ad ad

अन्तर्वार्ता


वीपीले समेत मलाई प्रजातान्त्रिक बनाउन सक्नु भएन: योगेश्वर अमात्य (अन्तर्वार्ता)

वीपीले समेत मलाई प्रजातान्त्रिक बनाउन सक्नु भएन: योगेश्वर अमात्य (अन्तर्वार्ता)

कृष्ण आचार्य
असार १७, २०७६ मंगलबार ४:४७,

योगेश्वर अमात्य जीवनलाई आफ्नै लयमा चलाउँछन्। कुनै नियम वा बन्धनमा नबाँधी, स्वतन्त्र। अझ भनौं उन्मुक्त। काठमाडौं सहरमा उनको परिचय गायकभन्दा बढी मदिरा सौखिनको रुपमा स्थापित हुँदै गएको छ। योगेश्यर जति बिन्दास छन्, त्यति नै निश्चल पनि। हो उनी बनावटी कुरा गर्दैनन्। नेपालखबरसँग उनले जीवनका अहिलेसम्म नखोलिएका पाटाबारे बोलेका छन्ः

तपाईं गायक, संगीतकार, फोटोग्राफर, रेकर्ड निर्मातामध्ये सबैभन्दा बढी कुन हो?
यस्तो गाह्रो प्रश्न सोध्नुभयो कि मेरो पाँच वटा औँलामा सबैभन्दा महत्वपूर्ण कुन भनेर भनौं। महत्वपूर्ण बुढीऔँला नै हो। किन कि त्यो नभई अरु औँलाको मर्म मर्छ। मलाई सबै मेरा बुढीऔँला हुन्जस्तो लाग्छ।

तपाईंको गायन होस् या जीवनशैली अरुभन्दा पृथक छ भनिन्छ। के कुराले आफू अरुभन्दा फरक छुजस्तो लाग्छ?
मैले आफूलाई राम्रो गायक ठान्दिनँ। गाउन मलाई निकै मनपर्छ त्यो अर्कै कुरा भयो। शब्दहरु गाउन मनपर्छ र हरेक शब्दलाई न्याय दिनुपर्छ भन्ने मान्यता राख्छु। जीवनशैलीका हिसाबले त म विन्दास मान्छे हुँ।

लन्डनबाट नेपाल आउनासाथ आन्दोलन (गुठी विद्येयकको विरोध)मा उत्रिनुभयो नि?
म देशको अलि बढी चिन्ता गर्छु। कति फेसबुकमा मात्र बोलिरहनु भनेर आएको हुँ। मेरो उपस्थितिले अरुलाई पनि केही प्रेरणा मिलोस् भन्ने पनि हो। गुठीहरु संस्कृति र सामाजिक जीवनसँग जोडिएका छन्। गुठीको नाममा रहेको जग्गा भोगचलन गरिरहेका किसानको नाममा गर्ने कुराले परम्परागत धार्मिक तथा सांस्कृतिक धरोहरको अस्तित्व सखाप हुन्छ। मलाई मेरो आमाले बिहान ४ बजे उठाएर दैनिक पशुपति लानुहुन्थ्यो। गुहेश्वरी मन्दिरमा मेरो बुबाले बनाएका चाँदीका झ्यालहरु देखाउनुहुन्थ्यो। त्यही समयदेखि मेरो ब्रेन वास भयो कि भन्ने लाग्छ। त्यसैले पनि आफ्नो देशको परम्परा, धर्म र संस्कृति बचाउने दायित्व मेरो भागमा पनि परेको बोध गरेर म गुठी आन्दोलनमा होमिएँ।

आन्दोलनमा प्रहरीलाई फुलका गुच्छा दिनुभयो। धेरैले बलिउड फिल्म ‘मुन्ना भाई’को नक्कल गरेको भनेँ नि?
अँ, मैले पनि सुनेँ। मैले यो फिल्म हेरेको छैन। हुन त हाम्रो आन्दोलनमा प्रहरी नपठाएको भए बेस हुन्थ्यो तर पठाइसकेपछि उहाँहरुलाई हाम्रो आन्दोलन शान्तिपूर्ण हो, हामी झगडा गर्न आएका होइनौँ भन्ने संकेत गर्नका लागि फूल दिएको हुँ। यो सोच मलाई रुसका अन्तिम कम्युनिष्ट राष्ट्रपति मिखाइल गोर्भाचोभको पेरेस्त्रोइका (सोभियत संघको कम्युनिष्ट पार्टीभित्रको सुधारको एक आन्दोलन) बाट आएको हो। खासमा प्रहरी र हामी दुश्मन होइनौँ भन्न खोजेको हो। अर्को कुरा आन्दोलनकारी देख्दा उनीहरुलाई हुने तनाब र पीडामा मलम लगाउने प्रयास गरेको हुँ। फूल समाएपछि उनीहरुको हाँसोले मलाई पनि आनन्द दियो।

तपाईं पहिला रक्सी पिएपछि राष्ट्रभक्ति गीत गाउनुहुन्थ्यो। आजभोलि इतिहास पढ्नुहुन्छ रे। यो परिवर्तन कसरी आयो ?
बच्चैदेखि मलाई इतिहासमा रुचि थियो। सानोमा मलाई मेरो अंकल र बुबाले विभिन्न समय तथा कालखण्डका मितिहरु सोध्नुहुन्थ्यो। मलाई भारत र नेपालको धेरै इतिहास थाहा छ। नेपाल र बेलायतको मैत्री सम्बन्ध पनि २०० वर्ष होइन २९० वर्ष हुनुपर्छ भन्ने कुराको पनि मैले अध्ययन गरिरहेको छु।

रक्सी लागेपछि देशभक्तिका गीत आउनुको कारण चाहिँ के थियो?
कसरी आउँछ, कसरी आउँछ। कसैलाई प्रेमिकाको याद आउला, कसैलाई नाच्न आउला। मलाई लाग्छ रक्सीले आफूभित्रको उकुशमुकुशलाई बाहिर ल्याउँछ। म राष्ट्रवादी भएकोले त्यस्ता गीत आउँछन् होला।

yogeshawor amatya

तपाईं आफैँ गायक हुनुहुन्छ। तर संगीतभन्दा बढी समाचार सुन्नुहुन्छ। यस्तो किन?
मलाई शान्त मन पर्छ। गीतले धेरै आवाज निकाल्छजस्तो लाग्छ। भन्दाखेरि नराम्रो सुनिन्छ होला तर मलाई चराचुरुङ्गी र बच्चाहरु हाँसेको आवाजबाहेक अरु आवाज नमीठो लाग्छ। समाचार त जीवनको एउटा अभिन्न अंगजस्तै हो। त्यसैले म प्राय बीबीसी सुन्छु। पुस्तकहरु पढ्छु।

वर्षको ३ महिना लन्डन बस्नुहुन्छ। कुनै खास कारण छ ?
सन्तानलाई दाल, भात, कुखुराको मासु र गोलभेडाको अचार बनाएर खुवाउन बस्ने हो। नेपाली आमाको माया देखाउने शैली नै त्यही रहेछ। बच्चाहरुलाई पनि आमाको हातले बनाएको खान पाउँदा छुट्टै आनन्द आउने होला। त्यसकै लागि म विदेश जाने हो। श्रीमतीले मलाई एक्लै नेपाल छाड्यो भने रक्सी धेरै खान्छ भनेर तानेर लैजान्छिन्।

पछिल्लो समय सामाजिक सञ्जालमा सरकारविरुद्ध निकै खरो भएर उभिनुभएको छ नि?
म पहिल्यैदेखि गलत कामको विरोधी नै हुँ। मैले गलत कामलाई गलत र सही कामलाई राम्रो भनिदिँदा त्यसबारे अरु २–४ जनाले पनि थाहा पाओस् भन्ने हो।

तपाईंलाई धेरैले ‘योगी दाइ’ भनेर बोलाउँछन्। यो उपनाम कसरी रहन गयो?

योगेश्वरभन्दा अलि फर्मलजस्तो लागेर होला सायद। पहिल्यैदेखि घरमा र साथीहरुले पनि यही नामले बोलाउँथे। मलाई पनि असहज लाग्दैन।

तपाईं गाडीको निकै सौखिन हुनुहुन्छ। अहिलेसम्म कतिवटा गाडी परिवर्तन गर्नुभयो?
म बच्चा हुँदा मेरो घरमा ११ वटा गाडी थिए। अहिले मसँग धेरै छैन। मैले ४–५ वटा किनेँ हुँला। म जन्मदै घरमा मर्सिडिज, सेभ्रोले, फोर्ड, फक्सवागन, जीप थिए। होन्डा सिभिक, मित्सुबिसीको पजेरो, टोयटाको ल्यान्डरोभर पहिलै चढिसकेँ। अहिले प्रायः ज्यागुअर एसयुभी र मित्सुबिस पजेरो प्रयोग गर्छु।

 yogeshawor amatya1

राज दरबारसँग किनेका गाडी चाहिँ अहिले कता छन्?
त्यो सबै स्क्रयाच भइसक्यो। एउटा मर्सिडिज चाहिँ बिग्रिएर बनाउन दिएको छु। अरु पनि दरबारका गाडी मैले किन्न पाएँ भने एउटा संग्राहलय बनाउने सोच पनि छ।

‘नर्थ पोइन्ट दार्जिलिङ’मा पढ्दा कलेजले तपाईंलाई रेस्टिकेट गरेको कुरा के हो ?
मेरो क्लासमा एउटा अफाक खान भन्ने साथी थियो कलकत्ताको। उसलाई हामीभन्दा एक क्लास जुनियर च्याङ थरको कलकत्ताकै चिनियाँ विद्यार्थीले कुटेछ। साथी मलाई भन्न आयो। आफू काठमाडौंको गोर्खे उसलाई फटाफट हान्दिएँ। ऊ रुँदै फादरलाई भन्न गएछ। फादरले मलाई ‘गेट आउन फ्रम माई स्कुल’ भने। मैले मेरो गल्ती छैन पहिले उसले साथीलाई कुटेर मैले कुटेको हुँ भनेँ। स्कुलका क्याप्टेन लगायत अन्य टिचरले पनि मेरो सपोर्ट गरेपछि १५ मिनेटमा मेरो रेस्टिकेट फुकुवा भयो।

बरिष्ठ पत्रकार किशोर नेपालको परिचय एउटा ब्ल्याक लेबल ब्रान्डका रुपमा छ। तपाईंले उहाँलाई बियर खुवाउनुभयो भन्ने आरोप छ नि?
समयअनुसार हुन्छ। दाइ जसले जस्तो भने पनि नाई नभन्ने मान्छे हो। गर्मीमा चिसो बियर खानु स्वभाविकै होला। अरु त्यस्तो केही होइन।

रक्सीले तपाईंका सेलहरु खोल्छन् रे हो ?
एक हिसाबले रक्सी पनि अमृत नै हो। एक मात्रा अमृत हुन्छ, दुई मात्रा औषधि हुन्छ भने तीन मात्रा बिख हुन्छ। सबैको मात्रा आफ्नो आफ्नो हुन्छ। साथीहरुले भनेअनुसार १० प्याकसम्म त मेरो आँखा सेतै हुन्छ। मैले रक्सी खाँदा १ बोत्तल त एक्लै खान्छु। त्यसपछि बल्ल मभित्रको म बाहिर आउँछ।

एकपटक पूर्व राजा ज्ञानेन्द्र शाहसँग खिचेको फेल्फी खुबै चर्चामा आएको थियो। तपाईंको उहाँसँगको सम्बन्ध के हो?
मलाई धेरैले यो राजाको नजिक छ भन्छन् तर मैले राजासँग ब्यक्तिगत भेट कहिल्यै गरेको छैन। पहिला उहाँको जन्मदिनमा एकपटक सेल्फी खिचेको थिएँ। पछि एक मित्रको जन्मदिनको पार्टीमा श्रीमतीसँग गएको थिएँ। फोटो खिचेँ। हामीले फोटो खिच्दै गर्दा कसैले हाम्रो फोटो खिचिदिनुभएछ। त्यो भाइरल भयो।

ज्ञानेन्द्रसँग कुराचाहिँ गर्नुभएन ?
त्यस्तो भिडभाडमा के कुरा गर्ने। अलिअलि भयो होला। उहाँले के छ भनेर सोध्नुभयो मैले सबै ठिकै छ अनि हजुरको के छ भनेर सोधेँ। उहाँले आफू पनि ठिकै रहेको बताउनुभयो। यस्तै त हो नि।

yogeshawor amatya2

तपाईं विभिन्न कार्यक्रमहरुमा जानुहुन्छ। गीत गाएवापत कुनै शुल्क लिनुहुन्न। कुनै ठाउँमा उल्टै दिएर आउनुहुन्छ । किन हो?
म खासमा आफ्नो कलाको मोल तोक्न सक्दिनँ। कार्यक्रमहरुमा गीत गाउनकै लागि धेरै हिँड्दिन पनि। कतै गएको छु भने कुनै च्यारिटीका लागि गरिएको कार्यक्रममा उल्टै सहयोग गरेर आउँछु। मेरो हृदय कोमल छ भनेर बुझ्नुस् न।

तपाईं सधैँ विन्दास मान्छे तर एकपटक श्रीमतीले घडी हराइदिँदा निकै रिसाउनुभयो रे हो?
हो। मैले उसलाई गाली पनि गरेँ। एउटा घडी मैले ४०० डलरमा किनेको थिएँ। अर्को बुबाको बिहेमा राजा त्रिभुवनले दिएको घडी थियो। श्रीमतीले मसँग नसोधी सफा गर्न लगेर हराइदिइन्। पछि म खोज्न पनि गएँ तर भेटिएन।

तपाईंलाई मानिसहरुले अभद्र, बेपर्वाह, मदहोसभन्दा कस्तो लाग्छ ?
मलाई हाँस पनि उठ्छ र खुसी पनि लाग्छ। हाँस उठ्ने कारण के भने हिराको पनि ५८ वटा मुख हुन्छन्, मानिसहरुले उसको एउटा पाटो देखेका हुन्छन्। जुन पाटो देख्छन् त्यसकै पछि लाग्छन्। खुसी लाग्छ, उनीहरुलाई मेरोबारेमा केही थाहा रहेनछ भनेर। म आफूले आफैँलाई चिनाउने प्रयास पनि गर्दिन।

आज भनिदिनुस् न तपाईंको जीवनको लुकेको पाटो ?
त्यो नभन्दै राम्रो हुन्छ।

भन्नै नमिल्ने हो र ?
काठमाडौंमा तेक्वान्दो भित्र्याउने म हुँ भन्ने कसैलाई थाहा छैन। एनआरटीबाट ए डिभिजन लिग फुटबल खेलेको मान्छे हुँ म।

वीपी कोइरालासँग सँगै बसेर रक्सी पिएको मान्छे पनि हो?
त्यो पनि हो। वीपीले प्रजातान्त्रिक बनाउन नसकेको मान्छे पनि हो। वीपीले मलाई ‘योगी कम्युनिजम इज अ लक्जरी फर आइडल माइन्ड’ भन्नुहुन्थ्यो। म उहाँको कुरा सुनेरै उडाइदिन्थेँ। म उहाँलाई आदर पनि गर्थेँ। मलाई उहाँले आफ्नो ३ वटा हटलाइन नम्बर दिनुभएको थियो तर मैले कहिल्यै फोन गरिनँ। म वीपीलाई गाडीमा आफैँ पुर्याउन जान्थेँ। सानै भए पनि म उहाँसँग राजनीतिक बहस गर्थेँ। त्यसैले पनि उहाँ मलाई मन पराउनुहुन्थ्यो। हामी सँगै बसेर खाँदा उहाँभन्दा धेरै रक्सी मै खाइदिन्थेँ।

जीवनमा कत्तिको रुनुहुन्छ ?
म धेरै रुन्छु। रुनकै लागि हलमा धेरै भिड नभएको मौका फिल्म हेर्न जान्छु। मेरो लागि फिल्म हल गुफा हो, ध्यान हो। मलाई खुसीमा रुन मन लाग्छ। अस्ती भर्खर ‘सारेगमप’मा नेपाली फुच्चेको प्रस्तुति हेर्दा पनि रोएँ।

धेरैलाई थाहा नभएको रातो मछिन्द्रनाथ रथको ४ किलो सुन काण्ड बताइदिनुस् न ?
केही साथीहरु म कहाँ आएर रथमा सुन हाल्नुपर्यो भने। मैले अहिलेसम्म क–कसले हालेको छ भनेर सोधेँ। कसैले हालेका रहेनछन्। कति चाहिन्छ भनेर सोधेको १६–१७ तोला यस्तै कति भने। म सुन हाल्न तयार भएँ। पछि त मैले सुन हाल्न लागेको कुराले खैलाबैला भएछ। फेरि मलाई सुन हाल्न नदिने कुरा आयो। मैले महाभारतको कहानी सुनाएर पठाएँ। फेरि उनीहरु तपाईंलाई सुन हाल्न दिन सहमत भए भनेर आए। मैले अलि बाक्लो सुन राख भनेर अलिकति बढी सुन दिएँ। एउटा तामाङ भाइलाई जिम्मा दिइएको रहेछ। उसले आधा सुन खाएर आधा मात्र राखेछ। अहिले रथमा हेर्नुस् त तामाजस्तो देखिन्छ।

yogeshawor amatya3

कहिलेकाहिँ आफूलाई ‘आउट अफ फ्रेम’ भएजस्तो लाग्दैन?
म अरुभन्दा फरक छु। मेरो सोच फरक छ। मेरो सोचाई धेरैलाई मन नपर्न सक्छ, धेरैले नबुझ्न सक्छन् तर म यस्तै छु।

तपाईंलाई आफ्नै स्वर पनि मन पर्दैन होइन?
पर्दैन। के नमिलेको जस्तो, मेरो स्वर होइनजस्तो लाग्छ। अरु सबैको मिलेको हुन्छ र मेरो के मिल्दैन भन्ने लाग्छ। अरुजस्तो आफ्नो स्वर आफै सुनेर मस्किने मान्छे होइन।

‘जरुर साथी म पागल, यस्तै छ मेरो हाल’ लक्ष्मीप्रसाद देवकोटाको यो कवितालाई आफ्नो जीवनसँग दाँज्नुभएको छ?
अलि फरक गर्ने मान्छेलाई सबैले पागल नै भन्छन्। सिद्धिचरण श्रेष्ठलाई पनि बौला कवि(काजी) भन्थे। मलाई पनि त्यस्तै भन्छन्। एक पटक त समाचार पनि आएको थियो, योगेश्वर जतिबेला पनि हाँसेर हिँडिरहेको हुन्छ त्यो कतै पागल त छैन भनेर।

त्यसो भए आफ्नो जीवनलाई कहिल्यै चुरोटसँग दाँज्नुभएको छ?
युवामा सबैले दाँज्छन्। मेरो जीवन चुराटको धुँवाजस्तै हो कतिबेला उडिजान्छ थाहा हुँदैन भनेर। मैले पनि दाँजे हुँला।

कुमार नगरकोटी र केशव स्थापितभन्दा आफूलाई बढी विन्दास ठान्नुहुन्छ या कम?
केशवभन्दा त म बढी नै छुजस्तो लाग्छ। उहाँ अन्तर्वार्तामा बोल्दा पनि डाटा आफूसँग राखेर कुरा गर्नुहुन्छ। अहिले पनि युट्युबमा हेर्ने हो भने उहाँको अन्तर्वार्ता काठमाडौंलाई कसरी स्मार्ट बनाउने भन्ने नै धेरै होला। त्यसैले उहाँ मलाई युनिक लाग्छ । कुमार नगरकोटीलाई म चिन्दिनँ।

कुनै समय फेसबुक रमाइलोका लागि चलाउँछु भन्नुभएको थियो। तर अहिले तपाईंको फेसबुकमा सिरियस कुराहरु बढी देखिन्छन् नि?
पहिला–पहिला त्यस्तै थियो। कसैले के फोटो राख्ने कसैले के राख्ने अनि मैले पनि आफूले खाएको फोटो राखिदिन्थेँ। मानिसहरु के देखाइरहेको छस् यस्तो भन्न थाले। पछि हो जस्तो लाग्यो। त्यसपछि आएर अहिले जनचेतनाका लागि चलाउँछु।

तपाईंको नयाँ गीत नआएको ८ वर्ष पुगेछ। अझै कति समय प्रतिक्षा गर्नुपर्ने हो?
अहिले जाँगर चलेको छैन। गीत तयार छ अब भोकल मात्र हाल्न बाँकी छ तर म निकै अल्छी छु। पहिला रक्सी खायो कि मलाई गिटार बजाइहाल्न मन लाग्थ्यो। आजभोलि रक्सी पिएँ भने ब्रिटेनहरुलाई उनीहरुकै इतिहास भन्छु। युरोपीयनहरुलाई उनीहरुको इतिहास भनिदिन्छु। उनीहरु चकित हुन्छन्। अर्थात् आजभोलि म अध्ययनमा बढी समय खर्चिरहेको छु।

तपाईं लामो समय बिन्दास भएर हिँड्नुभयो। अहिले फेरि  अलि सामाजिक, अलि सिरियस विषयमा तपाइँको संलग्नता देखिन्छ?
कुनै सेलिब्रेटी समलिंगी हुन्छ र ऊ ल म हो है भनेर आउँछ। म त्यसरी बाहिर आएको होइन। नेपाल राम्रो होस्, काठमाडौं तुरुन्त धुलोमुक्त होस् भन्ने चाहना, सांस्कृतिक संरचना नमासियोस् भन्ने चाहना छ। अब म यस्तै कामका लागि आफूलाई समर्पित गर्छु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .