ad ad

अन्तर्वार्ता


महन्थजी जातीय राजनीतिबाट माथि उठ्न सक्नुभएन : उपेन्द्र यादव (अन्तर्वार्ता)

महन्थजी जातीय राजनीतिबाट माथि उठ्न सक्नुभएन : उपेन्द्र यादव (अन्तर्वार्ता)

प्रशान्त लामिछाने/सागर न्यौपाने
असार २०, २०७८ आइतबार २०:३३,

जनता समाजवादी पार्टी (जसपा) औपचारिक विभाजनको संघारमा छ। महन्थ ठाकुर पक्षले सरकारलाई समर्थन गर्दा उपेन्द्र यादव पक्ष भने पाँच दलीय गठबन्धनमा सहभागी छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि उनीहरुबीच मतभेद सुरु भएको थियो। यही सन्दर्भमा पार्टी विभाजन, जसपाको आगामी रणनीति, पाँच दलीय गठबन्धनको यात्रा लगायतका विषयमा नेपालखबरले अध्यक्ष उपेन्द्र यादवसँग गरेको कुराकानीः

जसपाभित्र आन्तरिक विवाद निकै चुलिएको छ। तर, पार्टी फुट्न पनि सकेको छैन र जुट्न पनि सकेको देखिँदैन। भित्रभित्र के भइरहेको छ?
हाम्रो तत्कालीन समाजवादी पार्टी नयाँ शक्तिलगायतका पार्टीसँग ध्रुवीकरण र एकीकरण भएर बनेको थियो। र, हामीले राजपालाई पनि एकीकरणमा ल्याएर मुलुकको एउटा वैकल्पिक शक्ति निर्माण गर्ने अभियानमा सहभागी गराउन खोज्यौँ। त्यसका लागि कुराकानी चल्दै गर्दा विभिन्न घटनाले एकता घोषणा भयो।

एकीकरण गर्दा केन्द्रीय समितिसम्म भयो। तर, जिल्ला, प्रदेश, भातृ संगठनहरु कुनैको पनि एकीकरण भएको थिएन एकवर्षदेखि। त्यो अभ्यासमा अगाडि बढ्दै बढेन।

दोस्रो कुरा, हाम्रो पार्टीको जुन लक्ष्य हो, विचारधारा हो–समाजवादी विचारधारा। हामी समाजवादी लोकतन्त्र या सामाजिक लोकतन्त्र, त्यो दिशातर्फ जाने हो। पुँजीवादको जस्तो बजार अर्थतन्त्रको पक्षमा हामी छैनौँ, न त साम्यवादीजस्तो एउटा सर्वहारा वर्गको नाममा निरङ्कुश एकदलीय तानाशाहीको पक्षमै छौँ। समानता स्वतन्त्रता र सामाजिक न्यायसहितको समाजवाद, जातीय, लैङ्गिक, वर्गीय विभेद र असमानतालाई अन्त्य गरेको समाजवादको बाटोतिर जाने घोषित नीति समाजवादी पार्टीको थियो र अहिले जसपाको पनि त्यही नै छ। 

तर, राजपाबाट आउने धेरै साथीहरुको समाजवाद भन्ने शब्दसँग कुनै सम्बन्ध छैन। सामाजिक न्याय भन्ने शब्दसँग कुनै सम्बन्ध देखिएन। राष्ट्रियतासँग पनि कुनै लगाव देखिएन। वैचारिक पक्षभन्दा उहाँहरु कता तालमेल गर्ने, कोसँग समीकरण मिलाएर आफ्नो सत्तायात्रा अगाडि बढाउने भन्नेमै लाग्नुभयो। र, पछिल्लो चरणमा स्पष्ट रुपमा देखा पर्‍यो।

पहिलोपटक केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेपछि हाम्रो पार्टीले एकमत भएर निर्णय गर्‍यो– यो प्रतिगमनकारी हो, यो असंवैधानिक छ। यसले लोकतन्त्र, गणतन्त्र सिध्याउन खोजेको हो। यसको विरुद्धमा संघर्ष गर्ने। त्यो निर्णयमा राजपा पक्षका साथीहरुले पनि जोडले उफ्रीउफ्री केपी ओलीको विरुद्धमा भाषण गरेको यहाँहरुले सुन्नु नै भयो। 

यो प्रतिगमन हो भनेर चर्का कुरा पनि गर्नुभयो। यसो भनौँ– ओलीविरुद्ध भन्न केही पनि बाँकी राख्नुभएन। तर, त्यसो भन्दाभन्दै आन्दोलनमा गइरहेका बेला कसले के भन्दियो कुन्नि, उहाँहरु एक्कासि आन्दोलनको लाइनबाट भागेर ओलीको शरणमा पुग्नुभयो।

उहाँहरुहरु ओलीको टाँङमुनि छिरेपछि के देखियो भने, नगदमा पाइने कुराहरु नगदमै लिने, केही खरिदबिक्री गर्ने गर्नुभयो। केही मन्त्रालयहरु क्षणिक भएपनि पाउनुभयो। हाम्रो समाजवादी पार्टी परिवर्तनकारी, अग्रगामी सोचका साथ अगाडि बढ्ने पार्टी, महन्थ पक्षले लिएको दिशातर्फ जान सक्तैन। 

उहाँहरु पार्टीमा छलफल गरौँ न भन्दा नगर्ने, बैठक बोलाइहाल्ने तर, बैठक बस्ने बेलामा फेरि नबसौँ भन्ने।उहाँहरुले अहिलेसम्म बैठक बस्न मान्नुभएको छैन। उहाँहरुमा केपी ओलीको प्रतिगमनका मतियार बनेर, केपी ओलीबाट पाइने सुविधा, पद र पैसालाई उपभोग गर्नेतिर लाग्नुभयो। 

अर्काे, हामी देशका हिमाल, पहाड र तराई सबैलाई समेट्नेगरी अघि बढेका छौँ। शोषण, दमन र उत्पीडनका विरुद्ध लड्न प्रतिबद्ध छौँ। त्यो सँगसँगै राष्ट्रिय एकतालाई दह्रो बनाउने कुरा पनि आयो। मुलुकलाई शान्ति र संविधान तर्फ लैजान प्रतिबद्ध छौँ। हामी त अन्यायका विरुद्ध लड्ने हो। 

तर, उहाँहरुको मानसिकता, सोच र चिन्तन त्यो ८ जिल्लाको भन्दा माथि उठ्नै सकेन। त्यो ८ जिल्लाभित्र पनि ‘कास्ट पोलिटिक्स’बाट माथि उठ्न चाहनुभएन। विशुद्ध रुपले ‘कास्ट बेस्ड’ पार्टीमा उहाँहरु जानुभयो। 

जसपा विभाजन भइसकेको भन्न खोज्नुभएको? 
कहाँ उहाँहरुको कास्ट बेस्ड पोलिटिक्स र कहाँ यो समाजवादी विचारधारा, त्यो मेल नै खाँदैन। वैचारिक रुपले एकता देखिएन। उहाँहरुको के विचार हो, उहाँहरुलाई नै थाहा छैन। तर, उहाँहरुले जुन अभिव्यक्ति दिइराख्नुभएको छ, त्यो समाजवादी लोकतन्त्र, जसपाले लिएको विचार र सिद्धान्तसँग पटक्कै मेल खाँदैन। 

अर्काे कुरा, उहाँहरुको अभ्यास र हाम्रो अभ्यास पनि फरक भयो। हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र प्राप्त उपलब्धिलाई रक्षा गर्ने र बाँकीका लागि अगाडि बढ्ने भनेर हामी हिँडेको, उहाँहरु चाहिँ कता पैसा पाइन्छ, कता मन्त्री पाइन्छ, त्यतातिर लाग्नुभयो।

त्यसकारण राजपाका केही नेताहरु दुई ध्रुवमा बाँडिएका छन्। राजपाको ठूलो पंक्ति अहिलेपनि जसपामै छ। केही मान्छेहरु केपी ओलीको क्याम्पमा गएर प्रतिगमनका मतियार भइसके। 

घुमाउरो कुरा गर्नुभयो। पार्टी एकठाउँमा छ त?
त्यसको औचित्य नै रहन्न। समान विचारधारा भएका मानिसहरुको बीचको संगठन न पार्टी हो। पार्टीमा पहिलो कुरा विचार हुन्छ। उदेश्य हुन्छ। त्यो विचार र उद्देश्य प्राप्त गर्नको लागि पार्टी बनेको हुन्छ, जब उदेश्य फेरियो र विचार पनि छैन भने त एक ठाउँमा हुने त जमघट मात्र हो। अहिले हाम्रो जमघट मात्र छ। 

त्यो जमघट मात्रले पार्टी बन्न सक्तैन। एक वर्ष त हामी त्यही जमघटकै परीक्षणमा थियौँ। कुनै दिशा नै पक्रिन सकेन। त्यो त प्रष्ट छ। त्यसमा कहीँ कन्फ्युजन छैन। 

अब जसपा नाम कसले पाउने भन्ने विवाद बढ्ने होला। अनि महन्थ ठाकुरले आफू पहिलो अध्यक्ष रहेको भन्दै निर्वाचन आयोगमा दाबी पेस गर्नुभएको छ। यसमा पनि किचलो देखिने भयो होइन?
म कहिलेकाहीँ यसो सोच्छु, गजब र दुःख पनि लाग्छ। यो ८२ वर्षको उमेरमा महन्थजीले किन किर्ते काम गर्नुभएको होला? जालसाजी, कागज किर्ते किन गर्नुभएको होला? त्यसले के प्राप्त हुन्छ? महन्थजीलाई कुनैपनि एकलौटी अधिकार छैन।

एक नम्बर र दुई नम्बर भन्ने पनि छैन हामीकहाँ। अध्यक्ष सबै बराबर हो। दुई अध्यक्ष समान हो। कार्यविभाजनमै समान भनिएको छ, विधानमा एक नम्बर र दुई नम्बर भनिएको छैन।

उहाँलाई त्यस किसिमको कुनै अधिकार दिइएको छैन। त्यो अधिकार नै नदिएकोलाई अधिकार दिइयो भनेर माइन्युटमा उपस्थिति र त्यसपछिको पन्ना च्यातेर अर्काे पन्ना टाँस्नुभएको छ। त्यो पनि यहाँहरुले हेर्नुभयो होला। अक्षर र लाइन नै तानिएको छ। त्यसरी जोडेर लाइन तानेर जालसाजी किन गर्नुपर्या हो उहाँलाई, यो उमेरमा?

जालसाजीलाई दुनियाँले स्वीकार्छ अहिलेको युगमा? हाम्रा वकिलहरुले रिट निवेदन तयार गरिरहेका छन्। उहाँमाथि जालसाजीमा मुद्दा दायर हुँदैछ। मुद्दा दर्ता भयो भने जालसाजी र किर्ते मुद्दा फौजदारी हुन पुग्छ। यो बुढेसकालमा के के भोग्नुपर्या हो? 

अर्काे कुरा, पुस ७ गतेको मिति भनिएको छ, निर्वाचन ऐनले के भन्छ भने कार्यसमिति फेरबदल भएको ३० दिनभित्र निर्वाचन आयोगमा दर्ता गराउनुपर्छ। पुस ७ गतेबाट अहिले आएर दर्ता गराउनुभयो, जेठ–असारमा। त्यसैले त्यो फर्जी हो। उहाँहरुसँग बहुमत भएको भए हामीलाई बाँकी राखुहुन्थ्यो र? 

महन्थ ठाकुर पक्षमा लागेका नेताहरु तपाईंहरुतिरै फर्किन थालेका हुन्?
महन्थजी, राजेन्द्रजीहरुले पार्टी बनाउन सक्नुहुन्न। हिजो ६ दल मिलेर उहाँहरुले राजपा बनाउनुभएको थियो। तर, ६ दल मिलेकै रहेनछ नि। ६ जना अध्यक्ष ६ तिर फर्किएका रहेछन्। वैचारिक अत्तोपत्तो छैन। त्यसकारण ४ वर्षसम्म उहाँहरुले पार्टी नै बनाउन सक्नुभएन। 

अब उहाँहरुले पार्टी बनाएर चलाउँछु र पार्टी बन्छ भन्ने कुरा नसोचेपनि हुन्छ। उहाँहरुको क्षमताको कुरा होइन त्यो। पार्टी बनाउनै सक्नुहुन्न। बनाए चलाउनै सक्नुहुन्न। 

किनभने, वैचारिक, दृष्टिकोण केहीपनि नभई कसरी पार्टी चल्छ? खाली कास्ट बेस्ड राजनीतिका आधारमा मात्र पार्टी त बन्दैन। बनाउन सक्ने भए राजपाको पार्टी बन्थ्यो नि। राजपा कहिल्यै पार्टी बनेन। अब झन् के बन्ला र? अब त नेताहरुले देखिसके– उहाँहरु किर्ते गर्नुहुँदो रहेछ। 

भ्रममा परेर, बाटो बिराएर केही साथीहरु उहाँसँग जानुभएको थियो, ती साथीहरुले महन्थ, राजेन्द्रजीलाई विश्वास गर्न छोडिसक्नुभयो। 

पार्टीभित्र कम्युनिस्ट पृष्ठभूमि भएकाहरु र अरुबीच कित्ताकाट भएको देखियो नि!
त्यस्तो होइन। के हो भन्दा, हामीकहाँ लेफ्टविङका पनि छन्। कांग्रेसबाट आएका साथीहरु पनि हुनुहुन्छ र अन्य विभिन्न घटकबाट आएका साथीहरु पनि हुनुहुन्छ। लेफ्टमा पनि विभिन्न समूहबाट आएका साथीहरु हुनुहुन्छ।

अब महन्थजीसँग लेफ्टका त कोही पनि हुनुहुन्न। उहाँहरुसँग बढीसे बढी चै पञ्चायती पृष्ठभूमिका छन्। केही सद्भावना पृष्ठभूमिका छन्। उहाँ आफू कांग्रेस हो। 

तपाईंहरु ३० जना निर्वाचन आयोगमा जानुभयो। आयोगले अहिलेसम्म जसपाको आधिकारिकताबारे निर्णय गरेको छैन। महन्थ पक्षले २० जना थप गरेर बहुमतसहित आधिकारिकता दाबी गरिरहेको छ। त्यसबारे के भन्नुहुन्छ?
त्यसको मान्यता हुँदैन। आफ्नो संवैधानिक जिम्मेवारी पुरा गर्ने दायित्व निर्वाचन आयोगको हो। 

आयोगले आफ्नो जिम्मेवारी स्वतन्त्र भएर पुरा गर्नुपर्छ। अनिर्णयको बन्दी बनाएर राख्नुहुँदैन। समयमा निर्वाचन आयोगले निर्णय गरेमा संवैधानिक समस्याहरु हल हुन्छन्। पार्टीहरुबीचमा विवाद भयो भने अन्त्यमा वैधानिकता र आधिकारिकताको प्रश्न पनि उठ्छ। यो प्रश्नको निर्धारण गर्ने काम आयोगको हो।

आयोगले त तपाईंहरुले नै प्रक्रिया नपुर्‍याएको भन्दै पत्र पठाएको थियो होइन?  
निर्वाचन आयोगमा हामीहरुले गर्नुपर्ने सबै प्रक्रिया पुरा गरिसकेका छौँ। अब आयोगले राजनीतिक दलसम्बन्धी ऐनलाई फलो गर्दै निष्कर्ष वा निर्णयमा पुग्नुपर्ने हो। 

२०७७ वैशाख १० गते राति साढे १० बजे जसरी राजपा र समाजवादी पार्टीबीच एकता घोषणा भयो, त्यो एकता हतारमा गरेर गल्ती गरियो कि भन्ने महसुस भएको छ? 
एकता गलत होइन। मिल्नु भनेको गलत हुँदैन। तर, अझ वैचारिक, सैद्धान्तिक छलफलहरुमा अलिकति समय अझ दिनुपथ्र्याे। हुन त त्यो कुराकानी अगाडिदेखि हुँदै आएको थियो, अचानक भएको होइन। 

तर, त्यो दिनको घटनाक्रमले अलि छिटो पारिदिएको हो। तथापि जति छलफल आवश्यक थियो, त्यति हुन नसकेको, नपुगेको हुनसक्छ। तर, एकता नगरेको भए अहिले जसपा बन्ने थिएन। यसअघि समाजवादी पनि बन्ने थिएन। हामी सबैले एकता गर्दागर्दै आएर बनाएका न हौँ। नेपालमा जुनसुकै पार्टी एकता गरेरै बनेको हो। 

विभिन्न कम्युनिस्ट पार्टी मिलेर अहिलेका कम्युनिस्ट पार्टीहरु बनेका हुन्। एकता हुनुभनेको आफैँमा नराम्रो कुरा होइन। तर, एकता भइसकेपछि विचार, सिद्धान्त अनुसारको व्यक्तित्व र नेतृत्वको चरित्रमा रुपान्तरण हुन नसक्नु दुर्भाग्यपूर्ण हो।

हामीले जनता समाजवादी पार्टी बनायौँ। तर, चरित्र चाहिँ समाजवादअनुकूल भएन। बनाउन सकिएन। जातिवादी र अतिवादी चरित्र रहिरह्यो। 

प्रसङ्ग बदलौँ, तपाईंहरुले ओली फाल्न बनाएको पाँच दलीय गठबन्धन कसरी अघि बढ्छ? चुनावसम्म जान्छ? 
चुनावसम्मै जानुपर्छ। किनभने यो मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने ठूलो खेल हुँदैछ। जुन परिवर्तन छ यसलाई समाप्त पारेर प्रतिक्रान्तितर्फ मुलुक लैजाने प्रयास भइरहेको छ, यस्तो अवस्थामा लोकतन्त्र पक्षधर शक्तिहरु, परिवर्तनका पक्षधर शक्तिहरु चनाखो र एकताबद्ध भएन भने मुलुक दुर्घटनामा पर्ने खतरा छ।

मुलुक दुर्घटनाउन्मुख भइसकेकाले यसलाई जोगाउन पनि अहिलेको  हाम्रो पाँच दलीय गठबन्धन आवश्यक छ। यसलाई अझ विस्तार गर्दै अगाडि बढाउनुपर्छ र प्रतिगमनको खतरा रहञ्जेल हामी एकताबद्ध रहनुपर्छ भन्ने हाम्रो साझा समझदारी छ। 

तपाईंहरु कांग्रेससँग सहकार्य गर्न कसरी सफल हुनुभयो? अहिलेका सभापति शेरबहादुर देउवालाई कसरी विश्वास गर्न सक्नुभयो? 
हेर्नुस् विगततिर जाने हो भने कसै न कसैको केही न केही छ। एक जमाना कांग्रेसमा कम्युनिस्टसँग कुनै हालतमा एक ठाउँ बस्नु हुँदैन भन्ने थियो। तर, कम्युनिस्टसँग मिल्यो। झन् यो माओवादीसँग त टाढै बस्नुपर्छ भन्नेमा थियो कांग्रेस। तर, माओवादीसँग मिलेर सरकार चलायो। त्यसकारण नेपाली कांग्रेसको स्थिर नीति विगतदेखि अहिलेसम्म एउटै छैन। परिस्थिति अनुसार बदलिँदै गएको छ। 

नेपाली कांग्रेस पनि लोकतन्त्र ल्याउन ठूलो संघर्ष गरेको पार्टी हो। ऊ सहजै लोकतन्त्र समाप्त हुन दिन चाहँदैन। त्यसले गर्दा लोकतन्त्र बचाउने दायित्व कांग्रेसको पनि हो, हाम्रो पनि हो। हामी मुद्दा मिलेर एकै ठाउँ आइपुगेका हौँ।

नेपाली राजनीतिमा विविधता छ। पृष्ठभूमिको, आन्दोलनको विविधताबाट आएका छन्, तिनै मिल्ने हुन्। नयाँ खोजेर र अहिले पाइँदैन।  त्यही विविधताबाट खोज्ने हो। मोर्चागत रुपमा साझा सवालहरुमा मिल्दै जाने हो। साझा कार्यक्रम दिएर जानुपर्छ। 

राष्ट्रिय सभाको उपनिर्वाचनले पनि तपाईंहरुलाई गठबन्धन लामोसमय राख्नुपर्छ भन्ने बनाएको हो कि?
परिस्थितिले त्यो देखाएको छ। अब संघीय प्रणाली र समानुपातिक निर्वाचन प्रणाली भएको मुलुकमा एउटै दलले बहुमत ल्याउने र शासन गर्ने अवस्था देखिँदैन। यो यथार्थ सबैले महसुस गरेको कुरा हो। यसले नजिकनजिक रहेकाहरुलाई ध्रुवीकरण गराएको छ। 

नेपालमा लेफ्टहरुको ठूलो उपस्थिति छ। अहिलेको कांग्रेसभन्दा धेरै ताकतवाला छ लेफ्टफोर्स। सबै लेफ्ट फोर्स एकठाउँ हुने हो भने कांग्रेस त्यसै हराउने स्थिति हुन्छ। कसैकसैले त्यो सोच्नसक्छ तर, कांग्रेसको नेतृत्ववर्गमा मैले त्यो सोच पाइनँ। नेतृत्व वर्गमा– हामी मिलेर गएन भने  यो लोकतन्त्र सिद्धिन्छ भन्ने सोच पाएँ मैले, त्यही भएर पनि गठबन्धन लामै समय जान्छ। 

दलहरु आफैँ फुटिरहेको बेला यस्तो गठबन्धन टिक्ला र?
हाम्रो प्रयास हो, त्यहाँसम्म पुग्ने। हाम्रोमात्र वशको कुरा होइन, त्यो रियालाइजेसन कांग्रेसले पनि गरेको देख्छु म, नेतृत्वले हामीसँगै टाढासम्म जानुपर्छ भनेर।

चुनावको कुरा गर्दा गठबन्धनमा सिट भागबण्डा गर्ने समझदारी पनि भएको हो?
अहिलेको घटनाक्रम कसरी सेटल हुन्छ मुख्य कुरा त्यो हो। मुलुकमा भएका घटनाक्रमले पार्टीमा, संगठनमा व्यक्तिगत जीवनमा प्रभाव पार्छ। र, यो घटनाक्रमपछि कसरी ध्रुवीकरण भएर जान्छ, त्यो महत्वपूर्ण हो। दोस्रो, यो गठबन्धन कायम रहने र चुनावमा जाने हो भने जनताले साथ दिन्छ। गठबन्धनको ल्यान्डस्लाइड भिक्ट्री हुन्छ।

प्रदेश २ को सरकारमा माओवादीको सहभागिता किन रोकियो? 
उहाँहरु आउनुहुन्छ। तयारी गर्दैहुनुहुन्छ। ढिलोचाँडो के भयो र, सरकारमा उहाँहरुको समर्थन छँदैछ। उहाँहरुले निर्णय गर्नेबित्तिकै आउनुहुन्छ, त्यसमा कुनै विवाद भएको छैन। 
संजोग नमिलेको मात्र हो। केहीदिनपछि उहाँहरुको सहभागिता हुन्छ। 

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गठबनधनको बैठकमा के भन्ने गर्नुभएको छ?
उहाँहरु दृढ चट्टानजस्तै अडिनुभएको छ। आफ्नो मुद्दाको पक्षमा, गठबन्धनको पक्षमा। अहिलेसम्म उहाँमा कुनै किसिमको विचलन देखिएको छैन। 

तपाईंहरुले सबै प्रदेशमा गठबन्धनकै  सरकार बनाउने तयारी गरेको हो उसोभए?
सबै ठाउँमा प्रतिगमनका मतियार बनेका सरकारहरुलाई सके विस्थापित गर्ने नै हो। गठबन्धनको सरकार बनाउने नै हो। त्यो समझदारी बनेको छ। 


भिडिओ:  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .