प्रमोद खरेल जति राम्रो गायक हुन् उति नै राम्रो क्रिकेट प्रशंसक पनि हुन्। उनी क्रिकेटको राम्रो खेलाडी भएर फलोअर्स भएका होइनन्। न त राष्ट्रिय वा अन्तर्राष्ट्रियस्तरको खेलाडी बन्ने सपना नै कहिल्यै बुने। त्यै पनि उनी क्रिकेट भनेपछि मरिहत्ते गर्छन्। अझ नेपाली क्रिकेट र खेलाडीप्रति उनको स्नेह अथाह छ । यतिसम्म कि सामाजिक सञ्जालमा ठट्टा हुँदा उनलाई ‘क्रिकेटमन्त्री’ बनाउनुपर्ने मागसमेत हुने गरेको छ। नेपालखबरले उनै प्रमोदसँग गरेको क्रिकेट सम्वादः
तपाईंलाई जीवनमा पहिलोपटक ब्याट–बल समाएको क्षण याद छ ?
सानोमै हो। ठ्याक्कै यति उमेरको हुँदा पहिलो पटक समाएँ भन्ने चाहिँ याद भएन। सानोमा लुगा धुन बनाइएको काठको मुङ्ग्रोलाई ब्याट बनाएर खेल्थ्यौँ। बल भने रबरको उफ्रिने वा प्लास्टिकको हुन्थ्यो।
पक्ष–विपक्ष नै भएर कहिले खेल्नुभयो ?
मैले प्लस टू पाटन क्याम्पस, ब्याचलर त्रिचन्द्र क्याम्पसमा र मास्टर्स त्रिभुवन विश्वविद्यालयमा पढेँ। प्लस टू पढ्दा सामान्य मात्र खेलियो। त्यसपछि मास्टर्स पढ्दासम्म धेरै नै खेलेँ भनौँ। कीर्तिपुरमा बस्दा त खेल्न मात्र होइन, खेल हेर्नमा पनि उत्तिकै चासो हुन्थ्यो। सायद संगतको प्रभाव पनि होला।
विद्यालय तहमा खासै खेलिएन। कलेज पढ्न काठमाडौं आएपछि २०५८–५९ सालतिर हो खेल्न थालेको। म मीनभवनमा बस्थेँ। बस्ती बाक्लो थिएन, खोलाको छेउँमा थुप्रै मैदानहरु थिए। राष्ट्रिय खेलाडीहरु पनि खेल्न आउँथे। त्यतिबेला मज्जैले खेलिन्थ्यो । कहिलेकाहीँ पारस खड्कालाई पनि खेल्न आएको देख्थेँ तर म राम्रो खेलाडी भने थिइन ।
तपाईंलाई बलिङ, ब्याटिङ र फिल्डिमध्ये केमा बढी रुचि छ?
ब्याटिङ नै रुचाउँछु तर म खेलिरहेको भए बलिङ नै बढी गर्थेँजस्तो लाग्छ। मेरो बल राम्रो स्वीम हुन्थ्यो। एकपटक हातको नशा सड्किएपछि बलिङ गर्न छाडिदिएँ। ब्याटिङ गर्दा पनि एकपटक बलले नाकमा मज्जैले लागेको छ। त्यसपछि मलाई साइनेक्स भएको हो कि जस्तो लाग्छ।
जीवनमा तपाईंले खेलेको यादगार पारी कुन हो ?
त्यस्तो पारी नै याद हुनेगरी खेल्नलाई म राम्रो खेलाडी थिइनँ। रमाइलोका लागि मात्र खेल्थेँ। एकपटक एक जनाले मेरो बलिङमा लगातार ३ चौका र १ छक्का हाने। उसलाई अर्को बलमा बोल्ड गरिदिएँ। त्यतिबेला जति जीवनमा क्रिकेट खेल्दा अर्कोपटक कहिल्यै आनन्द आएन। रन भने त्यही २०–२५ बनाएँ हुँला बढीमा। म क्रिकेटको झुर खेलाडी र राम्रो प्रशंसक हुँ। राम्रो खेलाडी भएको भए म क्रिकेटमै आउँथेँ होला।
तपाईं राजु खड्काको पाला (दुई दशकअघि) देखि नै क्रिकेटलाई फलो गर्ने मान्छे । कस्तो थियो त्यतिबेला नेपाली क्रिकेटको अवस्था?
नेपालमा क्रिकेट हेर्न थालेको धेरै भएको छैन। क्रिकेटको इतिहास लामो भए तापनि यसमा लहर आएको एक दशक भयो होला। म राजु खड्काले क्रिकेट खेल्दादेखि नै फलो गर्थेँ। टिभी र मोबाइलको चार्ज त्यति थिएन । रेडियोमा क्रिकेटको समाचार सुन्थेँ धेरै मानिसहरु क्रिकेट बुझ्दैनथे। नेपालले टी–२० विश्वकप खेल्यो, नेपाली खेलाडीले आइपिएल खेल्यो भन्नेजस्ता समाचार आएपछि अलि बढी फलो गर्न थालेका छन्। फेरि क्रिकेट फुटबलजस्तो गोल हानेर जित्ने खेलभन्दा पनि टेक्निकल खेल हो। नेपालमा अहिले पनि क्रिकेट चर्चित भए पनि फुटबलका फलोअर्स धेरै छन्।
तपाईंको ट्विटरमा रहेका ६६ हजार फलोअर्स मध्ये संगीत र किक्रकेटका फलोअर्स आदिआदि छन् भन्दा म गलत हुन्छु?
यो कुरा सत्य हो। म पहिल्यैदेखि खेलाडी भनेपछि मरिमेट्ने मान्छे हुँ। अहिले पनि म गाउँका खेलाडीसमेतलाई चिन्छु। सानोमा चिनेका टोलका खेलाडीहरु पनि कसले–कसरी खेल्छ भन्ने सबै याद छ। क्रिकेटमा पनि म धेरै अपडेट हुन्छु। ट्विटरमा अपडेट गर्छु पनि। मलाई लाग्छ मेरो किक्रकेटप्रतिको लगावकै कारण उहाँहरु मसँग जोडिनुभएको हो ।
तपाईंलाई मेन्सन गरेर ‘क्रिकेटमन्त्री बनाउनुपर्छ दाइलाई’ भन्नेखालका ट्विट पनि आउँछन् होइन?
आइरहेका हुन्छन्। कसैले दाइ तपाईं किक्रेटको फलोअर्स हुँदा हामीलाई गर्व लाग्छ भन्छन्। कतिले क्यानको अध्यक्ष बनाउनुपर्छ भन्छन्। कतिले क्रिकेटमन्त्रीको कुरा गर्छन्। यस्ता कुरा पढ्दा मलाई रमाइलो लाग्छ।
नेपालको खेल भएको बेला रेकर्डिङमा हुनुहुन्छ भने पनि सबै काम छाडेर मोबाइलमा झुन्डिनुहुन्छ रे हो?
हो । खेल भएको बेला प्रायः म मोबाइलमा अपडेट भइरहेको हुन्छु । २०७४ कात्तिकमा मलेसियामा भएको एसिया कपमा नेपाल र भारतबीचको यु–१९ प्रतियोगिताको एउटा प्रसंग छ। म त्यतिबेला गीत रेकर्ड गर्न स्टुडियो पुगेको थिएँ। साथीहरु टेक लिनका लागि जाऊँ भन्छन्, म भने एकछिन भन्दै बसिरहन्छु। अन्तिममा ल अब ५ ओभर बाँकी छ रेकर्डिङ रोक्नुस् म किक्रेट हेर्दै छु भनेँ। सबै ट्वा परे। पछि नेपालले खेल जित्यो। त्यो खेल ऐतिहासिक रह्यो। मैले पनि १५ मिनेटमै रेकर्ड सकाएँ।
विदेशी खेलाडी क–कसलाई फलो गर्नुहुन्छ ?
प्रायः सबैलाई गर्छु। मेरो पहिला सबैभन्दा मन पर्ने खेलाडी भनेको सचिन तेन्दुल्कर थिए। अहिले रोहित शर्मा मन पर्छ। अष्ट्रेलियाका दुई खेलाडी रिक्की पोन्टिङ र एडम गिलक्रिष्ट पनि एकदमै मन पर्छ। म कलेज लाईफमा भारतको डाई हार्ट फ्यान थिएँ। अहिले भने त्यस्तो छैन। सबै देशलाई सपोर्ट गर्छु।
यी खेलाडीको खेलबाहेक अरु कुन कुराबाट प्रभावित हुनुभयो ?
पोन्टिङको अनुहार नै मन पर्छ मलाई। उसको एटिच्युट अरुलाई प्रभावित पार्ने खालको छ। अष्ट्रेलियालाई ३ वटा विश्वकप जिताउने क्याप्टेनका रुपमा पनि म उनलाई लिन्छु। गिलक्रिस्ट अनुशासन निकै मन पर्छ। एकपटक एम्पायरले आउट भनेकै थिएनन्, उनी पेभिलियन फर्किए। त्यो व्यवहारले मलाई निकै तान्यो। सचिन आफूमा प्रभिता भइकन पनि नरम, भद्र, सालिन छन्। घमण्ड गर्दैनन्। त्यसैले पनि उनी मन परेको होला।
एउटा यस्तो खेल भनिदिनुस् जुन खेल हेरेर तपाईंको खुसीको सीमा नाघेको छ ?
त्यतिबेला मलाई जन्डिस भएको थियो। म घरमा रेस्टमा थिएँ । सन् २००६ मार्चको कुरा हो। अष्ट्रेलिया र साउथ अफ्रिकाबीच वन डे भइरहेको थियो। अष्ट्रेलियाले ४३४ रन बनायो। अहिलेसम्मकै सर्वाधिक रन भनेर रेकर्ड बन्यो। साउथ अफ्रिकाले पनि निकै आक्रमक खेल्न थाल्यो। मलाई रमाइलो लाग्दै गयो। लास्टमा त साउथ अफ्रिकाले १ बल बाँकी छँदै छक्का हानेर खेल जित्यो। कसैले कल्पना नगरेको रन चेस भयो। त्यो मेरो मेमोरीमा अहिलेसम्म कहिल्यै नबिर्सने खेल बनेर रहेको छ।
‘मेरो देश प्यारो नेपाल’, ‘हामी नेपाली’जस्ता क्रिकेटसँग सम्बन्धित गीतहरु रेकर्ड गर्नुभयो। यी गीत गाउनुको उद्धेश्य क्रिकेटको विकास तथा विस्तारमा कुनै टेवा पुर्याउनु हो या आफ्नो प्यासन मात्र पुरा गर्नु हो?
मैले गीत गाउँदा कन्सर्टहरुमा ५–१० हजारसम्म मानिसहरु आउनुहुन्छ। त्यसमध्ये पनि १ जनालाई गीतले प्रेरित गर्यो भने मैले वर्षमा १० वटा कन्सर्ट गर्दा १० जनालाई प्रेरित गर्न सकेँ नि। त्यसमध्ये पनि १ जना राष्ट्रिय टिममा गरे भने पनि त्यो मेरा लागि ठूलो कुरा हो। फेरि गीत गाउँदा म गीतमात्र पनि गाउँदिन अभिभावकलाई खेलकुदप्रति रुची भएका छोराछोरीको भावना बुझिदिन आग्रह पनि गर्छु।
क्रिकेटको गीतलाई लिएर स्टेजसँग जोडिएका कुनै घटनाक्रम सम्झनुहुन्छ ?
एक पटक पोखराको कन्सर्टमा मैले यो देश प्यारो नेपाल गाइरहेको थिएँ। एउटा जमातले ‘वान्स मोर’ भनेपछि फेरि गाएँ। विस्तारै त्यो जमात हुटिङ गर्दै स्टेज नजिक आइरहेको थियो। तेस्रो पटक उनीहरुले फेरि गीत गाउन आग्रह गर्दै भने ‘प्लिज दाइ यो गीत एकपटक फेरि हाम्रो लागि गाइदिनुस्, हामी यही गीत सुनेर क्रिकेट खेल्छौँ, इन्जोय गछौँ तर हामी आँखा देख्दैनौँ ।’ उनीहरु दृष्टिबिहीन क्रिकेटर रहेछन्। उनीहरुको कुराले मेरो ह्दयमै छोयो। यस्ता घटना धेरै छन्।
१२ वर्ष पहिले क्रिकेटसँग सम्बन्धित गीत (मेरो देश प्यारो नेपाल) गाउने मनसाय कसरी बनाउनुभयो?
मेरो सूर्य थपलिया नामको साथी हुनुहुन्थ्यो। हामी भृकुटिमण्डपमा चिया खाँदै क्रिकेटको कुरा गथ्र्यौँ। उहाँ क्यानसँग पनि नजिक हुनुहुन्थ्यो। एकदिन क्रिकेटका लागि कुनै गीत बनाउने विषयमा छलफल भयो। उहाँले क्यानसँग मिलेर बनाउँदा राम्रो होला कि भनेर एकपटक आफूले सल्लाह गर्ने बताउनुभयो। यसरी मैले गीत बनाएँ र क्यानसँग मिलेर रेकर्ड गर्यौँ।
तपाईंको ट्विटर ह्यान्डल खरेल ७७७ छ। पारस खड्काको जर्सी नम्बर पनि पारस७७ हो । जर्सीसँग कुनै सम्बन्ध छ ह्यान्डलको?
मेरो लक्की नम्बर ७ हो । मैले सुरुमा खरेल ७ राखेँ। तर त्यो अर्कैले राखिसकेको हरेछ। पारसको ट्विटर ७७ हो। त्यसकारण मैले ७७७ राख्दा चाहिँ कसैसँग मिलेन। फ्यानहरुले कहिलेकाहीँ त्रिपल सेभेनले डबल सेभेनको बारेमा लेख्यो भन्नुहुन्छ। रमाइलो लाग्छ।
एकपटक हेमन्त शर्मासँग बेटमा १० हजार जित्नुभयो भन्ने हल्ला छ नि?
प्रोफेस्नल्ली बेट चाहिँ मैले अहिलेसम्म लगाएको छैन। कहिलेकाहीँ साथीभाइसँग लगाउँछु। तपाईंले भनेको अघिल्लो वर्षको विश्वकप फाइनलको कुरा हो। मैले अष्ट्रेलिया र न्युजिल्याण्डमध्ये एउटा टोलीले विश्वकप जित्छ भनेको थिएँ, उहाँले यी दुईमध्ये कसैले पनि जित्दैन भन्नुभएको थियो। पछि त दुवै टोली फाइनलमा पुगे। मैले हेमन्तजीलाई पैसा लिन्न रमाइलोका लागि मात्र हो भनेको थिएँ । तर, उहाँले मान्नुभएन, ‘बेट इज बेट, फ्रेन्ड इज फ्रेन्ड’ भन्नुभयो। ६ महिनापछि भेट भएको बेला सम्झिएर हातमा राखिदिनुभयो।
२०१९ को विश्वकप (चलिरहेको) मा पनि त दुई वटा ‘ल्यान्ड’ र दुई वटा ‘इया’ सेमिफाइनलमा पुग्छन् भन्नुभएको थियो ठ्याक्कै मिल्यो होइन ?
हो । मेले भनेजस्तै इण्डिया, अष्ट्रेलिया, इङ्ल्याण्ड र न्यूजिल्याण्ड सेमिफाइनलमा पुगे।
सपोर्ट त अफगानिस्तानलाई गर्नुभएको थियो होइन ? एउटा पनि खेल जितेन नि ?
एउटा भए पनि खेल जितिदिओस् भन्ने हो। किनकि अफगानिस्तान नेपालजस्तै हो। हिजो नेपालका लागि प्राय: खेलमा अफगानिस्तान तगारो बनेको छ। यदि उसले १–२ वटा भए पनि खेल जितिदियो भने त आईसीसीको आँखा खुल्थ्यो नि नेपाल, युएई, स्कटल्याडजस्ता देशहरु पनि छन् है भनेर। त्यसैले नेपालको फाइदाका लागि सपोर्ट गरेको हुँ।
२३ असार २०७५ मा तपाईंले एउटा ट्विट गर्नुभएको थियो– एकदिवसीय मान्यता पाएको देशलाई अष्ट्रेलिया वा इण्डियासँग नखेलाएर भुटानसँग खेलाएर आईसीसीले यो के रमिता देखाएको हो ? किन त्यति आवेगमा आउनुभएको?
हो त। कहिलेकाहीँ आईसीसीईले पैसा र पावर मात्र हेर्छ कि जस्तो लाग्छ। मुख्य कार्यालय इङ्ल्याण्डबाट हटाएर दुबईमा किन ल्यायो? भन्ने प्रश्न यसकै सेरोफेरामा घुम्न सक्छ । बिआईसीसीको हालिमुहाली छ। नेपालसँग भारतले कुनै खेल खेल्नुपर्यो भने जुनियर खेलाडी पठाइदिन्छ। हो, हाम्रो देशको आर्थिक अवस्था कमजोर छ, क्यान तथालिंग छ। तर, एक्स्पोज त गर्नुपर्यो नि। मास्टर्स र डिप्लोमा, डिप्लोमा र इन्टर्न कहिल्यै मिल्दैन। भारत र नेपाल भनेको मास्टर्स र डिप्लोमा हो भने भुटान र नेपाल भनेको इन्टर्न र मास्टर्स। वान डेको मान्यता पाइसकेको नेपाललाई दुबई, आयरल्याण्डसँग खेलाइदिओस् न बरु। के जान्५ आईसीसीको। आयरल्याण्ड यहाँ हुत्तिएर आउँछ। किन कि त्यहाँ क्रिकेट हेर्ने मान्छे नै हुँदैनन्।
नेपाली क्रिकेटका कुन–कुन खेलाडीलाई फलो गर्नुहुन्छ ?
सबैलाई गर्छु। धेरैलाई व्यक्तिगत रुपमा चिन्छु पनि । नयाँ आएका खेलाडीलाई समेत म फलो गरिरहेको हुन्छु। अन्डर–१६ मा कोही चम्कियो भने पनि कहाँ को रहेछ, के रहेछ भनेर उसको नालिबेली जान्न मन लाग्छ। अर्को कुरा नेपाली खेलाडीहरु जितको भोका छन्, सबैमा केही गरौँ भन्ने भावना छ। त्यसैले सबै खेलाडी अनुशासित पनि छन्। खुसी लाग्छ।
कुन–कुन राष्ट्रिय खेलाडीलाई भेट्नुभएको छ अहिलेसम्म? उनीहरुसँग के–कस्तो कुराकानी हुन्छ?
राजु खड्का, विनोद दास, पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, सोमपाल कामी, सन्दिप लामिछाने, बसन्त रेग्मी, प्रदीप ऐरीलगायतका धेरैसँग भेटेको छु। क्रिकेटको कुरा हुन्छ। टिमबारे अपडेट लिन्छु। कहिलेकाहिँ स्टेडियमको कुरा पनि हुन्छ। कहिले व्यक्तिगत मात्र पनि होला। एकपटक मैले पारसजीलाई नेपालको खेलाडीलाई आईपिएलमा सहभागी गराउने कुनै सम्भावना छैन भनेर सोधेको थिएँ। उहाँ त्यस्तो भइदिए त राम्रै हुन्थ्यो नि भनेर हाँस्नुभयो। यस्तै हो।
नेपालले खेल हारेको क्षण भक्कानो छुट्नेगरी कहिल्यै रुनुभएको छ ?
हार्दा भावुक भएको छु। बरु खेल जित्दा रोएको छु। टार्गेट १४५ रनको थियो। हङकङसँग नेपालले विश्वकप टि–२० छनोट खेल खेल्दै थियो। नेपाललाई अन्तिम ओभरमा १३ रन चाहियो। शरदको १ छक्का, १ चौकासहित १२ रनको योगदानमा नेपालले खेल जित्यो। छक्का हानेपछि पनि अर्को बाउन्ड्री लागिदिए हुन्थ्यो भन्ने लागेको थियो। चौका लाग्यो। मेरो आँखाबाट आँसु रोकिएन। आँखामा टिलपिल आँसु आएर रोएको होइन, मज्जैसँग रोएको हो। श्रीमती हेरेको हेरेइ भइन्। त्यसदिन मेरो क्रिकेटप्रतिको प्यासन देखेर उनी छक्क परिन्।यसभन्दा पहिला म बहिनीको बिहेमा रोएको थिए।
क्रिकेट हेर्दा गहिराइमा पुगेर कुन कुरामा डुब्नुहुन्छ?
म क्याल्कुलेसनमा डुब्छु। रनरेट, अबको ओभर कसको, कति रन वा ओभर बाँकी छ, अबको योजना के हुन्छ आदि कुरामा। यसरी म अपडेटमा आनन्द लिन्छु। सानोमा रेडियो कानमा लगाएर कमेन्ट्री सुन्ने मान्छेहरु पनि भेटेको थिएँ। पछि आफैँलाई परेपछि थाहा भयो।
संगीत र क्रिकेट तपाईंको जीवनका दुई पाटाजस्तै भए। यी दुईलाई आफ्नो जीवनसँग जोडेर कसरी परिभाषित गर्नुहुन्छ?
संगीत मेरो कर्म, धर्म, प्रोफेसन, क्रियसन हो। तर, क्रिकेट मेरो क्रियसन होइन । म क्रिकेटको फलोअर्स हो । क्रिकेटमा प्यासन त छ तर, खेलाडीको रुपमा नभएर शुभचिन्तकको रुपमा । क्रिकेटमार्फत देशलाई चिनाउनुपर्छ, क्रिकेटको विकास तथा विस्तार हुनुपर्छ भन्ने हिसाबले। यतिसम्म कि प्रदीप ऐरीको क्रिकेट एकेडेमीबारे बुझेर पूर्वमा मैले एकेडेमी नै खोल्न आँटेको थिएँ। जग्गा हेरेर डिजाइन पनि गरिसकेको थिएँ। तर, त्यस्तै कारणले गर्दा पछि हट्नुपर्यो। यस्तै हो।
२०७२ असारमा नेदरल्याण्डमा भएको नेपालको पहिलो औपचारिक टी–२० र गत वर्ष युएईमा भएको एकदिवसीय क्रिकेट हेर्न ग्राउन्डमै पुग्नुभयो होइन?
युएईमा खेल हुँदा त्यसैदिन नेपालको फ्लाईट थियो। मलाई खेल हेर्न मन लाग्यो। साथीहरुलाई स्टेडियम जाने वातावरण बनाउन आग्रह गरेँ। त्यसपछि लगेज, ब्याग लगेर स्टेडियम पुगेँँ र नेपालको ब्याटिङ हेरेर त्यहाँबाट सिधै एयरपोर्ट गएँ। अर्को चाहिँ म बेल्जियम गएको थिएँ। त्यहाँबाट नेदरल्याण्ड २ घण्टाको दूरीमा पर्छ। नेपालको खेल भएको थाहा पाएपछि मलाई घुमाउन लान ठिक्क परेका साथीहरुलाई क्रिकेट हेर्न लग्न भनेँ।
सन्दीप लामिछानेको आईपीएल यात्रालाई कसरी लिनुभएको छ?
उसको प्रतिभा, मेहनत र भाग्यको मेल हो। किनकि धेरै खेलाडी प्रतिभा हुँदाहुँदै र मेहनत गर्दा गर्दै पनि अवसरबाट बञ्चित हुन्छन्। सही समय, उमेरमा क्लिक हुनु, माइकल क्लार्कको नजरमा पर्न सक्नु आदिलाई नियाल्ने हो भने उसको क्षमतामाथि भाग्य मिसिएको मान्नुपर्छ। र, उसको आईपीएल यात्रालाई म अलौकिक र उद्भूत भन्न रुचाउँछु। किनभने नेपालजस्तो देश जसलाई आईसीसीले भुटान, म्यानमार, चीनसँग खेल्न पठाउँछ। भारतीयहरु पनि नेपालमा पनि क्रिकेट खेल्छन् र भन्ने सोच्थेँ। त्यस्तो देशको खेलाडीले आईपीएलको यात्रा तय गर्नु नेपालीका लागि गौरवको कुरा हो। फेरि, उसले आफ्नो प्रतिभा पनि देखाउन सक्यो।
एकपटक इटहरीबाट कन्सर्टका लागि दमक जाँदा बाटोमै गाडी रोकेर क्रिकेट अपडेट हेर्न थाल्नुभएको थियो रे। कुन खेल थियो त्यति महत्वपूर्ण?
क्रिकेटकै लागि गीत रेकर्डिङ छाडेको, खाना नखाएको, सबै सुतिसकेपछि चिसो खाना खाएको, कन्सर्ट हुँदा–हुँदै क्रिकेट अपडेट भएको, रेकर्डिङ हुँदाहुँदै छाडेर अपडेट हेर्न थालेको घटना त कति छ कति। पहिलोपटक सन्दीपले आईपीएलमा चान्स पाएको थियो। मैले आफै गाडी ड्राइभ गरिरहेको थिएँ। खेल सुरु हुन थाल्यो भनेपछि बाटोमा गाडी रोकेर, एमरजेन्सी लाइट बालेर, थ्री जी अन गरेर अपडेट हेर्न थालियो। सन्दीपको ओभर सकिएपछि गाडी कुदायो अनि कतिबेला फेरि उसको ओभर आउँछ भनेर गाडी रोक्दै हेर्दै गर्याैँ। उसको बलिङ आयो भने फेरि गाडी रोकेर हेर्ने गर्याैँ।।
तपाईंको क्रिकेटप्रतिको प्यासन देखेर श्रीमतीले केही भन्नुहुन्न ?
उसलाई क्रिकेटमा खासै रची छैन। कहिलेकाहीँ फुटबल हेर्छ। कहिलेकाहीँ मैले हेर्दा हेरेको छ भने पनि लामो समय हेर्दा झ्याउ मान्छ। फेरि नबुझ्नेलाई त महाअल्छी लाग्छ नि यो खेल हेर्न। म एक्लै नै हेर्छु प्राय:। म क्रिकेटको क्रेजी फ्यान हो भन्ने उसलाई थाहा भएकाले आफूलाई मन नपरे पनि यसले नहेरोस् भनेर भन्दैन।
सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को पहलमा चितवनमा बन्न लागेको क्रिकेट रंगशालाका लागि जग्गा हेर्न तपाईं पनि जानुभएको थियो । रंगशाला निर्माणमा तपाईंको भूमिका के हो ?
नेपाली क्रिकेटको स्तर बृद्धिका लागि केही हुँदै छ भने म किन नजाने भनेर गएको हुँ। मेरो क्रिकेटप्रतिको झुकावले नै हो। अर्को कुरा यस्तो राम्रो कार्यमा मैले समर्थन गरेन भने भोलि किन नगरेको भनेर फ्यानहरुले नै मलाई औँला उठाउनुहुन्छ। क्रिकेटमा केही हुँदैछ भने धुर्मुस् मेरो साथी भनेर होइन कि हरेक ठाउँमा पुग्न म तयार छु।
तपाईं कहिलेकाहीँ मैत्रीपूर्ण खेलहरु पनि खेल्नुहुन्छ। क्रिकेट हेर्नु र खेल्नुमा कत्तिको फरक हुँदोरहेछ ?
खेल्नभन्दा हेर्दा मज्जा हुन्छ। हेर्दा बलिङ भएन, किन सर्ट बल गरेको, किन वाइड फालेको, चौका हान्ने बल मिस भयो, धैत नहान्नु पर्ने बल हानेर आउट भयो भन्नेजस्ता कुरा पढाउन आउँछ। तर, आफूले खेल्नुपर्यो भने गाह्रो हुन्छ। आफूले अनुभव गर्नु र भन्नु धेरै फरक कुरा हो नि।
६ जेठ २०७५ मा तपाईंले सन्दिपलाई लक्षित गर्दै भन्नुभएको थियो– दिल्लीले २० लाखमा गुन लायो। अब अर्को वर्ष करोडका करोड बोली लाग्छ अक्सनमा। तर, त्यस्तो केही भएन नि?
त्यत्तिकै खेलाडी टेस्ट मान्यता प्राप्त देशको भइदिएको भए लाग्थ्यो। सन्दीपको सवालमा नलाग्नु दुःखद् हो। तर, करोडको बोली लागे बराबर नै हो नि पहिलो खेलबाटै उसलाई प्रमुख खेलाडीको रुपमा उतार्नु। पैसा करोडको नभए पनि उसलाई दिएको जिम्मेवारी करोड पाउने खेलाडीको भन्दा कम थिएन।
तपाईं मिडियाभन्दा पहिले ट्विटरमा क्रिकेट खेलको अपडेट गर्नुहुन्छ। मैले तपाईंमाथि मानिसहरुलाई अट्याच गराउन यस्तो गरेको भन्ने आरोप लगाएँ भने कसरी प्रतिकार गर्नुहुन्छ?
त्यस्तो केही होइन। यदि मेरो स्वार्थ हुन्थ्यो भने त्यो समयमा क्रिकेटको बारेमा लेख्नुभन्दा मेरो यो गीत आउँदै छ हेरिदिनु भन्नेर लेख्दा बढी फाइदा हुन्थ्यो होला नि। क्रिकेट मेरो व्यक्तिगत चासो हो। भित्रैबाट मैले क्रिकेटका लागि लेखेको हो। मानिसहरुलाई ट्विटमार्फत अट्याच गराउने हो भने त विवादित कुराको बारेमा पनि लेख्न सक्थेँ। मैले वाह–वाही कमाउनका लागि केही लेखेको त छैन। राति नसुति–नसुती खेल हेर्ने, अपडेट गर्ने समय मैले संगीतका लागि दिएँ भने मलाई व्यक्तिगत रुपमा फाइदा हुन्थ्यो होला। त्यसैले मेरो प्यासनलाई स्वार्थसँग जोडर हेर्न मिल्दैन।
मास्टर्स पढ्दा कीर्तिपिुरमा क्रिकेट हेर्दा हेर्दै साथीहरुसँग झगडा गर्नुहुन्थ्यो रे । कारण के हुन्थ्यो ?
हाम्रो दुई ग्यांग हुन्थ्यो पाकिस्तान र भारत। सचिनका कारण म त्यतिबेला भारतलाई सपोर्ट गर्थेँ। यसै विषयमा साथीहरुसँग झगडा पथ्र्यो। एक दुई दिन बोलचाल नै बन्द हुन्थ्यो। सायद त्यो इगोको समस्या थियो।
तपाईंका फ्यानहरुले भनेजस्तै तपाईंलाई साच्चीकै ‘क्रिकेट मन्त्री’ बनाइयो भने के–के काम गर्नुहुन्छ ?
नेपालको क्रिकेट र क्यानको आन्तरिक व्यवस्थापन गर्ने, आईसीसी, एसीसी, बीआईसीसीसँग समन्वयनकारी भूमिका खेल्ने, ७–८ महिनामा तयार हुनेगरी प्रत्येक प्रदेशमा एक–एक वटा अन्तर्राष्ट्रिय मैदानहरु बनाउने, राम्रो खेल्ने देशलाई नेपालसँग खेल खेल्ने व्यवस्था मिलाउने, विदेशी खेलहरु पनि नेपालमा हुने व्यवस्था मिलाउने, हरेक गाउँ गाउँमा एकेडेमीहरु मार्फत क्रिकेट खेलाडीहरु उत्पादन गर्ने र उनीहरुलाई जिल्लासतरमा फाइट गराएर छनोट गर्ने, सरकारीसतरबाट घरेलु क्रिकेटलाई स्तरिय बनाउनेजस्ता कामहरु गर्छुजस्तो लाग्छ।
Shares
प्रतिक्रिया