ad ad

अन्तर्वार्ता


अमेरिकाले हुवावेमाथि यसरी आक्रमण गर्ला जस्तो लाग्दैनथ्यो: रेन झेंगफेई (अन्तर्वार्ता)

अमेरिकाले हुवावेमाथि यसरी आक्रमण गर्ला जस्तो लाग्दैनथ्यो: रेन झेंगफेई (अन्तर्वार्ता)

नेपालखबर
असार ५, २०७६ बिहिबार १२:१०,

रेन झेंगफेई चर्चित कम्पनी हुवावेका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत पनि हुन्। उनी चीनका एक सफल उद्यमी हुन्। उनकै कारण चीन फाइभजी प्रविधिको एक नेतृत्वकर्ता देश भएको छ। हुवावे अहिले दूरसञ्चार सामग्री उत्पादन गर्नेमा विश्वकै ठूलो कम्पनी हो भने संसारमा धेरै स्मार्टफोन उत्पादनकर्तामा दोस्रो ठूलो कम्पनीमा आउँछ। उनै रेनसँग चीनका चर्चित टिभी एंकर टियान वेईले गरेको कफी गफको सम्पादित तथा अनुदित अंश:

केही मानिसहरु अमेरिका–चीनबीचको पछिल्लो परिस्थितिलाई प्राविधिक मुद्दा भन्छन्, केहीचाहिँ सांस्कृतिक मुद्दा पनि भन्छन्, तपाईंलाई के लाग्छ? हामीले अहिले देखिरहेका मुद्दाहरु के के हुन्?
मलाई के लाग्छ भने समाजका लागि हाम्रो महत्वपूर्ण लक्ष्य भनेकै समृद्धि प्राप्त गर्नु हो। जसबाट मानिसहरु गरिबीबाट मुक्त हुन सकून् तर यसका लागि सहकार्य चाहिन्छ। कुनै एक देशले चाहेर सूचनाको क्षेत्रमा विकास गर्न सक्दैन। औद्योगिक युगमा यातायातको समस्या भूराजनीति र भूअर्थनीतिसम्म फैलियो। सोही कारण कुनै देशले कपडा सिलाउने मेसिन र ट्राक्टर आफैँ निर्माण गर्नथाले। तर यो सूचनाको युग हो। अहिले कुनै एक देशले चाहेर मात्रै यो क्षेत्रमा प्रगति गर्न सक्दैन। त्यसकारण विश्वव्यापी रुपमै सहकार्य आवश्यक पर्छ। यसबाट मात्रै जनताको माग हामीले पूरा गर्न सक्छौँ। नयाँ प्रविधिको फाइदा पनि धेरै मानिसमा थोरै मूल्यमा पुर्याउन सक्छौँ। म केमा विश्वास गर्छु भने सहकार्यबाट मात्रै सामाजिक उन्नति हासिल हुन्छ। पश्चिमा राष्ट्रमा आर्थिक विश्वव्यापीकरणलाई जोड दिइएको थियो। मलाई पनि यो महत्वपूर्ण लाग्छ। यसको विश्वव्यापीकरणमा केही यताउता हुनसक्छ तर त्यो अहिले भइरहेको छ। यसको मतलब ऐन, नियमहरुको प्रयोग हामीले गर्नुपर्छ र यस्ता ससाना समस्याको समाधान गर्नुपर्छ। पूरै प्रतिबन्धित गर्ने बाटोमा जानुहुँदैन।

मानव सभ्यताको प्रगति नै अन्वेषण र वैज्ञानिक आविष्कारमा निर्भर छ। राजनेताहरुको नेतृत्व, उद्यमीहरुको उत्पादन र बजार तथा सबै मानिसको संयुक्त सहकार्यमा यो अडेको छ। यसरी हामी समुन्नत हुनसक्छौँ। ‘डार्क एज’मा युरोपमा अनिकाल व्याप्त थियो। ४०/५० वर्षअघि चीन एकदमै गरिब राष्ट्र थियो, मानिसहरुले भोकको सामना गर्नुपथ्र्यो। तर अहिले हामीसँग पर्याप्त छ। यसको मतलब के? यो प्राकृतिक वातावरण परिवर्तन भएर भएको होइन, यो त विज्ञान र प्रविधिको विकासको परिणाम हो।

तर अमेरिकाका कतिपय कम्पनीले हुवावेलाई विभिन्न सामग्री दिन रोकेका छन्, तपाईंले प्रयास गर्दा गर्दै पनि रोकेका छन्, ती अमेरिकी जो हुवावेलाई आपूर्ति गरिराख्न चाहन्छन्, उनीहरुसँग कस्तो सहकार्य हुन्छ?
हामीले सहकार्य गरेका सबै अमेरिकी कम्पनी ठूला छन्। खासगरी व्यावसायिक एकता र नैतिकताको दृष्टिमा उच्चस्तरका छन्। बितेका ३० वर्षमा हुवावेले गरेको विकास र पाएको सफलता विश्वभरका तिनै कम्पनीहरुको सहयोग र सहकार्यले सम्भव भएको हो। अहिले आएको विषम परिस्थिति ती कम्पनीको कारण आएको होइन। यो त परिस्थितिलाई फरक ढंगले हेर्ने राजनीतिज्ञहरुका कारण सृजना भएको हो। यस्तो हुन सक्ने कुरा हामीले पहिले नै अनुमान गरिसकेका थियौँ। जब हामी चाँडै उन्नति गर्छाँ, बजार प्रतिस्पर्धाका विषयहरु आउन सक्ने अनुमान लगाएका थियौँ। तर अमेरिकी सरकारले हुवावेमाथि यसरी आक्रमण गर्ला जस्तो लाग्दैनथ्यो। अमेरिकाले आफ्नै कम्पनीलाई हामीसँग सहकार्य गर्नबाट रोकेको छ। अन्तर्राष्ट्रिय संगठनहरुसँग सहकार्य गर्न हामीलाई कडाइ गरिरहेको छ। यसले हामीलाई अहिले निकै अप्ठ्यारोमा पारेको छ, यी सबै समाधान गर्न केही समय लाग्नसक्छ। हामी त अहिले दोस्रो विश्वयुद्धमा गोलीले छेडेका आईएल–२ एयरक्राफ्ट जस्तै प्वाल परेका छौँ।

हामीले हाम्रा मूल मूल पार्टपुर्जा जोगाउने तयारी गरेका थियौँ, अन्य पार्टलाई ध्यान दिएका थिएनौँ। आउँदा वर्षमा हाम्रो उत्पादन क्षमता घट्नसक्छ, हाम्रो बिक्रीबापतको आम्दानीको ३० अर्ब अमेरिकी डलरभन्दा कम हुनसक्छ। जुन अनुमान गरेभन्दा धेरै हो। सन् २०१९ र २०२० मा हाम्रो वार्षिक बिक्रीबापतको आम्दानी १ खर्ब डलरको हुनेछ। तर २०२१ मा भने हामी पुनः बलियो हुनेछौँ र समाजमा राम्रो सेवा दिन सक्षम हुनेछौँ। त्यसको दुई वर्षपछि हामी हाम्रा पुराना उत्पादन प्रविधि छोडेर नयाँलाई आत्मसात् गर्नेछौँ। यदि सोचेअनुसार सफल भयौँ भने हामी पुनः बलियो हुनेछौँ। विगतमा पनि हामी कमजोर रहेको महसुस हुँदासम्म हामीले कडा मिहिनेत गर्यौँ। अमेरिकी कम्पनीहरुसँग सहकार्य गर्यौँ। अझै पनि हामी बलियो भयौँ भने झन् बढी सहकार्य गर्नेछौँ। हामी अहिलेजस्तो परिस्थिति दोहोरिए पनि डराउनेछैनौँ। उनीहरुजस्तो हामी अमेरिकी सामग्री प्रयोग गर्न डराउँदैनौ, उनीहरुसँग सहकार्य गर्न हिच्किचाउँदैनौँ।

अहिले हुवावे र धेरै अमेरिकी विश्वविद्यालय तथा प्रयोगशालाबीचको सहकार्य रोकिएको छ, हुवावेले यस्तो अवस्थालाई कसरी लिएको छ?
आविष्कारहरु सैद्धान्तिक, इन्जिनियरिङ र बजारको मागअनुरुपको गरी धेरै प्रकारको हुनसक्छन्। चीन इन्जिनियरिंग आविष्कारमा धेरै बलियो छ तर सैद्धान्तिक पक्षको अनुसन्धानमा निकै कमजोर छ। यसमा हामीले पश्चिमा राष्ट्रबाट धेरै कुरा सिक्न सक्छौँ। पश्चिमाहरुले धेरै सय वर्ष लगाएर हिसाब निकाल्ने विधि पत्ता लगाए। उनीहरुले आधारभूत सिद्धान्तहरु धेरै प्रतिपादन गरेका छन्। अनुसन्धान र विकासमा हुवावेले धेरै लगानी गर्छ। हामीसँग ८० हजारभन्दा धेरै इन्जिनियरहरु रहेका छन्। त्यसका बाबजुद हामीले त्यस्तो ठूलो आविष्कार गर्न सकेका छैनौँ। मोबाइल सञ्चार पनि हुवावेले आविष्कार गरेको हैन न त फाइबर सञ्चार, आईपी ट्रान्समिसन, मोबाइल इन्टरनेट, विमान, कार वा घोडाले तान्ने क्यारिएजहरु नै हुन्। हामीले केही आविष्कार गरेका छौँ भने त्यो मानवताकै लागि थोरै गर्नसकेका छौँ।

हामी इन्जिनियरिंग क्षमता विकासमा केन्द्रित भएका छौँ। हामीले अहिले विश्वका ३ सय विश्वविद्यालय र ९ सय अनुसन्धानमूलक संस्थालाई सहयोग गरिरहेका छौँ। सैद्धान्तिक आविष्कारमा केही योगदान गर्न सकिन्छ कि भन्ने हाम्रो आशा छ। हामी हाम्रो लगानी यो परिस्थिति आए पनि फिर्ता लिने वा रद्द गर्ने गर्दैनौँ । बरु झन् बढी मिहिनेत गर्छौँ। अमेरिकाले केही विश्वविद्यालयलाई हामीसँग सहकार्यबाट रोके पनि अरु धेरै विश्वविद्यालयहरु हामीसँग काम गर्न इच्छुक छन्। यो सत्य हो कि केही विश्वविद्यालयले हामीसँग सहकार्य गर्न ध्यानाकर्षण गरेका छन्। यो लामो समयका लागि होइन, किनकि उनीहरुले हामीलाई बुझिसकेकै छैनन्।

हामी धेरै राजनीतिज्ञहरुलाई हुवावेको कार्यालय आएर भ्रमण गर्न आग्रह गर्छौँ। हाम्रो आविष्कार केन्द्र देखेपछि जोकोही हामीसँग सहकार्य गर्न लालायित हुन्छ। आगामी ५ वर्षमा नेटवर्क आर्किटेक्चरलाई पुनर्संरचित गर्न १ खर्ब डलर लगानी गर्नेछौँ। यसले नेटवर्क सरल, सहज, द्रुत, सुरक्षित र विश्वासिलो हुनेछ। यसपछि हामी पनि निजी मामिला रक्षामा हामी युरोपको जीडीपीआर स्तरमा पुग्नेछौँ। तर यसका लागि हाम्रो लगानी पनि दोब्बर हुनुपर्छ। यदि हामीले वित्तीय कठिनाइ भोग्यौँ भने त रिसर्च र डेभलपमेन्टमा लगानी घटाउनुपर्ने पनि हुनसक्छ। तर नेटवर्क पुनर्संरचना र अन्य योगदानहरु मानवताका लागि गर्न बाँकी छ। मानवतालाई सहयोग गर्ने सिद्धान्तको आविष्कारका लागि हामी प्रयास गरिरहेका छौँ।

buda
रेन झेंगफेई, कार्यकारी अधिकृत, हुवावे (तस्वीरः बीबीसी)

त्यसो भए हुवावेसँग ब्याकडोर छ? आफ्ना पार्टपुर्जामा त्यस्तो इन्स्टल गरेको छ? सुरक्षाका समस्याहरु छन्?
हामीसँग छैन। हामी जुनसुकै देशसँग नो ब्याकडोर, नो स्पाई (जासुसी नभएको) सहमतिका लागि तयार छौँ। साइबर सुरक्षा र सूचना सुरक्षा दुई फरक विषय हुन्। साइबर सुरक्षा समाजसँग जोडिने नेटवकसँग सम्बन्धित कुरा हो। हामी त्यस्ता नेटवर्कलाई अनुमति नै दिँदैनौँ। यो सुरक्षाको मामिला हो। यी नेटवर्कहरुले ६ अर्ब ५० करोड मानिसलाई जोड्नुपर्छ। दशौँ लाख बैंकहरु र सयौँ लाख कम्पनीहरुलाई जोड्नुपर्छ। एउटा बैंकको ट्रान्ज्याक्सन ६.५ बिलियन मानिसलाई जोड्ने नेटवर्कसँग सम्बन्धित हुनुपर्छ। जुन एकदमै सही हुनुपर्छ। यो साइबर सुरक्षाको दायित्व हो। हुवावे ३ अर्ब मानिसलाई सेवा दिँदा दायित्वबोध गर्छ। बैंक, व्यवसाय र सरकारलाई नेटवर्क दिँदा उत्तरदायित्वमा रहेको हुन्छ।

हुवावेको नेटवर्क विगत ३० वर्षयता विश्वका १ सय ७० राष्ट्रमा फैलिएको छ। हामीले अहिलेसम्म गडबड गरेका छैनौँ। यसको मतलब हाम्रो नेटवर्क सुरक्षित छ भन्ने नै हो। सूचनाको सुरक्षाको हिसाबमा हामी पाइप र ट्याप दिन्छौँ जुन बुझ्ने गरी भन्नुपर्दा नेटवर्क र डिभाइस हो। पाइपलाई यसबाट के गइरहेको छ भन्ने थाहा हुँदैन, जुन पानी पनि हुनसक्छ, तेल पनि। बरु क्यारियर र कन्टेन्ट प्रोभाइडरमा निर्भर हुने कुरा हो यो। जहाँसम्म हुवावेले ब्याकडोर इन्स्टल गर्छ भन्ने आरोप छ, हामीसँग कुनै ब्याकडोर छैन। यो नभएको हस्ताक्षर नै गर्न तयार छौँ।

अहिले प्राविधिक शीत युद्ध भएको भन्न मिल्छ?
पहिलो भन्नैपर्ने कुरा भनेको अमेरिकासँग अझै पनि उन्नत विज्ञान र प्रविधि छ जुन चीनसँग छैन। चीन पनि अमेरिकालाई पछ्याइरहेको भने छ। बितेका ४० वर्षमा चीनले धेरै प्रगति गरेको छ। तर अमेरिकाले सय÷दुई सय वर्षदेखि यस्तो विकास गरिरहेको छ। त्यसकारण अमेरिकासँग आविष्कारको जमेको आधार छ।

दोस्रो कुरा मानव समाजमा जंगलको नियम लागू हुनसक्दैन। मानिसहरु आपसमा सहकार्य गर्नैपर्छ। त्यही भएर हामीले योजनाबद्ध अर्थतन्त्रभन्दा बजार अर्थतन्त्रलाई जोड दिएका छौँ। धेरै प्रकारका तथ्यबीचको काउन्टरब्यालेनसले बजार अर्थतन्त्रमा केही खराबी देखाउँछ जसले बजार विकासमा अवरोध सृजना गर्छ। थप भन्नुपर्दा मानव समाज कानुन, नियम, धर्म र नैतिक सीमामा बाँधिएको, प्रशासित हुन्छ। यिनै कुराले संसारलाई जंगलको नियम मान्नबाट रोकिरहेको हुन्छ। धेरै देशले एन्टि मोनोपोली कानुन जारी गरेका छन्, सन्तुलित विकासमा एउटै सिंह बलियो हुनबाट रोक्न यसो गरेका हुन्। जब फाइभजीमा हुवावे अगाडि देखिन्छ, हामी सन्तुष्ट बन्नेछैनौँ। हामी अझै विश्वसँग सहकार्य गर्न चाहन्छौँ। प्राविधिक हिसाबले चीन र अमेरिकालाई अलग्याउनु कसैको पनि चाहना होइन, यसले दुवैलाई हानि गर्छ।

एउटा बीजबाट हुर्किनु केही यस्तो कुरा हो जुन हामी बहस गर्न सक्छौँ, अब हुवावेको भविष्य के हुन्छ? के सोच्नुभएको छ? अमेरिकासँग कस्तो सम्बन्ध हुनेछ?
आगामी २० देखि ३० वर्षमा मानव समाजको प्रगतिको संवाहक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बन्नेछ। एआईले मानवीय क्षमतालाई जिते पनि उनीहरुलाई विस्थापन नै गर्न भने सक्दैन। समाज जटिल बन्दै छ, रेलहरु धेरै तीव्रतर भइरहेका छन्, नेटवर्कहरु उस्तै जटिल बन्दै छन्, यो कुनै एक विशिष्ट कुराबाट नियन्त्रण गर्नसकिने कुरा होइन। भविष्यमा केही कुराहरु एआईले मात्रै गर्नेछन्। मानव प्रगतिलाई प्रवद्र्धन गर्ने प्रक्रिया नै एआई हुनेछ। त्यसकारण आविष्कारप्रति सहनशील हुनु जरुरी छ।

हामी अमेरिकी जनता र अमेरिकी सरकार दुवैसँग सञ्चार सम्पर्कमा रहन्छौँ। छोटो समयका लागि केही समस्याहरु हुनसक्छन् । सामान्य हिसाबले भन्नुपर्दा धेरैजसो अमेरिकाले लिएका निर्णय सही छन्। दोस्रो विश्वयुद्धका बेला अमेरिकाले धेरै बलिदान गर्यो, बितेका धेरै दशक उनीहरुले सामाजिक विकास र विश्वव्यापीकरणमा उल्लेखनीय योगदान दिए। यस हिसाबले भन्नुपर्दा अमेरिकी सरकार ठूलो हो। अमेरिकी जनता पनि महान् हुन्। उनीहरु धेरै परिश्रमी छन्। धेरै सिद्धान्त आविष्कार गरेका छन्। अहिलेको समयमा म अमेरिका जान सक्दिन तर यसको मतलब आगामी पुस्ताले पनि पाउनेछैनन् भन्ने होइन। के लाग्छ भने चीन र अमेरिकाले ८जी मिलेर प्रयोग गर्नेछन्। त्यो बेलासम्म ५जी वा ६जी रहनेछैन। ८जी, ९जी वा १००जी आइसकेको हुनसक्नेछ। अन्ततः हामीले अमेरिकी जनतालाई पनि सेवा दिन सक्नेछौँ।

बदलिँदो परिवेशले हुवावेको स्मार्टफोन बिक्रीमा कति असर गरेको छ?
बदलिँदो परिवेशले हुवावेको स्मार्टफोन बिक्रीमा असर गरेको छ। अन्तर्राष्ट्रिय बजारमा हुवावेको स्मार्टफोन बिक्री ४० प्रतिशतले घटेको छ। यो सत्य हो तर हामी पुनः समाधानको दिशामा छाँै। अहिले त्यो प्रतिशत ४० बाट २० प्रतिशतमा झरिसकेको छ, रिकभर हुँदै छ। अर्को कुरा हुवावेले सधैँ खुल्ला सहकार्यमा जोड दिन्छ। १ सय ७० देशमा ४० हजार स्थानीय विज्ञहरु हामीसँग जोडिएका छन्। यसअर्थमा हामी विश्वका विज्ञहरुको भीडमा छौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .