतैतिर बस्न थालेको थिएँ। त्यहाँ प्रोडियुसरहरुलाई भेटेर नेपालको बारेमा भन्ने र अल नेपाल वितरणका लागि यता ल्याउने मेरो काम हुन्थ्यो। यताबाट मगाउँदा धेरै पैसा खर्च गर्नुपथ्र्यो तर, सिधैँ प्रोडुसरसँग कुरा गर्दा सस्तोमा आउथ्यो, त्यसैले म उतै बस्थेँ प्राय:। एकअर्काबाट टाढा भएपछि हाम्रो मनमुटाव सुरु भएको हो। पछि उहाँले तँ धेरै उतै हुन्छस् मलाई डिभोर्स दे म पनि हङकङ जान्छु भन्न थाल्नुभयो। हामीले सहमतिमै सम्बन्धबिच्छेद गरेका हौँ। हामीबाट भएको छोरा चाहिँ मैले नै राखेँ।

तपाईं त्यतिबेला सम्बन्धमा असफल भए पनि तपाईंका सिनेमाहरु त हिट नै भए नि होइन?
‘युदेखि युगसम्म’ सुपरहिट भयो। भुवन केसी अभिनेता रहेको ‘नाता’ श्रीकृष्ण श्रेष्ठको पहिलो सिनेमा हो। त्यो पनि हिट भयो । मेरो सिनेमाले व्यवसायिक रुपमा राम्रै कमाई गरे।

chabi 3

गीताञ्जलीको निधन भएको दुई वर्षभित्र नै रेखा थापासँग बिहे गर्नुभयो। बिहेको मामिलामा किन यति अस्थिर तपाईं?
अब भारतीय सिनेमालाई कम गर्ने बरु नेपाली सिनेमा नै बनाउने भन्ने भयो। त्यसपछि म नेपाल आएँ। ‘हिरो’ भन्ने सिनेमा सुरु गर्ने भयौँ। त्यही बेला रेखाजीसँग भेट भयो। पछि हामीले आपसी सहमतिमै बिहे गर्यौँ।

त्यतिबेला तपाईं ३७ वर्षको हुनुहुन्थ्यो। १६ वर्षकी रेखासँग बिहे गर्न लाज, संकोच वा असहज लागेन?
त्यस्तो केही भएन। हाम्रो निकटता बढेपछि एकदिन मैले उहाँको बुबालाई भेटेँ। कुराकानीका क्रममा उहाँसँग मलाई छोरीको सम्पूर्ण जिम्मा दिनुस् भनेँ। उहाँले पनि घरमा गएर केटा ठिकै लाग्यो भन्नुभएछ। यसरी उहाँको बुबाले हाम्रो सम्बन्ध स्वीकार गरेपछि बिहे गरेको हो।

उहाँसँगको सम्बन्ध पनि लामो समय टिकेन? तेस्रो बिहे पनि असफल भएपछि अब म सम्बन्धमा बस्दिन भन्ने लागेन?
आफ्नो मनले केही कुराहरु मैले सोचेँ पनि। तर, जीवनमा अघि बढ्न कोही न कोही जीवनसाथी त चाहिन्छ भन्ने लाग्यो। बुढेसकालको सहारा पनि चाहिन्छ भन्ने लाग्यो।

त्यसपछि शिल्पा पोखरेललाई ताक्नुभएको हो?
उहाँसँग भेट भयो। तालिम पनि गराइयो। सबै सिकाएपछि ६ महिनापछि बल्ल उहाँको डेब्यू सिनेमा ‘लज्जा’ सुरु भएको हो। सोही क्रममा एकअर्कालाई प्रेम गर्यौँ अनि ३ वर्षपछि विवाह भयो।

तपाईं आफूलाई कत्तिको प्रेमिल ठान्नुहुन्छ?
म प्रेमिल नै हो। प्रेम गर्न थालेपछि अगाडि–पछाडि केही सोच्दिनँ। जसलाई पनि चाँडै विश्वास गर्छु, चाँडै माया गर्छु।

तपाईं प्रेम सम्बन्धमा हुँदासम्म सबै राम्रै हुन्छ। तर, बिहेपछि सम्बन्ध एकाएक बिग्रन्छ। तपाईंलाई असल प्रेमी तर खराब श्रीमान् भन्दा कस्तो होला?
तपाईंले भनेको ठिक पनि हुन सक्छ। प्रेममा हुँदासम्म सबैसँग मेरो राम्रै हुन्छ। बिहे गरेर घरमा ल्याइसकेपछि अली नफापेको हो कि? कुरा नमिलेको हो कि के हो कुन्नी। सुरुमा गरेजस्तो प्रेम बिहेपछि काममा ब्यस्त हुँदा गर्न सकिनँ कि? श्रीमती घरमा आइसकेको छ अब मैले आफ्नो काममा अलि बढी ध्यान दिनुपर्छ भन्दा फरक परेको हो कि? त्यो पन हुन सक्छ ।

तपाईंले राजेश हमालदेखि शिल्पा पोखरेलसम्म (सबै चर्चामा आए) लाई डेब्यू गराउनुभयो। कत्तिको गर्व लाग्छ?
राजेशजीदेखि शिल्पासम्म आइपुग्दा मलाई सबैलाई देख्दा गर्व नै लाग्छ  किनभने राजेश, श्रीकृष्ण, रेखा थापा, आर्यन सिग्देल, सविन श्रेष्ठ, किशोर खतिवडालाई मैले डेब्यू गराएको हुँ। अन्य थुप्रै डाइरेक्टर, सिनेकर्मीहरु पनि हुनुहुन्छ। खुसी लाग्छ। त्यसैले त सबैले मलाई सिने क्षेत्रमा ‘बा’ को उपनाम दिएका छन्।

श्रीमानका रुपमा कहिल्यै आफैँले आफ्नो मूल्यांकन गर्नुभएको छ?
सिने क्षेत्रमा धेरै ध्यान दिने, कामको सिलसिलामा धेरै समय घरभन्दा बाहिर नै रहने। राति १० बजे घर पुग्ने कुराले म राम्रो श्रीमान् बन्न नसकेको हो कि भन्ने लाग्छ। मैले सबैलाई राम्रै गर्न खोज्छु। मेरो सोच सकारात्मक नै हुन्छ  तर भइदिन्छ नराम्रो।

शिल्पाजीका लागि तपाईं कस्तो श्रीमान्?
श्रीमानको रुपमा मैलै श्रीमतीलाई सधैँ सिकाउन खोज्छु। सुरुमा उहाँ मसँग सिक्ने भनेर आउनुभएको र पछि मैले सिकाएको कुरा मन नपरेको पनि हुन सक्छ। तर, म खराब श्रीमान् बन्न कहिल्यै चाहिनँ। समय र परिस्थितिले मलाई मानिसको नजरमा खराब बनायो।

chabi 4

तपाईंका पूर्व श्रीमतीहरुलाई कुनै आरोप नलगाई भन्नुपर्दा कसैसँग पनि सम्बन्ध नटिक्नुमा तपाईंको आफ्नो कमजोरी के होजस्तो लाग्छ?
मैले जति जनासँग बिहे गरेँ उहाँहरुसँग प्रेम भएपछि राजीखुसी बिहे गरेको हो। घरमा आएपछि समय दिन नसकेको वा उहाँहरुको चाहनाअनुसार म चल्न नसकेको पनि हुन सक्छ।

घरमा श्रीमती हुँदाहुँदै बाहिर अर्कैसँग अनैतिक सम्बन्ध राखेका कारण त सम्बन्धमा दरार आएको होइन नि?
अहिलेसम्म मैले त्यस्तो गरेको छैन। म एक जनासँग रहुन्जेल उसैसँग मात्र हो। अहिलेसम्म मेरो ४ वटा श्रीमती कहिल्यै एकै ठाउँमा पनि छैनन्। यो मेरो इमानदारिता हो ।

सिनेमा बनाउन सजिलो रहेछ कि जीवन चलाउन?
जीवन चलाउन निकै गह्रो काम हो। सिनेमा बनाउँदा त्यत्रो ५० जना मानिसलाई हेन्डल गर्न सकिन्छ तर, जीवनमा घरको एउटा बुढीलाई हेन्डल गर्न गाह्रो हुन्छ।

महिलाहरुलाई हेर्ने तपाईंको दृष्टिकोण के हो ? घरमा श्रीमतीमाथि दमन गर्नुहुन्छ भन्ने आरोप पनि छ नि?
म महिलाबाट नै जन्मिएको हुँ । मेरो आमा नै महिला भएपछि मैले महिलालाई आदर नगर्ने कुरै भएन। मेरो तीन दिदीबहिनी र चार भाउजू पनि महिला हुनुहुन्छ। मैले बनाएका २२ वटा सिनेमा महिला प्रधान छन्। मेरो श्रीमती पनि महिला भएको हिसाबले उहाँको इज्जत गर्ने, उहाँलाई सम्मान दिने कुरामा म सधैँ सचेत छु। पीडा दिने वा दमन गर्ने भन्ने होइन्। कहिलेकाहीँ सामान्य घर–झगडा हुँदा हुने वादविवादलाई हिंसासँग जोडेर हेर्नु हुँदैनजस्तो लाग्छ। सानो कुरालाई ठूलो बनाउँदा ठूलै रुप लिन्छ।

हेमासँग प्रेम गर्दा १८ वर्षको हुनुहुन्थ्यो। शिल्पासँग प्रेममा पर्दा ४९ वर्ष पुग्नुभएको थियो। १८ वर्षे प्रेम र ४ वर्षे प्रेममा के फरक हुँदोरहेछ?
जवानीको प्रेम र परिपक्व भएपछि गरेको प्रेममा फरक त भइहाल्छ नि। तर, मेरो परिपक्व ब्यक्तिसँग प्रेम भएको भए त्यस्तै हुन्थ्यो होला। मैले हिजो जवानीमा भोगेका कुराहरु उहाँले अहिले भोग्दै हुनुहुन्छ। त्यो फरक छ। त्यतिबेला डेटिङ–सेटिङ भन्ने थिएन। यतिबेला डेटिङ जाने रहर मलाई हुँदैन।

दुई श्रीमतीबाट भएका तीन छोराहरु अहिले कहाँ–कहाँ छन्?
उनीहरु आ–आफ्नो ठाउँमा छन्, आ–आफ्नो काम गर्छन्। एक जना अष्ट्रेलियामा छ, एउटा भक्तपुरमा घर बनाएर बसेको छ र अर्को कान्छो काठमाडौंमा छ र आफ्नै काम गरेर बस्छ। कहिलेकाहीँ भेट पनि हुन्छ हाम्रो।

chabi 5

नढाँटी भनिदिनुस् त वैवाहिक सम्बन्ध नटिक्नुुमा तपाईंको कमजोरी  के हो? तपाईंमा के कुराको कमी छ कि?
केही कमी छैन। एउटा कुरा के हो भने गल्ती मैले पनि महसुस गर्नुपर्छ। यदि मैले आफ्नै उमेरको सँग बिहे गरेको भए यस्तो अवस्था आउने थिएन होला। जवानीमा बाहिर घुम्ने, साथीभाहरुसँग रमाइलो गर्ने, सिनेमा हेर्न जाने र पपकन खाएर एकअर्कालाई जिस्क्याउने लगायतका चाहना हुनसक्छ। मेरो सवालमा यो सबै कुरा सम्भव नहोला। उनीहरुको र मेरो चाहना फरक हुन गयो। साथीहरुले पनि ‘त्यो बुढो’ भनिदिन सक्छन्। यसले उनीहरुलाई नराम्रो पर्न सक्छ। यो एउटा मुख्य कारण होजस्तो मलाई लाग्छ। मैले धेरै पटक सोचेँ यसबारे। अहिले आएर सम्बन्ध नटिक्नुमा उमेरमा रहेको ठूलो खाडल नै प्रमुख हो भन्नेमा ढुक्क छु।

श्रीमतीहरुसँग तपाईंको व्यवहार कस्तो हुन्थ्यो? प्रेमिल या हेपाहा?
मैले आफ्नो उत्तरदायित्व निभाएको अनुभव मलाई हुने हो। तर, उनीहरुलाई त्यसको अनुभव नभएको वा त्यो नपुगेको पनि हुन सक्छ। मैले दिएको अधिकार नपुग भएको पनि लाग्न सक्छ। त्यो मेरो र उनीहरुको हेर्ने नजरमा फरक पर्न सक्छ। प्रेम र सम्मान गर्ने कुरामा म चुकेको छुजस्तो लाग्दैन।

तपाईंको विचारमा श्रीमती भनेका को हुन् र पुरुषको जीवनमा उनीहरुको भूमिका के हुन्छ?
एउटा घरलाई मन्दिर बनाउन श्रीमतीको भूमिका महत्वपूर्ण हुन्छ। श्रीमतीबिना एउटा घर घर नै हुँदैन।

तपाईंको विवाहको सम्बन्धमा परिवारबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ?
मेरो सम्बन्ध बिग्रिएको देखेर मेरो परिवार चिन्तित छ। मेरो आमा अझै पनि दुःखी हुनुहुन्छ। यसको घरबार राम्रो भएन, यसलाई सधैँ दुःखमात्र पर्यो भन्नुहुन्छ।

तपाईंले आफ्नो जीवनमा अहिलेसम्म गरेको सबैभन्दा ठूलो गल्ती के हो?
मेरा सबै पक्ष राम्रो छ। सबै सिनेमाहरु पनि सफल भएका छन्। तर, मेरो जीवनमा छविले चार वटा बिहे गरेको छ भनेर कलंक लागेको छ। धेरै बिहे गरेकै कारण मेरोबारेमा नराम्रो छाप परेको छ। धेरै बिहे गर्नु नै मेरो गल्ती होजस्तो लाग्छ। तर, मैले जानाजान यसो गर्नु भनेर गरेको होइन। समय र परिस्थितिले मलाई यो अवस्थासम्म पुर्याइदियो । अब म चाहेर पनि यो कुरालाई सुधार गर्न सक्दिनँ। शिल्पाजीलाई आउनुस्, हामी मिलेर बसौँ अब मबाट कुनै गल्ती हुने छैन भनेर भनिरहेको छु।

भनेपछि शिल्पाजीसँग सम्बन्ध टुटेको अवस्थामा बुढेसकालको सहाराका लागि भन्दै फेरि अर्को बिहे गर्नुहुन्न?
अब म बिहे गर्दिनँ। म शिल्पाजीसँग नै बस्न चाहन्छु। यदि यो अवस्था भएन भने पनि मेरो अन्तिम बिहे यही हो। अब म एक्लै नै जीवन चलाउँछु।

साउन ५, २०७६, आइतबार

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्
लेखकबाट थप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors