उत्तर कोरियाली नेता किम जोङ उन फेरि एकपटक आफ्नी १३ वर्षीया छोरी किम जु एलाई लिएर सैन्य मैदानमा उत्रिएका छन्। दक्षिण कोरिया र अमेरिकाबीच भइरहेको संयुक्त सैन्य अभ्यासको जवाफमा उत्तर कोरियाले गरेको 'मल्टिपल रकेट' प्रक्षेपणको प्रत्यक्ष अवलोकनका लागि किमले आफ्नी छोरीलाई साथमै राखेका हुन्।
आइतबार सार्वजनिक गरिएका तस्बिरहरूमा किमकी छोरी विशाल रकेट प्रक्षेपण ट्रकहरूका बीचमा हिँडिरहेको र बुबासँगै बसेर हतियारको विनाशकारी शक्ति अवलोकन गरिरहेको देखिन्छ। सन् २०२२ को अन्त्यदेखि नै मिसाइल परीक्षण, सैनिक परेड र महत्त्वपूर्ण राज्यका कार्यक्रमहरूमा किमले छोरीलाई निरन्तर अघि सारेपछि उनलाई उत्तर कोरियाको आगामी 'उत्तराधिकारी' का रूपमा तयार पारिँदै गरेको चर्चाले विश्व राजनीतिमा प्राथमिकता पाएको छ।
दक्षिण कोरियाली गुप्तचर निकाय एनआएसका अनुसार किम जु ए अहिले करिब १३ वर्षकी भइन्। उनले प्योङयाङस्थित आफ्नै दरबारमा बसेर उच्च स्तरीय शिक्षा लिने गरेको र उनको रुचि विशेष गरी पौडी र घोडसवारीमा रहेको बताइन्छ।
हर्कुलस जस्तै शक्तिशाली रकेट परीक्षण
उत्तर कोरियाको पूर्वी समुद्री किनारमा शनिबार गरिएको उक्त अभ्यासमा ६०० मिलिमिटर क्षमताका १२ वटा अत्याधुनिक बहु–रकेट प्रक्षेपण यन्त्रहरू प्रयोग गरिएको थियो। परीक्षणपछि किम जोङ उनले आफ्नी छोरीको उपस्थितिमा दुश्मनहरूलाई कडा चेतावनी दिँदै भनेका छन्— 'यो अभ्यासले ४२० किलोमिटर दायराभित्र रहेका शत्रुहरूलाई असहज बनाउनेछ र रणनीतिक आणविक हतियारको विनाशकारी शक्ति कति भयावह हुन्छ भन्ने उनीहरूले बुझ्नेछन्।'
सुरक्षा विश्लेषकहरूका अनुसार किमले आफ्नी छोरीलाई सैन्य अभ्यासहरूमा सँगै लैजानुको गहिरो अर्थ छ। यसले उत्तर कोरियाको आणविक र सैन्य विरासत आगामी पुस्तामा सुरक्षित रूपमा हस्तान्तरण हुँदैछ भन्ने सन्देश दिन खोजेको मानिन्छ।
Shares

प्रतिक्रिया