ad ad

अन्तर्वार्ता


राष्ट्रियसभामा जाँदा मेरो निर्वाचन क्षेत्र जाने बाटो झन् सहज बन्नेछ : नारायणकाजी (अन्तर्वार्ता)

राष्ट्रियसभामा जाँदा मेरो निर्वाचन क्षेत्र जाने बाटो झन् सहज बन्नेछ : नारायणकाजी (अन्तर्वार्ता)

सागर न्यौपाने
पुस १८, २०७६ शुक्रबार ८:५३,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचनमा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि उम्मेदवार बनाएको छ। गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका श्रेष्ठलाई नेकपाले राष्ट्रियसभाको रिक्त पदमा हुन लागेको निर्वाचनको उम्मेदवार बनाएको हो। उनको उम्मेदवारीलाई लिएर सकारात्मक/नकारात्मक टिप्पणी भइरहेका छन्।

नेकपा अध्यक्ष प्रचण्डनिकट मानिने श्रेष्ठसँग राष्ट्रियसभा सदस्यको उम्मेदवारीमा केन्द्रित रहेर नेपालखबरले गरेको संक्षिप्त वार्ता :

प्रतिनिधिसभामा चुनाव हारेको २ वर्ष नपुग्दै तपाईंलाई पार्टीले किन राष्ट्रियसभाको उम्मेदवार बनायो?
मेरो राजनीतिक यात्रा, देश र जनताप्रति मैले खेलेको भूमिका, पार्टी र विभिन्न समयका आन्दोलनमा मैले कुशलतापूर्वक जिम्मेवारी लिएको कारण पार्टीले मलाई राष्ट्रियसभा उम्मेदवार बनाएको हुनसक्छ। गोरखा २ मा चुनाव हारेपछि पनि म त्यस क्षेत्रका जनतासँग निरन्तर सम्पर्कमा छु।

पार्टी एकता गर्दा र त्यसपछिका दिनमा पनि म देश र जनताका पक्षमा डटेर लागेको थिएँ। संविधान निर्माण गर्दा र जारी गर्दा जुन भूमिकामा थिएँ, राष्ट्रियसभामा पुगेर पनि त्यस्तै भूमिकाको अपेक्षा पार्टीले गरेको हो। पार्टीको निर्णयलाई मैले सकारात्मक रुपमा लिएको छु, पार्टीप्रति आभारी छु। अब वैधानिक ठाउँबाटै मैले हिजोको जस्तै देश र जनताको सेवा गर्ने अवसर पाएको छु। तर, मैले पार्टीसँग मलाई राष्ट्रियसभामा लैजानुपर्‍यो भनेको थिइनँ।

प्रत्यक्ष चुनावबाट तपाईं पन्छिनुभयो भनेर आलोचना हुन थालेको छ नि!
पहिलो कुरा त राष्ट्रियसभामा जाँदा मेरो निर्वाचन क्षेत्र जाने बाटो बन्द हुने होइन झन् सहज बन्नेछ। किनभने मैले जनताको मागलाई वैधानिक ठाउँमा राख्न पाउनेछु। राष्ट्रिय एजेन्डाका रुपमा पार्टीभित्र पनि छलफल गर्ने मेरो भूमिकालाई यो स्थानले पनि त फरक पार्छ नि!

राष्ट्रियसभामा म केही काम लिएर जान सक्छु, सवाल जवाफ गर्न सक्छु। सुशासन र विकासका विषयमा प्रत्यक्ष काम गर्न सक्छु। हिजो भूमिका नहुँदा त मैले काम गरेकै थिएँ भने अब निर्वाचन क्षेत्रका जनता, त्यहाँको विकासप्रतिको प्रतिवद्धतामा मेरो प्रत्यक्ष सहयोग बढ्नेछ। आलोचना गर्नेहरुले कसरी गरिरहेका छन्, त्यसमा प्रतिक्रिया जनाउन चाहन्नँ। बरु, निर्वाचित भएपछि काम गर्ने कुरा हो। विगतमा पार्टी राजनीतिमा मेरो योगदान थियो र अब पनि रहनेछ।

पार्टीमा त अरु नेताको पनि उत्तिकै भूमिका थियो, होइन र?
पार्टीको सबैभन्दा माथिल्लो कमिटीमा म र वामदेव गौतमजी मात्रै वैधानिक ठाउँमा थिएनौँ। वामदेवजीले संघीय संसदको प्रतिनिधिसभामा मात्रै जाने बताउनुभयो। जुन अहिले तत्काल सम्भव छैन। विधान संशोधनमा उहाँले आफ्नो चासो रहेको बताउनुभएको छ। त्यसकारण पार्टीको उपल्लो तहमा म मात्रै बाँकी रहेपछि मलाई यो जिम्मेवारीमा पठाउने निर्णय पार्टी नेतृत्वले गरेको हुनसक्छ। पार्टीमा योगदान गर्ने थुप्रै साथी हुनुहुन्छ। तर, सबैलाई एकैपटक अवसर दिन सकिँदैन। सीमित संख्यामा पठाउने व्यक्ति छनौट गर्दा पार्टीले योगदानको मूल्यांकन विचार गर्‍यो होला।

अब मन्त्रिमण्डल पुनगर्ठन गर्दा तपाईंलाई मन्त्री बनाउनेगरी राष्ट्रियसभामा लगिएको भन्ने चर्चा छ। तपाईं मन्त्री बन्न तयार हुनुहुन्छ?
पार्टीको जिम्मेवारीमा रहेर गरेको योगदानको मूल्यांकन पार्टी नेतृत्वले गर्छ। वैधानिक ठाउँमा पुगेपछि आवश्यकता पर्‍यो भने मन्त्री बन्नु स्वभाविक हो। तर, त्यो आवश्यक छ कि छैन, काम गर्ने हैसियत राख्छ कि राख्दैन, त्यसलाई पनि पार्टी नेतृत्वले ख्याल गर्छ। कमरेड प्रचण्डसँग मेरो धेरै लामो समयदेखिको राजनीतिक सम्बन्ध छ, उहाँलाई मेरो क्षमता पनि थाहा छ। मैले जिम्मेवारीलाई कसरी पूरा गरेको छु भन्ने कुरा पनि त नेतृत्वले बुझेको छ। मन्त्री बनाउनकै लागि मात्र राष्ट्रियसभामा लैजान खोजेको भन्ने होइन तर आवश्यकता पर्‍यो भने त्यो जिम्मेवारी म पूरा गर्छु।

मन्त्रिमण्डलमा रामबहादुर थापासँग सन्तुलत मिलाउन प्रचण्डले यो निर्णय गरेको हो भनिन्छ नि?
कमरेड प्रचण्डले त्यसरी सोच्नुभएको हो जस्तो मलाई लाग्दैन। उहाँले बादललाई त्यसरी सोच्नु पनि हुन्न। लामो समयदेखि हामी प्रचण्डसँगै छौं। पार्टीभित्र रहेका अनेक खालका गुट र उपगुटको अन्त्य गराउनुपर्छ भन्ने प्रचण्डको मान्यता छ। उहाँ अहिले पनि पूर्वएमाले र पूर्वमाओवादी भनेको रुचाउनुहुन्न। गुट अन्त्य गराउनु आफ्नो मुख्य काम रहेको उहाँले पटकपटक भन्ने गर्नुभएको छ। प्रचण्डसँग लामो समय काम गरेपछि उहाँले अलि बढी अपेक्षा गर्नुभएको हुनसक्छ तर, बादलसँग सन्तुलन मिलाउन होइन। आ–आफ्ना ठाउँ र क्षेत्रमा गरेको योगदानको कदर हो। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .