ad ad

अन्तर्वार्ता


'पहिरोले पुर्‍यो मेलम्ची, अब काठमाडौंमा पानी लैजान सम्भव छैन'

पहिरोको क्षति अनुमान गर्नै नसकिने छ
'पहिरोले पुर्‍यो मेलम्ची, अब काठमाडौंमा पानी लैजान सम्भव छैन'

नेपालखबर
साउन १७, २०७८ आइतबार २१:९, काठमाडौँ

सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रस्थित मेलम्चीको मुहान  क्षेत्र झरेको पहिरोले ल्याएको विपत्ति अझै रोकिएको छैन। असारको बाढी पहिरोले ठूलो क्षति व्यहोरेको सिन्धुपाल्चोकले शनिबार अर्को संकट भोग्यो। त्यो संकटका एक साक्षी हुन् हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा। शनिबार रातिको बाढीपछि उनी आज बिहानै हेलिकोप्टरबाट पहिरो क्षेत्रमा पुगे। त्यहाँबाट उनले सार्वजनिक गरेका फोटो, भिडियो हेर्दा प्राकृतिक विपत्तिको भयावह रुप देखियो। बाढी पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार अभियान चलाइरहेका अध्यक्ष शेर्पासँग नेपालखबरका केशव साउदले गरेको कुराकानी : 

तपाईंहरु आज पहिरोग्रस्त स्थानको अवलोकन गरेर फर्किनुभएको छ। शनिबार रातिको पहिरोले मेलम्ची क्षेत्रमा के–कति क्षति पुर्‍याएको पाउनुभयो ?

असारमा गएको पहिरो र बाढीले मेलम्ची क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। असारको त्यो बाढी–पहिरोले बगाउन नसकेको रातो पुल शनिबार बगाएर लगेको छ। त्यो बेला नबगेको चनौटे बजार पनि बगाएको छ। असारको बाढी–पहिरोले क्षति नपुर्‍याएका घर यो पटकको बाढीले बगाएको छ।

क्षतिको त अहिले आँकलन गर्नै सकेका छैनौँ। एउटै घर करोड–करोडका थिए। घरहरु थुप्रै बगाएर लगेको छ। बाटो–सडकको कतै पनि पहुँच छैन। एक ठाउँबाट अर्को ठाउँमा पुग्न पनि हामीलाई गाह्रो छ। यता पानी परेको छैन। तर खोलो यत्रो ठूलो आउँछ। माथि के भएको हो त? भनेर हामी पहिरोग्रस्त क्षेत्रको अवलोकनमा गएका हौं। माथि पहिरो निरन्तर झरिरहेको छ। खसेको खस्यै छ। 

अब हामीसँग विकल्प भनेको खोला छेउका बस्तीलाई सुरक्षित ठाउँमा लगेर राख्नु मात्रै हो। पहिरो रोकथामका लागि हामीसँग कुनै पनि विकल्प छैन।  

पानी नै नपरी पहिरो गइरहेको छ भन्नुभयो, कसरी यस्तो भइरहेको छ?

मेलम्ची खानेपानीको मुहान नै त्यहीँ हो। खानेपानीको मुहानबाट पानी त बगिरहेको छ। पहिरो पनि खसिरहेको छ। पहिरो खसेर खोलाको पानीमा मिसिँदा लेदोको रुपमा बगिरहेको छ।

मेलम्चीको मुहानमै पहिरो गएको छ। मेलम्ची खानेपानी आयोजनाको भविष्य के देख्नुहुन्छ?

मेलम्ची खानेपानी आयोजनाको अहिले नाम निशाना छैन। यसको पुनर्निर्माणमा कति समय लाग्छ भन्ने एकीन गर्न सकिँदैन। 

मर्मत गरेर काठमाडौंमा पानी आउने सम्भावना छ कि छैन ?

अस्थायी रुपमा चलाउन सकिन्छ होला। स्थायी संरचना बनाएर काठमाडौं खानेपानी पुर्‍याउने सम्भावना अब छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .