ad ad

अन्तर्वार्ता


शीतल दाहालसँग संवादः बिहेअघि केटी कुमारी हुन्छन् भन्ने भ्रममा नपरे हुन्छ

शीतल दाहालसँग संवादः बिहेअघि केटी कुमारी हुन्छन् भन्ने भ्रममा नपरे हुन्छ

कृष्ण आचार्य
साउन २, २०७६ बिहिबार ६:१२,

शीतल दाहाल पुरुषसत्ताविरुद्ध आवाज उठाउँछिन्। पुरुषसत्ताका कारण महिलाहरु कसरी उत्पीडनमा परेका छन् भन्ने विषयमा उनको कलम खरो रुपमा चल्छ। यसकारण कतिपयले उनीमाथि ‘पुरुषविरोधी’ को आरोप समेत लगाउने गर्छन् । उनै शीतलको बुझाईमा पुरुष चरित्र के हो त? नेपालखबरले उनीसँग गरेको संवाद यहाँ प्रस्तुत गरेका छौँ।

तपाईंको विचारमा पुरुष चरित्र भनेको के हो?
पुरुष हुन त मान्छे नै हो। तर, उसलाई पुरुष बनाइएको हो। पुरुष भएका कारण उसमा रहेका कमी–कमजोरीसहितको मान्छे भइदियो ऊ। हाम्रो सामाजिक संरचनाले उसको विशेषण थपिदियो।

मान्छे हुनु र पुरुष हुनुमा के भिन्नता रहेछ?
एउटा असल मान्छेलाई विभिन्न विशेषणहरु झुन्डाइदिएर खराब मानिस बनाइएको छ भने ऊ पुरुष हो। पुरुषको ठाउँमा महिलालाई राख्ने हो भने पनि उसको विशेषताको कुरा आउला। तर, महिला पुरुष जति खराब हुँदैनन्। नेपाली समाजमा महिलालाई कमजोर, कमसल र निरिह भनेर ब्याख्या गरिएको छ भने पुरुषलाई शाहसी, विशेष, महान्, बहादुर भनेर अलंकार लगाइएको छ। जसका कारण ऊ पुरुषसत्ताको चंगुलमा छ।

पूर्वीय दर्शनले पुरुषलाई आत्मा र महिलालाई शरीर मान्छ। जसअनुसार पुरुष अमर र महिला नासवान् हुन् भन्न खोजिएको छ। यसमा तपाईंको मत के छ?
होजस्तो लाग्छ। हाम्रो समाज र हामी पूर्वीय दर्शनबाट निर्देशित छौँ। पुरुषले आफूलाई के सम्झियो र महिलाले आफूलाई के सम्झियो भन्ने कुराको सूक्ष्म अवशेष हामी हौँ। त्यही अवशेषका कारण महिलाले आफूलाई सोच्ने र पुरुषले आफूलाई सोच्ने मानसिकता यस्तो छ।

भनेपछि पुरुषको परिभाषा उसको व्यवहार र हाउभाउले निर्धारण गर्छ?
पुरुष र महिलाको आ–आफ्नो हाउभाउ हुन्छ। त्यसैले परिभाषाको निर्माण गर्छजस्तो मलाई लाग्दैन। यसमा पक्कै उसको व्यवहार कारक रहन्छ। एउटा पुरुषले हिजोदेखि महिलालाई कस्तो व्यवहार ग¥यो र आज कस्तो व्यवहार गरिरहेको छ भन्ने कुराले यसमा केही हदसम्म फरक पार्छजस्तो लाग्छ। किनकि मानसिकताले व्यवहार निर्धारण गर्ने हो। यदि एउटा पुरुषमा पुरुष मानसिकता छ भने त्यो मानसिकताले उसको व्यवहार पनि त्यस्तै खालको निर्माण गरिदिन्छ।

shital 2

महिलाको अस्तित्व स्वीकार नगर्ने मानसिकताको उपज पुरुष भयो होइन् त?
त्यही भएर त बिग्रिएको छ नि। म सुपेरियल, म महान् अनि म पुरुष भनेर आफूलाई सर्वश्रेष्ठ ठान्ने मानसिकता नै पुरुष हो। अस्तित्व त एकले अर्काको स्वीकार गर्नुपर्ने हो। तर, यहाँ महिलाले मात्र पुरुषको अस्तित्व स्वीकार गर्नुपर्ने अवस्था छ। महिलालाई निरिह, कमजोर र दुःखी ठान्ने प्रवृत्तिले गर्दा हामी बिग्रिएका छौँ, हाम्रो समाज बिग्रिएको छ। म महिला भएकै कारण मलाई सार्वजनिक यातायातमा असहज हुन्छ। पुरुष मानसिकताले मलाई छुन चाहन्छ, मलाई पेल्न चाहन्छ। हेर्नुस् त दुर्दशा।

पुरुषसत्ता पुरुषका लागि नै हानिकारक छ भन्न खोज्नुभएको हो?
मलाई के लाग्छ भने पुरुषसत्ता महिला सँग–सँगै पुरुषका लागि पनि हानिकारक छ। पुरुषले यो कुरा नबुझेको देख्दा मलाई ‘ओ माइ गड’ भन्न मन लाग्छ। पुरुषले महिलाको अस्तित्व स्वीकार गर्नु भनेको पुरुषको जीवन पनि सुमधुर हुनु हो। महिलाले रोजगारी गर्दा आफ्नो खुट्टामा आफै उभिने भयो, आफ्नो बारेमा आफैँ फैसला गर्न सक्दा ऊ सक्षम भयो, परिवारलाई लिड गरेर लान सक्छ भने क्षमतावान भयो। यस्तो महिला आफ्नो जीवनमा पाउनु भनेको त पुरुषका लागि फाइदाको कुरा हो नि। तर, पुरुषसत्ताले यसलाई स्वीकार्दैन । उसले आफूभन्दा कम उमेरको, कम क्षमतावान, कम शैक्षिक योग्यता भएको, कम सक्षम मानिस खोज्छ। यसो हुनुको कारण ऊ आफ्नी श्रीमतीमाथि हाबी हुन चाहन्छ। त्यसैले यो कुरा महिला र पुरुष दुवैका लागि हानिकारक छ।

पछिल्लो समय ‘मीटू’ अभियानले नेपालमा पनि चर्चा पायो। यो अभियान असमानता विरुद्ध थियो वा महिलाको आत्मारक्षाको एउटा स्वरुप?
यहाँ सेक्स र जेन्डरका आधारमा महिला र पुरुषबीच विभेद छ। हरेक कुरामा पुरुष र महिलालाई दुई खेमामा राखेर चित्रण गरिन्छ। पुरुष भनेको कुनै ब्यक्तिभन्दा पनि एउटा प्रवृत्ति हो। त्यसैले ‘मीटू’ अभियान व्यक्तिविरुद्ध नभएर एउटा प्रवृत्ति विरुद्ध हो। हामी त समाजमा ‘मीटू’ अभियान चलाउँनै नपर्ने अवस्था आओस् भन्ने चाहन्छौँ। त्यसैले ‘मीटू’ बचाउ नभएर यथार्थ हो। यो अभियान २–४ वर्षपछि अझ बलियो गरी, अझ परिस्कृत भएर चल्छजस्तो लाग्छ। किनकि त्यतिबेला महिलाहरु बोल्न सक्ने र आफूमाथि भएको अन्यायविरुद्ध अझ सशक्तरुपमा बोल्न सक्ने हुन्छन्।

तपाईंका पुरुष साथीहरु कत्तिको छन्?
छन्। धेरै छन्।

उनीहरु तपाईंमाथि कत्तिको हाबी हुन खोज्छन्?
मेरा साथीहरु मेरो बानी–व्यवहार राम्रोसँग बुझेका र मेरो अस्तित्वलाई स्वीकार गर्ने खालका छन्। उनीहरु हामीले महिलामाथि अन्याय गरेको हो र हामीलाई सुधार गर्नुपर्छ भन्ने सोच्छन्। यदि यी कुरा स्वीकार गर्न सक्दैनन् भने उनीहरुलाई म साथीको रुपमा स्वीकार नै नगर्न पनि सक्छु। त्यसैले मेरो सर्कलमा भएका पुरुष साथीहरु सबै चेतनशील छन्।

एउटा पुरुषको भूमिका समय, स्थान र परिवेशअनुसार फरक–फरक हुनसक्छ। साथी, प्रेमी र श्रीमान्को भूमिकामा उसको चरित्र कत्तिको फेरबदल हुन्छ?
मलाई लाग्छ उनीहरु आफ्नो भूमिकासँगै रुप पनि धारण गर्छन्। एउटा पुरुष साथीमात्र हुँदा, प्रेमी र श्रीमान् भएपछि उसको व्यवहारमा पुरै परिवर्तन आउँछ। मेरा साथीहरुको उदाहरण नै दिएर भन्छु म, कुनै पुरुष उसको प्रेमी हुँदा उसको जीवन कति सुन्दर थियो। तर, त्यही व्यक्ति श्रीमान् हुँदा उसले श्रीमान्को रुप धारण गर्यो र पुरुषसत्ता लाद्न खोज्यो।

shital 3

साहित्यमा पुरुषसत्ता कत्तिको हाबी छ?
एकदमै हाबी छ। किनभने महिलाले विद्यालयमा पढ्न पाएकै भर्खरैदेखि हो नि। हिजो आमाहरुले त पढ्न पाउनुभएन। जति जाने पनि, बुझे पनि उहाँले साहित्य लेख्न पाउनु भएन। पढ्न जाने पनि साहित्यिक कृतिहरु पढ्न पाउनुभएन। पछिल्लो जेनेरेसन न हो पढ्ने, लेख्न र बोल्न सक्ने भएको। तर, यो फेरिन्छ।

महिला लेखकहरु नारी बेदना पोख्न र पुरुषसत्ताको विरोध गर्नमै आफ्नो समय खर्च गरिरहेका छन्। उनीहरु महिलाको विचार, भावना र सोचाईमा नै परिवर्तन गर्नेगरी किन लेख्दैनन्?
यो सत्य हो । मैले अघि भनेजस्तै पछिल्लो पुस्ताका महिलाहरु जब साहित्यमा जोडिए तब आफ्ना भोगाईहरु लेख्न थाले। साहित्यमा जीवन जोडिएको हुनाले त्यसमार्फत आफ्नो र आफूले देखेको समाजमा महिलाको अवस्था ब्यक्त गर्न थाले। अब आउने पिँढीले एक स्टेप माथि उठेर लेख्न सक्छ। हामीले पनि आफ्नोतर्फबाट सकेको लेखेका छौँ।

महिलाको समस्या र पुरुषसत्ता आफैमा फरक विषय हुन्जस्तो लाग्छ। तपाईंहरुको नारीवादी आन्दोलनले महिलाको समस्या हल हुन्छ भन्ने के ग्यारेन्टी छ?
महिला आन्दोलनमा कुनै वाद हाबी हुने होइन। कुनै वादले कुनै वादलाई पछाडि पार्ने कुरै होइन। हामीले बहस गर्न खोजेको कुरा एकले अर्कालाई स्वीकार गर्नुपर्छ भन्ने हो। एउटा वादले अर्को वादलाई थिचेर अगाडि बढ्ने समाजको कल्पना म कदापी गर्दिनँ।

महिलामाथि हुने यौन दुर्व्यवहार, विभिन्न खाले हिंसा, बलात्कारजस्ता कुरा बाहिर आउँछन्। तर, यिनै पक्षबाट पुरुष पीडित भएको कुरा खासै सुनिँदैन। उनीहरु पीडक नै हुँदैनन् वा पुरुषसत्ताले यस्ता कुरा लुकाउँछन् ?
आजसम्म हाम्रो संरचनाले पुरुषलाई माथिल्लो दर्जामा राखेको छ। अथवा, पुरुषलाई हिंसा गर्ने र महिलालाई हिंसा सहने ठाउँमा राखेको छ। त्यसैले हिंसा महिलामाथि नै हुन्छ। यसो भनिरहँदा पुरुषमाथि कुनै पनि खाले हिंसा हुँदैन भन्न खोजेको होइन। केही मात्रामा हुन्छ होला। तर, पुरुषसत्ताको पगरीले आफ्नो साख गिर्ने डरले त्यसलाई लुकाउँछ पनि। यसको यस्तो कुरा बाहिर आउँदा त्यसले मलाई पनि असर गर्छ भन्ने सोचाईंका कारण नाता, परिवार र समाजका केही व्यक्तिको मिलेमत्तोमा त्यसलाई लुकाइन्छ पनि। यसको मुल कारक भनेको पुरुष प्रबृत्ति नै हो।

यौन सम्पर्क र सन्तान उत्पादनलाई थाँती राखेर हेर्दा महिलाको जीवनमा पुरुषको महत्व के छ ?
महिलाबिना पुरुष र पुरुषबिना महिला अधुरो हुने कुरालाई हामी नकार्न सक्दैनौँ। मैले पुरुषबिनाको जीवन कल्पना नै गर्न सक्दिनँ। जीवनको हरेक कालखण्डमा पुरुषको साथ, सहयोग र प्रेमले महिलाको जीवन सुन्दर हुन्छ।

पुरुषले गर्ने बहुविवाहलाई कसरी लिनुहुन्छ ?
यो पुरुषसत्ताको उपज हो। सामाजिक संरचनाका कारण यसो भएको हो। पुरुषले महिलालाई पाल्न सक्छ भन्ने मानसिकताको विकास भएको छ। यसको अर्थ महिलाहरु पालिन बाध्य हुन्छन्। पुरुष प्रधान अथवा मालिक हुन्छ। त्यसकारण ऊ महिलालाई सकेसम्म पेलेर जान चाहन्छ। अथवा, पुरुषले महिलाको अस्तित्व स्वीकार नगर्नु नै बहुविवाहको उपज हो। पुरुषले महिलालाई वस्तु ठान्दा यसो भएको हो।

shital 4

पछिल्लो समय सामाजिक सञ्जालमा रवि (रवि लामिछाने) देखि छवी (छविराज ओझा) सम्मको चर्चा छ। उनीहरुको वैवाहिक जीवनलाई पुरुष चरित्रसँग कसरी दाँज्नुहुन्छ?
म यसलाई उहाँहरुको व्यक्तिगत जीवनको एउटा मोड मान्छु। सम्बन्धविच्छेदपछि गरिएको विवाहलाई बहुविवाह भन्न मिल्दैन। तर, उहाँहरुले जसरी निर्धक्करुपमा आफूलाई मन नपरेको सम्बन्ध टुक्राउन सक्नुभयो नि महिलाले पनि त्यसैगरी सक्छन् त भन्ने प्रश्न महत्वपूर्ण हो। महिला पनि आफूलाई मन नपरेको पुरुषलाई छाड्न स्वतन्त्र हुनुपर्छ। महिलाले पनि आफूलाई मन नपरेको लोग्ने छाडेर गर्वका साथ हिँड्न सकोस् र त्यसलाई समाजले स्वीकार गरोस्। हामीले चाहेको समाज यही हो। यदि मैले कुनै पुरुषलाई छाडेँ भनेँ उसलाई मन परेन छाडी र अर्कोसँग बिहे गरी भन्ने मानसिकता बनोस् समाजको।

विवाहलाई लिएर तपाईंको धारणा के हो ?
विवाह कसैले गराइदिने कुरा होइन, यो हुने कुरा हो। दुईको मन मिलेर हामी सँगै बस्न सक्छौँ भन्ने अवस्थालाई म स्वीकार गर्छु। तर, मागी विवाहलाई स्वीकार गर्न सक्दिनँ। म त यो चलन नै हट्नुपर्छ भन्छु।

तपाईं अहिलेसम्म अविवाहित हुनुहुन्छ। विवाह गरेर पुरुष चरित्र स्वीकार गर्न नसक्नुभएको हो?
हुन सक्छ। किनभने म कसैलाई प्रेम गर्छु। तर, उसको श्रीमान् चरित्रलाई स्वीकार गर्न सक्दिनँ अर्थात, म उसँग बिहे गर्न सक्दिनँ। मैले माथि पनि भनिहालेँ नि भूमिकाअनुसार पुरुषको व्यवहारमा परिवर्तन आउँछ। मेरो अस्तित्व स्वीकार नगर्ने पुरुषसँग म किन विवाह गरुँ?

भनेपछि विवाहपछि तपाईं पुरुष चरित्रसँग लड्न सक्षम हुनुहुन्न ?
त्यो पनि हुन सक्छ। धेरैजसो महिला बिहेअघि आफ्नो हुनेवाला श्रीमान्लाई असल सोच्छन् र यत्तिको केटा मेरो जीवनमा आयो भने त भविष्य नै उज्वल हुन्छ भन्ने कोरा कल्पना गर्छन्। जब केटाले आफ्नो चरित्र देखाउन थाल्छन् बल्ल उनीहरुको आँखा खुल्छ। तर, एउटी महिला उसँग लड्न सक्दिनँ। उसको अस्तित्व दोहन हुन थाल्छ। त्योभन्दा पुरुष चरित्रलाई स्वीकार्न नगर्नु नै बेस होइन र? यो पनि त एउटा सांकेतिक लडाईं हो।

तपाईंको आशय सयौँ वर्ष पहिलेको पुरुष चरित्र र आजको पुरुष चरित्रमा कुनै परिवर्तन भएको छैन भन्ने हो ?
हो। पूर्वीय दर्शनको अवशेष भनेकै यही हो। एउटा राम (भगवान रामचन्द्र) त मरेर गयो तर समयाक्रमसँगै रामहरु जन्मिरहेका छन् नि। पवित्र सिताको चरित्रमाथि औँला उठाउने पुरुषसत्ता त अझै पनि कायम छ नि। यो चरित्र फेरिनु आवश्यक छ।

पुरुष चरित्रले विवाहका लागि कुमारित्व (भर्जिनिटी) को मापदण्ड बनाउनु र तपाईंले यसको विरोध गर्नुको लजिक के हो?
बिहेअघि महिला कुमारी हुन्छ भन्नु भ्रम हो, त्यस्तो हुँदैन। नहुने कुरालाई मैले यो गलत हो यस्तो हुँदैन भन्न खोजेको मात्र हो। बिहेअघि केटी कुमारी हुन्छ भन्ने भ्रममा पुरुषहरु नपरे हुन्छ। पुरुषहरु चाहिँ कुमार (भर्जिन) नभए पनि हुने महिला चाहिँ कुमारी नै चाहिने ? हेर्नुस् त पुरुषसत्ता हाबी भएको। पुरुष कुमार छ कि छैन भनेर कसैले सोधेको वा उमाथि औँला उठाएको तपाईंले कतै सुन्नुभएको छ? त्यसैले म फेरि पनि भन्छु, बिहेअघि पुरुष र महिला दुवै कुमार वा कुमारी हुँदैनन्। कतै यसको मापदण्ड बनेको छैन। छ भने पनि त्यो पुरुषको मानसिकतामा छ।

तपाईंलाई के लाग्छ महिलामाथि हुने बलात्कारको उपज पनि पुरुषसत्ता हो वा यसको अन्य कुनै कारण छ ?
पुरुषसत्ता र बलात्कार एकअर्कामा एकदमै अन्तरसम्बन्धित छन्। यो पुरुषत्वको सोच, प्रबृत्ति र मानसिकताको उपज हो। पुरुषले आफूलाई सर्वश्रेष्ठ ठान्नु र महिलालाई आफ्नो खल्तीमा राखिएको सामान वा कोठामा राखिएको सजावटको वस्तु सम्झनु नै यसको मूल कारण हो।

तपाईंलाई पुरुष विरोधी भन्छन् नि?
सही हो। उनीहरुको विरोध गर्नुपर्ने अवस्था छ त गर्नु परिहाल्यो नि। जबसम्म उनीहरु महिलाको अस्तित्व स्वीकार गर्दैनन् तबसम्म विरोध पनि जारी रहन्छ। जब महिलाले आफ्नो बारेमा आफै निर्णय गर्न पाउँछन् वा त्यो अवस्था आउँछ नि तब म पुरुषको विरोध गर्न छाड्छु। बिहेअघि बुबा र दाइ, बिहेपछि ससुरा र श्रीमान् । यस्तो संरचनाको विरोध गर्नु मेरो कर्तव्य हो।

विरोधी कसरी हुनुभयो ?
मैले काम गर्न थालेँ, पढ्न थालेँ। हरेक ठाउँमा मलाई महिला भएकै कारण अस्वीकार गरेको जस्तो लाग्थ्यो। म किन चारैतिरबाट अस्वीकृत भएँ भनेर बुझ्दै जाँदा यो पुरुषसत्ताको उपज रहेछ। तर, धेरैले आफू अस्वीकृत भएको बुझ्दैनन्। यस्तै त रहेछ, यस्तै त हो नि भनेर चित्त बुझाउँछन्। तर, म अरुभन्दा अलि फरक भएँ। जुनदिन पुरुषसत्ताले मलाई हेप्दैन नि त्यो दिन मैले हेप्यो भन्दिनँ। पुरुषलाई गाली पनि गर्दिनँ। समानताको नारा पनि लगाउँदिन।

प्रेममा धोका पाउनु वा प्रेम असफल हुनुले पनि पुरुषविरोधी भावनाको विकास गरायो होला नि?
म यो कुरा हुँदै होइन् भन्दिनँ। एउटा कारण यो पनि होला। तर, यही मात्र कारण पनि नहोला। मैले माथि पनि भनिसकेँ।

तर, तपाईं कृष्णप्रसाद भट्टराईको त फ्यान हुनुहुन्छ नि। उनी पनि त पुरुष थिए ?
उनको सत्य बोल्न सक्ने हिम्मत देखेर फ्यान भएको हो। सत्य बोल्ने जुनकसुकै पुरुषको फ्यान हुँ म। म अविवाहित हुँ तर,कुमार होइन भनेर कति सजिलै सत्य बोलिदिन्थे उनी। उनको सत्य वचनले मलाई प्रभावित पारेको हो।

shital 5

२१ साउन २०७५ मा तपाईंले फेसबुकमा एउटा स्टाटस लेख्नुभएको थियो, ‘राम्रो पोई पाउने लोभमा भोको पेट र चर्को घाममा लाइन लागेर पशुपतिको दर्शन गर्ने केटीहरु तपाईं आफ्नो खुट्टामा उभिनुस् अर्को वर्ष तपाईंजस्ती केटी पाउन केटाले ब्रत बस्छन्।’ यसलाई अलि प्रष्ट पार्नुहुन्छ कि ?
म आज जहाँ उभिएकी छु, जे छु यसका लागि मैले धेरै हिम्मत जुटाएकी छु। यो उमेरसँग मलाईं बिहेको प्रस्ताव आएन होला र?, आफूलाई पनि बिहे गरौँ कि भन्ने लागेन होला र?, परिवारबाट पनि दबाब आएन होला र ? तर, पनि म आफ्नै खुट्टामा उभिएँ नि । अहिले पुरुषसत्ताविरुद्ध लड्दै छु नि । के थाहा केटाहरु मेरा लागि कतै ब्रत बसिरहेका छन् कि। मैले केटीहरुलाई यही भन्न खोजेको हो। हिम्मत गर्, आफ्नो स्वाभिमान आफै स्थापित गर र अरुलाई आफ्नो अस्तित्व स्वीकार गर्ने बनाउ।

एउटा अन्तर्वार्तामा ‘मजस्ती केटीसँग बिहे गर्ने केटा नेपालमै छैनन्’ भन्नुभएको थियो। तपाईंको अस्तित्व स्वीकार गर्ने कोही नभएर यो अवस्था आएको हो?
मैले पुरुष चेतनाको कुरा गरेको हो । बिहेको कुरा त माथि नै आइसक्यो जस्तो लाग्छ ।

महिलावादले बिहेपछि पनि महिलाले ‘अफेयर’ गर्न पाउनुपर्छ भन्ने कुराको पनि वकालत गर्छ हो ?
होइन यो। तर, कसैसँग बिहे भयो र ऊ आफ्नो श्रीमान्सँग खुसी छैन भने उसलाई छाडेर अर्कोसँग बिहे गर्न पाउनुपर्छ भन्ने कुरा चाहीँ महत्वपूर्ण छ।

पुरुषहरु पनि राम्रा–नराम्रा हुन्छन् वा सबैको चरित्र एउटै हुन्छ?
सबैको एउटै चरित्र हुन्छ भन्न पनि मिल्दैन। राम्रा पुरुषहरु पनि छन्। महिलाको अस्तित्व स्वीकार गर्ने, उनीहरुलाई सम्मान गर्ने, आत्मनिर्णयको अधिकार दिने पुरुषलाई नराम्रो भन्न मिल्दैन।

हुन्छन् भने तपाईंले किन भेट्नुभएन त?
भेटेकी छु मैले पनि। सबै कुरा सार्वजनिक गर्न मिल्दैन नि (लामो हाँसो)...।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .