ad ad

ग्लोबल


असमका एक लाख नेपाली भाषी नागरिकताबाट वञ्चित

असमका एक लाख नेपाली भाषी नागरिकताबाट वञ्चित

शैलेन्द्र समदर्शी
भदौ १५, २०७६ आइतबार ९:६,

भारतको असम राज्यमा हालै भएको राष्ट्रिय नागरिक पञ्जीकरणबाट एक लाख बढी नेपाली भाषी छुटेका छन्। त्यसको अर्थ भारतका एक लाख नेपाली भाषी भारतको नागरिकताबाट वञ्चित हुने अवस्था देखिएको छ।

राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी) बाट छुटेका १९ लाख ६ हजार ६ सय ५७ नागरिकमध्ये एक लाख बढी नेपाली भाषी गोर्खा रहेको भारतीय गोर्खा परिसंघ (भागोप) का असम राज्य कमिटी अध्यक्ष नित्यानन्द उपाध्यायले बताए।

यद्यपि उनले नेपालखबरसँगको कुराकानीमा कति नेपालीभाषी गोर्खा एनआरसीबाट छुटे भन्ने किटान गर्न सकेनन्।

‘हामी सोधखोज गरी छुटेका नागरिकहरूको संख्या संग्रह गर्ने काम गरिरहेका छौं’, उपाध्यायले भने, ‘अहिलेसम्मको रिपोर्टका आधारमा करिब ८० हजार गोर्खा छुटेका छन् तर, यो संख्या बढेर १ लाखसम्म पुग्नसक्ने अनुमान छ।’

उपाध्यायका अनुसार एनआरसीमा छुट्ने गोर्खाहरूको संख्या अझ घट्न पनि सक्ने सम्भावना छ।

‘सुरुमा यो संख्या करिब ४ लाख थियो, अहिले घटेर १ लाखको छेउछाउ आएको छ’, भागोप असम राज्य अध्यक्ष उपाध्यायले भने।

उपाध्यायका अनुसार असममा बस्दै आएका २५ देखि ३० हजार गोर्खाहरूसँग आवश्यक दस्तावेज छैन। अन्य छुटेकाहरूको दस्तावेज रहेकाले एनआरसीमा नपर्ने गोर्खाहरूको संख्या घट्ने उनको भनाइ छ।

स्मरणरहोस्, डि भोटर (डाउटफुल भोटर) मा परेका असमका २० हजार गोर्खाको नाम एनआरसीमा नपरेकाले पनि छुट्ने गोर्खाहरूको संख्या करिब १ लाख पुगेको हो।

डि भोटरबारे अहिले सुनवाई चलिरहेको छ। सुनवाई पूरा भएर ती २० हजार गोर्खाहरूमाथि लागेको डि भोटर हटेपछि उनीहरूको नाम एनआरसीमा पर्नेमा उपाध्यायहरू विश्वस्त छन्।

डि भोटरमै नाम परेको कारण भारतका स्वाधीन संग्रामी एवं असम प्रदेश कङ्ग्रेस कमिटीका संस्थापक छविलाल उपाध्यायकी नातिनी मञ्जु देवीको नाम पनि एनआरसीमा परेको छैन।

उनी मात्र होइन, उनका दुई नानीको नाम पनि एनआरसीमा आएन।

‘५–६ पटक प्रमाणीकरण हुँदा पनि मेरो नाम किन एनआरसीमा परेन भन्ने कुराले म अचम्भित बनेकी छु’, नेपालखबरसँग बोल्दै मञ्जु देवीले भनिन्, ‘मेरा श्रीमानको नाम आयो, माइतका सबैको नाम आयो तर, मेरो र मेरा नानीहरूको मात्र नाम एनआरसीमा परेन।’

मञ्जु देवीका अनुसार डि भोटरमा परेकै कारण उनको नाम एनआरसीबाट छुटेको हो। यद्यपि उनी एनआरसीमा पर्ने कुरामा ढुक्क छिन्।

‘मसँग सबै दस्तावेज छन्, एनआरसीमा नाम पर्दैन भन्ने डर होइन’, उनले थपिन्, ‘तर प्रमाणीकरणका लागि यता र उता दौडिँदा दौडिँदै शास्ति भइसक्यो।’

शनिबार एनआरसीको फाइनल सूचीमा आफ्नो नाम नभेटेपछि मञ्जु देवी केही आक्रोशित बनेकी थिइन्।

‘के हामी बंगलादेशी हौं र?’, उनले प्रश्न गरिन्।

दुई नानीको नाम एनआरसीमा नआएपछि उनी झन् दुःखी बनेकी छन्।

‘एनआरसीमा बाबुको नाम छ तर, दुई नानीको छैन, योभन्दा उदेकपूर्ण कुरा अर्को के हुनसक्छ र?’, मञ्जु देवीले भनिन्, ‘इमानदारपूर्वक भन्नुपर्दा एनआरसीका लागि आजसम्म मैले जुन समस्या भोगें, त्यसबाट आजित भइसकेकी छु। मलाई न्याय चाहियो।’

भारतीय गोर्खा परिसंघका राष्ट्रिय कार्यकारी अध्यक्ष डा. मुनिष तामाङले यसप्रति खेद प्रकट गरेका छन्।

‘स्वाधीनता संग्रामी एवं असम प्रदेश कङ्ग्रेस कमिटीका संस्थापक छविलाल उपाध्यायकी नातिनीको नाम एनआरसीमा नपर्नु अत्यन्त दुर्भाग्यपूर्ण कुरा हो’,
तामाङले भने, ‘हामी असमका ती गोर्खाहरूको पक्षमा छौं, जो एनआरसीबाट छुटे। भागोपले उनीहरूका लागि काम गर्नेछ।’

असम गोर्खा स्टुडेन्ट युनियन (आग्सु) का अध्यक्ष प्रेम तामाङले पनि करिब १ लाख गोर्खाहरूको नाम एनआरसीमा नपरेको बताए।

‘हामीले मानिसहरूसँग जोगाजोग गरिरहेका छौं, अहिले नै यति संख्यामा गोर्खाहरू छुटे भन्न मिल्दैन’, उनले भने, ‘तर, प्रारम्भिक अनुमानका आधारमा करिब १ लाख गोर्खाको नाम एनआरसीमा नपरेको हुनसक्छ।’

थोरैभन्दा थोरै गोर्खाहरू मात्र एनआरसीमा नपर्ने तामाङको भनाइ छ।

‘जसको पक्का दस्तावेज छैन, उनीहरू त एनआरसीबाट छुट्ने नै हुन् तर, पक्का दस्तावेज भएका गोर्खाहरू पनि कतिपय कारणले छुटेका छन्’, आग्सु अध्यक्षले थपे, ‘पक्का दस्तावेज भएकाहरूलाई एनआरसीमा थप्न हामीले काम गरिरहेका छौं। छुटेकाहरूले अझै आवेदन गर्नसक्छन्।’

तामाङले नाम छुटेकाहरूलाई आश्वस्त पार्दै भने, ‘दस्तावेज नै नभएका गोर्खा मात्र एनआरसीबाट छुट्नेछन् र, उनीहरूको संख्या थोरै हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .