अन्तर्वार्ता

Tata MotorsTata Motors

सी भ्रमणबाट चार वटा कारणले निजी क्षेत्र उत्साहित छः शेखर गोल्छा (अन्तर्वार्ता)

शेखर गोल्छा (तस्बिरः स्नेहा केसी)


दीपक भट्ट
काठमाडौं, मंसिर २३

मैले आफ्नो निजी स्वार्थका लागि महासंघको सहयोग लिएको छैन। मन्त्रीहरुले बोलाउँदा अहिले पनि भन्ने गरेको छु– म शेखर गोल्छाको हैसियतले आउँदिन, आउँदा महासंघको वरिष्ठ उपाध्यक्षको लागि आउनेछु।

करिब ८२ वर्षअघि, विसं १९९३ मा विराटनगरको रानीमा विराटनगर जुटमिल स्थापना भयो। नेपाली र भारतीय व्यवसायीको संयुक्त पहलमा स्थापना भएको नेपालको संभवतः पहिलो यो उद्योगका एक जना संस्थापक थिए, रामलाल गोल्छा। अहिलेको गोल्छा अर्गनाइजेसन उनै रामलालका पुस्ताको घराना हो, जुन करिब आठ दशकदेखि उद्योग व्यवसायमा जमेको छ।

रामलाल गोल्छाका दुई छोरा थिए, हंसराज र हुलासचन्द। हंसराजका पाँच भाइ र हुलासचन्दका चार भाइ छोरा छन्। लोकमान्य, दिवाकर, राजकुमार, दिनेश र महेन्द्र हंसराजका छोरा हुन् भने चन्द्रकुमार, सुरेन्द्र, शेखर र सञ्जय गोल्छा हुलासचन्दका छोरा। गोल्छा परिवारका यी प्रायः सदस्य व्यवसायमै छन्।

जसरी नेपालको औद्योगीकरणमा गोल्छा परिवारको योगदान रह्यो, विसं २०२२ सालमा नेपाल उद्योग वाणिज्य महासंघ स्थापनामा पनि गोल्छा अर्गनाइजेसनले विशेष भूमिका खेल्यो। महासंघ स्थापना गर्नेदेखि यसलाई संस्थागत गर्न विधान निर्माणसम्ममा हंसराज र हुलासचन्दको भूमिका रहेको अहिले महासंघमा सक्रिय रहेका उद्योगीहरू बताउँछन्।

हंसराजका छोरा दिवाकर गोल्छा भने महासंघको नेतृत्व नै लिने गरी अगाडि बढे। र, महासंघको प्रथम उपाध्यक्ष (अहिलेको वरिष्ठ उपाध्यक्षसरह) भए। त्यसपछि उनलाई महासंघको अध्यक्ष बनाउने सहमति भयो तर त्यसअनुसार काम गरिएन। पछि उनले पनि त्यसमा चासो देखाएनन्।

दिवाकरपछि उनकै काकाको छोरा शेखर गोल्छा महासंघको अध्यक्ष हुने क्रममा छन् अहिले। तर गोल्छा परिवारका अग्रज पुस्ताको समेत पहलमा स्थापना भएको महासंघको अध्यक्ष बन्न शेखरलाई रोक्ने प्रयासहरू पनि भए। विधान नै संशोधन गरी उनलाई महासंघको नेतृत्वमा जान कठिन बनाउने प्रयास भयो। तर अन्ततः विधान संशोधन गर्न महासंघका प्रायः सदस्यले अनिच्छा देखाएपछि शेखर गोल्छालाई अध्यक्ष बन्ने बाटो खुलेको छ।

आगामी चैत २८ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशनबाट निजी क्षेत्रको सबैभन्दा ठूलो संस्थाको अध्यक्ष बन्ने तयारीमा रहेका हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छासँग गरिएको वार्ताः

SGolcha4

नेपाल उद्योग वाणिज्य महासंघलाई तपाईं व्यक्तिगत रुपमा कसरी लिनुहुन्छ?
स्थापनाकालदेखि नै मेरो हजुरबुबा र बुबा यसमा संलग्न हुनुहुन्थ्यो। विधान बनाउनेदेखि यसको स्थापनामा समेत उहाँहरुको योगदान छ। अझ अर्को महत्वपूर्ण कुरा महासंघका हरेक कार्यकालमा हाम्रो परिवारको उपस्थिति छ। यस्तो योगदान हुँदा पनि हाम्रो परिवारले नेतृत्व भने गर्न पाएको छैन। मैले थाहा पाएदेखि नै म महासंघप्रति जानकार छु। मेरो परिवारमा डाइनिङ टेबुलमा हरेक दिन महासंघको बारेमा कुरा हुन्थ्यो। निजी क्षेत्रलाई महासंघ किन चाहिन्छ, यसको महत्व के छ भन्ने ज्ञान मलाई त्यतिखेर नै थियो, जतिखेर म कुरा बुझ्न थालेको थिएँ। व्यवसाय बढाउन, नेपालमा उद्योगहरु थप्न वा निजी क्षेत्रको वकालत गर्नका लागि महासंघको आवश्यकता रहेको कुरा बच्चादेखि नै अनुभव गरेको छु।

तपाईं अब अध्यक्ष बन्ने निश्चित भएको छ, कस्तो महसुस भएको छ?
महासंघको नेतृत्व गर्ने अवसर आउँदै छ, मैले आफुलाई भाग्यमानी सम्झेको छु। म महासंघलाई मन्दिर मान्छु। यो मन्दिरमा हामीले धेरै पसिना बगाएका छौँ। मेरो दाइ, बुबा र हजुरबुबाले यसमा कडा मिहिनेत गर्नुभएको छ। त्यो संस्थालाई नेतृत्व गर्न पाउनु मेरो लागि भाग्यको कुरा हो। मेरा लागि यो छुट्टै अवसर पनि हो।

दिवाकर गोल्छालाई महासंघको अध्यक्ष नबनाउन राजनीति भयो भनिन्छ, तपाईंलाई अहिले त्यो घाउ मेटाउने अवसर आएजस्तो लाग्छ?
पुरानो इतिहास धेरै कोट्याएर कुनै उपलब्धि हुँदैन। दिवाकार गोल्छा मेरा दाजु हुनुहुन्छ। उहाँ पनि लामो समय महासंघमा रहेर काम गर्नुभयो, वरिष्ठ उपाध्यक्ष समेत बन्नुभयो। उहाँले पनि महासंघमा राम्रो काम गर्ने अठोट लिनुभएको थियो। उहाँले नेतृत्व गर्न पाउनुभएको भए महासंघमा परिवर्तन ल्याउनुहुन्थ्यो। तर उहाँले त्यो अवसर विभिन्न कारणले पाउनुभएन। दिवाकर गोल्छा महासंघको अध्यक्ष बन्नु भनेको त्यतिखेर महासंघको लागि र राष्ट्रकै लागि पनि राम्रो अवसरको कुरा हुने थियो। किनभने उहाँ देशभित्रकै कच्चा पदार्थ उपयोग गरेर उद्योगहरु चलाउनु पर्छ र रोजगारी सिर्जना गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो। उहाँले त्यो क्षेत्रमा काम पनि गर्नुभएको हो। हजारौँ मान्छेलाई रोजगारी सिर्जना गर्नुभएकै थियो। यो आधारमा उहाँको नेतृत्व महासंघलाई आवश्यकता थियो। त्यो कमी अहिले पनि महासंघमा रहेको छ।

SGolcha2

यसपाली महासंघको विधान संशोधन गर्ने विषयमा निकै कसरत भयो, पछि कसरी कुरा मिल्यो?
नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो संस्थालाई कालो बादलले छाएको रुपमा मैले त्यसलाई लिएको छु। हरेक वर्ष विधान संशोधन गर्ने कुरा उठान गरिराख्नु एक किसिमले भन्दा कालो बादल नै छाएको अवस्था हो। जुन बादल अहिले हटेको छ र आकाश नीलो भएको छ। विधान संशोधनको विषयमा म अहिले यति मात्रै बोल्छु। अब महासंघ एकदम स्वच्छ हुने प्रयास गरिरहेको छ।

महासंघको नेतृत्व लिएपछि कसरी अगाडि बढ्ने योजना बनाउनु भएको छ?
जुन उद्देश्यको लागि महासंघ बनेको हो, म त्यसको लागि अगाडि बढ्छु। त्यो भनेको निजी क्षेत्रको स्वार्थको लागि अगाडि बढ्ने हो। निजी क्षेत्रका समस्या समाधान गर्न र लगानीमा रहेका बाधाहरु हटाउने प्रयास गर्नेछु। नीति निर्माणमा निजी क्षेत्रलाई कसरी अघि बढाउन सकिन्छ, त्यो हेर्नेछु। मेरो मुख्य प्रयास लगानीमैत्री वातावरण सिर्जनामा रहनेछ।

दोस्रो, उत्पादनशील क्षेत्रमा कसरी लगानी बढाउने भन्ने सम्भावनाहरुको खोजी गर्ने हो। धेरै परियोजनाहरु छन्, जुन लगानीकर्ताहरुलाई सहयोग गरेर अघि बढाउनुपर्नेछ। महासंघले यी सबै कुराको सूचना भएको सचिवालय बनाउनेछ। त्यहाँ कहाँ लगानीको आवश्यकता छ, कुन उद्यमीलाई के कठिन भइरहेको छ र त्यसको समाधानका उपायहरु के–के हुन् भन्ने सबै सूचना हुनेछन्। महासंघमा म एक्लैले काम गर्ने होइन, सचिवालय राम्रो बनाउने हो।

SGolcha3

लामो समयदेखि नै महासंघमा बढी राजनीति भयो भन्ने बहस छँदैछ, तपाईं यसलाई कसरी लिनुहुन्छ?
जबसम्म उद्योग वाणिज्य महासंघ ठूला उद्योगी व्यवसायी, मझौला व्यवसायीदेखि साना व्यवसायीहरुको समेत एउटा शीतल छहारी बन्न सक्दैन, तबसम्म यो संस्थाको उद्देश्य पनि पूरा हुन सक्दैन। यसको उद्देश्य नै उनीहरुको संरक्षण गर्नु हो। अब जहाँसम्म राजनीतिको कुरा छ, राजनीति हाम्रो परिवारदेखि समाजसम्म घुसिसकेको छ। राजनीति चाहिन्छ तर सकारात्मक राजनीति हुनुपर्यो। महासंघमा सकारात्मक कामको लागि राजनीति होस्। राजनीतिले निजी क्षेत्रको लागि राम्रो गर्छ र त्यसले नयाँ सम्भावनाको पनि खोजी गर्छ भने त्यो राजनीतिलाई स्वागत गर्छु। त्योभन्दा बाहेकको राजनीति भने रहन नदिने प्रयास मेरो हुन्छ।

तपाईंजस्तो व्यवसायमा रमाइरहेको व्यक्तिलाई महासंघको नेतृत्व लिने चाहना कसरी भयो? महासंघको कामले व्यक्तिगत व्यवसायमा असर गर्दैन?
तपाईंले एकदमै गहन कुरा गर्नुभयो। यो कुरा मेरो परिवारमा पनि कहिलेकाहीँ हुन्छ। साथीभाइले पनि भन्ने गरेका छन्। अहिले पनि त्यो कुरा आउँछ। परिवारको लागि तपाईं धेरै काम गर्नुहुन्छ। त्यही काम गरिरहँदा तपाईंलाई सुरुमा जति सन्तुष्टि हुन्छ, त्यसमा विस्तारै कमी हुँदै जान्छ। तपाईं समाजको लागि जति गर्नुहुन्छ, त्यसमा बढी सन्तुष्टि पाउनुहुन्छ। मैले यहाँ जोड्न खोजेको कुरा के हो भने मान्छेले जुन क्षेत्रमा आफ्नो जीवन जिइरहेको छ, त्यसमा सामाजिक रुपले काम गर्न सक्यो भने भित्रबाट एकदमै सन्तुष्टि हुन्छ। म त्यही उद्देश्यको लागि काम गरिरहेको छु। महासंघलाई मैले आफ्नो व्यापार व्यवसायको रुपमा लिएको छैन। आफ्नो निजी स्वार्थको लागि कुनै काम गरेको छैन। तपाईंको मिडियामार्फत के भन्न चाहन्छु भने, म महासंघमा जोडिएको १५ वर्ष भइसक्यो, आजसम्म भाषणमा पनि आफ्नो उद्योगको कुरा गरेको छैन। यो मेरो रेकर्ड नै हो।

मैले आफ्नो निजी स्वार्थको लागि यो संस्थाको सहयोग लिएको छैन। मन्त्रीहरुले बोलाउँदा पनि अहिले पनि भन्ने गरेको छु– म शेखर गोल्छाको हैसियतले आउँदिन, म आउँदा महासंघको वरिष्ठ उपाध्यक्षको लागि आउनेछु।

नेपालको निजी क्षेत्र भन्नेबित्तिकै विदेशीहरुले हेर्ने पनि महासंघलाई नै हो, विदेशीहरुमाझ कसरी जानुहुन्छ?
विदेशीहरुबाट अहिले नेपालले धेरै लगानीको आशा गरेको छ। त्यसको लागि महासंघले पहल गर्ने नै छ। तर उनीहरु नेपाल आउने, हेर्ने र फर्किने क्रम मात्रै भयो भने पनि राम्रो हुँदैन। विदेशीको लागि पनि लगानीको वातावरणमा हामीले पहल गर्नुपर्ने कुराहरुमा सहयोग गर्छौँ।

SGolcha5

भर्खरै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भयो, विश्वका शक्तिशाली व्यक्तित्वहरु नेपाल आउँदा एउटा उद्योगीको नाताले त्यसले कस्तो प्रभाव पार्ने देख्नुहुन्छ?
चिनियाँ राष्ट्रपतिको भ्रमण ऐतिहासिक हो। विश्वकै शक्तिशाली मान्छे नेपालमा आउनु अत्यन्तै राम्रो कुरा हो। मलाई के लाग्छ भने चीन शक्तिशाली मात्रै होइन, विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमध्ये एक हो। यसरी हेर्दा अर्थतन्त्रको सबैभन्दा ठूलो देश, त्यसमा पनि नेपालसँग यति ठूलो बोर्डर सेयर गर्ने देशका प्रमुख नेपाल आउँदा यसको फाइदा हामीले जसरी पनि पाउनुपर्छ वा दिनुपर्छ भन्ने नै हो। हामीले त्यसको रणनीतिचाहिँ अपनाउनैपर्ने हुन्छ। सीको भ्रमणले निजी क्षेत्र धेरै नै उत्साहित छ। उत्साहित हुनुका ४ वटा कारण छन्ः

पहिलो, चिनियाँ पर्यटकलाई अहिले विश्वले नै नजर राखिरहेको छ। सबैभन्दा बढी खर्च गर्ने पर्यटकको नाम लिँदा विश्वबजारमा चिनियाँ पर्यटकहरु पनि पर्ने गर्छन्। चिनियाँहरु र अहिले भारतीयहरु पनि घुम्न थालेका छन्। तर चिनियाँहरुको तथ्याङ्क धेरै माथि छ। अहिले हामी नेपाल भ्रमण वर्ष मनाउँदै छौं। यो मानेमा राष्ट्रपतिको भ्रमणले चीनको पर्यटकको सम्भावना धेरै बढाएको छ।

दोस्रो, व्यापार पारवहन हो। अहिले हामीले भारततर्फको समुद्री बन्दरगाह मात्रै प्रयोग गर्छौँ। कलकत्ता र ह्वाज्याक (विशाखापट्टनम) एकतर्फ मात्रै हुँदा हामीले अहिले जति महंगो परे पनि प्रयोग गर्नुपरिरहेको छ। चीनतर्फको पनि सम्भावना रहेको छ भनेर नेपालले सम्झौता नै गरिसकेको छ। मलाई जहाँसम्म लाग्छ, चीनतर्फ झन् दूरी बढी छ। तर पनि मालवस्तु आयातनिर्यातमा लागत कम हुनुपर्छ भन्ने हो। यसलाई घटाउने गरी कार्यान्वयनमा लानुपर्छ। राष्ट्रपतिको भ्रमणले त्यसको कार्यान्वयन गर्नुपर्छ। कार्यान्वयन भनेको पूर्वाधार निर्माण र नीतिगत कुरा पनि हो। राष्ट्रपतिको भ्रमणले त्यसलाई सहयोग गर्छ।

तेस्रो, चिनियाँ लगानीको कुरा पनि हो। विश्वमा लगानी विस्तार गर्नेमा अहिले चिनियाँहरु अगाडि छन्। ठूलो लगानी गर्न सक्षम व्यक्ति तथा कम्पनीहरु चीनमा छन्। नेपालमा पनि दुई ठूला चिनियाँ कम्पनी आएका छन्– होङ्सी सिमेन्ट र हुवासिङ सिमेन्ट। यो राम्रो कुरा हो। विदेशी लगानी खोजिरहेको देशका रुपमा हामीले उनीहरुलाई आकर्षित गर्न सक्नुपर्छ।

चौथो, चीन अहिले विश्वमा नै राम्रो पूर्वाधार भएको मुलुकमा पर्छ। हामीलाई चाहिएको पनि पूर्वाधार नै हो। हामीलाई सहयोग गरेर पूर्वाधार मात्रै निर्माण गर्ने हो भने पनि नेपालको अन्य गतिविधिको सम्भावनाको बाटो खुल्न सक्छ। इन्जिनियरिङ र पूर्वाधारमा अहिले चीन पहिलो नम्बरमा पर्छ।

भारतभन्दा चीनका बन्दरगाह दूरीको हिसाबले धेरै टाढा छन्, नेपाली व्यवसायीले त्यसमा उत्साहित हुने कारण के छ?
भारततर्फको कुरा गर्ने हो भने ह्वाइज्याक (विशखापट्टनम) थपिएको केही वर्ष मात्रै भएको छ। हामीले वर्षौँदेखि प्रयोग गर्दै आएको भनेको कलकत्ता मात्रै हो। हामीले हाम्रो सुख्खा बन्दरगाहको करण सीआईएफ सिधै नेपाल ल्याउन सक्नेसम्मको व्यवस्था भएको छ। तै पनि नेपाललाई सहज भने हुनसकेको छैन। एउटा कारण भनेको अहिले पनि भारतको उसले मात्रै ल्याउन पाउँछ। अरु कम्पनीको कार्गो रेल कम्पनीले नेपालको सामान ल्याउन पाउने व्यवस्था छैन। सामान नेपाल ल्याउँदा विश्वकै ढुवानीमा नेपालीले महंगो तिर्नुपरिरहेको छ। यो कुरा विश्वास गर्न नसकिने खालको छ। चिनियाँ बन्दरगाह दूरीको हिसाबले त दोब्बरभन्दा बढीको छ। तर पनि विकल्पको रुपमा हेर्नको लागि चिनियाँ पोर्ट नेपाललाई चाहिन्छ नै।

नेपालले भारतसँग अझै थप दुई बन्दरगाह मागिरहेको छ। त्यसको आवश्यकताचाहिँ किन?
नेपालले अहिले मागिरहेको भनेको धमरा र मुन्द्रा बन्दरगाह हो। त्यो पश्चिमी भेगमा रहेको बन्दरगाह हो। मध्यपूर्व र युरोपसँग व्यापार गर्नका लागि यी बन्दरगाह उपयोगी हुन्छन्। त्यसैले यी बन्दरगाह धेरै आवश्यक छ। 

 

मंसिर २३, २०७६, सोमबार

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्
लेखकबाट थप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors