एनआरएनएमा दोस्रो कार्यकाल नयाँ पुस्तामा समर्पण गर्नेछु: लिम्बु

एनआरएनएमा दोस्रो कार्यकाल नयाँ पुस्तामा समर्पण गर्नेछु: लिम्बु

नेपालखबर
जेठ २७, २०७६ सोमबार १०:४२,

भर्खरै बाग्लुङमा दुई दिने स्वास्थ्य शिविर गरेर फर्किनु भो, एनआरएनए हङकङले बाग्लुङ नै किन रोज्यो?
हामीले गरेको प्रारम्भिक अध्ययन अनुसार बाग्लुङमा आङ खस्ने रोगीहरुको संख्या धेरै रहेको पाइयो। राज्यको सुविधा र गैरसरकारी संस्थाहरुको पहुँच पनि नपुगेको देखियो। अन्य ठाउँ भन्दा त्यहाँ बढी सहयोगको आवश्यकता महसुस भएर गणतन्त्र तथा महिनावारी दिवसको अवसर पारेर त्यो स्थानमा शिविर संचालन गरिएको हो। नभन्दै त्यो ठाउँ अनुमान गरिए भन्दा अप्ठेरो रहेछ। शिविर स्थल जैमिनी नगर–९ पैयुँथन्थाप सुगम थिएन। जिल्ला सदरमुकामबाट एक दिनको खतरनाक बाटो हिंड्नु पथ्र्यो। टोपी खस्ने उकाली ओराली चार खुट्टाले टेकेर गइयो।

कति महिला सहभागी भए शिविरमा?
४५० जना भन्दा बढी सहभागी थिए। गाउँगाउँबाट आएका थिए। ति अधिकाँश पाठेघरको समस्याले ग्रस्त थिए। ७ जनालाई पाठेघर शल्यक्रियाको लागि ठूलो अस्पताल पठाइएको छ। तिनलाई आर्थिक सहयोग गर्ने भनिएको छ। हामीले यहि शिविरका लागि हङकङमा च्यारिटी डिनर कार्यक्रम गरेका थियौं। न्यूनतम १५ लाख सहयोग गर्ने योजना बनाइएको थियो। एनआरएनए हङकङकी महिला संयोजक टीका रानाको अगुवाईमा यो काम गरेर मन प्रफुल्ल भएको छ।

तपाईंको नेतृत्वमा एनआरएनए हङकङले दुई वर्षमा अरु के के काम गर्यो?
अरु धेरै गरिएको छ। २०१५ मा गएको भूकम्प पीडितहरुका लागि हामीले २९ लाख रुपैयाँ उठाएर नेपाल पठाएका थियौं।

सम्झन लायक अरु के के काम गर्नु भो?
मेरै पालामा एनआरएनएको सिफारिसमा नेपाली महाबाणिज्य दूताबासबाट एनआरएन कार्ड लिन पाइने ब्यवस्था गरिएको छ। उर्जामन्त्री जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हङकङ निम्त्याएर जलबिद्युतमा लगानी सम्बन्धि कार्यक्रम गरियो। त्यो कार्यक्रमबाट तत्काल पैसा नउठेपनि देशमा लगानी गर्ने वातावरण तयार भएको छ। हङकङमा नयाँ पुस्ताका निम्ति खास गर्न सकिएको छैन। तर नयाँ पुस्ता र अभिभावकलाई चेतना जागृत गर्ने शिक्षा सम्बन्धि कार्यक्रम आयोजना गरियो। हङकङका नेपालीको स्वास्थ्य चेतना कमजोर छ। त्यसैले त्यससम्बन्धि कार्यक्रम पनि गरियो। एनआरएन कार्ड सम्बन्धि चेतनामूलक कार्यक्रम गर्यौं। एनआरएनए हङकङको कार्यालय थिएन, त्यो स्थापना गरियो। ४ वर्षदेखि हुन नसकेको ‘एनआरएन नाइट’ साँस्कृतिक कार्यक्रम गरियो।

तपाईंले एनआरएन चुनावमा गरेको प्रतिबद्धता पूरा गर्नु भो?
चुनावमा गरेका केहि प्रतिबद्धता अझै पूरा गर्न बाँकी छ। मैले हङकङमा रहेका नेपाली संघसंस्थासँग मिलेर केही काम गर्न बाँकी छ। पर्यटन प्रवद्र्धनका लागि संयुक्त कार्यक्रम गर्ने योजना छ। जनजाति महासंघ जस्ता संस्थासँग मिलेर स्थानीयलाई नेपाल चिनाउने साँस्कृतिक कार्यक्रम देखाउन सकेको छैन। हङकङका नेपालीलाई एनआरएन अभियानबारे बुझाउन सकिएको छैन। त्यो गर्नु छ । खासमा २ वर्षे कार्यकालको समय बुझ्दाबुझ्दै सकिने रहेछ। यताउता गर्दागर्दै समय घर्किदो रहेछ।

त्यसको मतलब फेरि अर्को कार्यकाल पनि अध्यक्षमा उठ्ने मन बनाएको हो?
आफुले बनाएको योजना पूरा गर्न एक कार्यकालमा नसकेर म भन्दा अगाडिका अध्यक्षहरुले पनि दुई दुई कार्यकाल गरेका हुन्। मेरा केहि योजना बाँकी छन्। खासगरी नयाँ पुस्ताका निम्ति मेरा केही योजना छन्। त्यसलाई पूरा गर्न थप एक कार्यकाल गर्ने मन छ। दोस्रो पटक अध्यक्ष भएँ भने त्यो कार्यकाल खासगरी नयाँ पुस्तामा समर्पण गर्नेछु। त्यसैले यसपालि पनि उम्मेदवारी दिने योजनामा छु। नयाँलाई फेरि म जस्तै बुझ्नै दुई वर्ष समय लाग्छ, काम खासै हुँदैन। नयाँ भन्दा मेरो आगमनले हङकङका नेपालीका लागि फाईदै हुनेछ।

एनआरएनएले सदस्यता नविकरण गर्न पैसा उठाउने सूचनाले विवाद ल्याएको छ, किन यस्तो निर्णय गरिएको हो?
दशैंमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा प्रतिनिधिको रुपमा सहभागी हुन र मतदानमा भाग लिन नविकरण बापत हरेक सदस्यले १५ युएस डलर बुझाउनु पर्दछ। हामीले त्यसैलाई ध्यानमा राखेर यो सूचना जारी गरेका हौं। आधा जति सदस्य बेलायत स्थानान्तरण भैसकेका छन्। तिनको समेत नविकरण शुल्क हामीले नै तिर्नु परिरहेको छ। जो सदस्य निस्क्रिय छन् तिनको सदस्यता शुल्क किन तिर्ने भनेर हामीले सदस्यहरुको विवरण अद्यावधिक गर्न खोजिरहेका हौं। त्यसअनुरुप पुराना सदस्यलाई १२० हङकङ डलर शुल्क तोकेका छौं। नयाँले चाहिं सदस्य बन्न २०० डलर तिर्नुपर्छ।

अहिले कति सदस्य छन्? तिनले सदस्यता अद्यावधिक गरेनन भने हङकङको चुनावमा भाग लिन सक्छन् कि सक्दैनन्?
हङकङ एनआरएनएमा ३ हजार साधारण सदस्य छन्। यो अद्यावधिक अन्र्तर्राष्ट्रिय हकमा मात्र हो। अद्यावधिक नगरिएपनि सदस्यहरुले राष्ट्रिय चुनावमा भाग लिन पाउनेछन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .