ad ad

ग्लोबल


नेपाली छात्राको नेतृत्वमा फेरियो बेलायती विद्यालयको नाम

नेपाली छात्राको नेतृत्वमा फेरियो बेलायती विद्यालयको नाम

प्रजय शुक्ल
चैत ३०, २०७७ सोमबार १४:३७,

एक नेपाली विद्यार्थीको पहलमा बेलायतको दक्षिण–पश्चिम सहर ब्रिस्टलस्थित एक पुरानो माध्यमिक विद्यालयको नामै परिवर्तन हुने भएको छ। नेपाली छात्रा हेमलता पन्तको सक्रियतामा दासत्व झल्काउने ‘कोलस्टन्स गल्स स्कुल’ को नाम परिवर्तन गर्ने निर्णय भएको हो।

विद्यालयको नाममा जोडिएको ‘कोल्स्टन्स’ शब्द १७औं शताब्दीमा दासत्वलाई बढावा दिने व्यापारी ‘एडवर्ड कोलस्टन’बाट राखिएको हो। जुन धेरै वर्षदेखि कायम छ।

colston

तर त्यो २१औं शताब्दीमा पनि विभेदको प्रतीक भएको भन्दै नेपाली विद्यार्थी हेमलता पन्तले विद्यालयको नामै फेर्ने अभियान थालिन्। जसमा उनले सबै विद्यार्थीको साथ पाइन्। फलस्वरूप अब विद्यालयको नाम ‘मोन्ट्पेलियर हाइस्कुल’ राखिने भएको हो।

नाम फेर्ने अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी पन्त यतिबेला बेलायती मिडियामा छाएकी छन्।

गत वर्ष अमेरिकामा गोरा जातिका प्रहरीले काला जातिका अमेरिकी नागरिक जर्ज फ्लोइडलाई गिरफ्तार गर्ने क्रममा घाँटी थिचेर मारेपछि विश्वभर रंगभेदविरुद्ध आन्दोलन (ब्ल्याक लाइभ्स म्याटर) चर्किएको थियो। त्यतिखेर प्रदर्शनकारीले ब्रिस्टोल सहरस्थित एडवर्ड कोलस्टनको मूर्ति पनि तोडफोड गरेका थिए।

edward

त्यही क्रममा नेपाली विद्यार्थी हेमलता पन्तले पनि आफू अध्ययनरत विद्यालयको विभेदलाई प्रोत्साहन गर्ने नाम परिवर्तनका लागि अभियान थालेकी थिइन्।

दासत्व भावलाई बढावा दिने व्यापारीको नामबाट विद्यालयको नाम रहनु हुन्न भनेर उनले थालेको अभियानमा सामेल हुन्दै अन्ततः सबै विद्यार्थीले विद्यालय प्रशासनलाई दबाब दिए। जसले गर्दा धेरै वर्षदेखि कायम विद्यालयको नाम फेर्न विद्यालय प्रशासन बाध्य बनेको हो। विद्यालयको नयाँ नाम राख्न गरिएको मतदानमा विद्यालयका सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी गरी ६२ प्रतिशत मतदाताले ‘मोन्ट्पेलियर हाइस्कुल’ नाममा मतदान गरेका थिए।

यसैअनुरूप आगामी शैक्षिक सत्रदेखि विद्यालयको नाम नयाँ राखिने भएको हो।

कक्षा ११ मा अध्ययनरत हेमलताले नेपालखबरस“गको कुराकानीमा आफ्नो अभियान सफल हुँदा ज्यादै खुसी लागेको बताइन्।

उनले भनिन्, ‘हाम्रो राम्रो विद्यालयको नाम रंगभेद र जातिवादलाई प्रोत्साहन गर्ने नराम्रो व्यक्तिको नामबाट चिनिनु हुन्न भनेर हामी सबै विद्यार्थीले परिवर्तन गर्ने सोच बनायौं र अन्ततः हाम्रो आवजमा सबै सहमत भएका छन्, म ज्यादै खुसी छु।’

नाम किन परिवतर्न गर्नुपर्छ भन्ने लाग्यो भनेर प्रश्नमा उनले भनिन्, ‘हामीले २१औं शताब्दीमा आएर पनि दासत्वको पक्षधर व्यक्तिको नाम विद्यालयमा जोडिँदा राम्रो सन्देश जाँदैन भनेर नाम परिवर्तनको अभियान चलायौं। मलाई लाग्छ– यसले समाजमा सकारात्मक प्रभाव पार्नेछ।’

हेमलताका बुबा डा. पुष्पराज पन्त आफ्नी छोरीले विभेदविरुद्धको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेकामा गर्व लागेको बताउँछन्। छोरी सानै उमेरमा सामाजिक विभेद अन्त्यमा सक्रिय बनेको देख्दा साह्रै खुसी लागेको उनले बताए।

विद्यालयका प्रिन्सिपल केरी म्याक्युलेजले आफ्ना विद्यार्थीले निकै परिपक्वताका साथ जटिल र गम्भीर मुद्दा सुल्झाउन चालेको भन्दै प्रशंसा गरिन्। नेपालखबरसँग भनिन्, ‘अब विद्यालयले एक नयाँ परिचय बनाउनेछ र यसले समुदायमा राम्रो सन्देश जानेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .