ग्लोबल


अलपत्र जहाजमा रासन सकियो, इन्टरनेट काटियो: २० हजार दक्षिण एसियाली नाविकको ज्यान जोखिममा

अलपत्र जहाजमा रासन सकियो, इन्टरनेट काटियो: २० हजार दक्षिण एसियाली नाविकको ज्यान जोखिममा

मार्च ११ मा ओमानबाट ११ नटिकल माइल उत्तरमा क्षेप्यास्त्र प्रहार भएपछि आगो लागेको थाइल्यान्डको एउटा मालबाहक जहाज


नेपालखबर
फागुन २९, २०८२ शुक्रबार १४:२२, काठमाडौँ

अमेरिका र इजरायली आक्रमणको प्रतिवादमा इरानले 'हर्मुज जलडमरू' क्षेत्रमा सैन्य सक्रियता बढाएपछि खाडीको समुद्री मार्गमा कार्यरत हजारौँ दक्षिण एसियाली नाविकहरूको जीवन जोखिममा परेको छ। इरानले आफ्नो जलक्षेत्र पार गर्ने जहाजमाथि गोली प्रहार गर्ने धम्की दिएपछि भारत, पाकिस्तान, बंगलादेश र म्यानमारका नाविकहरू ड्रोन र क्रुज मिसाइलको त्रासमा समुद्रमै अड्किएका छन्।

विश्वको ऊर्जा आपूर्तिको मुख्य धमनी मानिने हर्मुज जलडमरू अहिले युद्धमैदान जस्तै बनेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को तट नजिकै तेल ट्याङ्करमा कार्यरत पाकिस्तानी नाविक आमिरले भने, 'हाम्रो टाउको माथिबाट इरानी ड्रोन र क्रुज मिसाइलहरू उडिरहेका हुन्छन्। लडाकु विमानको गर्जनले मुटु कमाउँछ । हामीलाई डर छ कि कतै यी मिसाइल हाम्रै जहाजमा बज्रिने त होइनन् ?'

खाडीका विभिन्न समुद्री क्षेत्र र बन्दरगाहमा कति नाविक अलपत्र छन् भन्ने आधिकारिक तथ्यांक छैन। बंगलादेश मर्चेन्ट मरीन अफिसर्स एसोसिएसनका अध्यक्ष क्याप्टेन अनम चौधरीका अनुसार यो संख्या करिब २० हजारको हाराहारीमा छ। जसमा ठूलो हिस्सा भारत, बंगलादेश, म्यानमार, श्रीलंका र पाकिस्तानका नागरिकको छ। 'बन्दरगाहभित्र पनि जहाजहरू सुरक्षित छैनन्, मार्च १ मा भएको आक्रमणमा एक नाविकले ज्यान गुमाइसकेका छन्,' चौधरीले भने।

पछिल्लो समय इरानी बन्दरगाहमा भएको एक मिसाइल आक्रमणमा परी भारतीय नाविक घाइते भएका छन्। सञ्चारविच्छेदका कारण धेरैले आफ्नो परिवारलाई यस्तो दुःखद खबर समेत दिन सकेका छैनन्। दक्षिण कोरियाली जहाजको कमान्ड सम्हालिरेका क्याप्टेन सेओ–जुनका अनुसार उनको चालक दलमा म्यानमारका २० जना नाविक छन्, जो अहिले जीपीएस अवरोधका कारण 'अन्धो' भएर जहाज चलाउन बाध्य छन्।

बन्दरगाहभित्र पनि जहाजहरू सुरक्षित छैनन्, मार्च १ मा भएको आक्रमणमा एक नाविकले ज्यान गुमाउको चौधरीले बताए।

इरानले इन्टरनेट र फोन नेटवर्कमा प्रतिबन्ध लगाएका कारण नाविकहरूले हप्तौँदेखि घरमा सम्पर्क गर्न पाएका छैनन्। सञ्चारको अभावसँगै जहाजमा खाद्यान्न र खानेपानीको संकट सुरु भएको छ। म्यानमारका इन्जिनियर हेनका अनुसार पहिले प्रशस्त खानेकुरा पाइने जहाजमा अहिले 'रासन प्रणाली' लागू गरिएको छ। 'अहिले हामीलाई दैनिक एक कचौरा तरकारी र थोरै मासु मात्र दिइन्छ, यो मौज्दातले एक महिना पनि धान्दैन,' उनले भने।

जहाज कम्पनीहरूले नाफाका लागि नाविकहरूलाई जोखिमपूर्ण मार्ग प्रयोग गर्न दबाब दिने गरेको गुनासो छ। नाविक आमिर भन्छन्, 'जहाज र सामानको बिमा त होला, तर मान्छेको ज्यानको कुनै बिमा हुँदैन ।' भारत र पाकिस्तानका नाविकहरूले जहाज कम्पनीहरूलाई हर्मुज जलडमरू पार गर्न बाध्य नपार्न आग्रह गरेका छन्।

विज्ञहरूका अनुसार यो तनावले पर्सियन खाडीको व्यापारमा मात्र होइन, दक्षिण एसियाली मुलुकको 'रेमिट्यान्स' र रोजगारीमा समेत दीर्घकालीन असर पार्ने देखिएको छ। निर्दोष नाविकहरूलाई युद्धको सिकार बनाइनु अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीत भएको भन्दै नाविक संगठनहरूले चिन्ता व्यक्त गरेका छन्। -बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad