ad ad

अन्तर्वार्ता


राजदूत मास्फीसँग वार्ताः बंगलादेशलाई ३० किमी पार गरेर नेपाल आउन ५ दशक लाग्यो

राजदूत मास्फीसँग वार्ताः बंगलादेशलाई ३० किमी पार गरेर नेपाल आउन ५ दशक लाग्यो

थिरलाल भुसाल र मणि दाहाल
कात्तिक २३, २०७६ शनिबार ११:४७,

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदै छन्। यो बंगलादेशको राष्ट्रप्रमुख वा सरकारप्रमुखबाट हुने पहिलो औपचारिक नेपाल भ्रमण हो। नेपालबाट पनि ३० वर्षयता त्यो तहबाट बंगलादेशको भ्रमण भएको छैन। यसै सन्दर्भमा नेपाल र बंगलादेशबीचको द्विपक्षीय सम्बन्ध, राजनीति, व्यापार र क्षेत्रीय मामिलाबारे नेपालका लागि बंगलादेशी राजदूत मास्फी बिन्ते साम्ससँग नेपालखबरको वार्ताः

मंगलबारदेखि बंगलादेशी राष्ट्रपतिको नेपाल भ्रमण हुँदैछ। यसको मुख्य उदेश्य के हो?
मूलतः यो सद्भावना भ्रमण हो। नेपाल र बंगलादेशबीच अत्यन्त राम्रो द्विपक्षीय सम्बन्ध छ। स्वतन्त्रतापछि बंगलादेशलाई मान्यता दिने आठौँ मुलुक हो नेपाल। नेपालले जनवरी १९७२ मा बंगलादेशलाई मान्यता दिएको थियो। बंगलादेशले सुरुमै कुटनीतिक सम्बन्ध स्थापना भएको देश पनि हो नेपाल। तर बंगलादेशको उच्चतम नेतृत्वबाट नेपालको द्विपक्षीय भ्रमण कहिल्यै पनि भएको थिएन। पाँच दशकपछि बल्ल हुँदैछ। हामी नेपालसँगको सौहार्दपूर्ण सम्बन्धलाई निरन्तरता दिन चाहन्छौँ। यो भ्रमणका क्रममा हामी दुवै देशबीचको अत्यन्त राम्रो सम्बन्धलाई थप महत्व दिन चाहन्छौं।

नेपालबाट शीर्ष नेतृत्वले बंगलादेश भ्रमण गरेको तीन दशक पुगिसक्यो। प्रधानमन्त्री शेख हसिना दुई पटक नेपाल आउनुभयो। तर, एक पटक सार्क र अर्को पटक बिमस्टेकको शिखर सम्मेलनमा भाग लिन आउनुभएको थियो। त्यो तहमा हामीबीच द्वीपक्षीय भ्रमण हुनु अत्यन्त जरुरी छ। उच्चस्तरीय भ्रमण भयो भने त्यसले सम्बन्धलाई साँच्चिकै विस्तार र अझ मजबुत बनाउन सक्छ।

त्यसैले यो भ्रमण ऐतिहासिक भ्रमण हो। हामी निकै खुसी छौं। हाम्रो राष्ट्रपतिलाई नेपाल भ्रमणको निमन्त्रणा दिने नेपाल सरकारप्रति कृतज्ञ छु।

नेपालका प्रधानमन्त्री वा बंगलादेशका प्रधानमन्त्रीको भ्रमण आयोजना गर्नेबारे केही छलफल भएको छ?
पहिले त बंगलादेशी राष्ट्रपतिको भ्रमण सफलतापूर्वक र फलदायीरुपमा सम्पन्न गरौँ, त्यसपछि पक्कैपनि अन्य भ्रमण सुरु हुनेछ। तर अहिलेसम्म यस विषयमा छलफल भइसकेको छैन।

राष्ट्रपतिको भ्रमण तालिकामा के कस्ता कार्यक्रम राखिएको छ?
केही ‘अफिसियल इन्गेजमेन्ट’ हुने छन्। शीर्ष पदाधिकारीहरुसँग भेटघाट हुनेछ। अहिले पनि हामी भ्रमणका तालिकामा काम गरिरहेका छौँ। पर्यटनसम्बन्धी केही कार्यक्रमहरु समावेश गर्न चाहन्छौं किनभने सम्माननीय राष्ट्रपतिले नेपालको पर्यटन र यहाँको सुन्दरताको बारेमा सुन्नुभएको छ र उहाँ घुम्न इच्छुक हुनुहुन्छ। हामीले काठमाडौं उपत्यका बाहिरको कुनै पर्यटकीय स्थलको भ्रमणका लागि कम्तीमा एकदिन छुट्याउन प्रयास गरिरहेको छौँ। माउन्टेन भ्युको कार्यक्रम पनि हुनेछ। यसले नेपाल सरकारको भिजिट नेपाल २०२० लाई पनि सघाउ पुग्ने अपेक्षा गरेका छौं।

नेपालका लागि सीमा जोडिएका भारत र चीनपछि सबैभन्दा नजिकको देश हो बंगलादेश। तैपनि दुवै देशबीच अपेक्षाकृत व्यापार वा अन्य आपसी संलग्नता किन हुन सकेको छैन?
हामीबीचको दूरी भनेकोे ३० किलोमिटर मात्रै हो। नेपाल र बंगलादेशले मिलेर काम गर्नसक्ने क्षेत्र पर्याप्त छन्। आर्थिक–सांस्कृतिक सम्बन्धमा हामी काम गर्नसक्छौं। तर हामीले यस्तो गर्न नसक्नुको कारण अन्तरिक विषयमा धेरै अलमलिएर हो। नेपाल लामो समयसम्म संक्रमणकालीन अवस्थाबाट गुज्रियो भने बंगलादेशले पनि लामो अवधि राजनीतिक रुपान्तरणमा बितायो। सन् १९७५ मा राष्ट्रपिता बंगबन्धुको हत्यापछि बंगलादेश पनि धेरै समय उथलपुथलबाट गुज्रियो। सन् २००९ मा वर्तमान सरकार गठन भएपछि मात्रै हामीले मुख्य क्षेत्रमा ध्यान दिन सक्ने भयौँ। हाम्रो परराष्ट्र नीतिको महत्वपूर्ण प्राथमिकता क्षेत्रीय सम्बन्ध भएपनि हामी त्यसमा लाग्न पाएनौं।

फूलबारी–बंगलाबन्ध रुट सुरु भएपछि नेपाल र बंगलादेशबीको व्यापारमा ठूलो उपलब्धि हासिल हुने अपेक्षा गरिएको थियो। त्यस्तो किन हुन सकेन?
यो सडक पूर्णरुपमा उपयोग हुन नसक्नुको प्रमुख कारण हामीले नीजि तथा व्यापारिक क्षेत्रसँग राम्रोसँग ‘कम्युनिकेट’ गर्न नसकेर हो। नीजि क्षेत्रसँग कुरा गर्दा धेरै जनाले यो बाटो सहज छैन भन्ने बुझेको पाउँछु। यो मार्गमा कुनै समस्या छँदैछैन भन्ने होइन, तर पहिलेभन्दा यो निकै सहज भइसकेको छ। नेपालमा लोड भएको ट्रक बिनाअवरोध बंगलादेश पुग्नसक्छ। धेरैले काँकडभिट्टामा अनलोड गर्नुपर्ने र भारततर्फ धेरै समस्या रहेको जस्ता कुरा गर्छन्। सुरुमा सुरक्षाको कुरा उठ्ने गरेको थियो। मान्छेलाई पहिलेजस्तै समस्या अहिले पनि छन् भन्ने भ्रम छ। तर, अहिले ती समस्या छैनन्।

यस्तो सहजता कहिलेदेखि भएको हो?
दुई वर्ष अघिको तुलना गर्ने हो भने पनि निकै ठूलो परिवर्तन आएको छ। हामी दुई देशबीच समस्यारहित कनेक्टिभिटी चाहन्छौँ। बंगलादेशको गोदाममा लोड भएको ट्रक काठमाडौं आइपुगोस् भन्ने चाहन्छौं। सानोतिनो समस्या होला। तर, अहिले धेरै नै सहज छ। तर पनि हामीले यो कुरा राम्रोसँग सञ्चार गर्न सकेका छैनौँ।

भारतले सुरक्षा चासो देखाउने गरेको थियो नि?
त्यो विषय समाधान भइसकेको छ। अहिले धेरै सजिलो भएको छ। अहिले भारतको सुरक्षा चासो छैन।

त्यसो भए त्यहाँ अहिले कुनै जटिलता छैन?
हो। अहिले त्यस्तो केही छैन।

DB9A0258.jpg

नेपालका लागि पछिल्ला वर्षमा बंगलादेशसँगको बढ्दो व्यापार घाटा चासोको विषय बन्दै आएको छ। यसलाई कसरी सन्तुलन गर्न सकिएला?
यो विषय आजकल नेपाली पक्षले उठाइरहने गरेको छ। सन् २०१६ सम्म बंगलादेश व्यापार घाटामा थियो, नेपाल नाफामा। बंगलादेशी व्यापारीले नेपालमा सामान निर्यात गर्दैनथे। नेपालबाट बंगलादेशतर्फ धेरै मुसुरोको दाल निर्यात हुन्थ्यो। तर अहिले त्यो परिणाम निरन्तर रुपमा घट्दै गएको छ। बंगलदेशीहरुले निर्यात बढाउँदै लगेका छन्। नेपालले कुनै सहुलियत दिएर अहिले व्यापार घाटा बढेको होइन।

नेपालले उत्पादन कम गरेर बंगलादेशतर्फको निर्यात घटेको हो वा बंगलादेशले अन्यत्र सस्तो दाल पाएर नेपालबाट आयात कम गरेको हो?
यो विषय आश्चर्यजनक छ। अहिले बंगलादेशले धेरै मुसुरोको दाल क्यानाडाबाट आयात गर्ने गरेको छ। त्यति टाढाको मुलुक भएपनि क्यानाडाबाट आउने दाल नजिकैको नेपालबाट जानेभन्दा निकै सस्तो छ। नेपाली दाल निकै महंगो परेको छ। तर लोकप्रिय भने छ। अहिले हामीले क्यानाडा, अस्ट्रेलिया, म्यानमार र अरु देशहरुबाट दाल आयात गर्छौँ। उच्च मूल्यको कारण नेपाली दालले बंगलादेशको बजार गुमाउँदै गएको छ।

नेपालले निर्यात गर्ने दायरा निकै साँघुरो छ। नेपाली सामानका लागि ड्युटी फ्री बजार पहुँच प्रस्ताव गरेका छौँ। त्यसमा दालबाहेक अन्य वस्तु पनि छन्। हामीले गरेको प्रस्तावमा नेपाली पक्षले केही समयदेखि अध्ययन गरिरहेको छ। त्यसको सट्टामा बंगलादेशले कुनै डयुटी फ्री पहुँच पनि मागेका छैनौ। हामीले चाहिँ केही बंगलादेशी वस्तुमा प्रिफरेन्सियल (सहुलियतपूर्ण) पहुँच पाउनु पर्ने धारणा राखेका छौँ। नेपाली पक्षले चाँडै यो विषयलाई अन्तिम रुप देओस् भनेर आग्रह गरेका छौं। यो टुंगियो भने नेपाली वस्तुले पनि बंगलादेशको बजारमा पहुँच पाउने छन्। बंगलादेशले तीव्र गतिमा आर्थिक वृद्धि गर्दै गएकोले त्यसबाट नेपालले पनि धेरै फाइदा लिनसक्छ।

गत वर्ष मात्रै हाम्रो अर्थतन्त्र ८ प्रतिशतले बढेको छ। पछिल्लो एक दशकमा हाम्रो अर्थतन्त्रले विश्वमै सबैभन्दा तीव्र गतिको आर्थिक वृद्धि गरिरहेको छ। गत दशकमा बंगलादेशको अर्थतन्त्र एक सय ८८ प्रतिशतले बढेको थियो। दोस्रो भारतको अर्थतन्त्र रह्यो। जुन एक सय ७७ प्रतिशत बढेको थियो।

नेपालले बंगलादेशको यो विकासबाट कसरी फाइदा लिन सक्छ?
आर्थिक सहकार्यलाई तीव्र बनाउनु पर्छ। व्यापारीहरुलाई प्रोत्साहित गर्नुपर्छ। कहिलेकाहीँ यहाँका व्यवासायीहरुले बंगलादेश निर्यात गर्न निकै कठिन भएको गुनासो गरेको सुन्छु। धेरै प्रकारका कागजात आवश्यक पर्ने, भन्सार दर बढी भएको भन्ने गरेका छन्। तर बंगलादेशमा सबैलाई एउटै नियम लागू हुने हो। गत वर्ष बंगलादेशले विश्वभरबाट ५७ अर्ब अमेरिकी डलरको वस्तु आयात गर्‍यो। तर दुर्भाग्य नेपालले १ करोड १० लाख डलरका मात्रै निर्यात गर्‍यो। एउटै प्रकारको प्रणाली प्रयोग गरेर विश्वभरबाट आयात गरिएको हो। सबैले बंगलादेशमा एकै प्रकारले निर्यात गरेका हुन्। नेपाली व्यापारीलाई मात्रै कुनै प्रावधान लगाइएको छैन। तर नेपाली व्यापारीहरु चाँडै निरुत्साहित हुने गरेको पाइन्छ।

नेपाल–बंगलादेश व्यापारको सन्दर्भमा सकारात्मक विषय भनेको हामीबीच धेरै संयन्त्र छन्। उदाहरणका लागि हामीसँग भन्सारसम्बन्धी संयन्त्र छ। संयन्त्रको बैठक नियमित बस्ने गरेको छ। अर्को, व्यापारको बारेमा सहसचिव स्तरको प्राविधिक समिति छ। अक्टोबर महिनामा यसको बैठक भएको थियो। वाणिज्य सचिवस्तरको अर्को संयन्त्र पनि छ। हामीबीच विस्तारै व्यापार बढ्दै गएको छ।

DB9A0272.jpg

पछिल्लो समयमा नेपाल र बंगलादेशबीच ऊर्जा व्यापारको विषय प्रमुख एजेन्डा बन्दै आएको छ। यसबारेमा भइरहेको सहकार्यलाई कसरी हेर्नु भएको छ? के प्रगति भइरहेको छ?
गत वर्षको अगस्टमा नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यको विषयमा समझदारी (एमओयु) भएको छ। त्यसै अन्तर्गत सचिव स्तरीय स्टेरिङ कमिटी गठन गरेका छौँ। त्यसको पहिला बैठक नेपालमा र दोस्रो बैठक जुनमा बंगलादेशमा भयो। नेपाल र बंगलादेश दुवै देशबीच अहिले कायम भारतको प्रसारण लाइन नै प्रयोग गरेर बिजुली आयात निर्यात गर्ने विषयमा सहमति भएको छ। तर हामी डेडिकेटेड प्रसारण लाइन बनोस् भन्ने चाहन्छौं। बंगलादेशमा ऊर्जाको माग निकै बढिरहेको छ। अहिले बंगलादेशको विद्युत उत्पादनको क्षमता २१ हजार मेगावाट छ। आगामी १० वर्षमा ३४ हजार मेगावाट बिजुली आवश्यक हुन्छ। अहिले हाम्रो उत्पादन धेरै जस्तो कोइला, तेलको थर्मल प्लान्टबाट हुन्छ। बंगलादेश नवीकरणीय ऊर्जातर्फ ध्यान दिँदैछ। जसको नेपाल सस्तो र उत्कृष्ट वैकल्पिक स्रोत हो। नेपालमा जलविद्युतको ठूलो सम्भावना छ।

डेडिकेटेड प्रसारण लाइन कहिलेसम्म निर्माण होला?
यो प्राविधिक विषय हो। तर सहमति भयो भने हामी चाँडोभन्दा चाँडो निर्माण गर्न लाग्नेछौँ।

बंगलादेशले नेपालको जलविद्युतमा लगानी गर्नेबारे पनि दुईपक्षबीच सहमति भएका थिए। त्यस विषयमा के कति प्रगति भएको छ?
बंगलादेशले नेपालका जलविद्युत क्षेत्रमा लगानी गर्न चाहना प्रकट गरेको छ। यसका लागि प्राविधिक समिति पनि गठन भएको छ। त्यसले नै कुन रुपमा काम गर्न उचित हुन्छ, टुंगो लगाउनेछ। चाँडै नै प्राविधिक समितिको बैठक बस्दैछ। प्राविधिक तथा इन्जिनियरहरुले यस विषयमा छलफल गरिरहेका छन्। उनीहरुले क्षमता, बंगलादेशसँगका निकटता र सम्भाव्यताबारे अध्ययन गरिरहेका छन्। यसका लागि लामो समय लाग्दैन होला।

बंगलादेशको आफ्नै प्रत्यक्ष लगानी, संयुक्त लगानी वा अहिले उत्पादन भइसकेकामध्येबाट पनि हामी बिजुली किन्न चाहन्छौँ। नेपाल र बंगलादेशका लागि उपयुक्त हुने परियोजना निर्माण गर्न चाहन्छौँ। जसका कारण नेपालले पनि सहज महसुस गरोस्।

ऊर्जाबाहेक बंगलादेशले नेपालमा लगानी गर्न चाहेको अन्य क्षेत्र के के हुन् ?
बंगलादेश धेरै क्षेत्रमा लगानी गर्न चाहन्छ। जसमा पर्यटन, कृषि उत्पादन प्रमुख छन्। नेपालमा मात्रै होइन, बंगलादेशमा पनि नेपालबाट लगानी होस् भन्ने हामी चाहन्छौँ। किनभने तीव्र आर्थिक विकास गरिरहेको बंगलादेशले धेरै क्षेत्रमा विज्ञता हासिल गरेको छ। बंगलादेश नेपालको लगानीलाई स्वागत गर्न चाहन्छ।

अहिले सार्क निष्क्रिय अवस्थामा छ। नेपाल र बंगलादेशले यो गतिरोध अन्त्य गर्न के भूमिका खेल्न सक्छन्?
सार्क निष्क्रिय भएको जस्तो लाग्दैन। शिखर सम्मेलन मात्रै नभएको हो। मन्त्रिस्तरीय बैठक भइरहेका छन्। तपाईंले सार्कको सचिवालयमा कुरा गर्नु भयो भने बैठकहरु नियमित रुपमा भएको जानकारी पाउनु हुन्छ। अन्य संयन्त्रहरुले काम गरिहेका छन्। यसै महिनामा सार्क यातायातमन्त्रीको बैठक काठमाडौँमा आयोजना हुँदैछ। यही महिना कृषिमन्त्रीहरुको बैठक भुटानमा भयो। शिखर सम्मेलनले भिजिबिलिटी दिने हो। अन्य संयन्त्रहरुले काम गरिरहेको छ। तर संयन्त्रलाई काम गर्न राजनीतिक प्रतिबद्धता भने आवश्यक पर्छ।

यस क्षेत्रका देशका लागि सहकार्यको विकल्प छैन। सार्कले हामीलाई त्यो प्लेटफर्म उपलब्ध गराएको छ। हामी आफ्नो सामाजिक आर्थिक विकासलाई अधिकतम वृद्धि गर्न चाहन्छौँ भने हामीले सुरुमा आफैँभित्र हेर्नुपर्ने हुन्छ। त्यसैले सार्कको सम्भावना धेरै छ।

तर, हामी दुई सय वर्षको औपनिवेशिक विरासतले पिसिएका छौं। हामी त्यसबाट बाहिर निस्कनु जरुरी छ। त्यसबाट बाहिर निस्कनु चुनौतीपूर्ण काम हो र त्यसका लागि ठूलै प्रतिबद्धता चाहिन्छ।

तर धेरै मानिसले सार्कभन्दा बिमस्टेक प्रभावकारी हुन लागेको अनुमान गर्न थालिसकेका छन् नि?
बिमस्टेक धेरै सम्भावना भएको संरचना हो। यो दक्षिण एसियामा मात्रै सीमित छैन। यस क्षेत्रभन्दा बाहिर पनि फैलिएको छ। दक्षिणपूर्वी र दक्षिण एसियाबीचको सम्भावनालाई फलदायी बनाउन यो आवश्यक छ। तर, सार्क र बिम्स्टेक एउटाको विकल्प अर्को बन्न सक्दैनन्। यी एक अर्कोका परिपुरक हुन्।

अंग्रेजहरु यस क्षेत्रमा आउनुअघिसम्म यो क्षेत्र आर्थिकरुपमा एकीकृत थियो। आर्थिकरुपमा एकीकरण गरिरहने हो भने सार्क आवश्यक पर्छ।

बिमस्टेकले चाहिँ यो क्षेत्रभन्दा बाहिरलाई पनि जोड्ने छ। त्यसमा म्यान्मार र थाइल्यान्ड पनि छन्। थाइल्यान्डको माध्यमबाट हामी ती क्षेत्रमा जान चाहन्छौं।

bangla_ambesder3.jpg

दक्षिणपूर्वी एसिया र दक्षिण एसियाको बीचमा अवस्थित बंगलादेशले यी दुई क्षेत्रलाई जोड्न कस्तो काम गर्न सक्छ?
बिमस्टेक देशको मध्यमा बंगलादेश छ। हाम्रो लागि बीबीआईएन (बंगलादेश, भुटान, इन्डिया, नेपाल) एउटा केन्द्र हो। यो ठूलो आर्थिक वृद्धिदरको केन्द्र बन्ने सम्भावना छ।

बीआईएनलाई पश्चिमतर्फ विस्तार गर्नुभयो भने यसले पूरै दक्षिण एसियालाई समेट्छ, पूर्वतर्फ विस्तार भयो भने बिम्स्टेक हुँदै आसियानसँग सम्पर्क गर्न सक्छौं, उत्तरतर्फ गयौँ भने चीनसँग सम्पर्क हुन्छ र दक्षिणमा बंगालको खाडीसँग सम्पर्क हुन्छ। यहाँ आर्थिक वृद्धिको ठूलो सम्भावना छ। तर त्यसका लागि एकले अर्कोसँग सहकार्य गर्न भने सक्नुपर्छ।

बीबीआईएन मोटर भेइकल एग्रिमेन्टले जनस्तरको सम्बन्ध जोड्नेछ। यो सम्झौता कार्यान्वयन हुने आशा लिएको छु।

तर भुटानले यसमा असहमति राखेको छ होइन?
भुटानको केही चासोका विषय छन्। भुटान यसमा पछि सहभागी हुनसक्छ। त्यसैले बंगलादेश, भारत र नेपालले यसलाई किन सुरुवात नगर्ने? पछि भुटान आफूलाई सहज भएको अवस्थामा यसमा प्रवेश गर्न सक्छ। यसलाई सफलतापूर्वक लिएर गयौँ भने भुटानपनि सहभागी हुन प्रेरित भइहाल्छ।

उसोभए भुटानबाहेक अरु तीन देशले तत्काललाई यो सुरु गर्लान् त?
त्यो प्रस्ताव छ। तर यो धारणाप्रति नेपालले त्यति सहजता महसुस गरेको छैन। नेपाल यसमा सहभागी हुन्छ भन्ने आशा छ।

नेपाल र बंगलादेशले सहकार्य गर्न सक्ने सम्भावनाका क्षेत्र के के हुन सक्छन्?
यो क्षेत्रका देशमध्ये नेपालमा मात्रै विश्वका ८ हजार मिटरमाथिका १४ मध्ये ८ हिमाल छन्। र, हामीसँग सबैभन्दा ठूलो खाडी छ। विश्वको अरु कुन भागमा होला यस्तो विशिष्ट सम्भावना! यसले गर्दा पर्यटन, संस्कृति, जैविक विविधता लगायत क्षेत्रमा सम्भावना छ र सहकार्य गर्न सकिन्छ।

पहिले लामो समयसम्म बंगाललाई गरिबको ठाउँ भनेर चिनिन्थ्यो तर अहिले हामी खाद्यान्नमा आत्मनिर्भर भएका छौँ। हामी अहिले विश्वकै पाँचौँ ठूलो धान उत्पादक हौँ। हामी तरकारीमा पनि आत्मनिर्भर छौँ। हामी तेस्रो ठूलो फ्रेसवाटर माछा उत्पादक हौँ। नेपालमा पनि थुप्रै सम्भावना छ, जलस्रोत क्षेत्रमा। त्यसैले यो क्षेत्रका देश हामीहरु सहकार्य गर्ने हो भने निकै ठूलो सम्भावना छ।

हामीले आपसी सहयोग र सहकार्यलाई अझ सघन बनाउन अति आवश्यक छ। हामी दुई पक्षबीच अत्यन्त राम्रो सम्बन्ध छ र हाम्रा राष्ट्रपतिको भ्रमणले दुईपक्षबीच सद्भावनालाई थप प्रगाढ बनाउने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .