ad ad

अन्तर्वार्ता


नेपाल एयरलाइन्सको टिकटले छिटै अमेरिका उड्न पाउनुहुन्छः मदन खरेल (अन्तर्वार्ता)

नेपाल एयरलाइन्सको टिकटले छिटै अमेरिका उड्न पाउनुहुन्छः मदन खरेल (अन्तर्वार्ता)

नेपालखबर
असार ३१, २०७६ मंगलबार ७:८,

निगमको व्यवस्थापकीय कमजोरी देखाएर निजीकरणको बहस भइरहँदा मदन खरेल दोस्रो पटक नेपाल वायुसेवा निगमको नेतृत्वमा छन्। वाइडबडीको किस्ता बुझाउन सरकारसँग पैसा मागिरहेको निगमलाई चुस्त व्यवस्थापन र नाफाको उद्देश्यबाट सञ्चालन गर्ने चुनौती उनी सामु छ। निगमभित्रका अनियमितता, आर्थिक पक्ष र ब्यापारिक रणनीतिबारे नेपालखबरले निगमका कार्यकारी अध्यक्ष खरेलसँग गरेको वार्ताः

कुराकानीको सुरुवात एउटा पुरानो प्रसंगबाट गरौं। २०७५ मंसिरमा नेपालखबरसँग कुराकानी गर्दै तपाइँले ६ महिनाभित्र सबै चिनियाँ जहाज उड्ने बनाउँछु भन्नुभएको थियो? अहिलेसम्म किन उड्न सकेनन्?
नेपाल एयरलाइन्ससँग कूल ६ वटा चिनियाँ जहाज छन्। त्यसमा ४ वटा वाई–१२ र दुई वटा एमए ६० छन्। चिनियाँ जहाज उडाउन जुन किसिमले मैले योजना अघि सारेर काम गरिरहेको थिएँ त्यो अनुसार काम हुन केही अप्ठ्यारो भयो। त्यसको मुख्य कारण पाइलटको समस्याले हो। अरु ट्विनअटर जहाजमा कुनै समस्या छैन। यो बाहेक एउटा जहाजमा प्राविधिक समस्या पनि छ। दशैँसम्म सबै जहाज उडाउने योजनामा अहिले काम गरिरहेका छौं।

चिनियाँ जहाजको झ्याल फेर्नुपर्छ भन्ने कुरा पनि सुनिएको थियो। जहाजको झ्याल फेर्ने भन्ने पनि हुन्छ र?
एउटा जहाजको हकमा चिनियाँ पक्षले सुरुमा त्यस्तो कुरा गरेको थियो। कुनै पनि जहाजको झ्याल फेर्नुपर्ने भन्ने हुँदैन। यसमा हल्ला धेरै भयो। जहाज निर्माता कम्पनीलाई पछि हामीले सोधेका थियौं। उनीहरुबाट उत्तर आउन समय लाग्यो। त्यसले गर्दा पनि एउटा जहाज ग्राउन्डेड भयो। अहिले जहाज निर्माता कम्पनीले झ्याल फेर्नुपर्ने कुरा होइन, त्यसो गर्नुपर्दैन भनेर लिखित जवाफ पठाइसकेको छ।

madan kharel1निगमका कार्यकारी अध्यक्ष मदन खरेल।

निगम व्यवस्थापनले सधैँ पाइलटले काम गरेनन् भनेको सुनिन्छ। पाइलटले काम नगरेको कि व्यवस्थापनले काममा लगाउन नसकेको हो?
यसमा केही जेन्युन समस्या छ। निगमसँग सिनियर पाइलट संख्या थोरै छ। तर उडानमा एक जना पाइलट हुन्छ भने अर्को को–पाइलट हुन्छ। निगमसँग को–पाइलट धेरै छन्। तर जहाज को–पाइलटसँगै रहेर पाइलटले उडाउने हो। त्यो जनशक्ति अभाव हुँदा बाहिर यस्तो सन्देश पर्न गएको हुनसक्छ। पाइलट अभाव हुँदा को–पाइलटले पनि उड्न पाएका छैनन्। छिटै यसको व्यवस्थापकीय सन्तुलन मिलाउँदैछौं। दशैँसम्म पाइलट समस्या समाधान भएर सबै जहाज उड्नेछन्।

वाइडबडी ल्याउँदा त्यसले लन्डन उडान गर्ने, जापान, कोरिया उड्ने भन्ने बजार हल्ला पिटिएको थियो। अहिले ती जहाज अधिकतम घन्टा उड्नै सकिरहेका छैनन्। यस्तो किन?
वाइडबडी आउनासाथ केही महिना उड्न नसकेको सत्य होे। यसमा निगमको तत्कालीन नेतृत्वले केही काम गरेको भए यो अवस्था आउने थिएन। जहाजहरु १०–१५ दिन भन्दा बढी पार्किङमा रहने हुने थिएनन्। कागजमा योजना कोरियो तर त्यो कार्यान्वयन हुन सम्भव छ छैन भनेर हेरिएन। हल्ला धेरै फिँजाइयो। जहाज आउनुभन्दा पहिलै गन्तव्य तयार गर्न सकिन्थ्यो त्यो गरिएन। म २०७५ भदौमा निगममा आउँदा वाइडबडी अधिकतम ४ घन्टा उडिरेहका थिए। अहिले दुवै वाइडबडी जहाज दैनिक ११ घन्टा उडिरहेका छन्। न्यारोबडी जहाजको दैनिक उडान १२ घन्टाभन्दा बढी भइरहेको छ। निगमबारेमा वास्तविकताभन्दा नकरात्मक कुरा बढी आए। अब जापान र चीनको ग्वान्जाउ उडान सुरुभएसँगै ती जहाजहरु फूल फ्लेज क्षमतामा उड्नेछन्। यो पक्षलाई हेरिदिन मेरो आग्रह छ।

चिनियाँ आकाशमा निगमको जहाज कहिलेबाट उड्लान् त? ग्वान्जाआउ मात्रै हो कि अरु सहरमा पनि जान कोसिस भइरहेको छ?
अहिले तत्कालै हामी जापानको ओसाका उडान सुरु गर्दैछौं। त्यसपछि विस्तार हुने पालो चीनको ग्वान्जाउ, बेइजिङ हुनेछ। चीनबाहेक साउदी अरबको रियादमा हामी उडान सुरु गर्दैछौं। हामी विगत दुई वर्षदेखि चीन उडानका लागि काम गरिरहेका छौं। अरु देशले दिने परमिट हाम्रो बसको विषय होइन, हामीले प्रयास गरिरहेकै छौं। अहिले आएर चिनियाँ नागरिक उड्डयन अथोरिटीले नेपाली वायुसेवालाई युरोपेली युनियनले सेफ्टी लिष्टमा राखेको विषय उठाएको छ। छिटै उनीहरु हाम्रो सुरक्षा प्रणाली अडिट गर्न आउँदैछन्। यसमा करिब ९० दिन लाग्छ होला। त्यो टोलीको प्रतिवेदनपछि निगमले ग्वान्जाउ उडान सुरु गर्नेछ।

ग्वान्जाउ उडान सुरु गर्नुअघि त्यो सेक्टरको बजारबारे अनुसन्धान गर्नुभएको छ?
निगमले एक तहको अनुसन्धान गरेरै त्यहाँ उड्ने विषयलाई प्राथमिकतामा राखेको हो। तपाइँले संकेत गर्न खोजेजस्तै काठमाडौं–ग्वान्जाउको रुटमा निकै प्रतिस्पर्धा छ। हामीले नेपाली व्यापारी, चिनियाँ पर्यटकलाई ध्यानमा राखेर यो रुटमा उडान तयारी गरेका हौं। ग्वान्जाउ मात्र होइन वायुसेवाको अन्य रुटमा पनि ठूल्ठूला कम्पनीसँग हामीले प्रतिस्पर्धा गरिरहेका छौं।

madan kharel2

ठूला जहाज अहिले दैनिक ११ घन्टा उडिरहेछन् भन्नुभयो। साउदी र ग्वान्जाउ उडानपछि त्यो घन्टा कति पुग्छ भनेर हेर्नुभएको छ?
त्यतिबेला वाइडबडी दैनिक १५ देखि १६ घण्टा उड्नेछन्। त्योभन्दा धेरै उडाउँदैनौं। धेरै जहाज भएको भए थप २–३ घन्टासम्म बढाउन सकिन्थ्यो। थोरै जहाज हुँदा धेरै पक्षलाई ध्यान दिनुपर्ने हुन्छ। जहाज उडानको अन्तर्राष्ट्रिय अनुपात पनि यही हो। अहिले नजिकका गन्तव्यमा पनि ठूला जहाजहरुले उडान गरिरहेका छन्। त्यसपछि त्यहाँ न्यारोबडीले सेवा दिनेछन्। अहिले हुँदै आएको उडान याथवत राखिनेछ, कटौती गरिने छैन।

अब अलिकति प्रसंग बदलौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नै निगमलाई नाफा कमाएन भनेर सार्वजनिक रुपमै असन्तुष्टि जनाउनुभयो। तपाइँ भनिदिनोस् निगमले कहिले नाफा कमाउँछ?
मैले अघि भनेँ नि निगमको बारेमा भएभन्दा बढी नकारात्मक प्रचार भएको छ। अप्रेसनको मात्रै कुरा गर्नुहुन्छ भने निगमले राम्रो गर्दै गएको छ। जहाज खरिद गर्दा भएको लगानी, ग्राउन्ड ह्यान्डिलिङ र उडानबाट हुने आम्दानीलाई छुट्टा छुट्टै राखेर हेर्दा घाटाको स्थिति हो। निगमलाई हेर्नुभन्दा अगाडि म समग्र वायुसेवा बिजनेसको डाइनामिक्स बुझ्न तपाइँलाई आग्रह गर्दछु। थाइल्यान्डको सरकारले चलाएका थाइ एयरवेज, कतार सरकारले चलाएको कतार एयरवेज र हालै बन्द भएको भारतको जेट एयरवेजको पृष्ठभूमि हेर्नुभयो भने वायुसेवाको व्यापारबारे धेरै कुरा बुझ्न सकिन्छ। थाइ अघिल्लो वर्ष ठूलो घाटा व्यहोरेको छ। अघिल्लो वर्ष ठूलो कमाइ गरेको जेट एयरवेज बन्द भएको छ। निजी क्षेत्रको हाम्रै हिमालय एयरलाइन्सले अपेक्षाकृत राम्रो गर्न सकिरहेको छैन।

तपइँको मतलब वायुसेवाले घाटाको व्यापार नै गर्ने हुन् भन्ने हो?
त्यसो भन्न खोजेको होइन। मेरो भनाइको मतलब वायुसेवा व्यापार विश्वकै एउटा चुनौतीपूर्ण व्यापार हो। व्यापारको दर्शनअनुसार वायुसेवाको व्यापारलाई सिंहमाथिको सवारी भनिन्छ। यो साँच्चिैकै चुनौपूर्ण छ भन्न खोजेको हो। पछिल्लो समय निगमलाई हामीले चुस्त बनाउँदै लगेका छौं। यसको मतलब अवश्य पनि नाफा कमाउने तहसम्म पुर्याउने भन्ने नै हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबैभन्दा धेरै यात्रु बोक्ने वायुसेवा हामी हौं। गत वर्ष निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८६ प्रतिशत यात्रु बोकेको छ। पहिलेभन्दा अन्तर्राष्ट्रिय रुटमा माग बढी छ। यात्रुहरु आफैँले फोन गरेर सिट बुकिङ गर्न थाल्नुभएको छ। उडान रद्द हुने पुरानो समस्या हटेको छ। निर्धारित समयमा उडान भइरहेका छन। विदेशीको समेत निगमले विश्वास जित्दै गएको छ।

तपाइँ आफ्नो कामदेखि सन्तुष्ट हुनुहुन्छ त्यसो भए?
तपाइँले भनेजस्तो नाफा कमाउने विषय निश्चय पनि व्यवस्थापकीय चुस्ततासँग जोडिन्छ। हामीले त्यो बनाउँदै लगेका छौं। यो कुरा तपाइँ आँकडाबाट पनि देख्न सक्नुहुन्छ। नाफा भन्ने कुरा धेरै अवस्थामा बजारले पनि निर्धारण गर्ने विषय हो। अर्को कुरा वर्षौंदेखि एउटा दलदलमा रहेको संस्था आजको भोलि कायपलट हुने होइन। समय लाग्छ, विस्तारै सुधार हुन्छ। निगममा त्यो सुधार भइरहेको छ। एउटा सानो उदाहरण दिन्छु। पहिले वाइडबडी जहाजहरुको मर्मत विदेशीहरु आएर गर्थे। निगमको ठूलो रकम बाहिरिन्थ्यो। अहिले ए३३० वाइडबडीको मर्मत सम्भार निगम आफैँले गर्न दक्ष इन्जिनियर तयार पारेको छ। यो काम राम्रो होइन भनेर कसले भन्छ? तर हाम्रो विषयमा बढी नकारात्मक टिप्पणी र प्रचार गर्ने काम भएको छ।

हावा नचली पात हल्लिएको होला त?
कतिपय अवस्थामा एउटाले अर्कोलाई खुट्टा तान्न तथा निगमलाई रणनीतिक रूपमा घाटा पुर्याउन चाहने पक्षहरुबाट यो काम भएको हो भन्ने मेरो बुझाइ छ। तपाइँ हाम्रो आँकडा हेर्नुहुन्छ, हाम्रो प्रयास हेर्नुहुन्छ भने यति नकारात्मक हुनुपर्ने अवस्था छैन। हो सबै सुधार्न समय लाग्छ। तर म मन, वचन र कर्मले निगमको सुधारका लागि काम गरिरहेको छु। यसको परिणाम विस्तारै देखिँदै जानेछ।

madan kharel3

वाइबडी जहाजको मर्मत आफैँले गर्दा निगमले कति रकम जोगिन्छ?
दुई वटा ए३३० जहाजका लागि हामीले मासिक ६५ हजार अमेरिकी डलर (६५ लाख रुपैयाँभन्दा बढी) बुझाउँदै आएका छौं। त्यो रकम अब बचत हुँदैछ। यसका लागि निगमले तीन जना इन्जिनियर तयार पारेको छ। वाइडबडी आउने बेलामा कमजोरी भयो होला, भएकै पनि हो तर अहिले व्यवस्थापनमा कुनै कमी कमजोरी हुन दिएको छैन। हामीसँग ठूला जहाजका लागि २८ जना पाइलट छन्। ती मध्ये केही विदेशी पनि छन्। एक वर्षभित्र सबै पाइलट स्वदेशी बनाउने गरी काम गरिरहेको छौं। विदेशी पाइलट राख्दा त्यसमा निगमको ठूलो रकम गइरहेको छ। हामी त्यसलाई व्यवस्थापन गर्दैछौं।

तपाइँले अघि थाइ, कतार र जेट एयरवजेको उदाहरण दिनुभयो। यो क्षेत्रमा तपाइँको अनुभव लामो भइसक्यो। साधारण भाषामा भनिदिनोस् सरकारले घाटामा गएको वायुसेवा कम्पनी किन चलाउने?
नेपाल, भारत एशियाका लागि मात्र होइन विश्वमै वायुसेवा चुनौतीपूर्ण व्यवसाय हो। यस्ता वायुसेवाहरु सरकारले नै सञ्चालन गर्नुका पछाडि थुप्रै अभिप्राय रहन्छन्। कतार, थाइहरु नाफाको साथसाथै उनीहरुको राष्ट्रिय पहिचानको ब्रान्ड बनेका कम्पनीहरु हुन्। यी कम्पनी सिधै पर्यटन प्रवद्र्धनसँग जोडिन्छन्। कतार भौगोलिक हिसाबले जति सानो होला तर कतार एयरवेजले त्यो देशको ठूलो ब्रान्डिङ गरिरहको छ। थाइ वा इथोपियन एयरलाइन्सको पनि कुरा गर्नुहुन्छ भने पनि उस्तै नै हो। निश्चय नै नाफाको उद्देश्य रहन्छ तर त्यो बाहेक अरु अभिप्राय पनि बलियोसँग जोडिएको हुन्छ। व्यापारिक नाफा घटामा कतार र हाम्रो तुलना गर्दा हामीले दुई देशबीचको अवस्था पनि हेर्न जरुरी हुन्छ। हाम्रा जहाजले काठमाडौंमा कति रुपैयाँमा तेल भर्छन्, कतारले दोहामा कतिमा मूल्यमा भर्छ? यी सबै पक्षहरु बिजनेसमा गणना हुन्छन्।

केही समयअघि दुबईमा होटल भाडामा लिँदा भ्रष्टाचार भयो भन्ने विषय आएको थियो। त्यहाँ के भएको हो?
निगमले क्रु मेम्बर राख्न उडान गन्तव्य भएका ठाउँमा होटल लिनुपर्ने हुन्छ। त्यो मेरो तहबाट भएको निर्णय होइन, यो काम हाम्रो वाणिज्य निर्देशकले हेर्नुहुन्छ। त्यो समाचार सुनेपछि मैले त्यस विषयमा के भएको हो भनेर अनुसन्धान गरिरहेको छु। केही समयपछि खास के हो म तपाइँलाई भन्न सक्छु।

निगमले छिटै ओसाका, ग्वान्जाउ उडान सुरु गर्दैछ। ती सहरबाट अन्य वायुसेवाका जहाजले सिधा अमेरिकासम्म उडान गर्छन्। निगमले कुनै वायुसेवा कम्पनीसँग कनेक्टिङ फ्लाइटका लागि सम्झौता गर्दै छ कि?
यो विषयमा निगमले गृहकार्य गरिरहेको छ। नेपाल एयरलाइन्सले इश्यु गरेको टिकटबाट अमेरिकासम्मको यात्रा गराउन हामीले काम गरिरहेका छौं। कनेक्टिङ फ्लाइटम मात्र होइन कोड सेयरिङसम्म गर्ने हाम्रो तयारी छ। त्यसो गर्दा उडान नम्बर समेत एउटै हुन्छ। यात्रुले लगेजको समेत चिन्ता लिनुपर्दैन। यसमा साउदी अरबेयिाको राष्ट्रियध्वजाबाहक साउदी अरेबियन एयरलान्यससँग कुरा अघि बढेको छ। उसँग २२० वटा भन्दा बढी जहाज छन्। विश्वका लगभग सबै ठूला सहरमा उसको उडान हुनेगर्छ। यो नेपाल वायु सेवाको इतिहासमै एउटा कोशेढुंगा हुनेछ भन्ने मेरो विश्वास छ। त्यो सम्झौतापछि तपाइँ अमेरिका, युरोप र नेपाल वायुसेवाका सिधा उडान नपुगेका विश्वका जुनसुकै सहरमा हाम्रो टिकट काटेर उड्न सक्नुहुन्छ। यसले नेपाल वायु सेवा निगमलाई विभिन्न देशमा समेत चिनाउनेछ। हाम्रो सिधा उडान नभएको ठाउँमा उनीहरुको सेवा लिने र उनीहरुको नपुगेको ठाउँमा हामीले दिने गरी सम्झौता गर्न लागेका छौं। अन्य अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरुले यसरी नै बजार फैलाएका हुन्छन्। हामी त्यो मोडलमा जाँदैछौं।

अन्त्यमा हामीले सोध्न छुटाएका र तपाइँले भन्न चाहेको केही छ कि?
धेरै कुरा आइ नै सकेका छन्। निगमबारेका टिका टिप्पणी तथ्यमा आधारित भएर भइदिए राम्रो हुन्थ्यो भन्ने हो। जथाभावी लेख्ने, निहीत उद्देश्यबाट निर्देशित भएर कुप्रचार गरिँदाको शिकार हामी भइरहेका छौं। ब्रान्ड नाम, मान्छेको नाम जोडेर लेख्नुभन्दा अगाडि त्यो सूचनाको सत्यता जाँच गरिदिए हुने थियो। हामी सार्वजनिक संस्थान हौं तर त्योसँगै हामीसँग धेरै यात्रुहरूको माया, विश्वास, भरोसा जोडिएको छ। यात्रामा जोडिनु भएकाहरूको सुरक्षा जिम्मेवारी हाम्रो हो। यो सम्वेदनशीलता बुझिदिन मेरो आग्रह छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .