जापानको नागोयामा पहिलो पटक नेपाल महोत्सव २०१९ आयोजना गरिएको छ।
नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पुर्याउने उद्देश्य साथ जापानस्थित नेपाली दुतावास र एनआरएनएन नागोयाको सयुक्त आयोजना नेपाल महोत्सव २०१९ गरिएको हो। नेपाल महोत्सव अपेक्षा गरेभन्दा बढी सफल भएको आयोजकले जनाएका छन्।
जुन १५ र १६ तारिकका दिन साकाय स्थित हिसाय दोहोरी पार्कमा गरिएको महोत्सवमा त्यहास्थित नेपाली र जापानी नागरिक अवलोकनकर्ताहरुको उल्लेख्य भीड लागेको थियो। महोत्सवले दुईदेशबीचको सम्बन्ध थप प्रगाढ़ बनाउनुको साथै नेपाल भ्रमण वर्ष २०२० लाई ठूलो टेवा पुर्याएको महोत्सव संयोजक पारसमणि पोख्रेलले बताए। अवलोकनकर्ताहरुलाई नेपालको विशेषताबारे जानकारी गराउँदै भ्रमण बर्षको निम्ता पनि दिएको उनले बताए।
महोत्सवमा नेपाली कला संस्कृति, परम्परागत झाँकीहरू, रहनसहन, खाना, गीत संगीत लगायतका ३२ वटा स्टल राखिएको थियो। समग्र नेपालको विशेषता दर्शाउदै भ्रमण बर्ष २०२० मा जापानीज नागरिकलाई निमन्त्रणा गर्ने सवालमा महोत्सव सफल त्यहाँस्थित विष्णु प्रसाद घिमिरेले जानकारी दिए। मेला आयोजक मध्येका भवानी पन्त पनि महोत्सव सफल भएको ठान्छन्।
नागोयामा क्रियाशील नेपाली संघसस्थाहरु सह–आयोजकको रुपमा सहभागी थिए। महोत्सवमा २ तलाको नेपाली बाटुले घर मुख्य आकर्षणको रुपमा रहेको थियो। त्यसैगरी नेपाली धर्म र संस्कृति झल्काउने बाजागाजा, विभिन्न जातजातिका विशेषता झल्काउने पोशाक, खानाका परिकार लगायतका स्टल थिए।
महोत्सवअवधिभर विभिन्न जातीय भेषभुषामा सजिएका युवा युवतीले ‘हामी नेपाली हौँ’ भन्दै र्याली निकालेका थिए। जातीय विशेषता अनुसारका भेषभुषामा गरिएको र्याली पनि महोत्सवको आकर्षण बनेको थियो।
प्रतिक्रिया