ad ad

अन्तर्वार्ता


प्रहरीले सत्ता र प्रतिपक्ष हेरेर मुद्दा दर्ता नगरेको होइन : काठमाडौं प्रहरी प्रमुख ज्ञवाली (अन्तर्वार्ता)

प्रहरीले सत्ता र प्रतिपक्ष हेरेर मुद्दा दर्ता नगरेको होइन : काठमाडौं प्रहरी प्रमुख ज्ञवाली (अन्तर्वार्ता)

उजिर कार्की
बैशाख १५, २०७७ सोमबार १६:३१,

एक महिना लामो लकडाउनका बीचमा राजधानीमा प्रायः अपराधमा कमी आएको छ। घर झगडा, आत्महत्या र छिट्फुट चोरीका घटनाबाहेक ठूला अपराध यो बीचमा नभएको नेपाल प्रहरीको तथ्यांक छ।

तर लकडाउनकै बीचमा एउटा यस्तो घटना भयो जसले राष्ट्रिय राजनीतिसँगै नेपाल प्रहरीभित्र पनि ठूलै हलचल ल्यायो। अवकाश पाएको तीन महिना नपुग्दै प्रहरी प्रमुख सवेन्द्र खनाललाई सत्तापक्षका पूर्वमन्त्री र सांसदसँग मिलेर प्रतिपक्षी दलका सांसद सुरेन्द्र यादवको अपहरण आरोप लाग्यो।

राजनीतिक उत्तरचढावकाबीच भएको यो घटना आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा ठोक्किन पुग्यो। तर त्यही दिन हाजिर भएका काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले पूर्वआईजी समेत संलग्न रहेको भनिएको घटनाको जाहेरी दर्ता गर्न अस्वीकार गरिदिए।

प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि प्रहरीले सत्ताको निर्देशनमा कानुन अवज्ञा गरेको आरोप खेप्नुपर्‍यो। सोमबार जनता समाजवादीका नेताहरुको विरुद्ध जाहेरी लिएर गएको युवासंघको टोलीलाई पनि प्रहरीले फर्काइदियो।

लकडाउनकाबीच भएका यस्ता घटना र सुरक्षा चुनौतीका विषयमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम ज्ञवालीसँग नेपालखबरले गरेको कुराकानीः

आफ्नै पूर्वप्रमुखसहित दुई सांसद विरुद्धको जाहेरी किन दर्ता नगर्नु भएको?
व्यक्ति को भन्दा पनि के मुद्दा भन्ने विषय हाम्रो लागि मुख्य हो। त्यसका पक्ष को छन्, विपक्षमा को छन् भन्ने गौण कुरा भयो। यहाँले भन्नु भएको जुन मुद्दा छ, त्यसको घटनास्थल यहाँ होइन। सम्बन्धित जिल्लामै गएर मुद्दा दर्ता गर्न सकिन्छ। उहाँहरु त्यहीँ जान सक्नुहुन्छ। यदि त्यो विषय काठमाडौंको थियो भने हामी दर्ता गर्थ्यौँ।

जहाँ घटना भएको हो, त्यही ठाउँमा गएर मुद्दा दर्ता गर्न बाधा व्यवधान नभएकाले त्यहीँ जानुपर्छ भन्ने कुरा गर्‍यौं। प्रहरीले दर्ता नगरेको भन्ने होइन, महोत्तरीमा पनि प्रहरी कार्यालयमै दर्ता गर्नु भनेका छौं।

Shyam_gyawali_9.jpg

आफ्नो पूर्वप्रमुखलाई जोगाउन र शक्तिको प्रभावमा परेर प्रहरीले यो मुद्दा दर्ता नगरेको भन्ने आरोप लाग्यो नि त!
नेपाल प्रहरीले मुद्दा दर्ता गरेन भन्ने विषय हुँदै होइन। महानगरीय प्रहरी परिसरले यो मुद्दा सम्बन्धित जिल्लामै दर्ता गर्नुस् भनेको मात्रै हो। उहाँले सम्बन्धित जिल्लामा गएर दर्ताको प्रयास गरेको अवस्था नै छैन। यो विषय नेपाल प्रहरीले अगाडि बढाएन भन्नु नै गलत हो।

तर, मुद्दा दर्ता नगर्दा प्रहरीको छवि बिग्रियो नि होइन र?
यसलाई त्यसरी लिन मिल्दैन। जसले यो बुझ्नु भयो, उहाँले प्रहरीको काम कारबाहीको बारेमा जानकारी नभएर त्यसो भन्नु भएको हो। कतिपयको पूर्वाग्रह पनि हुन सक्छ। त्यसै पनि यस्ता मुद्दामा पक्ष र विपक्षमा उभिने चलन छ। एउटा पक्षलाई यिनीहरुको विरुद्ध प्रहरी गइदिए हुन्थ्यो भन्ने थियो। अर्को पक्षलाई यो मुद्दा दर्ता नगरिदिए हुन्थ्यो भन्ने पनि थियो होला। त्यो उनीहरुको अपेक्षाको कुरा भयो। तर, हामीले कानुन अनुसार काम गर्ने हो।

अनि सोमबार अर्को पक्षले बाबुराम भट्टराईलगायतका नेताविरुद्ध आज ल्याएको जाहेरी पनि दर्ता गर्नु भएन, किन?
उहाँहरुले साइबर क्राइममा जाहेरी ल्याउनु भएको थियो। कुन पक्ष कुन विपक्ष हाम्रो प्रधान विषय होइन। यो साइबर क्राइममा मुद्दा चल्ने अवस्थाको घटना थिएन। गाली बेइज्जतीसँग सम्बन्धित विषय थियो। त्यो हाम्रो भन्दापनि अदालतको क्षेत्राधिकारको विषय भएकाले उतै जान सुझाएका छौं। हामीले कसको हेर्ने, कसको नहेर्ने भन्ने हुँदैन। को सत्तापक्ष को प्रतिपक्ष, को कसको मान्छे भन्ने हेरिँदैन। हामी तटस्थ व्यवहार गर्छौं।

Shyam_gyawali_4.jpg

देश एक महिनाभन्दा लामो समयदेखि लकडाउनमा छ। यस्तो अवस्थामा काठमाडौंका सुरक्षा चुनौती के के देख्नु भएको छ?
अहिले हामीले लकडाउनलाई व्यवस्थापन गर्ने मात्रै हो। यसलाई कार्यन्वयन गराउने, मानिसहरुलाई सचेत गराउने, प्रतिबन्धित कामहरु गर्न नदिने, सामाजिक दूरी कायम गराउने, अति आवश्यकीय खाद्य वस्तु बिक्रिवितरणको व्यवस्था गराउने र नागरिकको अप्ठेरोमा सहजीकरण गरिरहेका छौं। राहत वितरणमा पनि प्रहरीले सहयोग गरिरहेको छ। भोलिका दिनमा हुनसक्ने जोखिम पनि आकलन गरेर त्यसका लागि पनि सोचिरहेका छौं।

लकडाउनका बेलाचाहिँ कस्ता अपराधहरु देखिएका छन्?
अहिले त अपराध शून्य बराबर नै छ। अहिले भनेको आत्महत्याका घटनामा कमी आएको छैन नभए अरु सबै प्रकारका अपराधमा कमी आएको छ। सवारी दुर्घटनामा कमी आएको छ, झैझगडाका घटना छैनन्, चोरी पनि अहिले कम भइरहेको छ। पारिवारिक घटनामा पनि कमी आएको छ।

लकडाउन लम्बिँदै गए के समस्या थपिएला प्रहरीलाई?
भोलि खाद्य अभावका कुरा आउन सक्छन्। सामग्री ढुवानीमा समस्या हुन सक्छ। बेरोजगारी बढ्छ त्यसपछि अन्य आपराधिक घटना बढ्न सक्छन्।

सामान्य अवस्थामा चाहिँ राजधानीको सुरक्षा चुनौती के हो?
हिजोको दिनमा भइरहेका आपराधिक घटना भोलिका दिनमा पनि रहन्छन्। चोरी, झैझगडा, आर्थिक अपराध, वैदेशिक रोजगारका ठगी, महिला बालबालिकामाथिका अपराध, साइबर क्राइम लगायतका घटना धेरै हुन्छन्। अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम हुने भएकाले तिनको सुरक्षा पनि चुनौतीपूर्ण हुन्छ।

अहिले कोरोना संक्रमणको जोखिमका कारण राज्यविरुद्धका गतिविधि रोकिएको छ, भोलि सामान्य अवस्थामा गएपछि त्यस्ता समूहका गतिविधि पनि बढ्ने चुनौती हुनसक्छ।

Shyam_gyawali_10.jpg

प्रहरी चेनअफ कमान्डमा कडाइका साथ चल्ने संगठन हो। यहाँ एउटा प्रमुख परिवर्तनले धेरै अर्थ राख्छ। राजधानीबासीले तपाईंको नेतृत्वबाट के फरक महसुस गर्न पाउँछन्?
नेपाल प्रहरीमा नेतृत्व परिवर्तन हुँदा सेवा प्रवाहमा परिवर्तन आउनु पर्ने खास कारण म देख्दिनँ। यहाँ व्यक्ति प्रधान हुँदैन, व्यवसायिक रुपले आफ्नो कार्यसम्पादन गर्ने कुरा हो। सम्पादन गर्ने कुरामा कोही अलि कम र कोही अलि बढी सक्रिय होला त्यसले केही फरक पर्ला। भोलिका दिनमा पनि हामी राजधानीलाई अपराधरहित क्षेत्र बनाउन दत्तचित्त भएर लाग्छौं।

त्यसका लागि तपाईका केही योजना पनि छन्?
विशेष योजना नै ल्याएर केही गर्नुपर्छ जस्तो मलाई लाग्दैन। स्थापित संस्था हो। हामीले कानुनले निर्देशित गरेका काम गर्ने हो, ऐन नियमबाटै हामी निर्देशित हुने हो। त्यसको साथ साथै प्रधान कार्यालयले अख्तियार गरेका रणनीतिक योजनाहरु हुन्छन्। तिनको कार्यान्वयन गर्ने हो। त्यति गर्दाखेरि सुरक्षा र अपराध न्युनिकरण स्वभाविक रुपले भएर जान्छ।

नागरिकले पनि प्रहरीबाट यसले के फन्डा लिएर आयो, के नयाँ कुरा लिएर आयो भन्नेतिर उहाँहरुको ध्यान हुन्छ जस्तो मलाई लाग्दैन। हामी सुरक्षित छौं कि छैनौं, हामी बाहिरफेर रात साँझ हिड्ने वातावरण छ कि छैन भन्ने उहाँहरुको चासो रहन्छ। अन्यायमा परेका व्यक्तिको न्यायमा सहजीकरण हुन्छ कि हुँदैन भन्नेमा चासो रहन्छ। त्यसैमा केन्द्रित भएर हामी लाग्छौं।

नागरिकप्रति चाहिँ प्रहरीको के अपेक्षा छ?
समुदाय र प्रहरी मिलेर मात्रै समाजमा शान्ति कायम गर्न सकिन्छ। अपराध न्यूनीकरण समुदायको सहयोगबिना सम्भव नै छैन। प्रहरीलाई आइसोलेसनमा राखेर समुदायले शान्ति सुरक्षाको अपेक्षा गर्न मिल्दैन। हामीले हातमा हात मिलाउनै पर्छ। नागरिकबाट जति बढी सहयोग पाउँछौँ, उहाँहरुलाई उति नै बढी त्यसको ब्याजसहित फिर्ता गर्छौं।

नागरिक र प्रहरीबीचमा विश्वासको कमी भयो भने हामीलाई सूचना आउँदैन। सूचना आएन भने उहाँहरुको समस्यामा हामी मलम लगाउन सफल हुँदैनौं। यसले अन्ततः नागरिकलाई नै समस्यामा धकेल्छ।

त्यसैले नागरिक र प्रहरीबीचको साझेदारीको विकल्पै छैन। उहाँहरुले प्रहरीलाई सहयोग गर्ने भनेको आफ्नै लागि हो। किनसक हामी पनि त नागरिककै सुरक्षाका लागि खटिने हो। हाम्रा कमीकमजोरी औंल्याइदिनुस्, हामी सच्याउँछौं, प्रहरीको व्यवहार सुधारमा पनि ध्यान दिन्छौं। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .