ग्लोबल


बंगलादेशमा एकल हिन्दु महिलालाई सामूहिक बलात्कार

बंगलादेशमा एकल हिन्दु महिलालाई सामूहिक बलात्कार

नेपालखबर
पुस २१, २०८२ सोमबार २२:२, काठमाडौँ

बंगलादेशमा ४४ वर्षीया हिन्दु समुदायकी एकल महिलालाई सामूहिक बलात्कार गरिएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बलात्कारपछि पनि उनलाई रुखमा बाँधेर कुटपिट गरिएको थियो। 

घटना बंगलादेशको झेनाइदाह जिल्लाको कालीगन्ज क्षेत्रमा भएको हो।

यस घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ र बाँकी आरोपितको खोजी भइरहेको छ। 

पीडितले सोमबार दिउँसो कालीगन्ज प्रहरी कार्यालयमा चार जनाविरुद्ध जाहेरी दिएकी छन्। 

तीममध्ये प्रहरीले ४५ वर्षका हसन नामका व्यक्तिलाई पक्राउ गरेको हो। उनी त्यही क्षेत्रस्थित एक गाउँका बासिन्दा हुन्। 

बलात्कारका बेला महिलाको कपाल काटिएको, कुटपिट गरिएको र सम्पूर्ण घटना मोबाइल फोनमा भिडिओ रेकर्ड गरिएको बताइएको छ। 

आफन्तहरूलाई कोठामा थुनेर बलात्कार 

प्रहरी र स्थानीय बासिन्दाका अनुसार, महिलाले करिब दुई वर्षअघि गाउँमा घर र जग्गा किनेकी थिइन्। उनले आरोपित साहिनका भाइबाट जग्गा किनेकी थिइन्। जग्गा किनेदेखि नै साहिनले उनलाई दुःख दिइरहेका थिए र उनीसँग पैसा मागिरहेका थिए।

महिलाका दुई पुरुष आफन्त शनिबार साँझ उनलाई भेट्न आएका थिए। साहिन र हसन जबरजस्ती घरमा प्रवेश गरे। उनीहरूले महिलाका आफन्तहरूलाई एउटा कोठामा बन्द गरे र अर्को कोठामा लगेर उनलाई बलात्कार गरे।

त्यसपछि उनीहरूले महिला र उनका आफन्तहरूलाई घरबाट बाहिर निकाले, रुखमा बाँधे र अश्लील क्रियाकलाप गरेको झुटो आरोप लगाए।

महिला आफ्नो १० वर्षीय छोरासँग बस्थिन्। स्थानीयले शनिबार राति उनलाई गम्भीर अवस्थामा फेला पारे र अस्पताल लगे।

महिलाको उपचारका कारण जाहेरी दर्ता ढिला भएको हो। 

बंगलादेशमा १८ दिनमा चार हिन्दुको हत्या

बंगलादेशमा पछिल्लो तीन हप्तामा चार हिन्दुको हत्या गरिएको छ। सोमबार साँझ जेसोर जिल्लामा एक हिन्दु व्यापारीको गोली हानी हत्या गरिएको छ। घटना मोनिरामपुर क्षेत्रको कोपलिया बजारमा भएको हो। मृतक ३८ वर्षीय राणा प्रताप वैरागी भएको प्रहरीले जनाएको छ। उनी दुई वर्षदेखि त्यहाँ बरफ कारखाना चलाइरहेका थिए।

स्थानीयले रिपोर्ट गरेअनुसार साँझ ६ बजेतिर केही मानिसले राणा प्रतापलाई उनको कार्यस्थलबाट बाहिर निकालेर नजिकैको गल्लीमा लगेका थिए। त्यसपछि उनलाई अचानक गोली लागेको थियो। 

गोली हानेर आक्रमणकारीहरू घटनास्थलबाट भागे। प्रहरीका अनुसार आक्रमणकारीहरू मोटरसाइकलमा आएका थिए। उनीहरूले राणा प्रतापसँग छोटो कुराकानी गरे र त्यसपछि उनको टाउकोमा धेरैवटा गोली हाने, जसका कारण तत्कालै उनको मृत्यु भयो।

यसअघि डिसेम्बर १८ मा एक, डिसेम्बर २४ मा एक र डिसेम्बर २९ मा एक हिन्दुको हत्या भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad