ad ad

अन्तर्वार्ता


हाम्रै मन्त्री उस्ता, अरुलाई केको दोष : वेदुराम भुसाल(अन्तर्वार्ता)

हाम्रै मन्त्री उस्ता, अरुलाई केको दोष : वेदुराम भुसाल(अन्तर्वार्ता)

रुपक चौलागाईं
असार १२, २०७९ आइतबार १३:५९, काठमाडौँ

गत २२ जेठमा नेकपा एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलाउनेबारे गरेको निर्णय झण्डै एक महिनासम्म कार्यान्वयन हुन सकेन। यसबीचमा सो पार्टीका गतिविधि बाक्लै देखिए। स्थायी कमिटी, पोलिटब्युरो, सचिवालय हुँदै केन्द्रीय कमिटी बैठक डाकिए। अब केन्द्रीय परिषद बैठक बसेर सामूहिक छलफलसहित निष्कर्षमा पुग्ने एकीकृत समाजवादीको योजना छ।

पार्टीको निर्णयअनुसार सपथको मिति कुरेर बसेका नेताहरु पुराना मन्त्रीहरुले राजीनामा दिन नमान्दा एक महिनासम्म अन्योलमा परे। यसबीचमा सत्तारुढ गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाले नै मन्त्रिपरिषद विस्तार रोकेकोसम्मका गुनासा सुनिए ।

तर, एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल भने अरुलाई ‘दोष’ दिनुभन्दा पनि आफ्नै मन्त्रीहरुले ब्यक्तिगत स्वार्थका कारण मन्त्री पद छाड्न नसकेको बताउँछन्। ‘उहाँहरुभित्र अरु केही कारण छैन। पद छाड्न नसकेर भएको हो,’ नेपालखबरसँगको कुराकानीका क्रममा भुसालले भने।

पार्टीका मन्त्रीहरु फिर्ता हुन नमाने अब प्रधानमन्त्री शेरबहादुरले पार्टीबाट सिफारिस भएका मन्त्रीहरुलाई बोलाएर सपथ खुवाउने महासचिव भुसाल बताउँछन्।

पछिल्लो समसामयिक विषयमा एकीकृत समाजवादीका महासचिव भुसालसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छः

एकीकृत समाजवादीभित्र दुई लाइन संघर्ष सुरु भएको हो?

यो केही संघर्ष होइन। व्यक्तिगत स्वार्थका कारणले पद नछाड्ने मान्छेले पनि दुई लाइन संघर्ष गर्‍यो भन्न मिल्छ र? यहाँ कुनै लाइन छैन। पार्टीले निर्णय गरेको छ, अब छिट्टै कार्यान्वयन हुन्छ।

पार्टी त विभाजन उन्मुख भयो भन्ने चर्चा सुरु भएको छ नि?

छैन। यो सबै बाहिर भएका प्रचार मात्र हो। पार्टीको निर्णयलाई हेरौं न, सर्वसम्मतिले सबै निर्णय भएका छन्। त्यहाँ विमति, विभाजन र दुई लाइनको कुरा नै आउँदैन। दुई लाइन हुँदा त्यहाँ फरक मत दर्ज हुन्छ। यदि पार्टीले सर्वसम्मति केही कुरालाई निर्णय गराउन नसकेको खण्डमा त्यहाँ विभाजन र दुई लाइनका कुरा आउने थिए। तर, अहिले पार्टीभित्र त्यस्तो अवस्था छैन। एकमतले सबै निर्णय भइरहेका छन्। मन्त्रीहरुले चाँहि पद छाड्न अलिकति ढिला गरेको कारणले के हो, कसो हो भन्ने भएको मात्र हो। त्यो पनि अब केही दिनमै सकिन्छ।

पार्टीले निर्णय गरिसक्दा पनि मन्त्रीहरुले पद छाड्न चाँही किन नमान्नुभएको त?

उहाँहरुभित्र अरु केही कारण छैन। पद छाड्न नसकेर भएको हो।

प्रधानमन्त्री र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रभाव तपाईंहरुको पार्टीभित्र पर्न थाल्यो पनि भनिन्छ नि?

हैन। हाम्रा मन्त्रीले पद छाड्न मानेका छैनन्, अरुलाई किन दोष लगाउनु! अरु कसैको दोष छैन, हाम्रै साथीहरुले पद छाड्न नचाहेर हो। उहाँहरुले चाहनुभएन भने प्रधानमन्त्रीले नयाँ साथीहरुलाई सपथ गराइदिनुहुन्छ।

तपाईंको पार्टीका मन्त्रीहरुले त राष्ट्रियसभाबाट बजेट पारित भएपछि हामी पद छाड्छौँ भन्नुभएको थियो हैन?

त्यसको कुनै अर्थ छैन। बजेटका कारणले अहिले मन्त्री रहने वा नरहने भन्ने कुरा जोडिँदैन। त्यो उहाँहरुले एउटा तर्क मात्र गर्नुभएको हो, त्यसमा कुनै दम छैन।

मन्त्रीकै विवादका कारणले प्रचण्ड वा गठबन्धनका दलसँगको विश्वास घट्यो भन्ने आवाज त प्रष्टै सुनिएका छन् नि, होइन र?

मैले भनिसकेँ, हाम्रा मान्छेले पार्टीको निर्णय नमान्ने अनि दोष अन्त थुपारेर हुँदैन। हाम्रा मान्छेमा सहमति नभई अरुले उचालेर हुँदैन।

स्थानीय चुनावपछि त गठबन्धनका दलसँगको ‘टसमस’ त प्रष्टै देखिन थालेका छन् नि?

छैन। निर्वाचनका परिणाममा असन्तुष्टि भनेर चर्चा हुने गरेको छ। तर, यो भन्दा राम्रो परिणाम आउन सक्थ्यो। समीक्षा गर्दा त्यसका कमजोर र सवल पक्षबारे छलफल त भइहाल्छ नि। त्यो छलफल हुनेबित्तिकै ‘खटपट’ भइहाल्यो भन्न मिल्दैन। छलफल गर्दा केही कुरा त आउँछन् नै। त्यही आधारमा फेरि टिक्दैन भन्न मिल्दैन। कतिपय कमजोरी अवश्य भएका छन्, ती कमजोरीलाई अब फेरि दोहोर्याउन भएन। कमी कमजोरीलाई आत्मसमीक्षा गर्नेगरी अघि बढौं भन्ने कुरा भएको छ।

शनिबारको केन्द्रीय कमिटी बैठकमा पनि मन्त्रीहरु उपस्थित हुनुभएन, केही औपचारिक जानकारी भयो त?

शुक्रबारको बैठकमा त उहाँहरुले मन्त्रिपरिषद लगायतको कारणले व्यस्तता रहेको भन्नुभएको थियो। ठूलो कमिटीमा एकाध मान्छेहरु अनुपस्थित हुँदा त्यसले ठूलो महत्व राख्दैन। केही मन्त्रीले व्यस्त भएको कारणले नआएको जानकारी गराउनुभएको छ। एकजना मन्त्री बाहिर जानुभएको थियो रे, अरु मन्त्रीहरुले आउन पाइएन भन्ने खबर पठाउनुभएको थियो।

हिजोको बैठकपछि एमालेसँगका ‘शर्त’ राखेर अघि बढ्नेबारे चर्चा पनि सुरु भएका छन्। पार्टी प्रचार विभाग प्रमुखले पनि भन्नुभएको थियो। एमालेलाई मान्न सकिने गरी केही शर्त अघि सारिएका हुन्?

एमालेसँग अहिले हामीले वार्ता गर्न सक्ने कुनै आधार छैन। हामीले त्यो निर्णय गरेका पनि छैनौं। उहाँ(प्रचार विभाग प्रमुख)ले के कुरा भन्नुभयो मलाई थाहा छैन। हामीले गरेका भनेको, एउटा राजनीतिक प्रतिवेदन पारित गरेका छौं। जुन केन्द्रीय परिषदमा लानेगरी निर्णय भएको हो। दोस्रो, विगतमा भएका सचिवालय र स्थायी कमिटीका निर्णयहरुलाई अनुमोदन गरेका छौं। केन्द्रीय कमिटीले नयाँ थप निर्णय गरेको छैन्। थप निर्णय भनेको केन्द्रीय कमिटीमा राख्ने साथीहरुको मनोनयन गरेको छ। अरु कुनै राजनीतिक निर्णय गरेका छैनौं।

अध्यक्षले पनि हिजो आफ्नै बलमा आम निर्वाचनमा जाने तर्क गर्नुभयो। यसको मतलब अब तपाईंहरु गठबन्धनसँग टाढिन खोज्नुभएको हो?

हामी छुट्टै पार्टी बनाएर अघि बढेपछि अब आफ्नै बलले नजाने भन्ने हुँदैन। राजनीतिमा तालमेल, गठबन्धन र सहकार्य हुन्छ। तर, हरेक पार्टी स्वतन्त्र हुन्छन्। आफ्नै खुट्टामा उभिएर सबै कुरा हुन्छन्। कोही अरुको खुट्टामा उभिएर परनिर्भर भएर हुँदैन। गठबन्धन हुने भनेको पनि आफ्नै बलमा हुने हो। गठबन्धन हुन्छ कि हुँदैन भन्ने कुरा कसले चाहेर हुने हो? त्यो त गठबन्धन गर्न चाहनेले चाहेपछि मात्र हुने हो। चाहँदा जाने वा नजाने भन्ने कुरा हुन्छ। यसमा हाम्रो पार्टीको प्रष्ट छ, पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्ने। त्यसमा कतै प्रश्न गर्ने ठाउँ छैन।

पाँच दलभन्दा बाहिर पनि छलफलका बाटो खुला रहन्छ त भन्नुभयो नि होइन? यसले के बुझ्ने?

हामीले त्यस्तो कुनै निर्णय गरेका छैनौं। प्रचार विभाग प्रमुखले कुन सन्दर्भमा भन्नुभयो, उहाँलाई नै सोध्नुपर्ला। तर, हामीले हिजो राजनीतिक प्रतिवेदन पारित गर्ने र यसअघि बसेका बैठकका निर्णय अनुमोदन गरेका छौं। मन्त्री पठाउँदाका, फिर्ता बोलाउँदाका र राजनीतिक सांगठनिक निर्णयहरु भएका छन्। त्यसलाई अनुमोदन भएको छ। थप निर्णय अहिले भएका छैनन्, उहाँले त्यो कसरी भन्नुभयो थाहा भएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .